सुदूरमा क्रिकेट क्रेज
मोहना नदी किनारमा पर्ने धनगढीको बोराडाँडीवासीको गौचरन फाप्ला मैदान बितेको दुई साता खुला क्रिकेट स्टेडियम बन्यो।

अख्तरले झैँ नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले पनि यो क्षेत्रमा देखिएको क्रिकेट मोहको प्रशंसा गरे। तर, खड्काको गुनासो थियो, "तर, राज्यले एउटा राष्ट्रिय स्तरको क्रिकेट मैदानसम्म तयार पारिदिएको छैन।" उनले एनपीएल सञ्चालन भएको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सकिने बताए। अर्का राष्ट्रिय क्रिकेटर शरद भेषवाकरले आफूले यो क्षेत्रमा क्रिकेटर प्रशंसकबाट पाएको मायाले थप ऊर्जा दिएको बताए।
नेपाल क्रिकेट संघ, क्षेत्र नम्बर ९ का उपसंयोजक तथा एनपीएलका स्थानीय आयोजक सुवास शाहीले सबैभन्दा बढी क्रिकेट गतिविधि भइरहने धनगढीमा राष्ट्रिय स्तरको एउटा पनि क्रिकेट मैदान नभएको अवस्थामा फाप्ला मैदानले एनपीएल गराएर ठूलै गुन लगाएको बताउँदै थिए। "अब भने यसलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि पहल गर्न सजिलो भएको छ," उनले भने, "यसका लागि सम्बन्धित निकाय गम्भीर भइदियोस्।"
एनपीएलअघि सुरुमा केही गाउँलेले गौचरनलाई क्रिकेट मैदानका लागि दिनु हुँदैन भनेर विरोधसमेत गरेका थिए। तर, पछि यसको महत्त्व प्रकाश पारेपछि समस्या समाधान भयो। प्रचण्ड गर्मी र तातो हावा लुका बाबजुद पनि स्थानीयवासीहरू मैदानमा खेल हेर्न पुगेको देखियो। उद्घाटन र फाइनल खेलको दिन मात्रै करबि १० हजार दर्शक फाप्ला मैदानमा उपस्थित थिए।
यहीबीचमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सिँचाइमन्त्री एनपी सावदसमेत फाप्ला मैदानमा पुगे। उनले यसलाई क्रिकेट मैदान निर्माण गर्नका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल चलिरहेको र यसका लागि सरकार सकारात्मक रहेको बताएका छन्। क्रिकेटको विकासमा लागिरहेका स्थानीय सुवास शाहीले स्टेडियम बनाउनका लागि थोरै भए पनि यस वर्ष बजेट छुट्याउन मन्त्री सावदसँग आग्रह गरेका थिए।
डिलासैनी सामुदायिक वन अन्तर्गत पर्ने फाप्ला मैदानलाई क्रिकेटको विकासका लागि हन्तान्तरण गर्न तयार भएको सामुदायिक वनकी अध्यक्ष कमला विष्टको भनाइ थियो। "क्रिकेट मैदान निर्माणका लागि सरकारले काम सुरु गर्नु पर्यो," उनले भनिन्, "स्थानीय वा सामुदायिक वनले के सहयोग गर्नुपर्छ, त्यो सहयोग गर्न तयार छ।"
नेपालका ६ ठूला कर्पोरेट हाउसका टिम सहभागी एनपीएलमा प्राय: सबै राष्ट्रिय स्तरका क्रिकेटर सहभागी थिए। एनपीएलको वान डे प्रतियोगिता धनगढीको बोराडाँडी फाप्ला मैदान र महेन्द्रनगरको कभर्ड हलको मैदानमा सम्पन्न भएको हो। वान डे प्रतियोगिताको फाइनलमा शरद भेषवाकरले नेतृत्व गरेको पञ्चकन्या तेज र शक्ति गौचनले नेतृत्व गरेको जगदम्बा जायन्ट्स पुगेका थिए। तर, उपाधि भने पञ्चकन्या तेजले पायो । ध
महेन्द्रनगरका स्टार
महेन्द्रनगरवासी सगरमाथा लिजेन्ड्सका टिम कप्तान विनोद भण्डारीले घरेलु दर्शकबाट राम्रो हौसला पाए। उनी पहिलो खेलमा दुई रनबाट शतक प्रहार गर्नबाट चुके। उनको टिम सेमिफाइनलसम्म पुग्यो। त्यस्तै राष्ट्रिय टिमका सदस्य तथा कान्तिपुर गोर्खाजबाट एनपीएलमा सहभागी महेन्द्रनगरका अर्का खेलाडी प्रदीप ऐरीले खेल अवधिमा सर्वाधिक २ सय १५ रन बनाए। उनले एउटै खेलमा नौ चौका र पाँच छक्का प्रहार गरेर दर्शकको ताली बटुल्न सफल भए। राष्ट्रिय टिममा स्थान बनाइरहन सफल महेन्द्रनगरका अर्का खेलाडी नरेश बुढाऐरले पनि घरेलु मैदानमा निकै स्याबासी बटुले। एनपीएलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ६ वटै टिममा १७ जनाको उपस्थिति थियो।