विशिष्टहरूलाई शिष्ट सुझाव
एक जना महराजीको बलिदानीबाट बाँकी धेरै विशिष्टज्यूहरूले पाठ सिक्ने सुनौलो अवसर आएको छ । विभिन्न राजनीतिक दलका ठूल्ठूला नेताहरूबारे बजारमा त्यस्तै सम्बन्धका हल्ला आइरहन्छन् ।
कल्पनै नगरेको, यो मुलुकको पाँचौँ नम्बरका उच्च अधिकारी महराजी जेलको हावा खान पुग्नुभयो । जनताका माननीय प्रतिनिधिका पनि प्रतिनिधि सम्माननीय सभामुख । सत्ताविरोधी हिंसात्मक आन्दोलन गर्दा पनि उहाँ जेल पर्नुभएको थिएन होला । हेर्दा नै मायालाग्दो भद्र भलाद्मी मान्छे । मृदुभाषी । इमानदार पनि हुनुहुन्छ रे भन्ने सुनेको हो । पार्टीमा पनि अध्यक्षको प्रिय पात्र । असल भएरै होला, कहिल्यै सत्तासुखबाट वञ्चित हुनु नपरेको सुकिलो, मुकिलो, सुकोमल व्यक्तित्व । त्यस्तो मुलायम व्यक्तित्वले आज ‘बलात्कार प्रयास’ जस्तो निम्न स्तरको अभियोगमा जेल बस्नुपरेको छ । बरु ड्याम्मै केही करोडको भ्रष्टाचार अभियोग लागेको भए पनि इज्जतै रहन्थ्यो, ‘बलात्कार प्रयास’ जस्तो असफल र निम्छरो घटनामा इज्जतै स्वाहा हुनु, पदै जानु, जेलै जानु, कस्तो विडम्बना † दशा लागेको भनेको यही होला ।
पार्टीका दुई नम्बर अध्यक्षले एक कार्यक्रममा बताएअनुसार महराजीले त्यस्तो ठूलै अपराध गरेको पनि होइन रहेछ, नैतिक दृष्टिले अलि नमिल्ने कुरा गरेको भन्ने बुझियो । बलात्कार प्रयासभन्दा पनि ठूलो गल्तीचाहिँ उहाँले नेतृत्वलाई ढाँटेर गर्नुभएछ । प्रचण्डजीले आफैँ घरमा गएर ‘कुरा के हो खसोखास बताउनुस्’ भनेर र्याखर्याख पार्दा पनि उहाँले साँचो कुरा बताउनुभएनछ । उहाँले ‘धोका खाएँ, बचाइपाऊँ’ भनेको भए बचाउन सकिने सम्भावना हुने रहेछ । यसरी विचार गर्दा पार्टीका नेता–कार्यकर्ताले जे–जसो गरेको भए पनि पोल खुलेपछि सत्य कुरा नेतृत्वलाई बताउनुपर्ने रहेछ भन्ने पोल खुल्न बाँकी विशिष्टहरूले ध्यानमा राख्नुहोला ।
एक जना महराजीको बलिदानीबाट बाँकी धेरै विशिष्टज्यूहरूले पाठ सिक्ने सुनौलो अवसर आएको छ । विभिन्न राजनीतिक दलका ठूल्ठूला नेताहरूबारे बजारमा त्यस्तै सम्बन्धका हल्ला आइरहन्छन् । संयोगले अहिलेसम्म उहाँहरू जोगिइरहनुभएको होला । कति नेताहरूका नाम बजारमा आए पनि चर्कोसँग आएका छैनन् । युट्युबरहरूले रंगेहात भेट्टाएका छैनन् । ती चर्चामा आइरहने पात्र अवश्य पनि सावधान हुनुभयो होला । नभए अब सतर्क रहनुहोला ।
यस प्रकरणबाट पाठ सिक्दै आइन्दा त्यस्ता गोप्य सम्बन्धहरू अत्यन्त होसियारीपूर्वक कायम राख्नुहोला । ठूलो र सार्वजनिक पदमा बस्ने व्यक्तिले त्यसरी अवैध सम्बन्ध राखेको भए दिनदहाडै पार्टनरकहाँ जाने काम बन्द गर्नुहोला । साइरन बजाउँदै, बाटो जाम गर्दै, सुरक्षाकर्मीसहित गाडीको ताँती लगाएर पनि नजानु होला । सुरक्षाकर्मी वा सवारी चालकबाट पोल खुल्ने खतरा हुन्छ भन्ने त लाटोबुंगोले पनि थाहा पाउने कुरा हो । त्यस्ता विशिष्ट व्यक्तिले गाडी आफैँ चलाएर वा कसैले थाहा नपाउने गरी मुखमा मास्क लगाएर ट्याक्सीमा जानुहोला । परिवारका सदस्यले, श्रीमतीले, गेटमा बसेका सुरक्षाकर्मीले वा घरको कुकुरले पनि थाहा नपाउने गरी आधाराततिर लुसुक्क निस्कनुुहोला । सडकका सीसीक्यामेरालाई छल्दै गन्तव्य स्थल छिर्नुहोला ।
त्यतिले मात्र पुग्दैन, आफ्नो पार्टनरलाई बिच्किन नदिन आर्थिक, शारीरिक, पदीय आदि सबै कुरामा सन्तुष्ट पारेर राख्नुपर्ने रहेछ भन्ने पाठ सम्बन्धितहरूले सिक्नुहोला । घटना घटिसकेपछि र सम्भावित खतराको ज्ञान भइसकेपछि ‘फर्गेट एस्टर्डे’ वा यस्ता कुनै शंकास्पद सन्देश नपठाउनु होला । जे–जसरी हुन्छ यस्ता सम्बन्धलाई बाहिर विस्फोट गराएर दुनियाँलाई हँसाउने काम नगर्नुहोला । भित्रभित्रै एक्लै हाँस्नुहोला ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...