आफ्नै सुनको झ्यालबाट नेपालले के सिक्न सक्छ ?
विश्वका महाशक्तिहरू कनेक्टिभिटीबारे विपरीत फर्किएका बेला नेपालजस्ता देशहरूका लागि प्रतिस्पर्धी मुलुकहरूलाई जोड्ने अवसर छ
ब्रुनो मासाई
पाटन दरबारको चर्चित सुनको झ्यालमा बोधिसत्व अवलोकितेश्वरको प्रतिमा छ । उक्त प्रतिमामा सम्पूर्ण हिन्दुदेवहरू बोधिसत्व अवलोकितेश्वरकै शरीरबाट उत्पन्न भएको देखाइएको छ । उनीभन्दा माथि विष्णु अवतार छन् । झ्यालभन्दा मुनि गरुडको प्रतिमूर्ति देखिन्छ । प्रतिमा हेर्नेहरूले विष्णु अवतारलाई पनि शिव वा पार्वतीका रूपमा व्याख्या गर्न सक्छन् ।
सुनको झ्यालमा रहेको केन्द्रीय आकृतिले बुद्धधर्मको प्रधानता अभिव्यक्त गर्छ तर त्यति बेला ठ्याक्कै विपरीत अर्थवोध हुने गरी यो चित्रण गरेको प्रतीत हुन्छ । आफूलाई लागेको वा मन परेको विचारलाई नै सही ठान्नेहरूका लागि यो झ्यालले गज्जबको काम गर्छ तर जो दार्शनिक रूपमा सोच्छन्/हेर्छन्, उनीहरूका लागि यो प्रतिमूर्ति जटिल अभ्यासको परिणाम हो । यसले तपाईंको पूर्वनिर्धारित धारणालाई आलोचना गर्छ र अर्को उचाइमा पुर्याउँछ ।
संसार उत्पत्तिको जटिलता राजनीतिक वास्तविकताको पनि प्रतिविम्ब हो । त्यति बेलाको परिस्थितिमा विविध धार्मिक परिदृश्यलाई आकर्षित गर्न तथा विभिन्न क्षेत्रलाई सम्बोधन गर्न मल्ल राजाहरूले आफ्नो कौशलको सही प्रयोग गरेका थिए ।
कतिपय आधारभूत कुराहरूले गर्दा इतिहास कहिल्यै परिवर्तन हुँदैन । आज नेपालले पनि समान रूपमा विविध भूराजनीतिक परिदृश्यको सामना गरिरहेको छ । यसका शासकहरू पनि मल्ल राजाहरूले सामना गरेजस्तै समस्यालाई सम्बोधन गर्न बाध्य छन्– विपरीत सत्यलाई समेट्ने र सम्बोधन गर्ने तथा सबैलाई खुसी बनाउने गरी राजनीतिक प्रस्तुतीकरणको विम्ब कसरी निर्माण गर्ने ?
नेपाल बेल्ट एन्ड रोड इनिसियटिभको महत्त्वपूर्ण अंग हुनेवाला छ । नेपाल चीनको नजिकैको छिमेकी मात्र होइन, यसले तिब्बतको विकास तथा स्थायित्वमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी चीनलाई भारत तथा दक्षिणतर्फ बढ्नका लागि पुलको काम पनि गर्न सक्छ । पाकिस्तानसम्म आर्थिक करिडोर निर्माणले यी दुई एसियाली महाशक्तिबीच तनाव बढ्ने कुरा प्रस्ट भएका बेला नेपाल र म्यानमारजस्ता मुलुकले आफ्नो भूराजनीतिक महत्त्व बढाउन सक्छन् ।
आफ्नै विकासका आवश्यकताका कारण पनि नेपालले बेल्ट एन्ड रोड इनिसियटिभबाट लाभ लिने अपेक्षा गर्न सकिन्छ । नेपाल पूर्वाधारहरूको तीव्र आवश्यकता भएको मुलुक हो । हालै काठमाडौँदेखि पोखरासम्म सडक यात्राले पनि मलाई यसबारे अझ प्रस्ट बनायो । विश्वव्यापी औद्योगिक सञ्जालमा नेपाललाई थप समाहित गर्नुपर्ने आवश्यकता पनि म देख्छु । भौगोलिक चुनौतीका कारण नेपालले पश्चिमा नेतृत्वको औद्योगिक सञ्जालमा समाहित हुन संघर्ष गरिरहेको छ । त्यसरी समाहित नगरिकन दिगो विकासको सम्भावना रहँदैन । यदि चीनले अहिले नेपाललाई दोस्रो मौका दिन्छ भने नेपालका निर्णयकर्ताहरूले यसलाई एउटा मौकाका रूपमा लिनुपर्ने हुन्छ ।
तर यो अवस्थामा अरु कुरालाई पनि विचार गर्नुपर्ने हुन्छ । नेपालले चिनियाँ लगानी तथा व्यापारबाट जे जति पनि लाभ लिन सक्छ, त्यति नै गुमाउन पनि सक्छ । भारतसँग सदियौँदेखि रहेको स्वाभाविक र विशेष सम्बन्धमा तनाव आउन सक्छ । दिल्लीले नेपाललाई जहिले पनि आफ्नो प्रभाव क्षेत्रका रूपमा हेर्छ र यहाँ चीनको उपस्थितिलाई स्वाभाविक ठान्दैन । नेपालले आफ्ना दुवै छिमेकीलाई यहाँको भूराजनीतिक अवस्थितिबारे धारणा बनाउन सघाउने गरी चित्र बनाउन सक्नुपर्छ । यो जटिल खेलमा पाटन दरबारको सुनको झ्यालको कलात्मकताबाट नेपालका अधिकारीहरूले धेरै कुरा सिक्न सक्छन् ।
एउटा अर्को अपरिहार्य पक्ष संयुक्त राज्य अमेरिका हो । चीनको बेल्ट एन्ड रोडलाई चुनौती दिन अमेरिकाले बनाएको योजनाबारे नेपाल सरकारले गम्भीर अध्ययन थालेका समाचार रिपोर्टहरू गत साता मात्र आएका छन् । के अमेरिकाले प्रतिस्पर्धी पहलकदमी थाल्ला, जुन पहिला नै इन्डो प्यासिफिक स्ट्राटेजीका रूपमा आइसकेको छ ? के विभिन्न देशले यी दुईमध्ये एक छान्नुपर्ने अवस्था आउला ?
एसिया र युरोपका समेत देशहरूले जस्तै नेपालले पनि पक्कै त्यस्तो गर्ने छैन । नेपालका विकास आवश्यकताहरूको सही ढंगले पूर्ति त्यति बेला मात्र हुन सक्छ, जति बेला उसले चीन, भारत, अमेरिका, सम्भव भएसम्म युरोपेली युनियन र जापानसहित सबै इच्छुक पक्षहरूसँग सहकार्य गर्नेछ । तर के बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको युगमा यसो गर्न सम्भव छ ?
कनेक्टिभिटी यसको स्पष्ट जवाफ हो तर हामीले के पनि बिर्सनु हुँदैन भने अन्तत: कनेक्टिभिटी यातायात र सञ्चार मात्र होइन । यसभन्दा बढी यो विभिन्न राजनीतिक तथा सभ्यताका मोडेलहरूलाई एउटा साझा मालामा उन्नु हो । अझ भन्नुपर्दा यो एउटा बौद्धिक प्रयत्न हो ।
लामो समयसम्म यो प्रयास सफल देखिएको थियो । चीन उदाइरहेको थियो तर अमेरिकाका लागि मात्र । यस्तो लाग्छ– चिनियाँ सफलतालाई अन्तत: अमेरिकी सफलतासँग तौलेर मात्र व्याख्या गरियो । यसको विपरीत बेइजिङले आफ्नो विकासका लागि एउटा शालीन वैश्विक वातारण बनाउनका लागि अमेरिकी एकाधिकारवादलाई व्याख्या गरिरह्यो ।
अहिले अमेरिका होस् वा चीन, दुबैका यी मोडेल काम नलाग्ने भएका छन् । यसको मतलब के होइन भने अरु सबै ढाँचा पनि असफल नै हुन्छन् । बरु यसको अर्थ के हो भने हामीले चाहेजस्तो परिणामसम्म पुग्न नयाँ तरिका विकास गर्न प्रयत्न गर्नुपर्छ । सुनको झ्याल फेरि निर्माण गर्नुपर्छ ।
व्यवहारिक तथा बौद्धिक रूपमा यो कुरा चुनौतीपूर्ण छ । स्वाभाविक रूपमा यसका लागि निकै समय लाग्न सक्छ । असफलताहरू हात लाग्न सक्छ । तर यो गर्न सकिन्छ र नेपालजस्ता देशका लागि आफ्नो प्रभावकारी भूमिका निभाउने अवसर छ ।
कान्तिपुर कन्क्लेभ २०२० मा भाग लिन अघिल्लो साता काठमाडौं आएका पोर्चुगिज राजनीतिशास्त्री ब्रुनो मासाई द डन अफ युरेसिया : अन द ट्रेल अफ द न्यु वर्ल्ड अर्डर (२०१८), बेल्ट एन्ड रोड (२०१९) र हिस्ट्री ह्याज बिगन (२०२०) पुस्तकका लेखक हुन् । यो अनुवाद काठमान्डु पोस्टमा प्रकाशित उनको लेख र कन्क्लेभ सम्भाषणमा आधारित छ । अनुवाद : रविराज बराल
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...