उस्ताद उवाच
दक्षिणामा डिजेल–पेट्रोल७० नाघेका एक दम्पतीले दसैँमा नातागोता सबैलाई प्रसन्न बनाउन यस्तो योजना बनाएका छन् : – छोरीज्वाइँलाई एक माना पेट्रोल ।– बहिनीज्वाइँलाई एक पाउ डिजेल ।– नातिनातिनीलाई पेट्रोल सुँघ्न दिने । – उनीहरू सबैलाई ग्यासमा पकाएको खाना दिने ।
दक्षिणामा डिजेल–पेट्रोल
७० नाघेका एक दम्पतीले दसैँमा नातागोता सबैलाई प्रसन्न बनाउन यस्तो योजना बनाएका छन् :
– छोरीज्वाइँलाई एक माना पेट्रोल ।
– बहिनीज्वाइँलाई एक पाउ डिजेल ।
– नातिनातिनीलाई पेट्रोल सुँघ्न दिने ।
– उनीहरू सबैलाई ग्यासमा पकाएको खाना दिने ।
ससुरालीतिरका नातेदारका हकमा :
– साढुभाइलाई पातमा, ज्वाइँहरूलाई हातमा डिजेल दिने ।
– उनीहरूलाई सडक छेउछाउबाट भेला गरिएको दाउरा र काठपातले पकाएको खाना दिने ।
यस्तो बेला दक्षिणा दिन डिजेल–पेट्रोल कहाँबाट ल्याउने ? यसको पनि उनीहरूले योजना बनाएका छन् । खाडीमा काम गरिरहेका छोराहरूलाई दसैँमा खर्चको सट्टा डिजेल, पेट्रोल र ग्यास पठाइदेओ भन्ने ।
जित्यो साइकलले
अपमान र भुक्तमान बेहोरेर पलायन भएको बिचरो साइकल साँढे बनेर फर्किएको छ । सडकमा ढलिमली गर्दै कुदिरहेछ । १२ वर्षमा खोलो फर्कन्छ भन्छन्, हेला गरेको साइकल त्यसभन्दा धेरै वर्षपछि फर्कियो । पाइडल चलाउँदै फर्कियो । मोटरसाइकल र मोटरबाट अपमानित भएर देशका ठूला सहरबाट पलायन भएको थियो, सानसँग फर्कियो । जितेँ भन्दै फर्कियो । डिजेल–पेट्रोलको धूवाँबाट ज्यान जोगाउन भूमिगत भएको साइकल सडकमा प्रकट भयो ।
साइकल कता भूमिगत थियो ? कहाँ लुकेको थियो ? विपन्न र श्रमिक वर्गमाझ भूमिगत भएको थियो । विपन्नले पनि ‘आधा पेट खाउँm, मोटरसाइकल चढौँ’ भनेर साइकलसँग सम्बन्ध विच्छेद गर्न थालेका थिए । आधा पेट खानेले नचढ्ने, पूरै पेट खानेले देखिनसहने भएपछि भूमिगत थियो साइकल । गरिब खोज्दै शरण लिँदै बाँचेको थियो । आफ्नो मालिकले कुन दिन अलिकति कमाउँछ र मोटरसाइकल किनेपछि लखेटिन्छु भन्ने चिन्ता गर्दै बाँचेको थियो । ‘धूवाँ उडाउनु सम्मान, पाइडल चलाउनु अपमान’ भन्थे, अपमान गर्नेलाई मुखभरिको जवाफ दिँदै फर्कियो । अपमान गर्नेहरूको उद्धार गर्न फर्कियो, नाकाबन्दीले यात्राबन्दी भएकाहरूलाई गन्तव्यमा पुर्याउन फर्कियो ।
ट्रिङट्रिङ घन्टी बजाउँदै साइकल फर्किएको छ । धूवाँ उडाउने साधनलाई गिज्याउँदै आएको छ । मोरो, क्या मज्जाले घन्टी बजाउँदै जिस्काउँदैछ धूवाँवाल साधनलाई । साइकलको ट्रिङट्रिङ आवाजले के भन्दैछ ? नाकाबन्दी खुलेपछि अपमान गर्दै मलाई फेरि भूमिगत हुन नपठाइदेऊ भन्दैछ ।
दसै बन्द, दशा खुला
दसैँ आयो ! खोइ कहाँ आयो ? सीमापारि आयो । के चढेर आयो ? डिजेल/पेट्रोलको ट्यांकर र ग्यासको बुलेट चढेर आयो ! सीमापारि दसैँ के गर्दैछ ? थचक्क बसिराख्या छ । किन थचक्क बसेको, थकाइ मार्न ? अहँ होइन, थाकेकाले होइन, रोकेको हुनाले बस्यो । रोकेको मात्र भए हुने नि, भारतले टाउकैमा ठोकेकाले बस्यो ! सीमा उता भारतबाट दसैँले यता नेपाल हेर्दैछ, नेपालीका अनुहार देख्दैछ, गुहार गुहार भनेर चिच्याउँदैछ, मलाई नेपाल लैजाओ भन्दैछ ।
बिचरो दसैँलाई नाकाबन्दी कहिले थाहा थिएन । आर्थिक अभावले जनताका घरघरमा मजासँग पस्न र बस्न नपाएको थाहा थियो, सीमापारि नै नाकाबन्दीको प्रहार खेपेर कहिल्यै बस्न परेको थिएन । दसैँ आयो भन्दै रमाइरहेका बालबालिका सोध्दैछन्, भारतले नाकाबन्दी गरेको छैन रे, कसरी दसैँ सीमापारि नै अड्कियो ? कठै, भारतले दसैँलाई नाकाबन्दी गरेर दशालाई नाका खुला गरेको छ भनेर बालबालिकालाई कसले बुझाइदेला ? बालबालिका भन्दैछन्, दसैँ आयो । प्रौढहरू भन्दैछन्, दशा आयो । अब हामीले दसैँ कि दशा मनाउने ?
उसको हिसाब
एकातिर उसले नाकाबन्दी गरेको छ, अर्कातिर उसले सरकार हात पार्न खोज्दैछ । यता उसले निहुँ खोज्दैछ, उता उसले भाऊ खोज्दैछ । कतातिरको ‘ऊ’ लाई पहिले ध्यान दिने ? बडो समस्या जस्तो लाग्छ तर नेताहरूका लागि यो कुनै समस्या होइन । सरकारवाला ‘ऊ’ नै महत्त्वको हो । नाकाबन्दी लाउने ‘ऊ’ पनि नेपालमा एउटा पार्टीजस्तै हो । ‘उसले’ समातेको क्यालकुलेटरभित्र संसदीय गणित हेरफेर गर्ने क्षमता छ । ‘ऊ’ले नभनी सु नगर्नेहरू छन् । तिनलाई यताउता जान दिन भएन । सीमामा इन्धनको नाकाबन्दी लगाएको छ उसले । सरकार बनाउने गणितमा पनि उसले नाकाबन्दी लगाइदिने डर छ ।
विभिन्नमध्ये एउटा ‘ऊ’ पार्टीका नेता क्यालकुलेटरमा जोडघटाउ गरिरहेका थिए । श्रीमती हेरिरहेकी थिइन् । जाबो ६ सय १ को जोडघटाउमा पनि कति समय लगाएको भन्दै श्रीमती बोलिन्, ‘ल्याउनूस्, म हिसाब गरिदिन्छु ।’ नेताजीले हपार्दै भने, ‘बढ्दा जान्ने नबन, देखिने अंकको मात्र हिसाब गरेर हुन्छ ? उसको हिसाब गर्न परेन ?’
पहिलेपहिले ‘ऊ’लाई भित्रभित्रै हिसाब गरे हुन्थ्यो, अहिले त्यसरी हुन्न, उसको चित्त नबुझाइ सरकार पाइन्न । कुखुराको पित्त जत्रो मात्र छ उसको चित्त, त्यसैले मनाउनै गाह्रो । उसको चित्त नबुझाई सरकार पाइयो भने पनि पेट्रोलियम पाइन्न । उसको समर्थनमा सरकार चल्ने, पेट्रोलियमले देश चल्ने ‘फास्ट ट्रयाक’ उपाय खोज्दैछन् नेताहरू । त्यसैले नेताहरूलाई फुर्सद छैन । कृपया नेताहरूलाई डिस्टर्ब नगरौँ !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...