नेता अर्कैका राम्रा !
पराई देशका नेताहरूले कुनै काम गर्दा हामीलाई मुक्त कण्ठले प्रशंसा गर्न मन लाग्छ । त्यस्तै काम आफ्ना नेताले गर्दा उन्मुक्त कण्ठले गाली गर्न मन लाग्छ । किन ?
एउटा बेहोरा नभएको नेपाली उखान सुन्थेँ, ‘पत्नी अर्काकी राम्री, छोराछोरी आफ्ना राम्रा ।’ यो उखान कतिलाई लागू होला, कतिलाई नहोला । तर हामी नेपालीलाई नेताचाहिँ अर्कैका राम्रा लाग्छन् । यसमा शंकै छैन । हामीलाई पराई देशका नेताहरूले कुनै काम गर्दा मुक्त कण्ठले प्रशंसा गर्न मन लाग्छ । त्यस्तै काम आफ्ना नेताले गर्दा उन्मुक्त कण्ठले गाली गर्न मन लाग्छ ।
छरछिमेकी देशकै नेताहरूका कुरा गरौँ । भारतका प्रधानमन्त्री मोदीलाई हेर्नुस् त, क्या जिउँदाजाग्दा नेता छन् ! दमदार भाषण गर्छन्, वाकपटु छन्, जाँगरिला छन्, अनेक नयाँ–नयाँ अभियानका उद्घाटन गरिरहन्छन्, मिडियामा छाइरहन्छन् । जम्मु कश्मीरलाई झ्याप्प पारेर नियन्त्रणमा लिए । सेना लगाएर, टेलिफोन, इन्टरनेट सेवा बन्द गरेर आन्दोलन हुनै नदिई विपक्षीलाई दबाए । अमेरिकी राष्ट्रपति आउन लाग्दा एउटा ठूलो सुकुम्बासी बस्तीलाई रातारात पक्की पर्खाल लगाएर छोपछाप पारे ।
हाम्रा नेताको बुद्धि हेर्नुस् त, चिनियाँ राष्ट्रपति आउँदा के गरे ! जस्तापाता र प्लास्टिकले छोपछाप पारेर फोहोर लुकाए, बजेट स्वाहा पारे । पाहुनाका आँखामा छारो हाल्न पनि ढंग चाहिन्छ नि ! मोदीजीले त सिंगै सुकुम्बासी बस्ती नै पर्खालपारि पुर्याइदिए । चामत्कारिक नेता भनेको त त्यस्तो पो !
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई हेर्नुस् । प्रधानमन्त्री हुनेबित्तिकै आफूले सुविधामा पाएका महँगा–महँगा गाडी बेचेर सरकारी ढुकुटीमा पैसा जम्मा गरे । सडक जाम भएर जनताले दु:ख नपाऊन् भनेर अफिस जान–आउन हेलिकप्टर प्रयोग गरे । देशको विकास र जनताको उन्नतिका लागि के गर्दै छन् भन्ने समाचार त त्यति आइपुग्दैन यतातिर । तर नेता भनेकोचाहिँ त्यस्तो हुनुपर्छ ।
नेदरल्यान्डका प्रधानमन्त्री साइकल चढेर सडकमा घुम्छन् । सर्वसाधारणसँग हात मिलाउँछन् । विदेशतिरका राष्ट्रप्रमुख, सरकारप्रमुखहरू सपिङ गर्न पसल–पसल पुग्छन्, परिवारै लिएर समुद्र किनारातिर घुम्न निस्कन्छन्, सर्वसाधारणसँग सेल्फी लिन्छन्, सँगै बसेर खान्छन्, नाचगान गर्छन् । हाम्रा हेरौँ त हाम्रा ! बाँसुरी बजाएर बस्छन्, सारंगी रेटेर बस्छन् । कहिले लेखक/कवि बोलाएर कविता सुनाउँछन्, कहिले बच्चाहरू भेला गरेर गफ चुटेर बस्छन् । प्रधानमन्त्रीजस्तो मान्छेले मर्यादामा बस्नु पर्दैन ? अस्ट्रेलियाका प्रधानमन्त्रीले बाँसुरी बजाएको भए त हामीले मुलुकमा त्यत्रो आगलागी भएका बेला पनि जनतालाई नआत्तिने सन्देश दिन बाँसुरी बजाउने हिरो भनिहाल्थ्यौँ नि । हाम्राले बाँसुरी बजाएपछि निरो भन्नु परेन ?
एउटा कुन देशमा हो, प्यारालाइसिसले बोल्न, हिँड्न नसक्ने भएर पनि एक नेताले दस वर्षदेखि प्रधानमन्त्री चलाइराखेको समाचार आएको थियो । उता, मलेसियामा सय वर्ष पुग्न लागेका नेता प्रधानमन्त्री भएका छन् । नेतामा त्यस्तो ऊर्जा हुनुपर्छ अनि पो देश बन्छ । हाम्रोमा त १५ वर्षदेखि बिरामी भएका नेता प्रधानमन्त्री छन्, युवा पुस्तालाई सत्ता हस्तान्तरण गरेर आराम गर्नुपर्ने बेलामा सत्तामा टाँसिएका छन् । अनि, यसरी देशको प्रगति हुन्छ ?
भर्खरै एउटा कस्तो हाँसोलाग्दो समाचार सुन्नुपर्यो, कुन्नि कुन विदेशी संस्थाले नेपालका प्रधानमन्त्रीलाई एसियाकै सफल नेता भनेर घोषणा गर्यो अरे । कति हाँस्नु ! लौ त्यसले भुटानका प्रधानमन्त्री, मालदिभ्सका राष्ट्रपति वा बंगलादेशका प्रधानमन्त्री भनेको भए आँखा चिम्म गरेर पत्याउनु हुन्थ्यो । नेपालका प्रधानमन्त्रीलाई भनेपछि आँखा चिम्म गरेर नपत्याउनु परेन ? जति विचार गर्दा पनि नेता त अरू देशकै राम्रा !
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...