उस्ताद उवाच
ल हेर्नूस् त, ‘चीन र चिसो’ शब्द पनि उस्तैउस्तै छ । हिउँ नै हिउँको बाटोबाट आएको रेलले ल्याएको चिसोबाट बच्न के गर्ने त ? जनतालाई हिटर बाँडौँ भने बिजुली छैन ।
रेलले झेल
चीनबाट रेल आयो भने पर्यावरण खत्तमै हुन्छ । वनजंगल स्वाहा हुन्छ । चीनबाट आउने रेलले चिसो ल्याउँछ, हिउँ ल्याउँछ । ल हेर्नूस् त, ‘चीन र चिसो’ शब्द पनि उस्तैउस्तै छ । हिउँ नै हिउँको बाटोबाट आएको रेलले ल्याएको चिसोबाट बच्न के गर्ने त ? जनतालाई हिटर बाँडौँ भने बिजुली छैन । न्यानो ज्याकेट बाँडौँ भने पैसा छैन । चिसोबाट बच्न केही न केही त बाँड्नै पर्यो । बाँड्ने त्यही दाउरा हो । दाउरा आकाशबाट आउँदैन क्यारे !
देशीले पनि दाउरा सहयोग दिँदैनन् । यहीँका वनजंगल मास्ने हो, दाउरा बाल्ने हो ।
पर्यावरण बिग्रने चिन्ताले हाम्रा मन्त्रीहरू निदाउन सक्या छैनन् । साँच्चै रेल पनि आयो, सडक पनि मर्मत भएर राम्ररी चल्यो, धमाधम रेल र मोटर आउन थाले भने नेपाली जनता चिसोले भटाभट मर्न के बेर ? खतरा यति मात्रै होइन, रेल र मोटरको इन्जिनको तातोले सबै हिउँ पग्लिएर ठूलो बाढीपहिरो आयो भने के गर्ने ? जाबो रेल र सडकका लागि मान्छेको नाश, पर्यावरणको विनाश ! त्यसैले चिनियाँ रेल चाहिँदैन, पर्यावरण विनाश गर्न पाइँदैन ।
कुरा मिल्यो ?
बुझ्नुभो ? कुरा मिल्यो रे ! फाइल भेटिए पनि नभेटिए पनि फरक नपर्ने भो रे ! किनभने, कुरा मिल्यो रे ! कुरा भन्ने चीज पनि गजब छ, मिलिहाल्छ । कालेकाले मिलेर खाऊँ भाले प्रणाली अनुसार जे पनि कुरा मिल्छ, मिलाउनचाहिँ जान्नुपर्छ । अब छानबिन नहुने रे ! छानबिन र खानपिन मिलाएपछि जे कुरा पनि मिल्छ । छानबिन अघिअघि, खानपिन पछिपछि भएपछि ट्वाक्क कुरा मिल्छ । नमिलोस् पनि कसरी ? छानबिन र खानपिन सहोदर नातेदार हुन् रे ! फाइल भेटिने र नभेटिने खेलोमेलो अनि छानबिन र खानपिनको छेलोखेलोबीच सम्बन्ध के छ ? बुझ्नुभो ? अहँ, बुझ्नुभएन होला । तपाईंले कुरा बुझे पनि नबुझे पनि केही फरक पर्दैन । ठूलाबडाको कुरा धेरै बुझ्न पनि हुन्न । अँ, बरू कुरा मिलेकै हो कि ढाँटेको हो हँ ?
सबै काम दसैँपछि
सहमति खोज्ने दसैँपछि । संविधान संशोधन दसैँपछि । विकास निर्माण दसैँपछि । बाटो भताभुंग छ, त्यो पनि दसैँपछि मात्र । सरुवाबढुवा पनि दसैँपछि । तपाईंको फाइल अड्कियो ? त्यो काम पनि दसैँपछि । धारामा पानी आएन ? दसैँपछि सम्पर्क गर्नुहोला । ज्यानलाई अलि बिसन्चो छ कि ? आ, के अहिले जँचाउनुहुन्छ ? दसैँपछि जँचाउनुहोला । पढाइ चौपट भयो, परीक्षा नजिक आयो । त्यो पनि दसैँपछि ? सबै काम दसैँपछि ।
दसैँको उपलक्ष्यमा सरकारले बजार भाउ घटाउने योजना ल्याएको छ, कालोबजार पूरै नियन्त्रण गर्ने घोषणा गरेको छ । यो योजना र घोषणाको कार्यान्वयन नि ? दसैँपछि । तर, ढुक्कचाहिँ नहुनूस् ।
बाढीपहिरो संवाद
असोज लागिसक्यो, पानी परेको पर्यै छ । बाढीपहिरो आएको आयै छ ? के कारणले यस्तो भएको हो ? नियन्त्रणको उपाय के हुन सक्छ ? यसै विषयमा प्रस्तुत छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको मन्तव्य :
पुष्पकमल दाहाल : निश्चित रूपमा सहमति नभएकाले नै प्राकृतिक प्रकोप भइरहेको हो । सहमतिका लागि सरकार गम्भीर छ । यसमा ओलीजी पनि गम्भीर भइदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । बाढीपहिरो उत्तरतर्फबाट आइरहेकामा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसलाई नियन्त्रण गर्न मण्डले राष्ट्रवाद बाधक भएको छ । हामीले गम्भीरतापूर्वक बाढीपहिरोलाई लिनुपर्छ र यसलाई रोक्न प्रमुख प्रतिपक्षी दलको पनि सहयोगको अपेक्षा गर्दछु ।
केपी ओली : पानी परेपछि बाढीपहिरो नआएर के आकाशबाट फूल बर्सन्छ ? खालि दक्षिणतिर मात्र आँखा लाउने, जम्ल्याहा हात गर्ने अनि उत्तरबाट बाढीपहिरो नआएर के आउँछ त ? प्रधानमन्त्री बनेपछि प्रचण्डजीले बाढीपहिरो रोक्न सक्नुहुन्न भन्ने मैले
पहिले नै भनेको हो । पहिले पानी पर्न प्रचण्डजीले रोक्नुपर्यो, त्यसपछि बाढीपहिरो रोक्न एमालेले सहयोग गर्छ, नत्र छाता ओढेर बस्छ ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...