हामीले भारत चीन चिनेनौँ, तिनले नेपाल चिनेनन्
हामीले त भारत–चीनलाई बुझेनौँ, बुझेनौँ । उनीहरूले अहिलेको नेपाललाई कति बुझ्छन् त ?

हामी धेरैजसो नेपालीहरू इतिहासमा बाँच्छौँ ।
बुद्ध, गोर्खाली वीरताबाहेक खासै गर्व गर्न सकिने कुरा नभएर होला, अहिले पनि हामीलाई भविष्यको योजना बनाउनभन्दा इतिहासमै रमाउन मन लाग्छ । झन् अहिलेको बेथिति भोग्दा र सबैतिरबाट हेपिँदा इतिहास नै हाम्रा लागि असरदार मलम भएको छ ।
आफूले गर्व गर्न सक्ने इतिहास मात्रै जपेर अगाडि बढ्दा देश आज धेरै कुरामा तल परिसक्यो । आफूलाई वीरको देश भनेर नथाक्ने हामीहरूको सेना आज संसारकै कमजोरमध्ये एक भइसक्यो । विगतको महानता हेर्ने तर अहिलेको धरातलीय यथार्थ नहेर्ने बानीले हाम्रा छिमेकीसँगको सम्बन्ध पनि समानताको आधारमा अघि बढ्न सकेको छैन ।
नेतृत्वको त कुरै छाडौँ । उसले आफ्नो अनुकूल इतिहासको (अप)व्याख्या गरिरहेकै हुन्छ । खेदको विषयचाहिँ बौद्धिक वर्गले वर्तमानको वास्तविकता बुझेर कसरी सुनौलो भविष्य निर्माण गर्ने भनी बहस गर्नुपर्ने हो, त्यो वर्ग पनि इतिहासकै एउटा कालखण्डमा झुन्डिएर बसेको छ ।
नेपाल महत्त्वपूर्ण हो, यसले चीन र अमेरिकाको लडाइँ हुन दिँदैन, नेपालले नै तिब्बतको सुरक्षा गरिरहेको छ, नेपाल नै भारत–चीन व्यापारका लागि ट्रान्जिट हो, वीर गोर्खाली अहिले पनि महत्त्वपूर्ण छन् र नेपालले नै सबै क्षेत्रीय समस्यालाई विस्फोट हुनबाट रोकिरहेको छ भन्ने भाष्य अहिले लोकप्रिय छ । १० वर्षयता छापिएका अन्तर्राष्ट्रिय सम्बन्धका लेखहरूमा भूराजनीति, भूरणनीतिजस्ता शब्दको प्रयोग व्यापक भएको छ । जसरी भौतिकशास्त्रको आधारभूत सिद्धान्त प्रयोग गरेर हाम्रा स्कुले विद्यार्थीले जे भेटायो, त्यहीबाट केही सेकेन्ड मात्र उड्ने हेलिकप्टर बनाए पनि हामी दंग परिदिन्छौँ, त्यसैगरी भारत चीनका बीचमा नेपाल भूराजनीतिक कडी भइसक्यो भन्न पाउँदा आफैँ मख्ख पर्छौं । यस्तो गर्नु भनेको केटाकेटीले हेलिकप्टर बनाए भनेर दंग पर्नुजस्तै हो । न नेपालमा हेलिकप्टर फ्याक्ट्री खुल्छ, न त ती केटाकेटीले नोबेल पुरस्कार पाउनेछन् ।
त्यसैले हामीले धरातलीय यथार्थ बुझेर छिमेकसित कसरी सम्बन्ध अगाडि बढाउने भनेर सोच्ने बेला हो, यो ।
सुरु गरौँ, भारतबाटै । हाम्रो भारत बुझाइको खोट हामी एउटा उच्चताभासको कृत्रिम अनुभूति (फल्स सेन्स अफ सुपेरियोरिटी) बाट निर्देशित छौँ । पहिलो– भारत पराधीन हुँदा पनि हामी स्वतन्त्र थियौँ । भारतले यो कुरा बिर्सनुहुन्न । दोस्रो– हामीले भारतबारे बुझ्न र पढ्न केही बाँकी नै छैन । सबै नेपाली एक से एक भारत विशेषज्ञ हुन् । तेस्रो– भारतसितको समस्या त्यहाँको प्रशासनयन्त्रसँग हो । दुई देशका नेताले राम्ररी वार्ता गरे ती समाधान हुन्छन् । चौथो– भारतले यहाँ नचाहिँदो हस्तक्षेप गर्छ । यो बिर्सन्छौँ, हाम्रै नेताहरूले पनि भारतलाई यहाँको आन्तरिक राजनीतिको मुख्य खेलाडी बनाइरहेका छन् ।
अब यस्ता कुतर्क छाडेर हामीले भारतलाई बुझ्नुपर्यो । हो, इतिहासमा ऊ पराधीन हुँदा हामी स्वतन्त्र थियौँ तर अब समय परिवर्तन भइसक्यो । अहिलेको भारत एउटा क्षेत्रीय शक्ति हो र उदाउँदो आर्थिक शक्ति पनि । हामीबीच समस्या धेरै छन् तर सहकार्यका मौका पनि प्रशस्त छन् । नेपाल भारतबीचको धार्मिक, सांस्कृतिक, भाषिक र नश्लीय समानतालाई कसरी दुई देशको सम्बन्धमा जोड दिएर नयाँ उचाइमा लैजाने भनेर दुवै देशका नेता, बुद्धिजीवीले बहस गर्नुपर्छ । भारतसितको समस्या नेतृत्वले मात्र समाधान गर्न सक्छ भन्ने भ्रमबाट पनि मुक्त हुनुपर्छ । नेपालको प्रशासनिक संयन्त्र पनि बलियो नबनाई सुखै छैन । अब पहिलेझैँ व्यक्तिगत सम्बन्धलाई देखाएर अहिलेको आत्मविश्वासी र अग्रसर भारतसित डिल गर्न सकिँदैन ।
अर्को कुरा, हालसम्मका भारतीय नेताहरू हुर्किंदा भारत धनी र शक्तिशाली पनि थिएन । उनीहरू नेपाललगायत अरू गरिब देशका मर्का बुझ्न सक्थे । तर अबको केही वर्षपछि भारतमा जन्मिएको सम्पन्न र शक्तिशाली एउटा नयाँ पुस्ताले त्यहाँको राज्य र प्रशासन हाँक्छ । उनीहरूका लागि नेपाल भनेको सस्ता कामदार पठाउने गरिब र अस्थिर छिमेकी हो भन्ने मात्र नहोला भन्न सकिन्न । त्यो पुस्ता झनै हठधर्मी हुन्छ । त्यसैले पनि अहिलेको राजनीतिक र प्रशासनिक नेतृत्वसँग सहकार्य गरेर समस्या समाधान गर्दै नेपालको आर्थिक उन्नति कसरी गर्ने भन्ने योजना बनाउनु नै बुद्धिमत्ता हो । अब आउने भारतीय नेतृत्वको न नेपाल हाँक्नेहरूसित व्यक्तिगत सम्बन्ध हुन्छ, न त उनीहरू नेपालका केही नेताले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए भनेर पर्वाह गर्छन् । उनीहरू नेपाल कति धनी र शक्तिशाली छ एवं नेपालसँगको सम्बन्धले भारतलाई कति नाफा वा घाटा छ भनेर सोच्ने हुन्छन् । अब त्यो पुस्तासित कसरी संवाद गर्ने भनेर नेपाली नेताले सोच्नैपर्छ ।
जसरी भौतिकशास्त्रको आधारभूत सिद्धान्त प्रयोग गरेर हाम्रा विद्यार्थीले जे भेटायो, त्यहीँबाट केही सेकेन्ड मात्र उड्ने हेलिकप्टर बनाए पनि हामी दंग परिदिन्छौँ, त्यसैगरी भारत र चीनका बीचमा नेपाल भूराजनीतिक र भूरणनीतिक कडी भइसक्यो भन्न पाउँदा आफैँ मख्ख पर्छौं । यस्तो गर्नु भनेको केटाकेटीले हेलिकप्टर बनाए भनेर दंग पर्नुजस्तै हो ।
नेपाल–चीन सम्बन्ध पनि भ्रमकै धरातलमा उभिएको छ । हाम्रो बुझाइमा हामी जति भृकुटी, अरनिको र खम्पा विद्रोहलाई दुई देशको सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा हेर्छौं, चिनियाँ सरकार र जनताले पनि त्यत्तिकै महत्त्वका साथ हेर्छन् भन्ने छैन । हामी चीनसितको सम्बन्धमा पनि एउटा गलत बुझाइ हावी हुन दिन्छौँ । हामी इतिहासमै रमाएर बस्ने जाति भएकाले ती कुरा महत्त्वपूर्ण लाग्छन् । तर चीनमा कति जनाले अहिलेको नेपाल सम्बन्धमा भृकुटी र अरनिकोको योगदान महत्त्वपूर्ण छ भन्ठान्छन् त ?
हो, नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएदेखि नै तिब्बत चीनको अभिन्न अंग हो भनेर अन्तर्राष्ट्रिय मञ्चमा भन्दै आएको हो । त्यतिबेलाको चिनियाँ नेतृत्वले नेपालको त्यो अडानको सराहना पनि गरेकै हो । त्यतिबेला मित्रहरूको कमी र पश्चिमा प्रोपागान्डाको सिकार चीनलाई नेपालको अडान महत्त्वपूर्ण पनि थियो । तर अहिले चीनका मित्र धेरै छन् र सबैले तिब्बत उसैको अभिन्न भूभाग हो भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसकेका छन् ।
मानौँ, छिमेकीको घरमा भयंकर झगडा भइरहेको थियो । केहीले तपाईंको घरमा छिरेर ढुंगामुढा गर्न थाले । तपाईंले तिनलाई ढुंगामुढा गर्न दिनु भएन । कालान्तरमा गृहकलह शान्त भयो र सबै छिमेकी मिलेर बस्न थाले । यस्तोमा तपाईंले ‘यिनीहरू मैले गर्दा मिले’ भन्नु कति जायज हो ? तिनका लागि नै त्यो विषयको अब महत्त्व छैन भने हामीले सधैँ सम्झाउन खोज्नु भनेको मूर्खता मात्र हो ।
त्यसैले हामीले अझै पनि तिब्बतलाई दुई देशीय सम्बन्धको महत्त्वपूर्ण कडी र नेपाल चीनको भू–अखण्डताका लागि महत्त्वपूर्ण छ भन्नु अहिलेको चीनको सामरिक, आर्थिक शक्तिलाई अवमूल्यन गर्नु मात्र होइन, उसको गृहकलह नै शान्त भएको छैन भन्ने भ्रममा बाँच्नु हो ।
देङ स्याओपिङको उदारवादी नीतिबाट सबल हुँदै गएको अहिलेको चीन बेमौसमी तिब्बती बाजाभन्दा नेपाल आफ्नो आर्थिक विकासको स्वार्थमा चीनसित सहकार्य गरोस् भन्ने पक्षमा छ । ऊ आफ्नो सुरक्षा गर्न आफैँ सक्षम छ । उसले त केवल नेपालले दुईपक्षीय सम्बन्धमा भारत वा अन्य मुलुकलाई नछिराईकन नेपाल–चीन सम्बन्ध दुई मुलुकबीच नै सीमित होस् भन्ने चाहना राख्छ । अरूसित ऊ आफैँ डिल गर्न सक्षम छ । तर हामी अझै नेपाल–चीन सम्बन्धमा भारतसितका समस्या घुसाएर चीन–भारत सम्बन्धमै दरार ल्याउने नीति अवलम्बन गरिरहेका छौँ ।
नेपाल–भारत वा तेस्रो मुलुकसँग चीन कुनै मध्यस्थकर्ता चाहँदैन । ऊ उदाउँदो शक्ति राष्ट्र भएकाले नेपालमा पनि अरू राष्ट्रमा जस्तै ‘सफ्ट पावर’ विस्तार गर्न चाहन्छ । नेपालबाट राम्रो प्रस्ताव आए हाम्रो विकासमा सघाउन चाहन्छ । चीन नेपालले आफ्ना सबै माया, आकांक्षा र समस्या आफ्नो टाउकोमा नथोपरिदियोस् भन्ने चाहना राख्छ ।
हामीले त भारत–चीनलाई बुझेनौँ, बुझेनौँ । उनीहरूले अहिलेको नेपाललाई कति बुझ्छन् त ?
थोपै बुझ्दैनन् । यसको मुख्य कारण हाम्रै नेतृत्व र बुद्धिजीवी वर्ग हो । लम्पसारवादी स्वाभिमानी नेतृत्व र चुइँगमजस्तो कुरा तन्काएर दुई पक्षीय सानो मामिलालाई पनि भूराजनीति र भूरणनीतिका आयामसँग जोड्दै अन्तर्राष्ट्रिय महत्त्व प्रमाणित गर्ने हामीजस्ता शब्दका खेती गर्ने बुद्धिजीवी यसमा जिम्मेवार छन् । अनि, यसलाई कसरी बुझ्ने भनेर दूतावासलाई सल्लाह दिने नेपाली विज्ञहरू । झन् यो पछिल्लो वर्ग त ‘माइन्ड रिडर’ नै हो– दूतावासका कर्मचारीले जे सुन्न चाहन्छन्, त्यही भन्न सक्ने । अनि, यताबाट दिल्ली र बेइजिङलाई उटपट्याङ रिपोर्ट जान्छ अनि उताका पनि झस्किन्छन् : नेपालमा त हाम्रो प्रभाव गुमिसक्यो अथवा गुम्लाजस्तो छ वा तेस्रो देशले नेपाललाई हाम्राविरुद्ध भाँडिसकेछ भन्दै । यताकाको पनि गलत बुझाइ, उताकाको पनि गलत बुझाइ भएपछि सम्बन्ध जसरी अघि बढ्नुपर्ने हो, बढ्दैन । राकेश सुदजस्ता राजदूत वा नाकाबन्दीजस्तो अप्रिय कदम भारतले लिन्छ, पत्रिकामा छापिएको लेखलाई लिएर चिनियाँ दूतावासले चाहिनेभन्दा बढ्ता कडा विज्ञप्ति निकाल्छ ।
अब भारत र चीनका कूटनीतिक नियोगले पनि आफ्ना स्रोतको दायरा फराकिलो पार्दै आफूले सुन्न नचाहने कुरा गर्न सक्नेहरूसित अन्तक्र्रिया गरेर नेपाली युवा पुस्ताले दुई पक्षीय सम्बन्ध कसरी अगाडि बढोस् भन्ने चाहन्छ, त्यो सोच्नुपर्छ । र, नेपालको सार्वभौमसत्ता र स्वाभिमानको कदर गर्दै कसरी देशको आर्थिक विकासमा सहकार्य गर्न सकिन्छ भनेर सोच्नुपर्ने देखिन्छ ।