माननीय घरबेटीको मनको मन्तव्य
फाराम भरेका बेला झुक्किएर घर छैन भनेर लेखेका र पछि मौखिक रुपमा छ है भनेर भनिसकेका माननीयज्यूको पनि नाम प्रकाशित गरिएछ ।

भर्खरै एउटा पत्रिकाले ‘माननीय सांसदहरूले काठमाडौँमा घर भईभई तलबभत्तासँगै घरभाडा पनि ज्यूनार गरेको’ भनी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । सर्वप्रथम त्यस्तो संवेदनशील सूचना पत्रिकालाई दिएर हाम्रो गोपनीयता भंग गर्ने संसद् सचिवालयका भ्रष्ट कर्मचारीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आम मतदातासामु वास्तविकता प्रस्तुत गर्न चाहन्छौँ ।
हिजोसम्म सबै कुरा ठीकै थियो । सामसुम थियो । भित्रभित्रै थियो । थाहा नहुनुपर्ने कसैलाई थाहा थिएन । कसैको टाउको दुखेको थिएन । हामीहरु लुसुलुसु थापेर खुसुखुसु खाइरहेका थियौँ । अचानक त्यस पापी पत्रिकाले जाबो केही हजार रुपैयाँ घरभाडा लिएको सानो विषयलाई मुलुकै खाएजस्तो गरी समाचार छापेर फेरि पनि हाम्रो प्रतिष्ठामा धब्बा लगाउने दुष्प्रयास गरेको छ । तर आम जनताले हाम्रो बाध्यता बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौँ ।
उदाहरणका लागि त्यो लिस्टमा नाम निस्केका एक माननीय आफ्नो बाध्यताबारे भन्नुहुन्छ, ‘काठमाडौँमा घर छ भनौँ कि छैन भनौँ ! एउटा गाडी पार्किङ गर्ने कम्पाउन्ड नभएर ग्यारेजमा महिनावारी भाडा तिरेर राखेको छु । मैले त जनताको सेवाका लागि किनेको गाडी राख्न ‘ग्यारेज भाडा’ लिएको हो । कसैले यसलाई घरभाडा भन्छ भने मेरो के दोष !’
यस्तै बाध्यता अरु धेरै माननीयहरुको छ । एक जना माननीयज्यूको घर भाडामा लिनेहरुले पूरै घर लिइदिएर उठिबास लगाएकाले उहाँ अहिले भाडामा लिएको अर्को घरमा बस्नुहुन्छ । भाडामै घर लिएर बसेका माननीयले घरभाडा लिए भनेर डंका पिट्नुको के अर्थ ! अर्का माननीयको एउटा घर छ– ससुरालीले दाइजो दिएको, अर्को घर छ– छोरीको बिहेपछि उसैलाई दिन भनेर बनाएको, आफ्नो घरै छैन । यस्तो हरिबिजोग भएका सांसदले घरभाडा लिनु कसरी अनुचित भयो ?
एक जना माननीयज्यू सासूका घरमा घरज्वाइँ बनेर कति अप्ठेरो मानीमानी बस्नुभएको रहेछ, उहाँलाई पनि घरभाडा लिएकामा बदनामी गर्न खोजिएको छ । फाराम भरेका बेला झुक्किएर घर छैन भनेर लेखेका र पछि मौखिक रुपमा छ है भनेर भनिसकेका माननीयज्यूको पनि नाम प्रकाशित गरिएछ । अर्का माननीयले प्रस्ट भनिसक्नुभयो, ‘म त्यस्तो अनैतिक मान्छे होइन । घर हुने सबै साथीहरुले नलजाई घरभाडा लिइराखेको देखेर लिएको हुँ ।’ यस्ता सोझा र निर्दोष माननीयहरुको पनि बदनाम गर्न खोजिएको छ ।
महिलाहरुको प्रगति देख्न नसक्ने तफ्वहरुले पनि यो काण्डलाई उछालेको प्रस्ट छ । जस्तै, मन्त्रीपतिसँग क्वार्टरमा बसेका महिला सांसदहरु आफ्नो घरमा नबसेको प्रस्टै छ । उनीहरुले क्वार्टरभाडा भनेर लिएको भए गल्ती हुन्थ्यो । घरभाडा भनेर लिनु कसरी अनुचित भयो ? कतिपय माननीय साथीहरुलाई त घरभाडा खाइरहेको छु भन्नेसमेत थाहा रहेनछ । जनताको काममा यति व्यस्त हुनुपर्छ, यस्ता झिनामसिना कुरा हेक्कामै रहँदैनन् । त्यस्ता कर्मशील माननीयहरुको पनि अपमान गरिएको छ ।
अन्त्यमा, हामी जनताका प्रतिनिधिहरुलाई यसरी पटक–पटक बदनाम गरेर अन्तत: लोकतन्त्रलाई नै अफापसिद्ध गर्ने षड्यन्त्र भइरहेकोतर्फ सबैलाई सजग रहन अनुरोध गर्दछौँ । हामीलाई दिइएको तलबभत्ता र सुविधा अत्यन्त न्यून रहिरहेको हुँदा यथाशीघ्र तलब वृद्धिको माग गर्दै खाइपाई आएको सेवासुविधा नै घट्ने गरी घरभाडा फिर्ता गर्ने प्रतिगामी कार्य नगर्न सबै कथित कालोसूचीमा परेका मित्रहरुमा अनुरोध गर्दछौँ । धन्यवाद ।