उस्ताद उवाच
अरू देशलाई जेसुकै गर्नूस्, नेपाललाई चाहिँ समानुपातिक समावेशी तरिकाले डीभी दिनूस् ।
ट्रम्पलाई चिट्ठी
हेल्लो डोनाल्ड ट्रम्पजी !
क्या स्वादसँग राष्ट्रपति चुनाव जित्नुभो भने, खप्पराँ त लेखेरै ल्याको हो तपाईंले । सारा मिडिया विरुद्धमा, मत सर्वेक्षण पनि शत्रु थिए तर भोटचाहिँ पक्षमा ल्याइदिनुभो । तरिका त जानेकै हो तपाईंले । हामीले देखे अनुसार तपाईंको जितमा नेपाली नेताहरूको ठूलो हात छ । माफ गर्नुहोला– हात होइन, प्रेरणा छ । भोट हाल्या भए पो हात हुनु, प्रेरणा भनौँ । तपाईंको भाषण कहिले केपी ओलीको जस्तो, कहिले प्रचण्डको जस्तो हुन्थ्यो । उनीहरूबाटै सिक्नुभएको हो तपाईंले । नेपालीको भाषण र शैली चोरेर भए पनि जितिहाल्नुभो । अब कामको कुरा गरौँ ।
काम के भने नि, तपाईं एकपटक नेपाल आउनुपरो ! यहाँ भारत र चीनको दबदबा छ । यसो गरे भारत रिसाउँछ, उसो गरे चीन रिसाउँछ । यी दुईभन्दा तपाईंको देश ठूलो । तपाईंको देश रिसाउने बनाउन सकियो भने दुनियाँमा नेपालको नाम चल्छ । हाम्रा नेताहरू यसो गरे पनि उसो गरे पनि लम्पसार परेको आरोप लाग्छ । तपाईं आउँदा यसो पनि गर्न परेन, उसो पनि गर्न परेन तर लम्पसार चाहिँ पर्न पर्छ कि पर्दैन हँ ? हामीलाई भारत र चीनबाहेक अरूको खासै अनुभव छैन, लम्पसार पर्न पर्छ कि पर्दैन भन्ने थाहा भएन । हामी यतैका देशसँग लम्पसार परिसक्यौँ, अब थप लम्पसार पर्न सक्ने ठाउँ बाँकी राख्या छैनौँ । त्यसैले तपाईं आउँदाचाहिँ उत्तानो टाङ गर्छौं, हुन्छ ? जसरी भए नि तपाईंलाई भव्य स्वागत गरौँला । एक दिन देशभरि बिदा दिउँला, विदेशका नेपाली कूटनीतिक नियोग पनि बन्द गरौँला । यति स्वागतले पुग्छ होला नि तपाईंलाई ? पुग्दैन भने अरू पनि गरौँला ।
अँ, आउँदा अरू केही ल्याउन पर्दैन, हामीलाई डीभी चिट्ठाको गतिलो कोटा ल्याइदिन नभुल्नुहोला । भुल्नुभयो भने नआए पनि हुन्छ । अरू देशलाई जेसुकै गर्नूस्, नेपाललाई चाहिँ समानुपातिक समावेशी तरिकाले डीभी दिनूस् ।
हस्त, बाँकी कुरा यता नेपाल
आएपछि गरम्ला !
लुकाउनमा नम्बरी
लुकाउनमा नेपालीलाई कसैले नसक्ने भए बाबै ! लुकाउनमा मात्र होइन, लुकाएको जिनिस भेटाउन पनि हामी अब्बल । लुकाएको बिजुली फेला पर्यो रे ! कस्तो अचम्म, बिजुली पनि लुकाउन मिल्ने ! लुकाएकै ठाउँमा भेटिएछ । अब भेटिएको बिजुली के गर्ने भन्दा बाँड्ने रे ! जनतालाई बाँड्ने रे ! कहिलेदेखि बाँड्ने रे भन्दा त्यो चाहिँ थाहा छैन रे ! पहिलेपहिले इन्भर्टर र ब्याट्रीवालाहरूले विद्युत् लुकाउन लगाएका होलान् । विद्युत् नभएपछि जनताले इन्भर्टर र ब्याट्री किने । त्यस्तो सामान बनाउने र आयात गर्ने कम्पनी मालामाल भए ।
अब बिजुली भेटिएपछि चाहिँ को मालामाल बन्लान् ? पक्कै चस्मा व्यापारी र आँखाको डाक्टरले कमाउलान् । हिउँदभरि अँध्यारोमा बस्ने बानी लागेको आँखा उज्यालोमा परेपछि खराब हुन्छ । मानिसहरू जँचाउन जान्छन् अनि डाक्टर मालामाल । डाक्टरले चस्मा लगाउनु भन्छन् अनि चस्मा व्यापारी मालामाल । गज्जब हो, विद्युत् लुकाउँदा पनि मालामाल, भेटिँदा पनि मालामाल । जसो गरे पनि हामीचाहिँ हरिकंगाल ! यसबाटै पनि प्रमाणित हुन्छ, हाम्रो विद्युत्को शक्ति । जलस्रोतको अपार धनी नेपालको विद्युत्मा खास शक्ति र विशेषता छ, जो अन्य देशका विद्युत्मा छैन । नेपाली विद्युत्का विशेषता :
– लुकाउन मिल्छ ।
– भेटाउन मिल्छ ।
– मालामाल बनाउँछ ।
– हरिकंगाल बनाउँछ ।
तर, चिन्ता नगरौँ ! विद्युत् भेटिएको हो, लोडसेडिङको उपचार भेटिएको होइन । हाम्रो प्यारो लोडसेडिङले कसैसँग हार्ने छैन । जनताको घर–आँगन छाड्ने छैन ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...