उस्ताद उवाच
ओलीको खल्तीमा उखाने वाण हुन्थ्यो, मेरो खल्तीमा क्षमायाचना र खण्डन विज्ञप्ति हुन्छ ।
ओली र म
मने, सोधिहाल्नुभयो, ओली र ममा धेरै फरक छ । म गम्भीरतासाथ के भन्छु भने ओलीको छुच्चो बोली, मेरो नरम बोली । ओली हकारिहाल्थे, म बातैपिच्छे माफ मागिहाल्छु । उनको खल्तीमा उखाने वाण हुन्थ्यो, मेरो खल्तीमा क्षमायाचना र खण्डन विज्ञप्ति हुन्छ । माफ मागिसकेपछि मात्र के गरेछु भनेर गल्ती खोज्छु । उनले पाइपबाट घरघरमा ग्यास पुर्याउने प्रतिगामी कुरा गरे, मचाहिँ तारबाटै पुर्याउने अग्रगामी कुरा गर्छु । उनले पानीजहाज चलाउने कुरा गरे, म डुंगा चलाउँछु ।
उनले एक वर्षमा लोडसेडिङ हटाउँछु भने, म एक महिनामा हटाउँछु । यसका लागि टुकी र मैनबत्ती बाँड्छु । ओलीले पेट्रोल खानी खोल्छु भने, म खानीसानी खोल्दिनँ, पानीबाटै मोटर चल्ने बनाउँछु । ओलीले हुन्छ केही भनेनन्, म हुँदैन कहिल्यै भन्दिनँ । ओली नाइँ मात्र भन्थे, म हुन्छ मात्र भन्छु । ओली झुक्न मान्दैनन् रे, म भुक्न मान्दिनँ । ओलीले अरूलाई हँसाए, मचाहिँ एक्लै हाँस्छु । ओली भद्र सहमति मान्दैनन् तर म मान्छु । कसरी मान्छु भन्ने हेर्न देउवाजीलाई नौ महिना धैर्यसाथ पर्खन भन्छु ।
सांसदले वाचन गर्ने मन्त्र
माननीय सदस्य, देशको स्थिति र आफ्नो परिस्थिति हेरेर निम्नमध्ये कुनै एक मन्त्र वाचन गर्न सात दिनको समय छुट्याएको छु :
कहिले मन्त्री नबनेका र राजनीति पनि नबुझेकाले वाचन गर्ने मन्त्र :
सारा देवीदेवता, ईश्वर, भगवान्हरू हो, मेरो पुकारा सुनिदेऊ ! मलाई फ्याट्टै मन्त्री बनाइदेऊ । पूजापाठ, भाकल सबै गर्छु, नि:स्वार्थ भएर काम गर्छु, पार्टीको शिर उचा बनाउँछु, देशका लागि केही गरेर देखाउँछु । निगाहा गर भगवान्, यो पाला म पनि मन्त्री बन्छु ।
कहिल्यै मन्त्री नबनेका तर राजनीति बुझेकाले वाचन गर्ने मन्त्र :
हे शीर्ष नेता, तिमी नै माता, तिमी नै पिता, तिमी हौ महाज्ञाता π ब्रह्मा, विष्णु, महेश्वर तिमी नै । तिम्रो शक्ति अपरम्पार, तिमीप्रति मेरो भक्ति आजसम्म निरन्तर । तिम्रो आदेश मैले एक इन्च दायाँबायाँ गरेको छैन तैपनि मन्त्री बन्ने सौभाग्य पाएको छैन । लौ न प्रभो ! तिम्रो सेवा गर्ने मौका देऊ, शपथग्रहण गराइदेऊ ! बारबार मन्त्री बनेकाहरूले वाचन गर्ने मन्त्र :
हे शीर्ष महोदय ! पहिले बेलाबेलामा लात्ता–मुड्कीले लाग्यो होला, मैले कहिलेकाहीँ तिमीलाई भन्दा पार्टी र देशलाई ध्यान दिए होला, त्यसका लागि माफ माग्छु । अब राम्रोसँग तिम्रो पूजापाठ र धूपबत्ती गर्छु, मीठामीठा नैवेद्य चढाउँछु । मन्त्रालयबाट भिटामिन ओसार्दै खुवाएर तिमीलाई झन् बलियो बनाउँछु । मलाई यसपटक पनि मन्त्री बनाऊ, बनाउँदैनौ भने तिम्रो गुटबाट बिदा देऊ । मलाई मन्त्री बनाए तिमीलाई सुखैसुख, नबनाए दु:खैदु:ख । आशा छ, तिमी दु:ख होइन, सुख रोज्छौ ।
जगल्टाको नाश
जादू गर्छु भन्ने जान्छन्, चमत्कार गर्छु भन्ने आउँछन् । आकाशको तारा पुर्लुक्कै झार्छु भन्छन्, हिमालको चुचुरोमा लगिदिन्छु भन्छन् । भोक लाग्दा आँ गर भन्छन्, अल्छी लागे जाँगर दिन्छु भन्छन् । खोइ, के–के भन्छन् के–के ! तैँले गरेर हुन्न मैले गर्नुपर्छ भन्छन् । ल गर भन्दा गर्छु भन्छन् । के गर्यौ भनेर सोध्दा अब गर्छु भन्छन् । किन गर्छाै भन्दा तिम्रै लागि गर्छु भन्छन् । दिन्छु मात्र भन्छन्, दिनचाहिँ दिँदैनन् । हिँड्छु भन्छन् तर बसेको ठाउँबाट फिटिक्कै उठ्दैनन् । उठाउन खोज्यो मान्दैनन्, जबरजस्ती उठाएपछि गर्नै लागेको थिएँ, उठ्नै लागेको थिएँ, गर्ने मौकै पाइनँ भन्छन् । एउटाको ठाउँमा अर्काे बस्छन् । पालो लगाउँछन् तर पछि मेरो पालो भन्छन् । पालोमा धोका दियो भन्छन् । त्यसपछि जगल्टाको नाश गर्छन्, विश्वास भन्छन्, अविश्वास भन्छन्, सपनाको सत्यानाश भो भन्छन् ।
यो के तमासा गरेको भन्दै हपार्यो भने यही हो राजनीति भन्छन् ।
लुसुक्क कि खुसुक्क ?
जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि भन्थे । अब भन्न पर्यो, जहाँ छैन अधिकार, त्यहाँ जरुर पुग्छ अख्तियार ! कविभन्दा सर्वव्यापी अख्तियारले लहलह बालीनाली भएको ठाउँ देख्नै हुन्न, बाली उठाउन पुगिहाल्छ । दुलोभित्र अँध्यारोमा कुन निकायले के गरिरहेछ, ट्वाक्कै पुगेर फ्यात्तै हात फैलाइहाल्छ । ठूला कम्पनी किनबेचको किचलो छ कि, कानुन तेर्साएर सरकारले निर्णय गर्न आनाकानी गर्यो कि, मेडिकल शिक्षामा कसैलाई पास हुन बाधा भयो कि, यस्ता तमाम समस्यामा लुसुक्क पुगेर खुसुक्क भ्याइहाल्छ । कुन दिनदेखि डाक्टरले औषधि लेख्दा, तिमीले नलेख म लेख्छु भन्दै अख्तियार पुग्नेछ ।
अब अप्रेसन पनि अख्तियारले नै गर्नेछ । कलेजमा सिट बढाउने कि ? परीक्षा लिने कि ? अब, अरूले झन्झट गर्नुपर्दैन, अख्तियार हाजिर छ । यो अख्तियार भन्ने कस्तो निकाय रहेछ भने जहाँ पनि यसको अधिकार हुने, जे गर्न पनि अधिकार पाउने । अर्थात्, अख्तियार सर्वव्यापी छ, अख्तियारले गर्न नसक्ने केही छैन, देशमा कसैले केही गर्छ भने यही अख्तियारले गर्ने रहेछ । अरू सबै नालायक रहेछन् । अब कुन दिन अख्तियारले भन्नेछ, यो देशमा सरकार र कुनै निकाय चाहिँदैन, सबै काम अख्तियारले गर्छ । यति अधिकारसम्पन्न निकायको नाम पटक्कै सुहाएन, यसको नाम लुसुक्क र खुसुक्कमध्ये एउटा राख्नुपर्यो । कुन नाम उपयुक्त होला ?
पात्रो र पात्र
बाढीपहिरो वर्षैपिच्छे
खडेरी लाग्छ वर्षैपिच्छे
शीतलहर चल्छ वर्षैपिच्छे
चाडबाड पनि वर्षदिन पारेर आउँछ
तर, सरकारचाहिँ किन नौ–नौ महिनामा आउँछ ?
यस्तै हो भने पात्रो र पात्र दुवै फेरिन्छ
मान्यज्यू ! भन्नूस् अब सरकार कहिले फेर्नुहुन्छ ?
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...