दैवको लीला
आश्रममा अधर्मीहरूको घुसपैठका कारण बाबामाथि षडयन्त्र भएर पनि यो घटना भएको हुन सक्छ ।

सिद्धबाबा बिनाअक्सिजन, बिनादानापानी, जमिनमुनि खाडल खनेर, माटोले पुरिएर नौ दिनसम्म बस्नुभयो र निस्केर ठमठम हिँड्नुभयो भन्ने समाचार सुनियो । उहाँ हेर्दाहेर्दै जगत्गुरुका उपाधिले विभूषित हुनुभयो । महापुरुष मात्र होइन, उहाँ भगवान्कै रूपमा पुजिन थाल्नुभयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीहरू, ठूल्ठूला नेताहरू, उच्च प्रशासकहरू, सेना र प्रहरीका हाकिम सबका सबलाई उहाँले आफ्ना भक्त बनाउनुभयो । यस्ता समाचार आउँदा–आउँदै अर्को समाचार आयो, सिद्धबाबाले सरकारी जग्गा हडपेर आश्रम बनाउनुभयो । अन्तिम समाचारअनुसार सिद्धबाबाले एउटी भक्त महिलालाई बलात्कार गर्नुभयो ।
योचाहिँ पत्याउन नसकिने समाचार थियो । नभन्दै आगो र स्त्रीलाई छुन पनि नहुने जगत्गुरुले आगोमा हाम फालेको यो आरोपलाई ठाडै खारेज गरिदिनुभयो । आश्रमको कडा सुरक्षाघेराभित्र बलात्कार असम्भव छ भनेर बाबाका सेवकहरूले पनि भनिसके । त्यसैले यो घटना भएको हैन रहेछ भन्ठानौँ । मानौँ, दैवको लीला, यदि यो घटना भएकै हो भने पनि यसमा बाबाको के दोष ! आश्रममा अधर्मीहरूको घुसपैठका कारण बाबामाथि षडयन्त्र भएर पनि यो घटना भएको हुन सक्छ । अर्को कुरा, विश्वलाई नै दुष्प्रभाव पारिरहेको ग्लोबल वार्मिङका कारण बाबाको हृदय पग्लिएर पनि यो सबै भएको हुन सक्छ । ग्लोबल वार्मिङले कस्ता–कस्ता अटल हिमालहरू पग्लिरहेका छन् । जंगल डढेर भष्म भइरहेका छन् । त्यस्ता विषयमाथि विचार नगरी उहाँलाई आरोप लगाउनु हुँदैन, अदालतले पनि त्यसतर्फ ध्यान दिएर नै उहाँलाई छाडेको हुनुपर्छ ।
विधिविज्ञानले जेसुकै भने पनि बाबाले होइन भनेपछि त्यो अडियोको आवाज उहाँको होइन नै होला । दैवको लीला, साढेसाती दशाले गर्दा त्यो अडियो सक्कली नै रहेछ र बाबाले रुवाबासी गरेर ती महिलासँग माफी माग्दा पनि तिनले मुद्दा फिर्ता लिन अटेर गरेकी हुन् भने ती महिला नै मूर्ख हुन् । तिनले त कलियुगमा कृष्ण कृपा पाएकी हुन् । ईश्वरसँग साक्षात्कार भएकी हुन्, त्यसलाई बलात्कार ठान्नु उनको मूर्खता हो । साधारण मानिसले गरेको र सिद्ध पुरुषले गरेको कुनै पनि कर्म एउटै कोटिमा राखेर हेर्न मिल्दैन । त्यसैले हेरिराख्नू, सिद्धबाबाको सिद्धिका प्रभावले आगामी दिनमा पनि उहाँकै पक्षमा फैसला हुँदै जानेछन् । बाबाको सिद्धि सदा कायम रहनेछ । उहाँ पुन: आफ्नो कर्मक्षेत्रमा फर्केर भक्तजनलाई सदाचारी प्रवचन दिन थाल्नुहुनेछ । अर्को पटक नौ दिन होइन, नौ महिना जमिनमुनि वा पानीमुनि बिनाअक्सिजन समाधि बसेर सकुशल निस्केको देख्न पाइनेछ । कुनै यन्त्रको सहायताबिना हावामा तैरिएको विश्व रेकर्ड पनि बाबाबाटै कायम हुनेछ ।
एउटा प्रवचनमा उहाँले यो पनि भन्नुभएको रहेछ, ‘कसैले भोलि के गर्दै छ भन्ने म आजै सबै थाहा पाउँछु ।’ अबदेखि कसैले कुनै यस्तै आरोप वा मुद्दा लगाउँदै छ भन्ने उहाँलाई अगाडि नै थाहा होस् र पूर्वसतर्कता अपनाउन सकियोस् । त्यो विवादास्पद अडियोको आवाज नक्कली हो भनेर त गुरुले नै भनिसक्नुभयो । तर कदाचित् गुरुले आवेशमा आएर आफ्नो बलात्कारी अंग काटेर फाल्छु भन्ने घोषणा गर्नुभएकै हो रहेछ भने उहाँलाई त्यसो नगर्न बिन्ती गरौँ । फ्याट्ट गुरुले त्यो पापी, नास्तिक, दुष्ट अंगलाई काटिहाल्नुभयो र साराका सारा भक्तजनले त्यसको अनुशरण गर्न लागे भने संसारको सृष्टिमै अवरोध हुन सक्छ । गुरु वचन हो, पालना हुन के बेर !