उस्ताद उवाच
भएभरको पदक समानुपातिक भागबन्डाका आधारमा सबै देशले पाउने व्यवस्था गर्नुपर्छ ।
समावेशी–समानुपातिक ओलम्पिक
नेपालीले सपना देख्न सिकिसके । अब ओलम्पिक नेपालमा आयोजना गर्नुपर्छ । सगरमाथाको फेदमा स्किइङका लागि मैदान बनाउनुपर्छ । ठाउँठाउँमा रंगशाला बनाउनुपर्छ । कोसी नदी थुनेर पौडी पोखरी बनाउनुपर्छ । खेलाडीहरू समावेशी समानुपातिक तरिकाबाट छनोट गर्नुपर्छ । हामीले गर्ने ओलम्पिकमा अन्य देशका खेलाडी पनि समानुपातिक समावेशी तरिकाले छनोट भएका छन् कि छैनन्, हेर्नुपर्छ । समावेशी समानुपातिक सहभागिता छैन भने भाग लिनबाट वञ्चित गर्नुपर्छ । एक–दुईवटा देशले पदक सोहोर्ने, धेरैले पदकको नाममा ‘प’समेत नपाउने विभेद अन्त्य गर्नुपर्छ । भएभरको पदक समानुपातिक भागबन्डाका आधारमा सबै देशले पाउने व्यवस्था गर्नुपर्छ । ओलम्पिकमा मौलिक नेपाली खेलहरू पनि थप्नुपर्छ । निहुँ खोज्ने, अत्तो थाप्ने, भाँजो हाल्ने, वार्ता गर्ने, सहमति गर्ने, भद्र सहमति गर्ने, सहमति तोड्ने जस्ता विश्वका लागि नौला मौलिक नेपाली खेल थप्नुपर्छ ।
कुर्सीमा को धेरैबेर टाँसिने, टाँसिएपछि छाड्दै नछाड्ने प्रतियोगितामा स्वर्ण, रजत र काँस्य नेपालले नै पक्का जित्छ तर समानुपातिक प्रणाली मानेपछि स्वर्ण लिएर बाँकी छाड्नुपर्छ । ओलम्पिकको आकर्षण उद्घाटन समारोह पनि हो । भव्य उद्घाटन गर्नुपर्छ । नेता नाच र कुर्सी भाँच देखाउनुपर्छ । रिमोटबाट चल्ने र अरूसँग जल्ने अभिनय देखाउनुपर्छ । उखानले मान्छे ढाल्ने र गम्भीर छु भन्दै फट्याइँ गर्ने रंगारङ कार्यक्रमले दुनियाँलाई छक्क पार्नुपर्छ । ओलम्पिक सकिएपछि खेल पनि सकिन्छ तर हाम्रो चाहिँ खेल भाग दुई सुरु गर्नुपर्छ । ‘अधिकार दे’ शैलीमा उनीहरूसँग अलिअलि पदक माग्नुपर्छ । दिएनन् भने फर्कन नपाउने गरी नाकाबन्दी लगाउनुपर्छ । केही नलागेपछि जान दिनुपर्छ, हामीले जित्यौँ भन्दै नाच्नुपर्छ । आउनूस्, यस्तै यस्तै सपना देख्नुपर्छ । मनको लड्डु भुँडी फुटुन्जेल घिउसँग खानुपर्छ । विपनाको हालत सम्झेर रुनु पटक्कै हुँदैन, यस्तै सपना देखेर मजासँग हाँस्नुपर्छ ।
काउकुती लाग्ने कृति
- गच्छदार अहिले किताब लेखिरहेछन् । उनको कृतिको नाम हो, मन्त्री खाने एक सय एक तरिका ! उनलाई फेरि मन्त्री खाने बाध्यता आइलागेमा किताब प्रकाशन ढिलो हुने र कृतिको नाम पनि फेरिने प्रकाशकले बताएका छन् । त्यसपछि कृतिको नाम हुनेछ, मन्त्री खाने एक सय दुई तरिका !
- एमालेले अबको चुनावमा घोषणापत्रको पुस्तिका प्रकाशित नगर्ने भएको छ । यसको सट्टा एउटा यस्तो किताब निकालेर बाँड्नेछ, जसको नाम हुनेछ, उखानटुक्का पढौँ, भोट हालौँ ! कृतिका मूल लेखकको नाम यहाँ उल्लेख गर्नुपर्ला र ?
- एकनाथ ढकाल, प्रेमबहादुर सिंह, विश्वेन्द्र पासवानलगायतका विद्वान्हरू मिलेर बहुउपयोगी कृति लेखिरहेछन् । कृतिको नाम हो, मौकामा यसरी रंग फेरौँ † यसमा निजी अनुभवहरू समेटिएको प्रकाशकले बताएका छन् ।
- कुर्सीलोकको मुड्की युद्ध अध्याय परिमार्जन गर्ने भन्दै विमोचनको अघिल्लो दिन ‘राप्रपा एकीकरण’ नामक कृति प्रकाशन रोकिएको छ । सो अध्याय परिमार्जनका लागि अनुभवसहित अनुसन्धान गर्न कमल थापा सडक तथा दीपक बोहरा र विक्रम पाण्डे सिंहदरबारमा खटिएका छन् ।
- केही खोज पत्रकारहरूले संसद् भवनको ढलमा पानीभन्दा धेरै आँसु भेटेका छन् र ती आँसुमा अक्षर नै अक्षर फेला पारेका छन् । ती अक्षरहरू सम्पादन गरेर केही पत्रकारहरूले तयार पारिरहेको कृति हो, मन्त्री बन्न नपाउँदा !
मोराले डोकोमा दूध दुह्यो
पढ्या भए पो युरोप–अमेरिका जाओस्, दुबई–साउदी पनि गएन । साथी समाजमा मिलेर पनि बसेन । बरालिएर एक्लै हिँड् यो । यसले गरिखाने भएन भन्दै बाआमा चिन्तित भए । दाजुभाइले उपदेश दिए । कसैले भनेको मानेन, कसैले भनेको सुनेन । मोरालाई के दशा लाग्यो कुन्नि, एक्लै पार्टी खोल्यो । किन पार्टी खोलिस् भनेर सोध्दा ‘डोकोमा दूध दुहुन’ भन्यो । आफैँ नेता, आफैँ कार्यकर्ता भयो । गाउँमा जोकर भयो ।
‘चुनाव भन्या चिट्ठा हो, देखौला’ भन्दै दुनियाँ हँसायो । गाउँलेले उडाउनसम्म उडाए, खिसीट्युरी गरे । तर, अचम्मै भो, मोराको पार्टीलाई भकाभक भोट आयो । समानुपातिकमा ड्याम्मै एक सिट हो कि दुई सिट पड्कायो, उसको पार्टीका बारेमा हामी गाउँलेलाई खासै थाहा छैन । पहिले गाउँ मात्र हँसाउँथ्यो, अब देश हँसाउन थाल्यो । मोराले गर्नुसम्म गर्यो । मन्त्री पद नै पड्कायो । कसरी मन्त्री बनिस् भनेर सोध्दा ‘डोकोमा दूध दुहेर’ भन्यो ।
मोरो अहिले भन्दै छ, ‘फेरि पनि ड्याम्मै मन्त्री बन्छु !’ अहिले पनि मोराको कुनै कुरा हामी पत्याउँदैनम् तर मन्त्री बन्ने कुराचाहिँ पत्याउँछम् । त्यसैले अहिले हामी गाउँले समाचारमा आँखा गाडेर र कान
थापेर बस्या छम् ।
देशै खत्तम !
सरकारी जागिर खाउँm, पाइँदैन । पायो भने बढुवा हुन गाह्रो हुन्छ, दुर्गममा खटाइदिन्छ, घूस खान पाइने ठाउँ पाउन घूस नै खुवाउनुपर्छ । नाइँ, सरकारी जागिर नखाने ! हलो जोतौँ भने पढेलेखेकाले कसरी जोत्नू ? व्यापार गरौँ भने कसरी कर छल्नु, कसरी मिसावट गर्नू ? राजनीतिमा लागौँ भने बा, हजुरबा कोही नेता होइनन्, झन्डा बोकेरै जीवन जान्छ । उद्योग खोलौँ भने पुँजी छैन ।
कुखुरा पालौँ कि क्या हो ! बर्डफ्लुले स्वाहा बनाइदिन्छ । अरब जाऊँ भने मजदुर बन्न सर्टिफिकेटले दिँदैन । घर बसौँ, बाआमाले जागिर खान जा भन्छन् । ठूलो जागिर खान गयो, अनुभव खोज्छन् । सानो जागिरको तलबले बाइकमा पेट्रोल हाल्नै पुग्दैन । युरोप–अमेरिका जाउँ भने भिसा लाग्दैन । स्वदेशमा सानोतिनो काम गर्न मन मान्दैन, ठूलो काम गर्न केही जानिँदैन ।
सरकारले हाम्रो समस्या देख्दैन, यो देशै खत्तम छ !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...