धुवाँधार आत्मालोचना
नेतृत्वको उछितो काड्न जिब्रो उध्याएर बसेका स्थायी समिति सदस्यहरू बैठकको सुरुमै अध्यक्षद्वयले पेस गरेको धुवाँधार आत्मालोचना प्रतिवेदन सुनेर हेर्याहेर्यै भए ।

सत्ताधारी पार्टी नेकपा स्थायी समिति बैठक एक वर्षपछि यसपालि बस्यो । नेतृत्वको उछितो काड्न जिब्रो उध्याएर बसेका स्थायी समिति सदस्यहरू बैठकको सुरुमै अध्यक्षद्वयले पेस गरेको धुवाँधार आत्मालोचना प्रतिवेदन सुनेर हेर्याहेर्यै भए । यो प्रतिवेदन कुनै विपक्षी दलका नेताले लेखेको हो कि भनेर उनीहरूले शंका पनि प्रकट गरे । तर साना अध्यक्षले ‘हामीले नै मिलेर लेखेको हो’ भनेपछि होला भन्ठानेर चुप लागे ।
प्रतिवेदनमा अध्यक्षहरूले भनेका छन्, ‘हामी दुई–दुई जना अध्यक्ष हुँदा पनि पार्टी एकतालाई पूर्णता दिनसम्म ढिला गरेका छौँ, त्यसका लागि हामी क्षमा गरिनलायक पनि छैनौँ । हाम्रो अस्तव्यस्तता, अस्वस्थता, अकर्मण्य, खिचातानी, गुटबन्दी आदिले गर्दा तीन–तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक बल्ल एक वर्षमा बस्दै छ । हामी अध्यक्षहरूले यति लामो समयसम्म बैठक नराखेर कम्युनिस्ट आन्दोलनको मूल्य–मान्यताविपरीत काम गरेका छौँ । नियमित बैठक बसेर छलफल नहुँदा पार्टी विचारहीनहरूको झुन्डजस्तो भएको छ । पार्टीमा अनुशासन भनेको कुन चरीको नाम हो, थाहा छैन । जसलाई जे बोल्न वा गर्न मन लागेको छूट छ । नेता–कार्यकर्ताहरूमा नैतिकताको खडेरी छ । भ्रष्टाचार, ठगी र बलात्कारजस्ता अपराधमा एकपछि अर्को गर्दै उनीहरू नांगिँदै छन् । पार्टीले एउटा आधिकारिक प्रकाशनसम्म गर्न सकेको छैन । स्कुल विभाग लथालिंग छ । प्रचार–प्रसार र प्रशिक्षणका काम भताभुंग छन् । पार्टीको अवस्था दयनीय छ, कमिटीहरू मृतप्राय: छन् । पार्टी संगठन संस्थागत छैन, गुटगत छ । हामी नै त्यस्ता गुटको नेतृत्व गरिरहेका छौँ । पार्टीभित्र घात, अन्तरघात र अराजकता व्याप्त छ ।’
‘सरकारले पनि खासै लछारपाटो लगाएको छैन । अलिअलि सिन्का भाँचेका कुरा पनि पार्टीले प्रचार–प्रसार गर्न सकेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुरक्षाका सवालमा व्यापक जनगुनासा आइरहेका छन् । अस्वाभाविक प्रकारका भ्रष्टाचारका समाचार आइरहेका छन् । सरकारलाई कमजोरीबाट बचाउन हामी दुई–दुई जना अध्यक्ष हुँदा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिएको छैन । उपनिर्वाचनका बेला गुटबन्दीमा लाग्यौँ र पहिला जितेका ठाउँमा पनि हामीले नै हाम्रा उम्मेदवारलाई हरायौँ भन्नुपर्दा लज्जा अनुभव हुन्छ ।’
‘नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्नु हाम्रा लागि असह्य छ । ६ दशक अगाडिदेखि उसैले कब्जा गरिरहेको जमिनको नक्सा हामी सरकारमा भएकै बेला प्रकाशनमा ल्याउनुमा षडयन्त्रको गन्ध छ । यस सम्बन्धमा हामीले प्रस्ट धारणा राखेर अघि बढ्न नसक्नु आश्चर्यजनक छ ।’
‘अन्तमा, तपाईंहरू कसैलाई लाग्ला, यी अध्यक्षहरूले कतै बेहोसीमै आफैँलाई गाली गरेको प्रतिवेदन त लेखेनन् भन्ने ! कम्तीमा म सानो अध्यक्ष यो प्रतिवेदनबाट अत्यन्त सन्तुष्ट छु, ठूला अध्यक्षचाहिँ मैले यो पढेर सुनाउँदा खासै बोल्नुभएको थिएन । त्यसलाई मैले मौन सम्मति ठानेर बैठकमा पेस गरेको हुँ । अब पनि नेतृत्वविरुद्ध कुनै गाली गर्ने ठाउँ बाँकी छ भने सुरु गर्नुस् कमरेडहरू !’
प्रतिवेदन सुन्दा गाली गर्ने ठाउँ बाँकी छैनजस्तो लागेको थियो, समितिका सदस्यहरूलाई । तर स्थायी समितिका स्थायी प्रतिपक्षी नेताहरूले रातभरिमा दुई दर्जन आलोचनाका बुँदा सिर्जना गरेर एक सातासम्म अध्यक्षहरूको सातोपुत्लो उडाएर उनीहरू अलि शान्त भए । आफूले निर्वाह गर्नुपर्ने कर्तव्य नेकपाकै नेताहरूबाट सम्पन्न भएपछि कांग्रेसका नेताहरू पनि ढुक्क भएर एकआपसमै हानाहान गर्न मस्त हुँदा भए ।