उस्ताद उवाच
हे भगवान्, नेपालीले गफ गर्न कति जानेका ! यिनले जानेको काम गफ मात्र हो कि क्या हो ? जो पनि गफ दिन व्यस्त छन्, गफमा मस्त छन् ।
किसानका किसिम
टीभी किसान : कसैको खेत एकदिन भाडामा लिएर कार्यक्रम गर्ने । टेलिभिजन बोलाउने । वास्तविक रोपाहार र बाउसेहरूलाई वरिपरि राख्ने । त्यसपछि अतिथिहरूले क्रमश: धान रोपेको अभिनय गर्ने । अलि उत्ताउलो पारा पनि देखाउने तर बढी उत्ताउलिँदा हरिप्रसाद पराजुली बनिएला कि भनेर होस पनि पुर्याउने । घर फर्केर टीभीमा समाचार हेर्ने ।
फोटो किसान : गाउँ पस्ने, हिलोबीचमा धानको बीउ या हलो समाउने । ङिच्च दाँत देखाएर हाँस्ने । लुगामा हिलो लाग्ला भनेर होसियार बन्ने । भटाभट फोटो खिच्ने । चित्त बुझ्दो फोटोहरू सामाजिक सञ्जालमा अपलोड गरिहाल्ने । सहर फर्कंदा बाटोमा निरन्तर मोवाइल फोनमा घोरिएर कति लाइक र कमेन्ट आयो भनेर गिन्ती गर्ने । कतिपयलाई मेसेज पठाएर ‘मेरो फोटो हेर्यौ ?’ भनेर सोध्ने ।
टेलिफोन किसान : नेपालमा खेती नगर्ने जमिनदारको हातमा धेरै जमिन छ । यस्ता जमिनदारले फोनमा आज कति रोपाइँ भयो भनी गाउँमा सोध्छन् । खेताला कति आए, पल्लो गाउँका बाउसे आए कि आएनन् भन्ने पनि यिनको प्रश्न हुन्छ । यिनको कुनै खेत ट्रयाक्टरले त कुनै खेत गोरुले जसरी जोत्छ । टेलिफोन नै यी मिहिनेती किसानको कुटो, कोदालो र हलो हो ।
कागजी किसान : यिनले सरकारी कृषि ऋण लिन्छन् । गाउँमा फर्म खोलेर खेती र पशुपालन गर्छन् । किसानले पाउने अनेक सुविधा यिनैलाई, किसानको हितका लागि विदेश सयरको मौका पनि यिनैलाई हो । अँ, बेलाबेला मोटरमा सरर कृषि फर्म पनि पुग्छन् र रिसोर्टमा बसेको आनन्द लिन्छन् । यस्ता कागजी किसानले ऋण लिइदिएनन् भने बैंकको बिजोग हुन्छ, यिनले ऋण लिइदिएर देशमा कृषिमा लगानी जो बढेको छ ।
पसिना किसान : जसलाई फोटो किसान, टीभी किसान र कागजी किसानबारे केही थाहापत्तो हुँदैन, उनीहरू फोहोरी किसान हुन् । यिनलाई घीन लाग्दैन, हिलो, धूलोमा दिन बिताउँछन् । पसिना र हिलोले यिनको शरीर दुर्गन्धित हुन्छ । कति फोहोरी भने पसिनाले माटो भिजाएर खेती गर्छन् । यिनका बारेमा सरकारी कागजात र पार्टीका चुनावी घोषणापत्रमा व्यापक रूपमा उल्लेख भएको हुन्छ । तर, त्यस्ता कागज फोहोर पोको पार्न मात्र प्रयोग हुन्छ ।
धन्यवाद !
अलिकति विद्युत् दिइरहेका थियौ, अरू तीन सय मेगावाट दिने भएछौ । पहिले–पहिले दिन्छु भनेपछि कहिले दिन्थ्यौ कहिले ! अबचाहिँ पक्कै दिन्छौ अहिल्यै । त्यो तीन सय मेगावाटले हामी उज्यालो न उज्यालो बिजुली बाल्नेछौँ । त्यो उज्यालोमा हामी हराएको एउटा कागज खोज्नेछौँ । त्यो कागज हामीलाई नभेटी भएको छैन । त्यो लर्तरो कागज होइन, त्यसमा विद्युत् निर्यातको कार्यक्रम छ । अहिलेको अलिअलि उज्यालोले कागज भेटिएन । अब थप तीन सय मेगावाटको उज्यालोले कागज
अवश्य भेटिनेछ ।
तर, के गर्नू ! कागज भेटिएर मात्र हुन्न, त्यसलाई पढ्नु पनि पर्यो । लरतरो उज्यालोमा त्यति महत्त्वपूर्ण कागज पढ्न सकिन्न । त्यो कागज पढ्न अरू तीन सय मेगावाटको उज्यालो चाहिन्छ । त्यसैले भविष्यमा हामीलाई दिन अरू तीन सय मेगावाट विद्युत् ठिक्क पारेर राखिदेऊ है ! अँ, तिमीले विद्युत्को मूल्य बढाउने पनि भनेछौ, सित्तैँमा दिन मिल्दैन ? देऊ न ल ? सित्तँैमा दियौ भने हामीलाई त्यो कागज खोज्ने झन्झटै हुँदैन । प्लिज, अझै विद्युत् देऊ, सकभर सित्तैँमा देऊ ।
निहु खोजौँ, सहमति गरौँ
आउनूस् सहमति गरौँ । के विषयमा सहमति गर्ने ? जे विषयमा गरे पनि हुन्छ । पहिले तपाईं मेरो बाटो छेक्नूस् । म किन बाटो छेकिस् भनेर हपार्छु । त्यसपछि तपाईं पनि पाखुरा सुर्किनूस्, म पनि सुर्किन्छु । हानाहान नै चाहिँ नगरौँ किनभने सहमति जो गर्नुछ । हाम्रा कारणले सबैको बाटो छेकिनेछ । न वटुवाले हिँड्न पाउँछन्, न मोटर चल्न पाउनेछ । बीच सडकमा तमासा देखाऔँ । तमासा यति चर्काऔँ कि सबैको ध्यान हामीतिर होस् । हामी दुईले कहिले सहमति गर्छाैं र बाटो खुल्छ भनेर सबै पर्खिऊन् । त्यसपछि बीच सडकमा पलेटी कसेर वार्ता गरौँ । सहमति हुन–हुन लागेजस्तो गरौँ, त्यसपछि झगडा थालौँ । फेरि सहमति होलाजस्तो गरौँ, फेरि झगडा गरौँ । त्यसपछि वरिपरि पल्याकपुलुक हेरौँ, कानेखुसी गरौँ अनि सहमति गरिदिऊँ । सहमतिपछि बाटो खुल्छ अनि तपाईं र मलाई सबैले ‘क्या महान् रैछन्, सहमति गरे, धन्य हुन्’ भन्नेछन् । केपी ओली सरकार र कांग्रेसले सहमति गरेर पाएजस्तै स्यावासी हामीले पाउनेछौँ ।
के ट्वाँ परेर पढिराख्या ? निहुँ खोज्न थालिहालौँ ता कि सहमति गर्न पाइयोस् ।
गफ, गफ र गफ
वरको सिन्को पर नसार्ने तर गफचाहिँ ठूलठूला गरेर हुन्छ ? अहँ, गफ गर्न हुन्न, काम गर्नुपर्छ । गफले देश बन्दैन, गफले केही हुँदैन । यो देश गफले बिग्रेको हो । गफ मात्र गर्ने, कामचाहिँ नगर्ने नेपाली प्रवृत्ति असाध्यै हानिकारक छ ।
हे भगवान्, नेपालीले गफ गर्न कति जानेका ! यिनले जानेको काम गफ मात्र हो कि क्या हो ? जो पनि गफ दिन व्यस्त छन्, गफमा मस्त छन् । गफ दिन पाए जो पनि केपी ओलीजत्तिकै बनिहाल्छन् ।
अहँ, यसरी हुँदैन । अब सिर्फ काम गर्नुपर्छ ! तर, के काम गर्ने ?
आउनूस्, के काम गर्ने भन्ने विषयमा नै गफ गरौँ !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...