कर्णालीको माया
हिजोआज हामी कर्णालीलाई खुब माया गर्न थालेका छौँ । हुन त पहिला–पहिला पनि गर्थ्यौं तर दुई तिहाइको सरकार बनेपछि कर्णालीको माया बढी नै उर्लेर आएको छ ।
हिजोआज हामी कर्णालीलाई खुब माया गर्न थालेका छौँ । हुन त पहिला–पहिला पनि गर्थ्यौं तर दुई तिहाइको सरकार बनेपछि कर्णालीको माया बढी नै उर्लेर आएको छ । खासगरी सरकारइतर वृत्तमा कर्णालीको माया गाढा छ । सरकारले जब कर्णालीलाई बिर्सेर कुनै निर्णय गर्छ, तब प्रतिपक्षीका प्रतिक्रियामा कर्णाली उर्लिहाल्छ । प्रमुख प्रतिपक्ष, सरकारबाहिरका दल, सरकारमै रहेका तर मन्त्री हुनबाट वञ्चित नेताहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीहरु, पूर्ववरिष्ठ कर्मचारी, सांसद, बुद्धिजीवी, पत्रकार, सामाजिक सन्जाल प्रयोगकर्ता सबैले सरकारका निर्णयविरुद्ध कर्णालीलाई ठड्याउँछन् र सरकारको उछितो काड्छन् । भाषणमा, लेखमा, अन्तर्वार्तामा, संसद्मा, सडकमा, फेसबुकमा, ट्वीटरमा जताततै कर्णालीको चिन्ता व्याप्त छ । पदमा हुँदा बिर्सिनेले पनि पद जानेबित्तिकै कर्णालीलाई सम्झिएका छन् । सरकारका अनेकौँ नयाँ निर्णय कार्यान्वयन हुन नपाउँदै कर्णालीमा ठोकिन थालेका छन् । सबैको साझा मत छ, सरकारले पहिला कर्णालीलाई हेर्नुपर्छ, अरु कुरा हुँदै गर्छ ।
सरकार भन्छ रेल, तेल, पानीजहाज ल्याएर मुलुकलाई समृद्ध बनाउँछु, प्रतिपक्ष एकै स्वरमा कराउँछ, कर्णालीका जनतालाई बिहानबेलुका खानलाई अन्न छैन, किन चाहियो रेल ? किन चाहियो पानीजहाज ? अर्बौं रुपैयाँ खर्चेर दशकौँ लगाएर रेल ल्याउने पैसाले त कर्णालीका प्रत्येक जनतालाई धनी बनाउन सकिन्छ । कर्णालीका गाउँगाउँमा विकास पुर्याउन सकिन्छ ।
काठमाडौँमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै लुम्बिनीमा अर्को विमानस्थल बनाएर सरकारले अर्बौं रकम सक्यो, अब निजगढमा बनाउने भन्दै छ । त्यो बनाउनुभन्दा कर्णाली प्रदेशका सबै ठाउँमा हेलिप्याड बनाएर त्यहाँका सुत्केरी तथा बिरामीको आपतकालीन उद्धार गर्न सकिन्छ ।
सुविधासम्पन्न काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने नाममा करोडौँ खर्च भइरहेको छ । त्यसरी गरिने फजुल खर्चले त कर्णालीमा जडीबुटी उद्योगै खोल्न सकिन्छ । त्यहाँबाट तुइन विस्थापित गरेर जनतालाई अकाल मर्नबाट जोगाउन सकिन्छ । कर्णालीप्रतिको माया यसरी प्रकट भइरहेको छ ।
कामकुरा कर्णालीतिर कुम्लो बोकी दिल्लीतिर भनेजस्तो यो सरकारले देशमा आइफा कि के भन्ने अवार्ड कार्यक्रमका लागि भारतीय कम्पनीलाई एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । कर्णालीका जनता भोकै छन्, नांगै छन्, त्यहाँका भोकानांगा जनतालाई हेर्न छाडेर करोडपति इन्डियन कलाकारलाई पोस्न ठूलो रकम खर्च गर्न तत्पर हुने यो सरकारको नियत के हो ? त्यो पैसाले त कर्णालीका गरिब बालबालिका र महिलालाई कुपोषणबाट बचाउन सकिन्छ । यहाँ पनि कर्णालीकै चिन्ता छ ।
हुँदाहुँदा सरकारले अब कर्णाली प्रदेशमा पेट्रोलियम उत्खनन गर्ने गुड्डी हाँक्न थालेछ । यस विषयमा पनि हामीले चुप लागेर बस्नु हुँदैन, सरकारविरुद्ध खनिनुपर्छ । कर्णालीका मान्छेलाई बिरामी हुँदा खाने सिटामोल छैन, पेट्रोलियम उत्खननमा करोडौँ रकम सिध्याउने ? गरिब जनतासँग कर उठाएर जम्मा गरेको रकम यसरी सक्ने अधिकार यो सरकारलाई कसले दियो ? त्यो पैसाले त कर्णालीका कुनाकुनामा बिजुली पुर्याउन सकिन्छ ।
यसरी हामी सबै कर्णालीको चिन्तामा लागेका छौँ, अझै लाग्नुपर्छ । कर्णाली देख्नु पनि पर्दैन, टेक्नु पनि पर्दैन, नाम सुनेको छ भने फेसबुकमा, ट्वीटरमा लेखिरहनुपर्छ । झापामा बसे पनि, काठमाडौँमा बसे पनि वासिङ्टन वा लन्डनमा रहे पनि कर्णालीको मायामा आँसु निकालिरहनुपर्छ । यसरी सबका सबले चिन्ता प्रकट गरेपछि कुनै न कुनै दिन कर्णालीको पनि कायापलट कसो नहोला !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...