एकछिन सरकारलाई गाली गर्नुपर्यो
सरकारले जनतालाई क्वारेन्टाइनमा राख्न सक्दैन, जनताले सेल्फक्वारेन्टाइनमा बस्नु पर्छ । कोरोना लागेपछि मात्रै सरकारले हेर्छ । यस्ता गैरजिम्मेवार व्यक्ति त स्वास्थ्यमन्त्री छन् । कोरोना लागेपछि त डाक्टरले हेरिहाल्छ नि, सरकारले हेर्नुपर्छ र !

कोरोनाको कहरले सहर त्रस्त छ । जाने ठाउँ र गर्ने कुरा छैन । दिमाग खालीखाली भयो । यसरी खाली बस्नु त भएन । केही न केही काम यो खाली समयमा पनि गर्नुपर्यो भनेर विचार गर्दा एउटा सजिलो र रमाइलो उद्यम गर्न मन लाग्यो, सरकारलाई गाली गर्ने । अहिले सबैभन्दा धेरै चलेको उद्यम यही छ । यसैमा लाग्नुपर्यो म पनि । गाली गर्ने विषय पनि खोज्नु नपर्ने, सरकारले नै दिनको दुई–चार वटा गाली खाने विषय दिइहाल्छ । अहिलेलाई ताजा विषय कोरोनालाई जोडेर गाली फुराइहेरौँ है त !
जस्तै, संसारभरि कोरोना भाइरस फैलिएको छ, दुनियाँले युद्धस्तरमा रोकथामका लागि काम गरिरहेको छ । हाम्रो सरकार भने कानमा तेल हालेर बसेको छ । यो सरकारले अहिलेसम्म एक जना पनि कोरोना संक्रमित पत्ता लगाउन सकेको छैन । जति पनि जँचाउन आएका छन्, सबका सबलाई नेगेटिभ भन्दै घर पठाउँदै गरेको छ । नक्कली प्रयोगशालामा नक्कली डाक्टरले जाँचेपछि कसरी पोजिटिभ भेटिन्थ्यो त ! अझ जाँचेकै पनि हो कि होइन शंकै छ । धन्य पशुपतिनाथको कृपाले तिनीहरूले अहिलेसम्म कोरोना फैलाएका छैनन् ।
पशुपतिको कुरा गर्दा हामी देशबासीले मात्रै होइन, उता अमेरिका, अस्ट्रेलिया वा इटलीतिरबाट हाम्रा परदेशी साथीहरूले आफैँ क्वारेन्टाइनमा बसेर पनि कोरोनाविरुद्ध सिन्को नभाँचेको भनेर सामाजिक सञ्जालमार्फत हाम्रो सरकारलाई गाली पठाइरहेका छन् । उनीहरूले श्री पशुपतिनाथलाई मुलुकको रक्षा गरिदिन पनि अपिल गरेका छन् । अनि, यस्तो बेकामे सरकारलाई हामी यहीँ बसेकाहरूले गाली नगरी बस्न मिल्छ त ?
गत साता एक छलफलमा स्वास्थ्यमन्त्रीले भने, सरकारले जनतालाई क्वारेन्टाइनमा राख्न सक्दैन, जनताले सेल्फक्वारेन्टाइनमा बस्नुपर्छ । कोरोना लागेपछि मात्रै सरकारले हेर्छ । यस्ता गैरजिम्मेवार व्यक्ति त स्वास्थ्यमन्त्री छन् । कोरोना लागेपछि त डाक्टरले हेरिहाल्छ नि, सरकारले हेर्नुपर्छ र ! यस्तो महामारीमा जनताले आफ्नो ज्यानको सुरक्षा आफैँ गर्नुपर्ने भए सरकार किन चाहियो ? युरोप, अमेरिकाका जनता सेल्फक्वारेन्टाइनमा बसे भन्दैमा हामी वीर नेपाली किन बस्ने ? त्यस्तो संवेदनाहीन, गैरजिम्मेवार मन्त्रीलाई सरकारले अहिलेसम्म किन नहटाएको ? (राम्रै गाली आयो है !)
ल हेर, चारैतिरबाट चर्को दबाब आएपछि बल्लबल्ल लाजगाल कोरोनाविरुद्धका कार्यक्रमको घोषणा गरेछ, यो कुम्भकर्णे सरकारले । कागजमा घोषणा गरेर मात्रै के हुन्छ र, कार्यान्वयन हुने होइन । बरु अब कोरोनाका नाममा कुनकुन मन्त्री, नेता र कर्मचारीले घर बनाउने हुन्, कतिले गाडी किन्ने हुन् । सरकार नै भ्रष्ट भएपछि के लाग्छ ! (गालीका लागि क्या काइदाको प्वाइन्ट फेला पर्यो ! सरकारलाई पेस्कीगाली पनि गर्न पाइयो ।)
यो खाली समय सामाजिक सञ्जालको व्यापक प्रयोग गरेर, अनेक उत्पात–उत्पात शीर्षक राखेर समाचार बनाएर पनि सरकारलाई उडाउनुपर्यो । जस्तै, ‘तीन जना कोरोना संक्रमित सरकारी अस्पतालबाट भागे’, ‘एयरपोर्टबाट अस्पताल पठाइएका ११ जना सम्भावित कोरोनाका बिरामी सिनामंगलबाट गायब’, ‘कतारले संक्रमित ९० कामदारलाई ल्याएर जबर्जस्ती एयरपोर्टमा छाड्यो’, ‘सरकारले एयरपोर्ट र भन्सार नाकाहरूमा दिएको ज्वरो नाप्ने मेसिन नक्कली प्रमाणित ।’
ल हेर्नुस्, एक जना पनि संक्रमित नभेटिँदै यस्ता खतरनाक जुक्तिहरू फुरिसके । साँच्चिकै देशमा कोरोना छिरेर सेल्फ क्वारेन्टाइनमा बस्नुपर्यो भने झन् कस्ता–कस्ता जुक्ति आउने होलान् !