त्यो समाजवाद थिएन (समाजवाद बहस–१)
मार्क्सदेखि महात्मा गान्धीसम्म, स्टालिनदे खि नेहरुसम्म, माओत्से तुङ, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ, बीपी कोइराला, पुष्पलाल श्रेष्ठसम्म अटाउने समाजवाद अनौठै भाँडो हो ।
चार वर्षअघि जारी संविधानमा कांग्रेस, एमालेदेखि माओवादीसम्मले एउटा साझा वाचा गरे– राज्यलाई समाजवादउन्मुख बनाउने । उदार लोकतन्त्रवादी, वाम लोकतन्त्रवादीदेखि कडा वामपन्थी रुझान राख्ने बिलकुलै अलग विचार शिविरका शक्तिहरु दोस्रो संविधानसभामा आइपुग्दा साझा मुद्दा तय गर्न सफल हुनु निश्चय नै रोचक थियो । तर कस्तो समाजवाद– यो निर्क्याैल भने कसैले पनि गर्न सकेका थिएनन् । अझै पनि समाजवादउन्मुख विचारले टुंगो पाउन बाँकी छ । यसबारे सार्थक बहस नै हुन सकेको छैन ।
नेपाल म्यागजिनले संविधानको यसै प्रतिबद्धतामा आधारित भएर समाजवाद बहस शृंखला चलाउने जमर्को गरेको छ । यस शृंखलामा तपाईंले दर्शन, राजनीति, अर्थतन्त्र, संस्कृतिलगायत कोणबाट हेर्दा समाजवादको अनुहार कस्तो देखिन्छ भन्नेबारे पढ्न पाउनुहुनेछ । पहिलो शृंखलामा प्रस्तुत छ : मुराहरि पराजुलीको विश्लेषण ।
हालैको जमघटमा मेरा एक मित्रले नजिकै आएर कानमा भने, ‘म पनि कुनै बेला समाजवादी थिएँ नि ।’ यस्तो सुन्दा मलाई धेरै खुसी लाग्छ । किनभने हामी सबै समाजवादी भ्रमको चिरनिद्राबाट कहालीलाग्दो यथार्थमा बिउँझिने बेला आइसकेको छ ।
जब समाजवाद किन असफल भयो भन्ने चर्चा हुन्छ, समर्थकहरू पहिलो दोष पुँजीवादी र साम्यवादीलाई लगाउने गर्छन् । समाजवादमा के खोट थियो भन्ने हेर्दैनन् । दोस्रो, उनीहरू समाजवाद असफल भएको प्रत्यक्ष उदाहरण देखाउँदा ‘त्यो त समाजवाद थिएन’ भनेर उम्किन खोज्छन् । मेरा मित्र यस्तै उल्झनमा परेका धेरैमध्येका एक हुन् । उनले मेरो दुवै हात कसिलो गरी समातेर भनेका थिए, ‘धेरै कुराहरू सुनिन्छ तर समाजवाद निर्विकल्प हो भन्नेमा शंका लाग्न थालेको छ । विकल्पबारे कोही कुरै गर्दैन ।’
सोभियत संघ, पूर्वी युरोपेली मुलुक, चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडियालगायतका एसियाली मुलुक, क्यारेबियाको क्युबा, भेनेजुएलालगायतका दक्षिण अमेरिकी मुलुक र केही अफ्रिकी मुलुकमा समाजवादका नाममा भएका प्रयोग असफल भएको हामीले देख्यौँ । यहाँ भएको मानवीय क्षतिलाई हामीले देख्यौँ । इतिहासमा पृथ्वीका अन्य भूभागमा मानवीय क्षति नभएका होइनन् । तर समाजवाद प्रयोगका नाममा संसारको आधाजस्तो भूभागमा जति मानवीय क्षति भयो, त्यो सबैभन्दा भयानक थियो ।
सन् १९१७ मा सोभियत संघमा भएको अक्टोबर क्रान्तिलाई धेरैले समाजवादको व्यावहारिक प्रयोगको थालनी मानेका छन् । यही समाजवादको नाममा स्टालिन, हिटलर र माओले शासन गरेका छन् । करोडौँ मान्छे मारिएका छन् । सत्ता टिकाउनका लागि विरोधीको सफाया भन्दै मान्छे मारिएका छन्, शासकीय अव्यवस्थाका कारणले सर्वसाधारण मारिएका छन्, सांस्कृतिक आन्दोलनका नाममा मान्छे मारिएका छन्, मान्छेलाई युद्धमा जान बाध्य पारिएका छन् ।
यस्तो समाजवादको सम्यक समीक्षा गर्न हामी हिच्किचाउँछौँ । समाजवादको आलोचनालाई पापजत्तिकै मान्छौँ । समाजवाद मान्छेकै दिमागको उपज हो । यो खोटरहित हुन सक्दैन भनेर हामी सोच्दैनौँ । यदाकदा मनमा आइहाले पनि त्यसलाई व्यक्त गर्न अप्ठेरो मान्छौँ ।
एउटा असल मान्छे समाजवादी कसरी नहुन सक्छ ? एउटा नैतिकवान मान्छे समाजवादी नभई रहन सक्छ ? हाम्रो मनमा प्रश्न आउँछ । समाजको हित नचिताउने मान्छेलाई जिम्मेवार असल मान्छे भन्न सकिन्छ र ! हामी धेरैले सोच्ने गर्छौं । तर समाजवादबाहेक पनि असल नैतिकता हुन सक्छ भन्ने अनुमान लगाउन सक्दैनौँ । जो समाजवादी होइन, त्यो आदर्श मान्छे होइन भन्ने धारणा हामीमाझ व्याप्त छ ।
तर संसारमा धेरै किसिमका आदर्श, नैतिकता थिए र छन् । असल नैतिकता र आदर्श समाजवादको बपौती होइन । नैतिकता र उच्च आदर्शका वैकल्पिक विचार प्रणाली छन्, तिनीहरू प्रयोगमा नआएका पनि होइनन् ।
उदारवाद, पुँजीवादलगायत वैकल्पिक अर्थ राजनीतिक प्रणालीमा आदर्श र नैतिकताका तत्त्व नभएका होइनन् । यिनीहरूको आदर्श र नैतिकता समाजवादीको भन्दा फरक छन् । विचार र प्रयोग दुवै तहमा यिनीहरूले समाजवादीले भन्दा राम्रो गरेका छन् । मानवीय विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । यिनीहरूले मान्छेको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्वतन्त्रतालाई बढावा दिएका छन् । खुला बजार र स्वतन्त्र प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई जोड दिने विचारको प्रयोग सफल भएको छ । त्यस्ता समाजमा स्वतन्त्र व्यक्तिले ज्ञान–विज्ञानको क्षेत्रमा धेरै नयाँ कुरा गरेका छन् । यसले मान्छेको भौतिक जीवनमा उल्लेख्य गुणात्मक सुधार ल्याएको छ ।
मान्छे पहिलेभन्दा धेरै बाँच्छन्, धेरै निरोगी छन्, उनीहरूसँग पहिलेभन्दा धेरै सूचना छन्, उनीहरू एकापसमा पहिलेभन्दा धेरै नजिक छन्, पहिलेभन्दा बढी सुरक्षित छन् । के यसलाई हामी उपलब्धि नै नमान्ने ? यो किसिमको प्रगति केले ल्याएको हो ? यसलाई हामीले राम्ररी बुझेनौँ । संसार समाजवादी भएर यो उपलब्धि हात लागेको होइन । त्यसैले समाजवादको चिरफार आवश्यक छ । यसले हामीलाई दुर्घटनामा पार्ने खतरा छ ।
समाजवाद या कल्याणकारी राज्यको मान्यताले वितरणमा जोड दिन्छ, उत्पादनमा होइन । अहिले हामीले समाजवादउन्मुख अर्थतन्त्रलाई लक्ष्य मानेको संविधान ल्याएका छौँ । समाजका हरेक तह र तप्कालाई दिने भनेका छौँ । सरकारले आफ्ना कार्यक्रमहरू जनतालाई ‘कोक्रोदेखि मृत्यु शैय्यासम्म’ साथ दिने आदर्शबाट प्रेरित हुने जनाएको छ ।
यस्ता आदर्शबाट जोकोही सजिलै मोहित हुन सक्छ । तर जब यी आदर्श प्रयोगमा आउन थाल्छन्, समस्या सुरु हुन्छ । यसको प्रमुख कारण आर्थिक नै हो । राजनीतिक, सामाजिक र नैतिक समस्या पनि उत्तिकै छन् । उत्पादनभन्दा वितरणमा जोड दिइने भएकाले समाजवादी प्रणालीमा वितरणका लागि सधैँ अभावको अवस्था हुन्छ । स्रोतको वितरणका लागि त्यसको उत्पादन हुनुपर्छ । मानव उपयोगी स्रोत स्वत: अस्तित्वमा आउँदैनन्, निर्माण गरिनुपर्छ । मान्छेको जैविक तथा सामाजिक आवश्यकता पूर्ति गर्ने यस्ता स्रोत बढीभन्दा बढी निर्माण हुनुपर्छ । समाजवादले निर्देशनबाट यस्तो उत्पादन तथा निर्माण हुन्छ भन्ने मान्यता राख्छ । यो गलत हो । निर्देशनले अधिकतम उत्पादन सुनिश्चित गर्दैन । स्रोतको अधिकतम उपयोगमार्फत आवश्यक वस्तु तथा सेवाको उत्पादन गर्न व्यक्तिगत प्रेरणा चाहिन्छ, निर्देशनले काम गर्दैन ।
निर्देशनले काम नगर्दा समाजवादी शासकहरूको अनुमान फेल खाएको थियो । सोभियत संघमा यस्तै भएको थियो, भोकमरीले करौडौँ मान्छे मारिएका थिए । त्यहाँ प्रकृतिले नदिएको केही थिएन । पर्याप्त उर्बर जमिन, खनिज, वनजंगल, सिर्जनशील मान्छे कुनै चीजको अभाव थिएन । तर मान्छे खान नपाएर मरे । चीनमा यही भयो । कुनै बेला दक्षिण अमेरिकाको सबभन्दा धनी मुलुक भेनेजुएलामा अहिले यही भइरहेको छ । संसारमै सबैभन्दा धेरै प्रमाणित तेलको भण्डार भएको देश भेनेजुएलामा अहिले फोहोरको डंगुरमा मान्छे खाने चीज खोजिरहेका छन् ।
समाजवादको अर्को समस्या यसको भेराइटी हो । माथि भनिएका देशमा शासकहरूले समाजवादका नाममा शासन गरे । तर ती सबै एकै किसिमका थिएनन् । समाजवादको विचार र प्रयोग दुवै तहमा धेरै भिन्नता छन् । सबै किसिमका समाजवादी विचार पक्षधरले आफूलाई असली हौँ भन्ने दाबी गर्छन् । जब असफलताको कुरा आउँछ, समाजवादका नाममा भएको फलानो प्रयोग असली नभएकाले असफल भएको तर्क गरिन्छ ।
सोभियत संघबारे कति हास्यास्पद तर्क गरिन्छ भने माक्र्सले भनेझैँ सोभियत संघ सामन्तवादबाट पुँजीवाद हुँदै समाजवादमा प्रवेश गर्नुपर्नेमा एकैचोटि सामन्तवादबाट समाजवादमा गएकाले असफल भएको हो भनिन्छ । उसो भए चीन, पूर्वी युरोप, दक्षिण अमेरिका र अफ्रिकामा भएका प्रयोग के भएर असफल भएका हुन् ? हिटलरले पनि आफूलाई समाजवादी भन्थे । उनको पार्टीको नाम नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टी थियो । यसको पूर्ववर्ती पार्टीको नाम जर्मन वर्कर्स पार्टी थियो ।
जिम्बाबेमा रोबर्ट मुगाबेले अफ्रिकी राष्ट्रवादका नाममा राजनीतिक करियर सुरु गरे । पछि आफूलाई माक्र्सवादी–लेनिनवादी भनेर चिनाए । कहिले प्रधानमन्त्री, कहिले राष्ट्रपति बनेर उनले १९८० देखि २०१७ सम्म जिम्बाबेमा शासन गरे । सन १९९० देखि उनी आफूलाई समाजवादी भनेर चिनाउँथे । उनको कार्यकालमा भएको आर्थिक दुरावस्था, भ्रष्टाचार र मानवीय क्षति संसारमै एउटा दु:खद उदाहरण बनेर रहनेछ ।
बीसौँ शताब्दीभर समाजवादको चर्चा भयो । धेरै व्याख्या, अपव्याख्या भए, प्रयोग–दुरुपयोग भए । कसैले यसलाई अति व्यक्तिवादी शैलीविरुद्ध आएको वैकल्पिक विचार भने, कसैले यसलाई मार्क्सवादमा आधारित भने, कसैले यसलाई कल्याणकारी राज्यका पक्षमा उभ्याए । समाजवादी साहित्य भण्डार निकै धनी छ । यसको परिभाषामै समस्या छ । त्यसैले बेलायती राजनीतिकर्मी तथा विचारक सीईएम जोडले समाजवादलाई ‘धेरैले लगाएर आकार गुमाएको टोपी’ भन्थे । उनले समाजवादलाई वातावरणअनुरूप रंग बदल्न सक्ने ‘छेपारे आस्था’ सम्म भनेका छन् । स्मरण रहोस्, कुनै समय जोड पुँजीवादका प्रखर विरोधी थिए । बेलायतमा समाजवादको वकालत गर्ने फेबियन सोसाइटीको महत्त्वपूर्ण सदस्य थिए । पछि चर्का अभिव्यक्ति र खराब आचरणका कारण फेबियन सोसाइटीले उनलाई निष्कासन गर्यो ।
समाजवाद एउटा असफल तर अमर अवधारणा हो । यसले एउटा समूहको मान्छेलाई सधैँ आकर्षित गरिरहन्छ । बेलायतका उद्योगमा श्रमिकको शोषणलाई देखेर चाल्र्स डिकेन्सले पुँजीवादको चर्को आलोचना गरे । अहिले आर्थिक असमानतालाई अघि सारेर बेलायतमा जेरेमी कर्बिन र अमेरिकामा बर्नी स्यान्डर्सले पुँजीवादको दोहोलो काडिरहेका छन् । समाजवादको पक्षपोषण गरिरहेका छन् । जर्ज अरवेल, बर्टान्ड रसेल, अल्बर्ट आइन्सटाइन, पाब्लो पिकासोजस्ता कला, दर्शन र विज्ञानका हस्तीहरूले समाजवादप्रति देखाएको मोहले धेरैलाई अल्मल्याउँछ । यी महान मान्छेहरू कसरी गलत हुन सक्छन् ? शासकहरू त सत्ता स्वार्थका कारण गल्ती गर्न सक्छन्, अपराध गर्न सक्छन् । तर यी महान मान्छेहरूको स्वार्थ के हुन सक्छ र ! तापनि किन समाजवादी अवधारणामा भनिएका कुराहरू व्यवहारमा परिणत हुँदैनन् ?
समाजवादको अगाडि र पछाडि राष्ट्रवादी, प्रजातान्त्रिक, क्रान्तिकारी, प्रगतिवादी धेरै किसिमका फुर्काहरू जोडिए । ती फुर्काले काम गरेनन् । समाजवादलाई कसैले सबैलाई समान अवसर उपलब्ध गराउने बाटो भने, कसैले सबैलाई समान कल्याण उपलब्ध गराउने लक्ष्य राखे, वर्गविहीन र राज्यविहीन समाजतर्फको बाटो पनि यही हो भनियो । घोर राज्यवादीदेखि प्रखर अराजकतावादीसम्म समाजवादभित्रै अटाए । कार्ल मार्क्सदेखि महात्मा गान्धीसम्म, स्टालिनदेखि नेहरुसम्म, माओत्से तुङ, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ, बीपी कोइराला, पुष्पलाल श्रेष्ठसम्म अटाउने समाजवाद अनौठै भाँडो हो ।
जब नतिजाको प्रसंग आउँदा धरातलीय यथार्थ जोडिइहाल्छ । एउटाले अर्कोतिर औँलो तेर्स्याउँछन् । भन्छन्, त्यो समाजवाद थिएन । आफूलाई असली समाजवादी दाबी गर्छन् । हामीले मौका पाए गरेर देखाइदिन्छौँ भन्ने झुटा आश्वासन दिन्छन् । हामीले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरिरहेका छौँ, कल्याणकारी राज्यको कुरा गरिरहेका छौँ । त्यसैले सजग हुनैपर्छ, सावधानी अपनाउनैपर्छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक दुरवस्थालाई निम्त्याउनु हुँदैन ।
(समाजवाद बहस–२ मा अर्को साता सञ्जीव पोखरेलको विचार प्रकाशित हुनेछ ।)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...