उस्ताद उवाच
विचरा कुर्सीमा छैनन्, नभएपछि गफ पनि नआउँदो रै’छ !
केही गरौँ
लौ न अब केही गरौँ
सक्नेले सरकारी खर्चमा विदेश उपचार गरौँ
नसक्नेले अस्पतालमै फाल हानेर मरौँ
गाउँबाट राजधानी सरौँ
राजधानीबाट विदेश सरौँ
अहँ, यसरी हुन्न ! लौ न अब केही गरौँ !
सबैले डीभी चिट्ठा भरौँ
बलियाबांगा विदेश लागौँ
खेतबारी बाँझै छाडौँ
विकास गर्न विदेशीसँग खर्च मागौँ
गफ गरेको गर्यै गरौँ
चुप लागेर बस्दै नबसौँ
लौ न अब केही गरौँ !
दसैँ आएको सूचना
दसैँ आएको सूचना प्राप्त भएको छ । किनभने, अब सरकारले अवैध बजार नसहने रे ! बढी मोलमा दैनिक उपभोग्य वस्तु बेच्न पनि नदिने रे ! अब सामान नलुकाउनु रे ! जब सरकारले यसो भन्छ, दसैँ आएको सूचना सबैले पाएको मान्नुपर्छ । ठाउँठाउँमा छापा मारेको छ । ढकतराजु जाँचेको छ । फाट्टफुट्ट पक्राउको खबर छ । लाखौँलाख ठग्नेलाई केही सय जरिवाना ठोकेको छ । हल्लाखल्ला खुब गरेको छ । अर्थात्, दसैँ आएको सूचना प्राप्त भएको छ ।
बर्सेनि दसैँ आउँछ । कतिबेला आउँछ, पत्तो नै हुन्न । त्यसैले सरकारले यसरी सूचना दिने व्यवस्था गरेको छ । बजार भाउको अवस्था राम्रै छ भनेको छ । दसैँ आएपछि सरकारले यसै गर्छ, अवैध बजार पटक्कै सहन्नँ भन्छ, बजाउ भाउ बढ्न दिन्न भन्छ । सरकारले बजारभाउको जिम्मा लिएको छ तर तपाईंको खल्तीको जिम्मा लिन सक्दैन । त्यसैले रुपियाँकै भाउ घटेको छ । एकमुठी नोट दिनूस्, आधामुठी किनमेल गर्नूस्को अवस्था भएको छ । किनभने, दसैँ आएको छ ।
अदुवाबाट पेट्रोलियम
अदुवा भन्या अदुवा हो । नेपाली अदुवा मूल्यवान् छ । अदुवाको अचार खाए हुन्छ, मसला बनाए हुन्छ, सुप बनाएर खाए भो । सुकाएर राखे झन् राम्रो । भारतले किनेन भनेर किन आपत्ति ? हाम्रो सरकारमा अलि गफ जान्ने नेता को छन् हँ ? उनले अदुवाबाट डिजेल/पेट्रोल निकाल्ने योजना घोषणा गरे गजब हुन्छ । त्यसका लागि दाताको सहयोगमा एउटा परियोजना चलाए झन् गजब हुन्छ । गफ निकै नै जान्ने नेता हुने हो भने स्याटलाइटबाट तेस्रो मुलुकमा अदुवा निकासी गरिदिने योजना घोषणा गर्न बेर छैन । यसो गरे पनि राम्रो हो ।
हाम्रा निर्देशन मन्त्री छन् नि, के रे नाम ? आच्या, प्रधानमन्त्री प्रचण्ड क्या ! उनले भारतलाई अदुवा किन्ने निर्देशन दिए हुने । रातोदिन निर्देशन दिएकै छन् क्यार, अदुवालाई नै नकुही सग्लो बस्नु भनेर निर्देशन दिए अझ राम्रो । केपी ओली प्रधानमन्त्री पदमै थिए भने उनले कुहिएका अदुवाको ग्यास निकालेर घरघरमा पाइपबाट पुर्याउने र त्यसैमा खाना पकाउने परियोजना चलाइदिन्थे होलान् । विचरा कुर्सीमा छैनन्, नभएपछि गफ पनि नआउँदो रै’छ ! अदुवाबाट केके गर्न सकिन्छ, अहिले नै योजना बनाइहालौँ, भोलि भारतले फ्याट्ट निकासी खोलिदियो भने अदुवा गफ ढिसमिस हुन्छ ।
उहाँहरु र जनता
उहाँ–१
बिहानै उठ्नुहुन्छ, उसले के भन्यो अखबारमा पढ्नुहुन्छ । अनेक अत्तो थाप्नुहुन्छ, निहुँ खोज्नुहुन्छ । उसले कालो भन्यो भने आफूले सेतो भन्नुहुन्छ । उसले सेतो भन्यो भने आफूले कालो भन्नुहुन्छ । खोट देखाउनुहुन्छ, देशमा जताततै चोट देखाउनुहुन्छ । दाउ छोप्नुहुन्छ, भाउ खोज्नुहुन्छ । तीललाई पहाड बनाउनुहुन्छ । जताततै विकृति–विसंगति देख्नुहुन्छ । आफू नरहे देशै रहन्न भनेजस्तो गर्नुहुन्छ । अरू नजान्ने, आफू मात्र जान्ने ठान्नुहुन्छ । पाखुरा सुर्किएर भाषण दिनुहुन्छ । उपदेशको वर्षा गर्नुहुन्छ । अरूको गल्तीको फेहरिस्त बनाउनुहुन्छ । यसरी दिन बिताउनुहुन्छ । राती सपनाचाहिँ कुर्सीमा पुगेर गजधम्म परेर बसेको देख्नुहुन्छ ।
उहाँ–२
अर्काेले ५० किलोको माला लगायो, आफू सय किलोको माला लाउने कार्यक्रम बनाउन अह्राउनुहुन्छ । काम गर्दा गल्ती हुन्छ तर ढाकछोप गर्न जान्नुपर्छ भन्नुहुन्छ । बिहानभरि कार्यकर्तालाई उपदेश दिनुहुन्छ, सरुवा–बढुवा र ठेक्कपट्टाको कानेखुसी गर्नुहुन्छ । झन्डा फरर, मोटर सरर गरेर कार्यालय पुग्नुहुन्छ, हरर फायलको लस्कर लाग्छ, भरर हस्ताक्षर ठोक्नुहुन्छ । अनि, मुसुक्क हाँसेर भन्नुहुन्छ– देश बनाउन यसरी नै लाग्नुपर्छ, केही काम गरेर देखाउनुपर्छ । अनि, कार्यक्रममा पुग्नुहुन्छ । भाषण ठोक्नुहुन्छ । साँझ टीभीमा आफ्नो अनुहार हेरेर मख्ख पर्नुहुन्छ । भाषण त दह्रै दिइएछ भन्नुहुन्छ ।
राती थपक्क सुत्नुहुन्छ, कसैले लगिदिने पो हो कि ! सपनामा पनि कुर्सी च्यापेर बस्नुहुन्छ ।
र, जनता
यसलाई हेर्छन्, उसलाई हेर्छन्, एउटाले अर्काेलाई दोष लाएको देख्छन् । दुवैले दूधले नुहाएको छु भनेजस्तो गर्दा मुसुक्क हाँस्छन् । हानाहान हेर्छन्, तानातान हेर्छन् । एउटाले काम भएन भन्छ, अर्काेले काम हुँदैछ भन्छ, दुवैको सुन्छन् । आवाज उही हो, आरोप उही हो, कुर्सीमा बस्ने फेरिए पनि पात्र उही हुन् । अरू त के गर्न सक्नु र ? ट्वाँ परेर हेरेको हेर्यै छन् ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...