उस्ताद उवाच
छिमेकी मित्रले हाम्रो टुप्पी समातेर जुरुक्क उचालेकाले पार्टीको उचाइ बढेको भन्दै जोरीपारीहरू छाती पिटिपिटी बिलौना गर्दै छन् ।
गौरवशाली टुप्पीमा मित्रको महान् हात
अहिले विश्वभरि मिडियामा छाएर हाम्रो गौरवशाली पार्टीको गौरव झन् बढेको छ । हाम्रो पार्टीको उचाइ ह्वात्तै बढ्दा जोरीपारीलाई औडाहा भएको छ । छिमेकी मित्रले हाम्रो टुप्पी समातेर जुरुक्क उचालेकाले पार्टीको उचाइ बढेको भन्दै जोरीपारीहरू छाती पिटिपिटी बिलौना गर्दै छन् । हामीलाई खिसिट्युरी गर्दै छन् । टुप्पीमा छिमेकीको हात ? अरू बेला भए हामी सहँदैनथ्यौँ तर कुरा अर्कै छ । डाक्टरले उपचारका लागि बिरामीलाई नांगै पारेजस्तो हो छिमेकीले हाम्रो टुप्पी समातेर उचाल्नु । जोरीपारीले हामीलाई नांगै देख्नु उनको आँखाको दोष हो । हाम्रो पार्टीलाई भुत्ल्याउन नभएर पार्टीको उचाइ बढाउन टुप्पी समातेर मित्रले उचालेका हुन् । टुप्पी पनि हाम्रो, मित्र पनि हाम्रो, हाम्रो गौरवशाली टुप्पीमा मित्रको महान् हात हुँदा अरूलाई किन आपत्ति ? यो कुरा सहन हामीलाई गाह्रो भएको छ । यसमा नेता कणहरूले विचार गर्नुपर्ने भएको छ ।
अब नेता कणहरूले कि टुप्पी समातेको स्वीकारेर एउटा विज्ञप्ति निकाल्नुपर्यो कि खण्डन गर्नुपर्यो । मित्रतामा सबै कुरा सार्वजनिक रूपमा स्वीकार्दा पार्टी र क्रान्तिलाई क्षति हुन सक्छ । खण्डन गर्ने हो भने कसरी गर्ने ? के भनेर गर्ने ? किन गर्ने ? खण्डनमा के–के लेख्ने ? यस्ता प्रश्नमा सल्लाह लिन नेता कणहरूको एउटा प्रतिनिधिमण्डल जानुपर्यो । अहिले सत्ता ओलम्पिक चलिरहेकाले नेता कणहरूलाई फुर्सद छैन भने मित्रलाई नै प्रतिनिधि पठाइदेऊ भनौँ । अथवा फोनमै सल्लाह गरे पनि हुन्छ । सल्लाहमा एउटा विशेष अनुरोध पनि गरौँ, ‘हे मित्र, टुप्पी अलि दह्रोसँग समाऊ है, तिम्रो हातबाट टुप्पी फुस्किएमा हामी पछारिन्छौँ ।’
खुसुक्क होइन, खुलेआम
अख्तियार प्रमुखलाई कसरी घाँटीको रोग लाग्यो ? कसरी बोल्न नमिल्ने भयो ? दोषी पत्ता लगाउन एउटा छानबिन समिति बनाइएछ । समितिको प्रतिवेदनको मुख्य अंश यस्तो छ रे :
रोग लाग्नुको कारण : भौतिक निर्माण स्थलमा मजदुरले र सडकमा मोटरले धेरै धूलो उडाएको देखिन्छ । निजी सवारीको कसैसँग प्रतिस्पर्धा हुँदैन तर सार्वजनिक सवारीहरूबीच धेरै यात्रु बोक्ने प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा बेतोडले सवारी चलाउँदा धेरै धूलो र धूवाँ उडेको हो । त्यसैले रोगको कारक धूलो र धूवाँ उडाउने सार्वजनिक सवारी चालक र निर्माण मजदुरलाई कारबाहीे गर्नुपर्छ । मेडिकल प्रवेश परीक्षामा झैँ सवारी चालक लाइन्सेन्स परीक्षा र ट्रायलमा पनि अख्तियार प्रतिनिधिको उपस्थिति खुसुक्क होइन, खुलेआम नै गर्न यो समिति सिफारिस गर्दछ ।
बोल्न नमिल्नुको कारण : रोग लागेपछि बेलैमा उपचारको मौका नपाउनाले बोल्न नमिलेको ठहर यो समिति गर्दछ । घरैपिच्छे डाक्टर र जताततै अस्पताल भए बेलैमा उपचार हुन्थ्यो । त्यसैले सर्वत्र निजी मेडिकल खोल्न दिन सिफारिस गरिन्छ । त्यसै गरी डाक्टरको संख्या बढाउन मेडिकल प्रवेश परीक्षामा अख्तियारको उपस्थिति गराएर अख्तियार पदाधिकारीहरूका लागि निश्चित कोटासमेत तोक्न सिफारिस गरिन्छ ।
हाम्रो हात जाम, खोइ सरकारको काम ?
टोलको हिलाम्य सडकमा धान रोपेर हामीले सरकारको खिल्ली उडायौँ । सरकार आएन बरू आकाशबाट पानी आएर झन् हिलो भयो । बाढीपहिरोमा मानिस फसेका छन् । सेना, प्रहरी र सशस्त्रले उद्धार गर्दै छ तर सरकार आएन । प्रशासनले राहत बाँड् यो तर सरकार देखिएन । गाउँमा एक जनालाई पौडी खेल्दै गर्दा बाढीले बगायो तर सरकार आएन । हामीले नै मुस्किलसँग बचाएर सरकारले गर्नुपर्ने काम गरिदियौँ । तैपनि, सरकारलाई लाज छैन । खोल्साको बाढीले हाम्रो टोलको एक टुक्रा सडक बगायो । दुई–चारवटा ढुंगा थुपारेर, दुई–चार चपरी माटो हालेको भए बाटो जोगिन्थ्यो तर सरकार आएर गरेन । स्वास्थ्यचौकीको छाना चुहिएर भित्र पानी पसेको छ, छानामा एक टुक्रा प्लास्टिक लगाए चुहिँदैनथ्यो, यति काम गर्न पनि सरकार आउँदैन ।
हाम्रो देशको सरकार कति निकम्मा भने गाउँबाट स्यालले भटाभट कुखुरा लगिरहेछ, सरकारलाई वास्तै छैन । बाँदरले मकै सखाप पारिसक्यो, बाँदर धपाउन सरकार आउँदैन । हाम्रो आँगन त सफा छ, आँगनअगाडिको बाटोमा कागज, प्लास्टिक, चाउचाउ, चकलेटका खोल फालिएको छ । सफा गर्न सरकार आएन । गाउँमा दुई हातले गर्न सकिने ससाना काम धेरै छन् । तैपनि, सरकार आउँदैन । कतिबेला सरकार आउला र गर्ला भनेर हामी हात बाँधेर बसेका छौँ । हाम्रो हात नै जाम भइसक्यो, हात फुकाइदिनसमेत सरकार आएन । कस्तो नालायक सरकार !
संसद् नाटक महोत्सव
जमाना फेरियो, सडक नाटकको ठाउँ संसद् नाटकले लियो । अहिले चलिरहेको संसद् नाटक महोत्सवमा विख्यात नाट्यकर्मीहरूले भाग लिइरहेछन् । केही चर्चित नाट्यकर्मीका नाटकका केही झलक :
नाट्यकर्मी–१
(आकाशतिर फर्किएर)
नाइँ मलाई त्यही मन्त्रालय चाहिन्छ । त्यो नदिने भए जुनसुकै दिए हुन्छ तर एउटा मन्त्रालय चाहिन्छ । भोट हाल्ने मौकै परेन त म के गरूँ ? तपाईंलाई भोट दिन्थेँ, उसलाई लात दिन्थेँ । अब तपाईंले मलाई झन्डावाल मोटर र डन्डावाल गार्ड दिनैपर्छ । एक बारको जुनीमा म सयबार मन्त्री बन्नैपर्छ ।
(त्यसपछि दस औँला जोडेर आँसु खसाउँछ ।)
नाट्यकर्मी–२
(कागजको विशाल हात्ती पुर्लुक्कै ढाल्दै)
यी हेर्नूस् मेरो पाखुरा, हात्तीलाई तीन बल्ड्याङ बनाएँ । मैले ढाँटेको होइन । मलाई कसैले सहयोग गरेको छैन । मैले शक्तिवद्र्धक औषधि पनि खाएको छैन । तैपनि, यो हात्ती ढालेँ । देख्नुभो त मेरो शक्ति ?
(त्यति नै बेला अज्ञात ठाउँबाट ‘तिमीले होइन, हामीले हात्ती ढालेको हो’ भनेको सुनिन्छ । ऊ मुख छोपेर घोप्टो पर्छ ।)
नाट्यकर्मी–३
(‘उखानटुक्का’ लेखिएको रित्तो झोला बोकेर पाखुरा सुर्कंदै)
मेरो झोलामा हतियार सकियो भनेको होला, फेरि घर गएर भरेर आउँछु । त्यसपछि बर्साउँछु । तोरीको फूल देखाउँछु । ड्याम कि ड्याम हान्छु । हेरिराख, म फेरि आउँछु । (पर्दा खस्छ ।)
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...