महरा र आफतावहरूलाई जोगाऊ !
संयोगले हालसम्म जोगिइरहेका चन्चले महराहरू पार्टीमा अरू कति होलान् ! उनीहरुको पनि मायाको गुप्ती संसारमा यसैगरी पहिरो लड्न थाल्यो भने पार्टीमा मायालु मन भएका नेताहरूको खडेरी पर्न के बेर !

नेकपाका उपल्लो तहका नेता सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लाग्दा पनि पार्टीले खण्डन गरेर प्रेस वक्तव्यसम्म निकालेन । महराजीको सचिवालयले एउटा खेस्रा जारी गरेर उनको आँखामा छारो हाल्ने काम मात्र गर्यो । उनका कार्यकर्ताले एउटा जुलुस पनि निकालेनन् । आफ्ना निकटतम सहयोगी नेता महराजीलाई संरक्षण गर्नु त कता, पार्टीका अध्यक्षहरूले राजीनामा पो गराए । गृहमन्त्रीले आफ्ना अन्तरंग मित्रलाई बचाउलान् भनेको, उल्टै पुलिस लगाएर पक्राउ गराए ।
मान्छेको मन हो, चन्चल भइहाल्छ । संयोगले हालसम्म जोगिइरहेका चन्चले महराहरू पार्टीमा अरू कति होलान् ! उनीहरुको पनि मायाको गुप्ती संसारमा यसैगरी पहिरो लड्न थाल्यो भने पार्टीमा मायालु मन भएका नेताहरूको खडेरी पर्न के बेर ! नेकपाले सोच्नुपर्छ । महराजीको केसमा बलात्कार गरेको होइन, प्रयास मात्रै गरेको हो भनेर पीडितले नै बयान सच्याइसकेपछि पार्टीले आफ्ना नेतालाई चोख्याउनेतिर लाग्नुपर्नेमा कारबाही गराएर उनीमाथि घात गरेको छ । आजीवन पार्टीमा लागेर, कति पटक ज्यानकै बाजी लगाएर त्यो तहमा पुगेको नेतालाई आपद् आइलाग्दा उद्धार गर्नुपर्नेमा मुन्टो अन्तै बटारेर नेताहरूले ठूलो धोका दिए । पार्टी र नेताहरूले आफ्ना निकटका अपराधीलाई बचाउने परम्परा कायम गरेनन्, आफ्नो कर्तव्यबाट विचलित भए ।
सरकारले त प्रतिपक्षीहरूको विरोधको सामना गर्ने आँट नभएर बाध्यतावश सभामुखको बचाउ गर्न सकेन होला । प्रमुख प्रतिपक्षचाहिँ किन यति भुत्ते भएको ? आफ्ना शक्तिशाली नेता आफताव आलमको एक दशकभन्दा पुरानो घटना उल्टाएर प्रहरीले अन्यायपूर्वक कारबाही गर्दा पनि किन चुप लागेको ? अब मुद्दा चल्दा कदाचित उनले आफ्ना कार्यकर्तालाई जिउँदै आगोमा हालेर मारेको भन्ने प्रमाणित भयो र जेल गए भने कांग्रेसलाई कत्रो नोक्सान हुन्छ ? आफतावले आखिर पार्टीकै जीतका लागि बम पड्काएका रहेछन् । विस्फोटको पोल खुल्छ भनेर पार्टीकै हितका लागि घाइते भएकालाई जिउँदै जलाएर मारेको भन्ने कुरा छ । जिउँदै मारेका हुन् भने पनि आफ्नै कार्यकर्तालाई मारेका रहेछन् । मारेको दसीप्रमाण पनि मेटाएकै रहेछन् । मार्दा पनि खासै तड्पाएर क्रुर तरिकाले मारेको होइन रहेछ, बेहोस बनाएर इँटाभट्टाको भुंग्रोमा हालेर आत्था पनि भन्न नपाई सिध्याएको अरे । आफ्ना यस्ता कुशल, इमानदार, होसियार र साहसी नेतामाथि दुई तिहाइको दम्भ देखाउँदै सरकारले कारबाही गर्दा पनि प्रमुख प्रतिपक्ष दलले देशव्यापी विरोध प्रदर्शन गरेन । सडकदेखि सदनसम्म हंगामा मच्चाएर भविष्यका लागि भोट बढाउनुको सट्टा कानमा तेल हालेर सुतेर बस्यो ।
नेताहरूले यसरी आफ्ना होनहार नेता-कार्यकर्तालाई भ्रष्टाचार, बलात्कार, हत्या, अपहरणजस्ता सानातिना अपराधमा नजोगाउने हो भने पार्टी कसरी चल्छ ? आगामी चुनावमा पार्टीहरूले त्यस्ता योग्य र साहसी उम्मेदवार कहाँबाट ल्याउँछन् ? त्यसैले, आफ्ना पार्टीका नेता-कार्यकर्ताले जुनसुकै अपराध गरेको भए पनि जोगाउने, लुकाउने, संरक्षण गर्ने परम्परागत संस्कृतिबाट दलहरू विचलित हुनुहुँदैन । नेताहरूले आफ्नो धर्म छाड्नुहुँदैन । युवा कार्यकर्ताले यसरी अल्छी भएर ज्यानमा बोसो जमाउनुहुँदैन । हुतिहारा हुनुहुँदैन । आफ्ना नेता-कार्यकर्तामाथि कुनै पनि अपराधमा पक्राउ गर्न, छानबिन हुन वा कारबाही हुन दिनुहुँदैन । दलहरूभित्र अरू-अरू महराहरू, आफतावहरू प्रकट हुँदै जाँदा र यसरी कारबाही हुँदै जाँदा भोलि पार्टीमा नेताहरू नै सकिए भने देश कसले चलाउँछ ? चेतना भया !