नछोड वामदेव नछोड !
यस्तो स्पष्ट बहुमत ल्याएका बेला पनि ठेलठाल गरेर प्रधानमन्त्री नभए कहिले हुने ?
यो देशमा एउटै पार्टीको सरकार चलेको दुई वर्ष नाघिसक्यो । उद्घाटन, शिलान्यास, भेटघाट, भ्रमण, सञ्चार माध्यम जहाँ पनि एउटै प्रधानमन्त्री, एउटै मन्त्रीहरूको अनुहार हेर्दाहेर्दा हामी जनतालाई वाक्क लागिसक्यो । सरकारको परिवर्तन त हेर्न पाइएन पाइएन, राजनीतिक खिचातानी, सांंसदहरूको खरिदबिक्री, गुटहरूबीचको संघर्ष, नेताहरूबीचको गाँड कोराकोर, कार्यकर्ताबीचको कुटाकुट । यस्ता कुरा पनि नहुँदा मनमा साह्रै अशान्ति भयो ।
हाम्रो यही दु:खलाई मनन गरेर होला, वर्तमान यथास्थितिको पट्यारलाग्दो वातावरणलाई चिर्दै बल्ल केही शुभ समाचार बजारमा आउन थालेका छन् । सरकार अलिअलि हल्लिन थालेको छ । सत्ताधारी पार्टीका बडेबडे नेताहरू यस्सो आपसमा पौँठेजोरी खेल्न खोज्दै छन् । सञ्चार माध्यममा पनि अलिकति हरियाली छाएको छ । राजनीतिक अशान्तिको यो वातावरणले बल्ल यो मनमा थोरै भए पनि शान्ति पलाएको छ । र, यो शान्तिका संवाहक अरू कोही नभएर दुई तिहाइ बहुमत प्राप्त राजनीतिक दलका शीर्षस्थ नेताहरू नै हुन् । पाँच वर्षसम्म यथास्थितिमा बस्नुपर्ने चिन्तालाई दूर गर्दै हामीलाई बीचैमा मनोरन्जन प्रदान गर्न अग्रसर कमरेड वामदेव र उहाँको टिमलाई हार्दिक स्वागत छ ।
वामदेवजीले ‘मलाई दुई वर्ष मात्र प्रधानमन्त्री दिए मुलुकको कायापलट गरिदिन्छु । अझ पाँच वर्ष मौका पाएँ भने त चीनलाई नै उछिनेर अघि बढ्छु’ भनेको समाचार सुनेदेखि नै उनलाई हामीले प्रधानमन्त्रीको रूपमा देख्न इच्छा गरेको हो । हामीले खोजेको नेता नै यस्तै हो । त्यसैले वामदेवजीलाई तुरुन्त अगाडि बढाउनुपर्छ । रात रहे अग्राख पलाउँछ । अब पर्खिने कुरा हुँदैन । अर्को चुनावमा पनि जनताले हराए भने के हामीले यो जुनीमा वामदेवजीलाई प्रधानमन्त्री भएको देख्नै नपाउनु ?
हे वामदेव, हामी नेपाली जनतालाई पनि तिमीलाई जस्तै यो राजनीतिक स्थिरता मनै पर्दैन । प्रतिपक्षी दललाई पनि मन पर्दैन । विदेशीहरूलाई पनि मन पर्दैन । कसैलाई मन नपर्ने यो यथास्थितिबाट मुक्त गर्न तिमीजस्तै अधीर नेताको आवश्यकता परेको छ । त्यसैले तिमीले राजनीतिमा यसैगरी बारम्बार हलचल ल्याइरहनुपर्छ । पार्टीमा भुइँचालो ल्याउँदै गर्नुपर्छ, नेताहरूलाई दौडाइरहनुपर्छ, कार्यकर्तालाई भिडाइरहनुपर्छ । सरकारलाई उठबस गराउने प्रयास जारी राख्नुपर्छ । यस्तो शक्तिशाली नेताले चुपचाप बस्नु हुँदैन, चौबीसै घन्टा शक्ति आर्जनका लागि लागिरहनुपर्छ । ढोकै नभएको ठाउँबाट सिंहदरबारभित्र पस्ने बाटो खोज्नुपर्छ । यताबाट घोचेर भ्वाङ पार्नुपर्छ, उताबाट घोचेर प्वाल पार्नुपर्छ । देश, पार्टी र जनताभन्दा माथि पुगेका नेताले आफूलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पद प्राप्त गर्नका लागि नियम–कानुन, विधान, संविधान, गुट, दल जे–जे भए पनि फेर्नुपर्छ ।
चुनाव हार्नेहरू संसद्मा छिरिसके, वामदेवले मात्रै सम्माननीय हुन नहुने भन्ने केही छैन । यस्ता सक्रिय, जुझारु, परिपक्व र बूढा नेताले अरूहरूअन्तर्गत बस्न पनि सुहाउँदैन । अरूलाई नेता मान्न पनि सुहाउँदैन । त्यसैले हे वामदेव, उठ, जाग, अघि बढ । प्रधानमन्त्री हुने सपना पालिराख, सिंहदरबार र बालुवाटारको शान्तिलाई भंग गरिराख, जनतामा तरंग ल्याइराख, मतदाताको मनलाई भरंग पारिराख, सञ्चार माध्यमलाई भरपूर मसला दिइराख, प्रतिपक्षलाई आशा देखाइराख, कम्युनिस्ट विरोधीहरूको उत्साह जगाइराख । यस्तो स्पष्ट बहुमत ल्याएका बेला पनि ठेलठाल गरेर प्रधानमन्त्री नभए कहिले हुने ? नछोड है, वामदेव नछोड ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...