उस्ताद उवाच
बिचरा सांसदहरूले कुखुराको साँप्रो खाजा खान नपाउने रे ! जुस र कोकपेप्सी खान नपाउने रे ! संसद्मा फोकटमा खाजा र खाना नदिने हो भने किन नेता भनेर सांसद निर्वाचित गर्नु ?

लोकतन्त्रलाई खतरा
रिस, डाहा र आरिसमा नेपालीलाई कसैले नसक्ने भए बाबै ! बिचरा सांसदहरूले कुखुराको साँप्रो खाजा खान नपाउने रे ! जुस र कोकपेप्सी खान नपाउने रे ! संसद्मा फोकटमा खाजा र खाना नदिने हो भने किन नेता भनेर सांसद निर्वाचित गर्नु ? नेता बनाएपछि तिनको मानमनितो गर्न पर्दैन ? माननीयचाहिँ भन्ने तर जाबो मासुभात पनि दिन नमान्ने ! माननीयलाई अमानवीय व्यवहार किन ? बैठक बसेको बेला खाजा दिनुपर्छ । संसदीय समितिका बैठकमा सांसदहरू हाजिर गर्छन्, खाजा खान्छन् अनि बैठकबाट बाहिर निस्कन्छन् । सहरतिर यसो जनताको काम गर्छन् । खाना खाने बेला हुन्छ, च्याट्ट लाएर सिंहदरबार छिर्छन्, संसद्को क्यान्टिनमा मासुभात खान्छन् । त्यसपछि संसद् बैठकतिर गयो, हाजिर बजायो अनि हिँड्यो । सबै जना बैठक छाडेर हिँड्दा कोरम पुगेन रे ! होइन, आरोप पनि कस्तो कस्तो हो ? जनताका काममा हिँड्दा कोरम पुग्दैन भने के गर्नू ? बैठकमा हाइ काढेर बस्नु, फतुर भाषण सुन्नुभन्दा जनताको काममा हिँड्नु ठीक होइन र ?
एनजीओ कसले चलाएको ? आईएनजीओले नेपालमा कसका लागि काम गरेका ? जनताका लागि होइन र ? जनताका लागि खुलेका एनजीओ/आईएनजीको कार्यक्रममा गएर जनताकै पक्षमा भाषण गर्ने हो । जनताका पक्षमा बिहान उठेदेखि रातीसम्म काम गर्नेलाई तलब दोब्बर बनाइदिनुपर्नेमा अलिकति मात्र बढाए, त्यो पनि घरभाडाका नाममा । यस्तो दु:ख गर्नेलाई भन्सार छुटमा मोटर दिनुपर्छ कि पर्दैन ? दिनुपर्ने हो तर विरोध गर्दै छन् । सांसदहरूको किन यसरी मानमर्दन ? किन खाजाखाना कटौती ? यो पक्कै लोकतन्त्रविरुद्ध षड्यन्त्र हो ।
गुहार ! गुहार ! सांसदहरूको खानाखाजा खोसियो, लोकतन्त्र खतरामा पर्यो !
आशीर्वाद !
अब नेपाल गरिब नरहने भो । धनधान्यले भरिपूर्ण हुने भो । अब नेपालमा अशान्ति पनि नहुने भो । शान्ति नै शान्ति हुने भो । डाँडाकाँडा सर्वत्र मान्छे नै मान्छे हुने भए । जनसंख्या त कति हो कति हुने भो । सुख ? भो, कुरै नगरम् । सुख नै सुख हुने भो । नयाँ पुस्ता सबै डाक्टर इन्जिनियर हुने भए । बूढापाकाको आयु लामो हुने भो । धेरै व्याख्या के गर्नू ? चमत्कार नै हुने भो । नेपाल स्वर्ग हुने भो । गजब लागेन यो कुरा ? अवश्य लाग्यो होला ।
हो, चमत्कार हुनेवाला छ तर यसका लागि एउटा सानो सर्त छ । दसैँमा तपाईंले दिएको र लिएको आशीर्वाद सबै पूरा हुनुपर्छ । पूरा होस् भनेरै आशीर्वाद दिएको होइन र ? दसैँमा आशीर्वाद कति हो कति आदानप्रदान हुन्छ । हरेक दसैँमा यस्तै हुन्छ । हामीलाई अब अरू आशीर्वाद चाहिएन । दसैँमा दिएको र लिएको आशीर्वाद हुबहु पूरा होस् भन्ने आशीर्वाद चाहिएको छ । अबचाहिँ दसैँमा यस्तो आशीर्वाद दिऊँ– पोहोर दसैँमा दिएको आशीर्वाद पूरा होस् !
राज्यमन्त्री छान्ने आइडिया
राज्यमन्त्री छान्न सत्तासीन नेताहरूलाई ठूलो सकस भएको दु:खद खबर छ । कठै, कति समस्यामा परेका होलान् नेताहरू † नेताहरूको समस्याको गाँठो फुकाउन सारा जनताले उपाय बताउनु पर्यो । राज्यमन्त्री छान्ने अनेक उपाय हुन सक्छ । समानुपातिक उपाय अलि राम्रो होला कि ? समानुपातिकमा सभासद् छानेजसरी राज्यमन्त्री छान्न सकिन्छ । यसो खल्ती हेर्ने, खल्ती मोटो देखियो भने उसलाई ठाउँको ठाउँ राज्यमन्त्री बनाउन ढिला गर्न हुन्न । नातागोता केलाउने, ठूला नेताकी पत्नी रैछिन् भने उनलाई राज्यमन्त्री बनाउन सकिन्छ । तर, ठूला नेताकी मान्छेले राज्यमन्त्रीमा चित्त बुझाउलिन् ?
यो चाहिँ समस्या छ । राज्यमन्त्री खान पाऊँ भन्दै बिहानै घर आउनेहरूलाई नेताजीले कोठामा बोलाएर भन्नुपर्यो– कान समातेर सयपटक उठबस गर ! भन्नासाथ मान्यो भने उसलाई राज्यमन्त्री मात्र होइन, मन्त्री नै बनाए हुन्छ । किनभने, मन्त्रिमण्डलमा पर्ने सर्वाेत्तम योग्यता लाए अह्राएको काम खुरुक्क गर्ने हो । यति गर्दा पनि राज्यमन्त्री छान्न सकिएन ? अर्काे स्थायी समाधानको उपाय छ । सबै सांसदलाई राज्यमन्त्री घोषणा गरिदिने । आइडिया गजब छैन त नेताज्यू ?