सिनेमा, इतिहास र प्रश्नहरू
नेपालमा अन्यत्रभन्दा ढिलोगरी सिनेमाको विकास भएकाले निर्देशकहरूले इतिहासका घटनामाथि अझै जिम्मेवार भएर काम गर्ने बेला छ ।
भारतीय सिनेमा द तास्कन फाइल्समा एउटा संवाद छ, ‘इतिहासमा शास्त्रीको मृत्यु भएको तथ्यमाथि प्रश्न होइन । तर इतिहासले उनको मृत्युलाई कसरी प्रस्तुत गरेको छ, त्योचाहिँ प्रश्न हो ।’
स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्युमाथि आधारित भएर बनेको सिनेमामा उनको मृत्यु भएको थियो वा हत्या भन्ने प्रश्न गरिएको छ । पत्रकारिताको कोणबाट राजनीति र इतिहासलाई देखाइएको यो सिनेमाको मूल मर्म हो– आम जनतासामु प्रस्तुत गरिएको इतिहास कहिलेकाहीँ झुटो हुन सक्छ ।
शक्तिको संघर्षका लागि राजनीति (इतिहास) र वर्तमान भाष्य निर्माणमा कस्तो प्रभाव पर्छ र त्यसले कस्तोसम्म असर ल्याउँछ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।
नेपालमा पनि उस्तै शैलीको सिनेमा केही समयअघि नै आएको थियो । कुमार भट्टराई एवं मनोज पण्डितकृत तथा निर्देशित चलचित्र दासढुंगाको सेरोफेरो मदन भण्डारीको मृत्यु वरपर छ । उनको दुर्घटनापछि के–कस्ता जानकारीहरू बाहिर आए, त्यसैका आधारमा चलचित्र निर्माण भएको छ ।
यो चलचित्रमा भण्डारीको मृत्युपछिका सार्वजनिक जानकारी त आएका छन्, त्यसमाथि केही प्रश्न गर्न खोजिएको हो कि जस्तो पनि देखिन्छ । तर जसरी तास्कन फाइल्समा शास्त्रीको मृत्युलाई लिएर भारतमा गरिने अनुमानभन्दाबाहेकका कुरालाई प्रस्तुत गर्न खोजिएको छ, त्यसैगरी दासढुंगामा यो पक्षमा कमजोरी महसुस गर्न सकिन्छ ।
तास्कन फाइल्समा निर्देशकले सकेसम्म गहन अध्ययनद्वारा विभिन्न पुस्तकमा छापिएका सूचनासँगै हुन सक्ने सम्भावित परिघटनालाई उजागर गर्ने प्रयास गरेका छन् । यो कुराको अभाव पनि दासढुंगामा भेटिन्छ । तत्कालीन एमाले महासचिव भण्डारीको दासढुंगामा भएको मृत्युका पछाडि कसको हात थियो वा भवितव्यले दुर्घटना भएको थियो भन्नेबारे त्यसबेलै प्रश्नहरू उठेका थिए । चलचित्रले पनि उठाउने त त्यही प्रश्न हो । तर त्यसमा नयाँ आयाम दिनु आवश्यक थियो ।
यो चलचित्रको मध्यान्तरपछि केही मात्रामा निर्माण पक्ष (व्यापारिक) पनि हावी भएर अहिले युट्युबमा भाइरल भनिने कन्टेन्टमा जस्तै सनसनीपूर्ण खुलासा शैलीमा चलचित्रलाई समाप्त गरिएको प्रस्ट महसुस हुन्छ । यसले गर्दा सिनेमाले गर्ने प्रश्नका आधारहरू फितला छन् । त्यो समय पत्रपत्रिकामा छापिएका र सहजै सर्वसाधारणको पहुँच भएका जानकारीभन्दा बाहेकका कुरामा निर्देशक वा चलचित्र लेखकद्वयले गृहकार्य गरेको देखिन्न ।
हरेक सिनेमाका व्यापारिक पक्ष त हुन्छन् नै, सँगै तिनको समाजप्रतिको उत्तिकै दायित्व हुन्छ । सिनेमा केवल समय कटाउन हेरिने मनोरञ्जनको साधन होइन । मुख्यत: इतिहासमा आधारित सिनेमा दुई घन्टा कटाउने साधन होइन, बन्नु त झनै हुँदैन । त्यसै पनि इतिहासलाई आधार मानेर बन्ने नेपाली सिनेमा कम छन् । सामाजिक दायित्वबोध गरेर बनाइएका इतिहासमा आधारित सिनेमा औँलामा गन्न सकिने पनि छैनन् ।
इतिहासका सिनेमा : वर्णन वा निर्देशकीय दृष्टिकोण ?
सम्भवत: नेपाली सिने क्षेत्रमै इतिहासलाई आधार मानेर निर्मित चलचित्रमध्येकै सर्वाेत्कृष्ट सिनेमा हो, सीमारेखा । किशोर राना निर्देशित चलचित्रमा लमजुङ र लिगलिग कोटबीचको द्वन्द्वलाई देखाइएको छ । सिनेमामा त्यसबेलाको संस्कृति, युद्धकला, समाजको झल्को देख्न पाइन्छ । अहिले पनि लमजुङ वरपरका ठाउँमा प्रचलित ‘बाङ’ अर्थात् राजा बन्ने संस्कृतिलाई चलचित्रमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
सीमारेखाको मूल सार लमजुङ र लिगलिगबीचको युद्ध भए पनि यसबाहेकका धेरै कुराहरू देखाइएका छन् । त्यो समयको समाजको वर्णन छ । युद्धका बेला प्रयोग हुने हतियारदेखि युद्धकलालाई पनि चलचित्रमा देखाइनुले तत्कालीन समय युद्ध कसरी हुन्थ्यो भन्ने देखाएको छ । बैरीको चियो गर्न बसेकाहरूले मादल बजाएर दुस्मन आए/नआएको सूचित गर्ने शैलीले तत्कालीन समयको वर्णन गरेको छ ।
तर सिनेमाको रूपमा प्रस्तुत कथामा निर्देशकले निश्चित दिशा दिन नसक्नुको कमजोरी यसमा पनि देखिन्छ । सिनेमाले निर्देशकीय रूपमा निश्चित धार पक्रिन नसक्दा इतिहासको गहिराइलाई कस्तो तात्त्विक चिन्तनमा निर्देश गरिएको छ भन्नेमा निर्देशक आफैँ द्विविधामा भएको महसुस हुन्छ ।
वसन्ती, सेतो बाघलगायत केही राणाकालीन कथामा आधारित सिनेमा भने ऐतिहासिक दर्जाका छन् । यी इतिहासमाथि बनेका सिनेमा होइनन्, ऐतिहासिक हुन् । वसन्तीमा देखाइएको प्रेम, त्यतिबेलाका पात्रहरूले बोल्ने बोलीचाली आदि कुरालाई फितलो शैलीमा प्रस्तुत गरिएको छ । वसन्तीमा देखाइएको प्रेम र अहिलेका कुनै नेपाली वा भारतीय सिनेमामा देखाइने प्रेमको प्रकृतिमा खासै अन्तर छैन । वसन्ती सिनेमाका पात्रहरू वर्तमान समयका हुन्थे र देखाइएकै प्रकृतिकै हुन्थ्यो भने त्यो दृश्य अहिले पनि समयसापेक्ष लाग्ने किसिमको छ ।
वर्तमान नेपाली समयका लागि माओवादी सशस्त्र युद्ध एउटा इतिहास हो । जनयुद्ध सकिएपछि जन्मिएको पुस्ता पनि अहिले त हुर्किइसकेको छ । तर जनयुद्धलाई आधार मानेर बनेका सिनेमाहरूमा प्राय: कथा एउटै भेटिन्छ । अझ दर्शकको दृष्टिकोणबाट यस विषयमा बनेका सिनेमा खोइ त भन्ने प्रश्नमा प्राय: सिनेकर्मीहरूको एउटै जवाफ हुन्छ, ‘दर्शकलाई त्यही दु:ख, आँसु र मान्छे मरेका कथा कति देखाइरहने ?’
लकडाउनअघि हलहरूमा लागेको सिनेमा सेन्टीभाइरसमा जनयुद्धलाई प्रस्तुत गरिएको शैली हेर्दा निर्देशक रामबाबु गुरुङका लागि उक्त युद्ध कुनै मजाकभन्दा बढी लागेको देखिँदैन । इतिहासको वर्णनमा मात्रै अल्झिरहेका निर्देशकहरूले झनै बढी त्यसको असल वर्णन गर्न नसकेको देखिन्छ ।
कथालाई प्रस्तुत गर्न नसकिने नेपाली सिनेकर्मी, मुख्यत: इतिहासलाई लिएर सिनेमा बनाउनेहरूको भनाइ भएको सिनेमामै देखिन्छ । तर आजसम्म हिटलर, जर्मन नाजी र दोस्रो युद्धकालको समयलाई द पियानिस्ट, सिन्डलर्स लिस्ट, सेभिङ प्राइभेट रायन, डन्कर्क, इनग्लोरियस बास्टड्स, द इमिटेसन गेम्स, द थिन् रेडलाइन, निर्देशक इलिम् किलिमोभ्को विश्व प्रख्यात कम एन्ड सी (यो सिनेमा बनाइसकेपछि मैले भन्नुपर्ने कुरा सकियो भनेर निर्देशक किलिमोभ्ले सिनेमै बनाउन छाडेका थिए)’ कासाब्लाङ्का, लाइफ इज ब्युटिफुल, विश्व प्रख्यात निर्देशक तार्कोभ्स्की निर्देशित इभान्स चायल्डहुडलगायत हजारौँ सिनेमामा कथाका विषयवस्तु बनाइएका छन् ।
भर्खरै छायाकनका लागि अस्कर अवार्ड जितेको स्याम मेन्डेज् निर्देशित नाइन्टिन सेभेन्टिन चलचित्रमा त अझ प्रथम विश्वयुद्धको घटनालाई उच्चतम सिनेम्याटिक शैलीमा प्रस्तुत गरिएको छ । नेपालमा भने जनयुद्ध वा अन्य कुनै विगतका इतिहासका घटनालाई चलचित्रमा बुन्दा एउटै हुने तर्क दिने सिनेकर्मीहरू तथा समीक्षकको झुन्डले के साँच्चै सिनेमा बनाउन जानेको वा बुझेको छ भन्नेमै शंका गर्ने ठाउँ छाडिदिएको छ ।
दोस्रो विश्वयुद्धमा आधारित भएर कति सिनेमा बने भनेर सूची नहोला । तर अझै पनि हरेक वर्ष यस विषयमा सिनेमा निर्माण भइरहेका छन् । यस्ता हरेक सिनेमामा घटना घटेको समय, त्यो बेलाको आर्थिक, सामाजिक, राजनीतिक अवस्था र सिनेमामा प्रस्तुत गरिएको कथाको विषयवस्तु एउटै भए पनि त्यसलाई कसरी फरक कोण प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण धेरै खोजिरहनु नपर्ला ।
टाइका वाटिटी निर्देशित अस्कर अकेडेमी अवार्डमा यस वर्ष छनोटमा पर्न सफल जो जो र्याबिटमा नाजी जर्मन र त्यहाँ भएका रंगभेदी क्रियाकलापलाई एक बालकको मनोवैज्ञानिक दृष्टिकोणबाट सरल र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । वाटिटी आफैँले हिटलरको भूमिका निर्वाह गरेको यो सिनेमामा मुख्य पात्र जो जो बेटलर (रोमान ग्रिफिन डेभिस अभिनीत) ले हिटलरलाई आफ्नो काल्पनिक साथीको रूपमा देख्ने गर्छ ।
जब–जब जो जो कुनै समस्याको भूमरीमा रुमलिन्छ, काल्पनिक साथी हिटलर उसलाई रंगभेदी सुझाव दिन आइपुग्छ । हिटलरले जो जोलाई यहुदीहरूको वर्णन गर्दा चमेराजस्तो छतमा झुन्डिने, ब्वाँसोको जस्तो थुतुनो हुने र मान्छेको रगत चुस्नेलगायत स्लागामिश्रित वर्णन गर्ने गर्छ । वाटिटीको यस सिनेमामा यस्ता खाले संवाद जो जोको काल्पनिक हिटलरले मात्रै बोल्दैनन् । यी संवाद नाजी विचारधारा अनुशरण गर्ने जोकोही जर्मनले प्रयोग गर्ने भाष्य हो ।
सिनेमामा हेर्दा (सुन्दा) व्यंग्यात्मक लागे पनि यी संवाद तत्कालीन नाजी जर्मनहरूले बोल्ने भाष्यभन्दा कत्ति पनि पर छैन । जसरी प्रोपोगान्डाको माध्यमबाट बीसौँ शताब्दीको सुरुआती कालमा अमेरिकामा कालाहरूले गोराहरूको स्थान हडप्न चाहेको कुरा प्रचार–प्रसार गर्ने गरिन्थ्यो, त्यसरी नै नाजी जर्मनीमा यहुदीहरू समाजका कलंक हुन् भन्ने खाले भाष्य बहुप्रचलित थियो । यस विषयलाई वाटिटीले सत्ताको मुखै नदेखाई जर्मनीको कुनै एउटा सहरको एउटा सानो कुनामा घटेको कथालाई विश्वव्यापी रूपमा स्वीकार्न सकिने सिनेम्याटिक भाषामा प्रस्तुत गरेका छन् ।
हिटलर तथा नाजी जर्मनीको कुरा अन्य सिनेमामा पनि नआएका होइनन् । तर जो जो र्याबिटमा यसलाई निर्देशकले आफ्नै मौलिक शैलीमा उतारेर सिनेमामा बुनेका छन्, जुन कुराको अभाव नेपाली सिनेमामा इतिहासका घटनालाई लिँदा दोहोरिने बताइरहने सिनेकर्मीहरूमा प्रस्ट देखिन्छ ।
त्यस्तै, अमेरिकामा गोरा जातिहरूले दास भनिएका काला जातिमाथि रंगभेदी व्यवहार गरेको ऐतिहासिक कोणबाट पनि थुप्रै चलचित्र बनेका छन् । तीमध्ये एउटा सिनेमाको उदाहरण लिऔँ–
स्टिभ म्याक्–क्विन् निर्देशित ट्वेल्भ इयर्स अफ स्लेभ ऐतिहासिक सँगसँगै विगतमा भएको सत्य घटनामा आधारित सिनेमाहरूको एउटा उत्कृष्ट उदाहरण हो । यस सिनेमामा म्याक्–क्विन्ले उन्नाइसौँ शताब्दीको अमेरिकालाई प्रतिविम्बित गर्नैका लागि तत्कालीन समय हुने घटनाक्रम र पोसाक तथा प्रब्स मात्रै नभएर त्यो समाज उतार्ने संवाद, काला जातिविरुद्धमा हुने दुव्र्यवहार, गोराहरूका रंगभेदी विचार (रेसिस्ट आइडोलोजी) लाई अमेरिकाको उत्तर पूर्वमा स्वतन्त्र भइसकेको एक काला व्यक्तिलाई त्यहीँकै दक्षिणी राज्यमा छलकपट गरी पुर्याएर बेचिएको वर्णन छ । र, तिनै व्यक्ति १२ वर्ष संघर्षरत रही आफ्नो परिवारसमक्ष फर्कन सकेको कथालाई मानवीय शैलीले बुनेका छन् ।
यही विषयलाई कथावस्तु मानेर बनेको अर्को सिनेमा लिऔँ– ग्यारी रस निर्देशित अब्बल सिनेमा हो, फ्री स्टेट अफ जन्स । अमेरिकी गृहयुद्धकालमा मिसिसिपी राज्यको जन्स काउन्टीमा बसोबास गर्ने न्युटन नाइट नामका व्यक्तिले कन्फेडेरेट अमेरिकाको दासी कालाहरूलाई स्वतन्त्र गरिनु हुँदैन भन्ने भाष्यविरुद्ध युद्ध सुरु गर्छन् । र, उक्त काउन्टीभित्रै पर्ने भूभागलाई दासी उन्मूलन भएको क्षेत्रका रूपमा घोषणा गर्छन् ।
अब यी दुई सिनेमालाई आधार मानेर एउटा सिनेकर्मीको दृष्टिकोणले एउटै विषयवस्तुमा पनि कत्ति फरकपन ल्याउन सकिन्छ भन्नलाई छर्लंग बताइदिन्छ । म्याक्–क्विन्ले आफ्नोमा सिनेमामा दासीहरूविरुद्ध भएको अत्याचारलाई काव्यिक प्रक्रियागत शैली (स्लो एन्ड मेथोडिक प्रसेस) मा तिनको मानवीय संवेदनालाई निर्देशकीय दृष्टिकोण दिएर दर्शकलाई आफैँले महसुस गरेको घटनाझैँ प्रस्तुत गरेका छन् भने ग्यारी रसले आफ्नो सिनेमा यही कथालाई एनरजेटिक शैलीमा प्रस्तुत गरेर तिनै दासीहरू र उनीहरूप्रति सद्भाव राख्ने मानिसको प्रतिशोधको भावनालाई स्पष्टगोचर शैली (पल्पेवल) मा देखाएका छन् ।
यी केही प्रतिनिधि उदाहरणबाट पनि के प्रमाणित हुन्छ भने इतिहासमाथि बनाइने चलचित्र सरसर्ती कथाको वर्णन मात्रै होइन । इतिहासको घटनालाई पटक–पटक सिनेमा बनाउँदा कथावस्तु वा कलात्मकता दोहोरिनु हुँदैन । न कि एउटै विषयमा निर्देशक वा सिनेकर्मीहरूमा क्षमता अझ अभिवृद्धि हुन्छ र कथालाई फरक–फरक कोणबाट छुट्टै धार दिने गरी प्रस्तुत गर्न सकिन्छ । फलत: नयाँ कलात्मक शैलीको आविष्कार पनि हुन जान्छ ।
इतिहासको आख्यानीकरण
भन्ने गरिन्छ, इतिहास अल्छीलाग्दो हुन्छ । जब मान्छे तिथिमिति र घटनामा रुमलिन्छ, उसले इतिहासको अध्ययन गर्न थाल्छ । तर सिनेमामा इतिहासलाई नै प्रस्तुत गर्दा निर्देशकीय दृष्टिकोण अब्बल भए पट्यारिलो इतिहासलाई पनि काव्यिक रस बोकेको आख्यानको रूप दिन सकिन्छ ।
नेपालमा बन्ने इतिहासमा आधारित सिनेमाहरूमा निर्देशकीय दृष्टिकोणका कुरा त बिरलै देखिन्छन्, सँगैसँगै पात्रहरूले बोल्ने संवाद, सिनेम्याटिक प्रस्तुति, कलात्मकता तथा होलसम एक्सिपिरियन्समै कृत्रिमता आभास हुन्छ । कतिपय दृश्य हेर्दा लाग्छ– मानौँ, कुनै सिनेकर्मीले सिनेमा देखाइरहेको नभएर त्रिभुवन विश्वविद्यालयको कुनै अल्छी प्राध्यापकले इतिहासको पाठ पढाइरहेको छ । यसको उदाहरण वधशाला वा खाग सिनेमाभरि प्रशस्त भेटिन्छ ।
इतिहासलाई सिनेमाको रूपमा प्रस्तुत गर्दा दर्शकलाई त्यसको स्वादिष्ट व्यञ्जन कसरी चखाउन सकिन्छ भन्ने निर्देशकीय पाटो ख्याल गर्नैपर्ने मुख्य विषय हो । एउटा सिनेमाको उदाहरण लिऔँ–
विश्व प्रख्यात सिने निर्देशक स्टिभन स्पिलबर्गको सिनेमा सिन्डलर्स् लिस्टमा सिन्डलर नामक जर्मन उद्योगीले आफ्नो उद्योगमा काम गर्ने यहुदी कामदारहरूलाई बचाउनका निम्ति गरेको संघर्षलाई मानवीय ढंगले प्रस्तुत गरिएको छ । दोस्रो विश्वयुद्धताका नाजीहरूले यहुदीविरुद्ध गरेको मिच्याइँको इतिहासलाई स्पिलबर्गले यति काव्यिक कलात्मक शैलीमा सिनेमाको रूपमा बुनेका छन् कि, उक्त युद्धमा नाजीहरूले यहुदीहरूमाथि वर्षाएको क्रुरता केही क्षणका लागि भुलेर दर्शकहरू तिनै जर्मनमध्ये पनि मानवता भएका व्यक्तिहरू थिए भन्ने कुरालाई प्रमुखत: अनुशरण गर्न पुग्छन् । यस सिनेमाभरि निर्देशकले श्यामश्वेत दृश्यहरू प्रस्तुत गरेका छन् । तर जब नाजीहरू हारिसकेपछि अमेरिकी सेनाहरू आइपुग्छन् र त्यहाँ लुकाइएका यहुदीहरूलाई रिहा गर्छन्, तब एउटी सानी बालिका रातो ओभरकोट लगाएर बाटोमा हिँडिरहेकी हुन्छिन् । स्पिलबर्गको यो कलात्मकताको छनोटका कारण दर्शकमा आशाको पुनर्ताजगीकरण गरिदिन्छ, मानवताप्रतिको आशालाई फेरि वृक्षारोपण गरिदिन्छ । सिनेमामा प्रयोगमा भएको कलात्मक निर्देशकीय छनोटका कारण दर्शकलाई कतै पनि यति भेग विषयमा आधारित भएर बनेको सिनेमा हेरिरहेको छु भन्ने महसुस हुँदैन ।
इतिहासकै आख्यानीकरणको अरू उदाहरणमा नाजी जर्मनमाथि नै आधारित जो जो र्याबिट, तत्कालीन बेलायतका राजा किङ जर्ज चौथोमाथि आधारित द किङ्स स्पिच, रोमनका एक सेनापतिको कथामाथि म्याक्सिमस आधारित ग्ल्याडियटर, साउदी अरबियाको एकीकरणमा सहयोग पुर्याउने लरेन्स नामक ब्रिटिस सैनिकमाथि आधारित लरेन्स अफ अरेबियालगायत थुप्रै सिनेमा छन् ।
००००००
इतिहास मजाक होइन, मान्छेको वर्तमानलाई निर्देशित गर्ने भाग्यरेखा हो । जबजब वर्तमान बिथोलिन्छ, त्यसमा केही हात इतिहासको पनि हुन्छ । समाजसँग प्रत्यक्ष सरोकार राख्ने सिनेमामा इतिहास पनि समेटिन्छ । र, समेटिएको इतिहासले समाजलाई केही न केही कुरामा निर्देशित गरिरहेको हुन्छ । पाश्चात्य सिने क्षेत्रमा यस्ता थुप्रै घटना छन्, जहाँ इतिहासमा आधारित भएर बनेका सिनेमाले वर्तमानमा निर्माण भएका भाष्यमा फरकपन ल्याउन सफल भएका छन् । नेपाली सिने क्षेत्रमा पनि इतिहासमाथि आधारित भएर सिनेमा बन्ने क्रम जारी छ । यस्तो बेला सिनेकर्मीले के कुरा बुझ्न आवश्यक छ, इतिहासलाई सिनेमामा देखाइँदा वर्तमान समयका दर्शकले उक्त घटनाको मात्रै जानकारी पाउने नभएर निर्देशकले देखाउन चाहेको धारलाई पनि महसुस गर्ने गरी सिनेमा निर्माण हुनुपर्छ ।
नेपालजस्ता देश, जहाँ अन्य राष्ट्रको तुलनामा निकै पछि मात्रै सिनेमाको विकास सुरु भएको छ । यहाँ इतिहासको घटनालाई लिएर जिम्मेवार भएर काम गर्न आवश्यक छ । भोलिका लागि निर्माण हुने दस्तावेजको रूपमा इतिहासका पुस्तक मात्र नभएर यी सिनेमा पनि हुन्छन् ।
अन्त्यमा, सिनेकर्मीले इतिहासमाथि आफ्नो न्यारेटिभ प्रस्तुत गरिरहँदा नेपालजस्ता देशहरूमा सेन्सरले दु:ख दिने घटना प्रशस्तै पाइन्छन् । यस्तो बेला सिनेकर्मीले आफ्नो कलात्मकतालाई प्रस्तुत गरेर इतिहासमा स्थापित भएको भाष्यमाथि प्रश्न गरी सिनेमा बनाउन आवश्यक छ । कहिलेकाहीँ आक्रोश पोख्न बन्दुकै चल्नुपर्ने आवश्यकता हुँदैन, कागजको ढुंगालाई पनि त्यसको विम्बको रूपमा देखाउन सकिन्छ । साथै, सेन्सर बोर्डले सिनेकर्मीहरूलाई संवैधानिक मातहतमा रहेर आफ्नो स्वतन्त्रताको उपयोग गर्न दिनु पनि उत्तिकै आवश्यक छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...