उस्ताद उवाच
त्यसपछि मोदीजीले भन्नुभयो, ‘तपाईंलाई केमेस्ट्रीमा, मलाईचाहिँ पाल्मेस्ट्रीमा रुचि छ ।’
केमेस्ट्री र पाल्मिस्ट्री
मोदीजीसँगको भेटघाट साह्रै रमाइलो भो । धेरै बेर हात र गला मिलाएँ । मैले छाड्दै नछाडेपछि ‘के गरेको यार’ भन्दै उहाँ हाँस्नुभो । भित्र वार्तामा सोध्नुभो, ‘अघि किन त्यति दह्रोसँग हात समातेको ?’ मैले भनेँ, ‘तपाईंको हात दह्रोसँग समात्नै पर्यो नि !’ मोदीजी मज्जाले हाँस्नुभो र मलाई धाप मार्नुभो । मैले उहाँको हात च्याप्पै समातेँ । मोदीजीले सोध्नुभो, ‘तपाईंले मेरो हात बारम्बार समात्नुमा पक्कै केही कारण छ । कारण के हो भन्नूस् न प्लिज !’ उहाँले ‘ प्लिज’ शब्द प्रयोग गर्दा मैले आफ्नो देशकै सम्मान भएको निश्चित रूपमा अनुभूति गरेको छु । त्यसपछि मैले पनि भनिदिएँ, ‘मने, तपाईं र मेरो केमेस्ट्री मिल्छ भनेर अन्तर्वार्ता दिएको थिएँ । केमेस्ट्री कत्तिको मिल्दो रैछ भनेर तपाईंको हात समातेर जाँचेको क्या !’ त्यसपछि मोदीजीले भन्नुभयो, ‘तपाईंलाई केमेस्ट्रीमा, मलाईचाहिँ पाल्मेस्ट्रीमा रुचि छ ।’
त्यसपछि मेरो हस्तरेखा हेर्न थाल्नुभयो । केही वर्षअघि सुनसरीको चतरामा भैँसी पूजा गरेपछि मलाई यस्ता कुरामा खुब विश्वास लाग्न थालेको मोदीजीलाई सुनाउँदै सोधेँ, ‘मेरो हस्तरेखामा के देख्नुभो ?’ मोदीजीले अलि गम्भीर भएर भन्नुभयो, ‘तपाईंको हातमा केमेस्ट्रीभन्दा मिस्ट्री धेरै देखिन्छ । केमेस्ट्री मिल्नेले जेजे भन्यो, त्यही त्यही मान्नुभएमा भलो हुन्छ ।’ मने, मैले पनि गम्भीर भएर भनेँ, ‘केमेस्ट्री मिलेकैले आएको हुँ ।’ मैले यसो भन्दा निश्चित रूपमा मोदीजी पनि गम्भीर हुनभो र हामीले गम्भीरतापूर्वक वार्ता गर्यौँ ।
केमेस्ट्री मिलेकैले हाम्रो वार्ता सफल भएको छ । केमेस्ट्री नै सबैथोक हो भन्ने हाम्रो पार्टीको ठहर छ । केमेस्ट्रीले सबैको अधिकार सुरक्षित गर्दै मुलुकलाई अग्रगमनमा लैजान्छ भन्ने मलाई, सरकारलाई तथा हाम्रो गौरवशाली पार्टीलाई दृढ विश्वास छ । त्यसैले अब सबै स्कुल, कलेजमा अनिवार्य केमेस्ट्री पढाउने व्यवस्था गरिनेछ । त्यसै गरी मोदीजीको सम्मान गर्दै पाल्मिस्ट्री पनि पढाउने व्यवस्था सरकारले गर्नेछ । त्यसपछि देशको, नेपाल–भारत सम्बन्धको, सरकार कति टिक्छ भन्ने लगायत सबैको भविष्यवाणी पाल्मिस्ट्री पढ्नेहरूले मात्र गर्न पाउने व्यवस्था गरिनेछ ।
शिशु संविधानलाई खोप
हाम्रो शिशु संविधान एक वर्षको भयो । नौ महिनामै शिशु संविधानले बामे सर्न थाल्या हो । यसले बामे सर्दा पुरानो सरकार फ्याट्टै गिराइदियो, नयाँ सरकार ड्याम्मै बनाइदियो । एक वर्ष नाघिसकेपछि यसलाई चुनाव नामको खोप नदिई हुन्न रे !
संविधान शिशु भएकाले यसको स्याहारसुसारमा सबै लागेका छन् । शिशुको कोक्रो कोही यता तान्छन्, कोही उता तान्छन् । कोक्रोभित्र संविधान हुर्किंदै छ, बढ्दै छ । अब यसलाई संशोधन नामको खोप पनि दिने रे ! एक मात्रा खोप पहिल्यै दिएको हो, खोपले काम गरेन रे, फेरि खोप दिने रे ! शिशु भएकाले हाम्रो संविधानलाई सबैले माया गर्छन् । पारि गाउँका मोदी बाले पनि असाध्यै चिन्ता गर्छन् । ती धामी बाको सल्लाह छ, पहिले संशोधनको खोप देऊ अनि मात्र चुनावको । युरोपियन युनियन भन्ने माथ्लो गाउँकाहरूले पनि हाम्रो संविधानको चिन्ता गरेका छन् ।
तर, जति स्याहार गरे पनि के गर्नू ? यही पाराले चाँडै टुकुटुकु हिँड्ने छाँट छैन । अलिअलि सुकेनास लाग्या छ । कुर्सीमा बसेका मच्छडले संविधानलाई टोकेर दु:ख दिएका छन् । कुर्सीमा नबसेका मच्छड पनि के कम ? टोकेको टोक्यै छन् । शिशु संविधानलाई मच्छडबाट जोगाउन कुन खोप लगाउने होला त अब ?
स्याउ खाने मौका
बाजुरामा स्याउ खाएको भैँसीले जुस नदिएर किन दूध दियो ? साँच्ची, स्याउको रक्सी पनि बनाउँछन् । स्याउ खाएर भैँसीले दूधको सट्टा रक्सी किन दिएन ? ल, ठीक छ, दूध नै दियो रे † तर, त्यो दूधमा स्याउको सुगन्ध किन आएन ? जनताले भैँसीलाई स्याउ किन खुवाएका रे भने धेरै फल्यो तर बिक्री भएन । बजार नभए पनि स्याउ किन रोपियो ? रोपेका स्याउ किन धेरै फले ? प्रश्न अनेक छन्, विषय अनेक छन् । यी सबै प्रश्नको जवाफ खोजेर दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीले मन्त्रीलाई, मन्त्रीले सचिवलाई, सचिवले सहसचिवलाई र सहसचिवले जिल्लाको कार्यालयलाई निर्देशन दिनुपर्यो ।
अहा ! भैँसीले स्याउ खाँदा निर्देशन दिने र निर्देशनको धूवाँधार प्रचार गर्न मिल्ने चान्स रैछ ! यतातिर प्रधानमन्त्रीको किन ध्यान गएन ? यस विषयमा पनि छानबिन हुनुपर्छ । त्यहाँको स्याउ साँच्चै स्वादिलो छ त ? छ भने अख्तियारले छानबिन गर्नुपर्छ, अख्तियारका हर्ताकर्ता महानुभावहरूलाई मीठो स्याउ खाने मौका आइलागेको छ । अनि, भैँसीले समेत स्याउ खाँदा सांसदहरूले मुख मिठ्याउँदै हेरेर बस्न कसरी मिल्छ ? जिल्ला पनि हेरिने, मुख पनि फेरिने, भत्ता पनि पाइने, उपाय गर्दै एउटा संसदीय छानबिन टोली बाजुरा जानुपर्यो । त्यसपछि स्याउको रूख, भैँसीको थुन, भैँसी मालिक या स्याउ खेती गर्ने किसान, कसलाई कारबाही गर्ने हो प्रतिवेदन तयार पारियोस् । ल भन्नूस् त, तपाईंको विचारमा यो प्रकरणमा को दोषी ?
भूकम्प आयो, फाइल हरायो
भूकम्पले घर लडायो, बाटो भत्कायो । अनेक विध्वंश छाडेर गयो तर केही लगेन भन्थे । होइन रहेछ, केको लाँदैनथ्यो ! अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ति हुँदाको फाइल लिएर गएछ ।
सामान्य प्रशासन मन्त्रालयमा फाइल भेटिएन । भूकम्पका कारण भवन भत्कँदा फाइल गायब भएछ ! भूकम्पका बेला कसले भवनभित्र छिर्ने हिम्मत गरेर फाइल चोर्छ ? स्वयं भूकम्पबाहेक अरूको हिम्मत हुनै सक्दैन । सर्वाेच्च अदालतले सरकारसँग फाइल मागेको थियो, भूकम्पमा हरायो भनेर जवाफ दियो । अब सर्वाेच्चले भूकम्पलाई फाइल ल्याउन आदेश दिनुपर्यो ।
अदालतले साँच्चै नै आदेश दियो भने भूकम्प आउन सक्छ । फाइल बोकेर आए पनि, नबोकी आए पनि, जसरी आए पनि भूकम्प आखिर भूकम्पै हो । आएपछि आयो आयो, बर्बादै बनाउँछ । त्यसैले भूकम्पलाई आऊ भनेर आदेश गर्न नहुने देखियो । भूकम्पलाई आऊ भन्न नमिल्ने, लोकमान नियुक्तिको फाइल भेटिन पनि नमिल्ने † क्या गजब तारतम्य, गजबै हो !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...