राष्ट्रवाद, राष्ट्रियता र देशभक्तिको बहस
नेपालको राष्ट्रियताको मूल विचार सीमा रक्षा र भारतको प्रभुत्ववादी सोचलाई परास्त गर्नुपर्छ भन्ने सिद्धान्तका आधारमा निर्माण भएको छ
कोरोना महामारीपछिको लकडाउन र यसलाई पछ्याउँदै भारतले नेपाली भूभाग व्यास एवं गुन्जी हुँदै लिपुलेकसम्मको सडक मार्ग त्यहाँका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको समाचारसँगै नेपालको सिमाना लिम्पियाधुरासम्म हो भन्ने अडानले राष्ट्रवादको बहस सतहमा आएको छ ।
लकडाउनकै अवधिमा बाटो निर्माण कार्य प्रारम्भ भएपछि नेपाली समाज, संसद् र सिंगो राजनीति राष्ट्रवाद, राष्ट्रियता र लिम्पियाधुरा समेटेको नेपालको नक्सासहित बृहत् बहसमा उत्रिएको छ ।
नेपाल–भारत सम्बन्धमा दुई मुलुकबीच रहेको खुला भौगोलिक सीमा, भारतबाट हुने सीमा अतिक्रमण र समय–समयमा हुने नाकाबन्दीका कारण सीमा विवाद बेलाबेला नागरिक तहसम्म आउने गरेको छ । राष्ट्रियताको विषय राजनीतिक आन्दोलनको महत्त्वपूर्ण पक्ष बन्ने र निर्वाचनको मुद्दाका रूपमा प्रतिस्पर्धी दलहरूले छिमेकीसँग भएका असमान सन्धि र सीमा विवाद समाधान गर्ने प्रतिबद्धताका आधारमा जनमत प्राप्त गर्ने प्रमुख आधार बन्ने गरेको छ । यस कारण राष्ट्रियता र राजनीति परिपूरक विषयका रूपमा नेपाली समाजले आत्मसात गरेको देखिन्छ ।
राष्ट्रियतासम्बन्धी अवधारणा
युरोपले पुँजीवादको विकासपछि आधुनिक समाजको विशेषताका रूपमा राष्ट्र र राष्ट्रियता परिभाषित गरेको देखिन्छ । युरोपेलीहरूले राष्ट्र र राष्ट्रियताको प्रमुख व्याख्याकारको रूपमा आफूहरूलाई परिभाषित गर्दै त्यही महादेश वरिपरिको अनुभवका आधारमा राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षपोषण सुरु गरे ।
सन् १९५० पछि विश्व महाशक्तिको रूपमा अमेरिका उदय भएपछि आर्थिक विकास, आधुनिकता र प्रगतिका लागि स्वाधीन तथा स्वतन्त्र राष्ट्रको मान्यतालाई विकासको प्रमुख विशेषताका रूपमा संसारका विकासमा सहभागी राज्यहरूले स्वीकार्नका लागि अति राष्ट्रवादी सोच निर्माण गर्ने कार्य सुरु गर्यो । एसियामा रहेको पृथक राष्ट्रवादी सोचलाई युरोप र अमेरिकाले विकास गरेको राष्ट्रियता एवं राष्ट्रवादको अवधारणाले विस्थापित गर्न पुग्यो ।
विद्वान् बेनेडिक्ट एन्डरसनले पुँजीवादले मुद्रण पत्रकारिताको माध्यमबाट संसारभरि राष्ट्रवादी सोचलाई विकास गर्न पुँजीवादी राष्ट्रहरू सफल भएको तर्क पेस गरेका छन् । युरोपेलीहरूले राष्ट्रियतालाई शक्तिशाली राज्य संरचना, स्वतन्त्र नागरिक र व्यक्तिगत अधिकारको प्रत्यायोजनसँग समायोजन गर्दै राष्ट्रियताको व्याख्या गरे भने अमेरिकीहरूले आर्थिक वृद्धि र आत्मनिर्भरतामा आधारित अर्थतन्त्रका आधारमा नागरिक ऐक्यबद्धतालाई व्याख्या गर्दै स्वतन्त्र एवं सार्वभौम राष्ट्रका मान्यताहरूलाई स्वीकार्दै आर्थिक विकास राष्ट्रियताको प्रमुख आधार हो भन्ने स्वीकार गरे ।
जनजातिहरूको राज्य र प्रशासनिक निकायहरूमा राज्यमार्फत गरिएको मूल प्रवाहीकरण, ब्रिटिस उपनिवेशवादविरुद्धको सामाजिक मनोविज्ञान एवं भारत सन् १९४७ मा स्वतन्त्र भएपछि दक्षिण एसियाली मुलुकहरूप्रति गरिने शासकीय अधीनताको प्रभाव र खुला सिमाना तथा भारतको आर्थिक सहयोगका साथै आयातमा निर्भर हुने अवस्था छ । सोही कारण भारतले सानो अनि कमजोर राज्यका रूपमा परिभाषित गर्ने भाष्यले नेपालको राष्ट्रियतासम्बन्धी अवधारणा स्थापित हुँदै आएको देखिन्छ ।
देशभक्ति र राष्ट्रवाद
सामान्यतया हामीले देशभक्ति र राष्ट्रवादलाई पर्यायवाची शब्दका रूपमा बुझ्ने गर्दछौँ । देशभक्ति आफ्नो देशप्रतिको सम्मान, सद्भाव र आदर हो । हरेक नागरिकले आफूलाई त्यो देशको नागरिक हुन पाएकामा गौरव महसुस गर्ने गर्छन् । वीरता, उच्च आत्मसम्मान, सांस्कृतिक विविधता तर देशीय पहिचान र कर्तव्यनिष्ठ नागरिक भन्ने सोचका साथ देशभक्तिको मान्यता विकास भएको देखिन्छ । देशभक्ति व्यक्तिगत एवं सामूहिक दुवै प्रकारको रहेको र यसको प्रभाव १७ औँ र १८ औँ शताब्दीमा अधिकतम देखिन्छ । उपनिवेशवादको विकासले देशभक्तिको भावनालाई आफ्नो अनुकूल व्याख्या गर्दै सैन्य विकासमा लगायो र व्यक्तिको योगदानलाई देशको पहिचानसँग जोड्दै देशभक्तिको भावनालाई आफ्नो वर्चस्व निर्माण गर्न प्रयोग गरेको पाइन्छ ।
देशभक्ति सामुदायिक प्रणालीबाट विकास हुने भएकाले एकीकृत सोच र मान्यता स्थापित भएको हुन्छ । व्यक्तिको देशप्रतिको आदर्शका आधारमा देशभक्तिको मापन गर्ने गरिन्छ । राष्ट्रवाद सामाजिक चेतनाको मौलिक रूप हो । यो समावेशी परिकल्पना, सार्वभौम राष्ट्र, सार्वभौमसत्तासम्पन्न नागरिक भन्ने मान्यताका आधारमा स्थापित राजनीतिक सिद्धान्तमा आधारित हुन्छ ।
राष्ट्रवादको परिभाषा सामाजिक र राजनीतिक परिवेशअनुसार फरक हुने गर्दछ । समानता एवं स्वतन्त्रताको प्रत्याभूति, राजनीतिक अधिकार, सुशासनको तह, आत्मनिर्भर अर्थतन्त्र, सामाजिक न्याय, सामाजिक विविधता अनि विकासको तहका आधारमा राष्ट्रियताको मापन गर्ने र राष्ट्रवादको व्याख्या गर्ने गरिएको छ ।
आजका हाम्रा बहस र छलफल देशभक्ति, राष्ट्रियता हुँदै मौलिक नेपाली राष्ट्रवादमा लक्षित हुन थालेको देखिन्छ । आज निर्माण भएको राष्ट्रवादी सोचले नेपालले कुनै पनि छिमेकी मुलुकको सीमा हस्तक्षेपलाई स्वीकार नगर्ने गरी राष्ट्रिय स्वाभिमान निर्माण गर्नुपर्छ भन्ने आम मान्यता विकास गरिरहेको छ ।
नेपाली राष्ट्रियताको सैद्धान्तिक पक्ष
ऐतिहासिक दृष्टिकोणका आधारमा नेपालको राष्ट्रियतालाई चर्चा गर्दा उपनिवेशवादको सामना नगरे पनि ब्रिटिसहरूको आक्रमणलाई साहसिक हिसाबले जुझेको वीर नेपाली भन्ने भाष्यका आधारमा बुझ्ने गरिन्छ । यतिबेला शासकहरूभन्दा पनि नागरिकहरूको साहस, बलिदानी सोच र योगदानले नेपालको रक्षा गरेको हो भन्ने ऐतिहासिक तथ्यहरू हामीसँग छन् ।
अर्कोतिर दुई ठूला छिमेकीका बीचमा भौगोलिक हिसाबले सानो देश भए पनि कहिल्यै नझुकेको स्वाभिमानी नेपाली भन्ने अवधारणागत ऐतिहासिक जगमा हाम्रो देशभक्तिको मान्यता विकास भएको छ । एकातिर अमेरिकाको प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ भने अर्कातिर सोभियत संघले साम्राज्यवादका विरुद्ध विश्वलाई राजनीतिक विचारका आधारमा संगठित गर्दै शक्तिशाली बन्ने प्रयत्नबीच हामीजस्ता साना राष्ट्रहरू राजनीतिक हिसाबले असंलग्न मान्यताका आधारमा आफ्नो राष्ट्रिय परिचयलाई कायम गर्दै बस्यौँ ।
आर्थिक वृद्धिका लागि आधुनिकीकरण र विकासको मान्यतालाई राज्यले स्वीकारेपछि विश्व पुँजीवादले विकास गरेको स्वाधीनता एवं एकतालाई राष्ट्रवादको मान्यताका रूपमा राज्य तहबाट स्वीकार गरे पनि नागरिक तहमा रहेको देशभक्तिमा आधारित नेपाली राष्ट्रवाद समाजमा स्थापित थियो । विकासको अवधारणाले विश्व पुँजीवादको संरचनात्मक स्वरूप निर्माण गर्दै, विश्वलाई पृष्ठक्षेत्र र केन्द्रका रूपमा विकसित गर्दै हरेक राष्ट्र वा राज्य विश्व पुँजीवादको इकाइका रूपमा परिभाषित गरे पनि नेपालको राष्ट्रवादी सोच विस्थापित हुन सकेन ।
वाम आन्दोलनले राष्ट्रिय स्वाभिमान, असमान सन्धि सम्झौता खारेज गर्ने प्रतिबद्धता र राष्ट्रिय सीमा संरक्षणको मुद्दा आन्दोलनका एजेन्डाका रूपमा उठाउँदै संगठन विस्तार गर्यो । भारतले पटक–पटक गरेको नाकाबन्दी र सीमामा गरेको सैन्य हस्तक्षेपले सामाजिक रूपमा उसप्रतिको नकारात्मक धारणा विकास हुँदै गयो ।
भारतसँग रहेको खुला सीमा र अतिक्रमणको विषय राजनीतिक मुद्दा त बन्यो नै, यसले समाज र राजनीतिलाई एकीकृत गर्ने आधार निर्माण गर्यो । नेपालको राष्ट्रवादको मूल विचार सीमा रक्षा र भारतको प्रभुत्ववादी सोचलाई परास्त गर्नुपर्छ भन्ने सिद्धान्तका आधारमा निर्माण भएको छ ।
हरेक राष्ट्रको राष्ट्रिय स्वाभिमान भू–अखण्डताले कायम गर्दछ भन्ने मान्यताका आधारमा नेपालले आफ्नो सीमा संरक्षण गर्ने सवाल राष्ट्रवादको महत्त्वपूर्ण पक्ष बनेको देखिन्छ । राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्र एकअर्काका परिपूरक हुन् ।
हिजोसम्म राष्ट्रियताको मुद्दा प्रतिपक्षीहरूले उठान गर्ने र सत्ता पक्ष राष्ट्रवादविरुद्धको सूचकको रूपमा प्रस्तुत हुने अवस्था हामीबीच रहेको थियो । निशाना छाप परिवर्तन गरी लिपुलेक र लिम्पियाधुरा समेटेको नेपालको नक्सा बनाउनका लागि भएको राजनीतिक दलहरूबीचको एकता र समाजको समर्थनले नेपालको सीमा अतिक्रमणमा सम्पूर्ण नेपालीहरू एकीकृत हुन्छन् भन्ने आज सावित भएको छ । यसले लोकतान्त्रिक गणतन्त्र विकासका लागिसमेत महत्त्वपूर्ण भूमिका खेल्न सक्ने आधार तयार गरेको छ ।
कहिलेकाहीँ राष्ट्रवादलाई शासकीय शक्ति सञ्चयको माध्यमका रूपमा पनि व्याख्या गर्ने गरिएको छ । राष्ट्रियतालाई राजनीतिक एजेन्डाभन्दा पनि नागरिकको देशप्रतिको गौरव र राज्यको नागरिकप्रतिको कर्तव्यका रूपमा एकाकार गर्न सकियो भने अझ स्पष्ट हुन सकिन्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...