उस्ताद उवाच
उपाय अनेक हुनसक्छन् तर, भुलेर पनि प्रधानमन्त्री परिवर्तन भएपछि काम गरिदिउँला या ऋण तिरौँला नभन्नुहोला ।
डाइरेक्ट देउतासँग
होटलको लबीमा ढुंगा खोज्दै थिएँ । अचानक उताबाट पिङ लमकलमक आउनुभो । नियालेर हेरेँ, चिनेजस्तो लाग्यो । कस्तो अचम्म, उहाँ हास्दै मतिरै पो आउनुभो । ठ्याक्कै चिनेँ– उहाँ देउता हो । देउता भेटेपछि अघि नै ढुंगा केको लागि खोज्दै थिएँ भन्ने पनि बिर्सेछु । मेरो त खुसीको सिमा नै रहेन ।
उहाँले मसँग हात मिलाउनुभो । पहिले हातमा आनन्द आयो, त्यसपछि माथिमाथि आनन्द सर्दै गयो, दिलसम्मै आइपुग्यो । देउता भेट्दा यति आनन्द आउँछ भनेर घर फर्केपछि कसरी वर्णन गर्ने होला भनेर सोँच्दै थिएँ । मने अचानक आइडिया आयो– सुनाउने होइन, सबैले डाइरेक्ट आनन्द पाऊन् भन्ने लाग्यो र भनेँ– ‘हजुर हाम्रो घरमा आउनुपर्यो ।’
उहाँले उपयुक्त समयमा आउँछु भन्नुभयो । देउताको मुखारविन्दबाट यस्तो सुन्दा म कति पुलकित भएछु भने बसेको सोफामै नाच्न थालेछु । नाच्दानाच्दै होस हराएछु । अचानक त्यहाँ उहाँ पनि आउनुभएछ । केही काम नपाएर कोठाचोटा चहार्दै हिँड्नुभएको रहेछ, हामीलाई देखेपछि यतै छिर्नुभएछ । उहाँ आउँदा मेरो होस पनि खुल्यो, खुसीले फेरि बेहोस पनि भएछु । एकातिर उहाँ देउता, अर्कातिर पनि उहाँ देउता । ढुंगा खोज्दै थिएँ, साक्षात् दुई देउता भेट्दा मेरो हालत के भयो होला ? अनुमान गर्नुस् त !
त्यसपछि मैले मौका यही हो भनेर प्रस्ताव राखिदिएँ– ‘अब हामी तीनैले सहकार्य गरौँ ।’ उहाँ देउताले मुसुक्क हासेर टाउको हल्लाउनुभयो, अर्का देउताले पनि त्यसरी नै टाउको हल्लाउनुभो । धेरै कुरा के गर्नु, यी मेरो यो हात हेर्नूस्, यो लरतरो होइन देउतासँग डाइरेक्ट मिलाएको हात हो । मेरो मुख हेर्नुस्, डाइरेक्ट देउतासँग बोलेको मुख हो । देख्नुभो ?
ऋण नतिर्ने फर्मुला
ऋण खाएर नतिर्नेहरूले, कसैलाई कुनै काम गरिदिन्छु भनेर आश्वासनमा झुलाउनेहरूले अनेक खाले म्याद, भाखा र तारेख दिन्छन्, जस्तो:
नयाँ वर्ष लागेपछि दिउँला
नयाँ आर्थिक वर्ष लागेपछि गरिदिउँला
दसैँपछि गरौँला
तिहार लागिहाल्यो, अब तिहारपछि
हेत्तेरिका, कस्तो किचकिच गर्या, छठ सकिन दिनुस् न !
आश्वासन या तारेख दिएर झुलाउने यो तरिका अब पुरानो भयो । ढाँटछल गर्न म्याद या आश्वासन दिनलाई अब यसो गरौँ :
स्थानीय चुनाव भएपछि गरिदिउँला
प्रदेशको चुनावपछि दिउँला
केन्द्रको चुनावपछि गरौँला
संविधान संशोधन भएपछि पक्का दिउँला, त्योभन्दा अगाडि कचकच नगर्नुस्
यस्ता उपाय अनेक हुनसक्छन् तर, भुलेर पनि प्रधानमन्त्री परिवर्तन भएपछि काम गरिदिउँला या ऋण तिरौँला नभन्नुहोला । मौसम र नेपालको प्रधानमन्त्री पदको कुनै भरोसा छैन भन्ने तपाईंलाई थाहै होला ।
हिँडाइको कमाइ
‘यहाँबाट सीधै जानुस्, ऊ त्यो परको दोबाटोबाट दायाँबायाँ नगरी ५० रुपियाँको हिँड्नुस्, त्यसपछिको दोबाटोबाट पूर्वतर्फ २५ रुपियाँको हिँड्नुस्, तपाईंले खोजेको गाउँ आउँछ ।’
भविष्यमा यसै भनिन बेर छैन । किनभने अब सांसदले पैदल भत्ता पनि पाउनेछन् । कति पाउँछन् त ? एक कोस हिंड्दा २५ रुपियाँ रे ! अब कुनै ठाउँबाट अर्काे ठाउँको दूरी कोस या किलोमिटरमा होइन रुपियाँमा बताइने दिन आउन सक्छ । कठै, बूढाखाडा र अशक्त सांसदले भने यो भत्ता नपाउने होलान् ।
‘साहूजी, यो सामानको कति रुपैयाँ ?’ ग्राहकले सोध्दा साहुजीले २५ या ५० रुपियाँ नभनेर एक पाइला या दुई पाइला भन्न बेर छैन । किनभने सांसद भन्या ठूलाबडा हुन् । अब के चिन्ता भयो भने सबै सांसद ‘स्लिम’ हुने भए । भत्ताका लागि सांसदहरू हिँडेको हिँड्यै गरेर । तर जवान र हिँड्न सक्नेले धेरै भत्ता र हिँड्न नसक्नेले थोरै भत्ता असुल्दा विभेद भयो भनेर सांसदहरूले नै आन्दोलन गरे भने के गर्ने ? त्यसैले भत्तालाई पनि समावेशी समानुपातिक बनाइयोस् । सडकमा होइन घरभित्र वल्लो र पल्लो कोठा हिँडेको पनि भत्ता दिने व्यवस्था गरियोस् ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...