उस्ताद उवाच
लरतरो होइन, गुगुलबाबु पो त, उनले भनेको कुरा कानधनीबाहेक अरूले सुन्न सक्दैन ।
देशको माल, तीन जनाको कमाल
छुनुमुनु छुनुमुनु गर्दै बाबु आयो । केपी ओलीले च्याप्प समातेर म्वाइँ खाए । त्यसपछि प्रचण्डले बाबु बोक्छु भने, शेरबहादुर देउवाले पनि त्यसै भने । ओलीको हातबाट बाबु खोसाखोस भयो । ओलीले ‘पालैपालो बोके भइहाल्यो नि’ भने ।
पहिले देउवाले बोके अनि ‘अहा, कति राम्रो बाबु’ भने । उनले खुसुक्क सोधे, ‘बाबु, प्रधानमन्त्री बन्ने मेरो पालो कहिले आउँछ ?’ बाबुले पनि खुसुक्क कानमा केही भन्यो, अरूले सुनेनन् । लरतरो होइन, गुगुलबाबु पो त, उनले भनेको कुरा कानधनीबाहेक अरूले सुन्न सक्दैन । बाबुको वाणीबाट दंग परे देउवा ।
त्यसपछि ‘आऊ मेरो बाबु’ भन्दै प्रचण्डले बोके । बाबुलाई कानमा खुसुक्क सोधे, ‘मेरो पालो आएकै हो त ?’ बाबुले जवाफमा प्रचण्डको कानमा केही भन्यो । कुरा सुनेर ‘म त खुसीले नै मर्छु कि क्या हो’ भन्दै प्रचण्ड चिच्याए ।
ओलीले सोधे, ‘बाबु, के खाने ? पापा खाने ?’ बाबुले ‘केही खान्नँ’ भन्यो । देउवा कराए, ‘केही खानैपर्छ ! नखाने भए खाजाखर्च दिन्छम् ।’ देउवाले कोटको खल्तीमा हात हाले । उनलाई उछिन्दै प्रचण्ड कराए, ‘मने, बाबुलाई म दिन्छु ।’ यिनको कुरा सुनेर ओली खित्का छाडेर हाँसे अनि भने, ‘बाबुजस्तो मानिसलाई कोटको खल्तीबाट दिएर पुग्छ ? देशको खल्तीबाट दिनुपर्छ ।’ त्यसपछि ओलीले देशको खल्तीमा हात लम्काए, फुत्त निकाले । बाबुको हातमा दिन लाग्दा देउवा र प्रचण्ड कराए, ‘आफ्नो खल्तीको हो र एक्लै दिने ? देशको खल्तीको हामीले मिलेर दिनुपर्छ ।’ त्यसपछि तीनै जना मिलेर बाबुको हातमा दिएर ‘देशको माल तीन जनाको कमाल’ गरे ।
कालो, सेतो र खैरो कोट
आफ्नो त सानैदेखि टलक्क पारेर कोट लाउने बानी ! कालो कोट लगाएर हिँडेको, बाटोमा रोकेर मानिसहरू सोध्छन्, नयाँ सरकार कुन धाराबाट बन्छ ? जुनसुकै धाराबाट बनोस्, धाराबाट बनोस् कि कुवाबाट बनोस्, ट्यांकरमा पानी ल्याएर बनोस् कि, आकाशबाट परेको पानीबाट बनोस् कि, मलाई के मतलब ? यसो भनेर हिँड्दा पनि जस छैन । सन्किएर भन्छन्, जाबो यति जवाफ दिन पनि फिलिउँलाजस्तो गर्छन् । कालो कोट लगाएर हिँड्दा दु:ख पाइयो । त्यसपछि सेतो कोट लगाएर हिँडियो । हरे, सेतो कोटमा पनि समस्या उही, प्रश्नचाहिँ फरक । सडकमा मानिसहरू सोध्छन्, ‘तपाईं नक्कली डाक्टर कि सक्कली ?’ प्रश्न यति मात्र हो र ? सोध्छन्, ‘तपाईं डा केसीको अनशनको पक्षमा कि मेडिकल माफियाको पक्षमा ?’
लौ, भएन यसरी भनेर खरानी रङको कोट लगाएर हिँडेको झन् आपतै पर्यो । मानिसहरू भन्छन्, हेर न, लोगो लुकाएर हिँडेको † कुन लोगो ? केको लोगो ? अहँ, केही बुझ्न सकिएन । जो पनि सोध्छन्, किन लोगो नलगाई हिँडेको ? तत्त्व बुझियो । खरानी रंगको कोट लगाएको देखेर सांसद ठानेछन् । सोध्न थाले, ‘ अविश्वासको प्रस्ताव पारित हुन्छ कि हुन्न ?’ कालो कोट लगाएर हिँड्दाको प्रश्न खराने कोट लाउँदा पनि बर्सियो, ‘नयाँ सरकार कुन धाराबाट बन्छ ?’
हामी कोट लगाउनेहरूको यस्तो दु:ख हटाउन सरकारले तत्काल कदम चालोस् !
अनशन कि एक्सरे ?
आम्मै ! डा गोविन्द केसी कस्तो बेइमान रै’छन् । अनशन भन्दै एक्सरे पो गर्दैछन् । अनशनको बहानामा यिनले धेरैको एक्सरे गरेर भटाभट प्रदर्शन गरिरहेछन् । हेरौँ, केसीले गरेका केही एक्सरेका रिपोर्ट :
डा फलानाले एउटा मेडिकल कलेज खोल्ने अनि कमाएर त्यसको छतमा नोट सुकाउने योजना बुनेछन् । हावाले छतबाट नोट उडाएर लैजान के बेर ? त्यसका लागि अख्तियार नामक जाली हाल्ने भएछन् । उनको यो अद्भुत योजना एक्सरेमा छर्लंग देखियो ।
भोलानाथ कसरी द्रव्यनाथमा परिणत भए ? कलेज खोलेर ! एक्सरेले कुरा खुलाएपछि द्रव्यनाथले केसीविरुद्ध जुलुस निकाले । द्रव्यको भव्य जुलसको पनि केसीले एक्सरे गरेका छन् रे तर रिपोर्टचाहिँ आइसकेको छैन ।
बुरुक्क उफ्रन्छ, पाखुरा सुर्कन्छ, महाभियोग लाउनहुन्न भन्छ, मनमाफिक मेडिकल कलेज खोल्न र लुट्न पाउनुपर्छ भन्छ । होइन, को रै’छ यो मानिस ? एक्सरेले ती मानिसको सालनाल लोख्तियारसँग जोडिएको पत्ता लगाएछ ।
अस्तिसम्म इमान र नैतिकताबाहेक अरू विषयमा कुरा नगर्ने एक नेताजी अचानक थर्थर काँप्न र बोल्न डराउन थाले । एक्सरेमा देखियो, उनलाई ‘अख्तियार’ नामक रोग लागेछ । यो रोगको उपचार नैतिक शक्तिबाहेक अरू कुनै औषधिले हुँदैन रे !
नेपालको स्वास्थ्य क्षेत्र ‘मेडिकल माफिया’ रोगले सिकिस्त भएको एक्सरेले खुट्याएको छ । यो रोग ठूलाबडालाई मात्र लाग्छ, अरूलाई लाग्दैन ! उपचार गर्न खोज्दा रोगीहरुले मिलेर प्रतिकार गर्छन् रे ! रोग नलागेका स्वस्थ मानिस एक ठाउँ उभिए भनेचाहिँ यो रोग निर्मूल हुन्छ रे !
यस्तो एक्सरे मानव अधिकार र खाने अधिकारविरुद्ध छ । त्यसैले माग गरौँ, एक्सरे गर्न पाइँदैन, अनशन बस्न त झन् पाइँदै पाइँदैन !
हेल्लो सरकार !
– हेल्लो सरकार, भुँडी दुखेर असाध्यै गाह्रो भो, के औषधि खानू ?
– हेल्लो सरकार, पानी परेको पर्यै छ, कहिले रोकिन्छ ?
– हेल्लो सरकार, राजेश हमालको नयाँ फिल्म कहिले आउँछ ?
– हेल्लो सरकार, अम्रिकामा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनमा कसले चुनाव जित्छ ?
– हेल्लो सरकार, ओलीपछि आउने प्रधानमन्त्रीले उखान–टुक्का भन्छन् कि भन्दैनन् ?
हेल्लो सरकार, हेल्लो, हेल्लो ! खोइ बोलेको ? खोइ जवाफ दिएको ? हेल्लो सरकार ! सक्छौ भने पाइपबाट जवाफ पठाऊ, सक्दैनौ भने हावाबाट ।
ओली बाघको सपना
एक रात केपी ओलीले आफू बाघ बनेको र अविश्वास प्रस्ताव, नयाँ सरकार तथा सभामुखचाहिँ बाख्रा बनेको सपना देखेछन् । त्यसपछि :
बाघ : पानी किन धमिलो पारिस् ?
बाख्रा : माफ पाउँm हजुर, म सफा पानी दिन्छु ।
(त्यसपछि बाख्राले एक बोतल पानी दिन्छ ।)
बाघ : किन देब्रे हातले दिइस् ?
(बाख्राले दाहिने हातले दिन्छ ।)
बाघ : किन एउटा हातले दिइस् ?
(बाख्राले दुवै हातले दिन्छ ।)
बाघ : किन बोतल नखोली दिइस् ?
(बाख्राले बोतल खोलेर पानी दिन्छ ।)
बाघ : किन बोतलमा पानी दिइस् ? म बाघलाई सिंगै जार चाहिन्छ भन्ने थाहा छैन ?
बाख्रा : जार कहाँबाट ल्याउँm हजुर ?
(त्यसपछि बाघले के गर्छ ? योचाहिँ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई
नै सोध्नुपर्छ ।)
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...