तिनै ओली चाहिन्छ
प्रधानमन्त्री ओलीको कार्यशैली धमाधम परिवर्तन हुँदै छ भन्ने अप्रिय समाचार आइरहेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैली धमाधम परिवर्तन हुँदै छ भन्ने अप्रिय समाचार आइरहेका छन् । प्रधानमन्त्रीले आफूबाहेक अरूसँग पनि सल्लाह लिन थालेको, बालुवाटारबाहिरका पनि केहीलाई समेट्न खोजेको भन्ने हल्ला हावासरी फैलिइरहेको छ । पार्टीमा आँखो र खुर्सानीको सम्बन्ध भएका नेताहरू पनि बालुवाटार आवतजावत गर्न लागेका छन् अरे । प्रधानमन्त्रीले अब विपक्षीलाई पत्ताल पुग्ने गरी झटारो हान्न छाड्ने अरे । अबदेखि अतिशयोक्तिपूर्ण अभिव्यक्ति दिन बन्द गर्ने अरे । यस्ता अफवाह फैलिइरहेका छन् बजारमा ।
प्रधानमन्त्रीको अभिव्यक्तिको कुरा गर्दा अस्ति एक प्रसंगमा ‘म प्रधानमन्त्री भएपछि काठमाडौँका जनताले मास्क लगाउन छाडे’ भनेको कुरालाई लिएर उनलाई सञ्चार माध्यम, सामाजिक सन्जाल, विपक्षी दल र आफ्नै दलका पनि विरोधी खेमाकाहरूले ठूलो होहल्ला मच्चाए । दुई सातासम्म सत्तापक्ष, प्रतिपक्ष, संसद्, सडक, पत्रपत्रिका, ट्वीटे, फेसबुके, भाइबरलाल सबका सब ताते, सक्रिय भए । प्रधानमन्त्रीले यसरी आफ्ना तिख्खर अभिव्यक्तिबाट निरन्तर मुलुकलाई हल्लाउँदै आएका छन् । समाजलाई तरंगित बनाउँदै आएका छन् । यो ओलीजीको मौलिक विशेषता हो ।
मानौँ, प्रधानमन्त्रीको शैली परिवर्तन भयो र उनले त्यो कुरालाई यसरी भनेमा के हुन्छ ? जस्तै, ‘म प्रधानमन्त्री भएपछि उपत्यकाका सडकमा धेरै सुधार आएको छ । गएको वर्षभन्दा यो वर्ष धूलो, हिलो र खाडल धेरै व्यवस्थापन गरिसक्यौँ । अब एक वर्षभित्र नागरिकले मास्क लगाउन नपर्ने गरी उपत्यकालाई सफा गर्ने योजनामा सरकार कटिबद्ध छ । भन्नजस्तो सजिलो गर्न नहुने रहेछ । विकास निर्माणका चरणमा धूलो, हिलो, फोहोर सहनुपर्दो रहेछ । यसबाट जनतामा पर्न गएको असुविधाप्रति सरकार क्षमाप्रार्थी छु ।’
प्रधानमन्त्रीले पोहोर साल चुच्चे रेलको कुरा गर्दा र पानीजहाजको टिकट काट्न आह्वान गर्दा कडा प्रतिक्रिया उत्पन्न भएका थिए । यदि उनले अब परिवर्तित शैलीमा यसो भनेमा उनका पछि को लाग्छ ? जस्तै, ‘मैले ठट्टाको भावमा पानीजहाजको टिकट काट्न भनेकामा त्यसलाई वास्तविक ठानी जनताले खिल्ली उडाउनुलाई मैले स्वाभाविक रूपमा लिएको छु । वास्तवमै हामी पानीजहाज ल्याउने प्रयत्नमा छौँ । नारायणी नदीमा केही महिनापछि सानो आकारको जहाज चल्दै छ । ठूला नदीहरूमा पनि जहाज चलाउन हामी दृढ संकल्पित छौँ । रेलका सम्बन्धमा जयनगर, जनकपुर, बर्दिबास रेल चल्ने दिन अब टाढा छैन । चीनबाट रेल ल्याउने विषयमा पनि काम अगाडि बढिरहेका छन् । कठिन भौगोलिक कारणले चीनबाट रेल ल्याउनु सजिलो छैन । तर पनि हामीले प्रयत्न गर्नुपर्छ । चुच्चे रेलको कुरा गरेर म अलि बहकिएछु । मेरै पालामा नभए पछिल्ला दस वर्षमा भए पनि हामीले चीनसँग रेलमार्ग जोड्नैपर्छ । यसमा प्रतिपक्षको पनि नैतिक सहयोगको अपेक्षा गरेको छु ।’
ओलीबाट यस्तो लुते भाषामा अभिव्यक्ति आयो भने हामी त ठाडै मुर्च्छा पर्छौं । ‘गल्ती भएछ’, ‘लज्जित भएँ’, ‘क्षमाप्रार्थी छु’ जस्ता निम्छरा कुरा गर्ने ओली हामीलाई के काम ! ओलीले यसरी बोले भने हामीले फेसबुकका भित्तामा के लेखेर भाइरल बनाउने ! पत्रपत्रिकाले यस्ता भनाइबाट के समाचार बनाउने ? त्यस्ता समाचार कसले पढ्ने ? त्यसकारण हामी सारा विपक्षीलाई निराश पार्ने गरी ओलीजीले शैली परिवर्तन नगरून् । हामीलाई पुरानै अररा र खरा ओली चाहिन्छ ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...