चेपुवामा खेलमन्त्री
नियुक्तिको सुरुआतमै कर्मचारीतन्त्रको सिकार
दुई महिनाअघि युवा तथा खेलकुदमन्त्री नियुक्त हुँदा सत्यनारायण मण्डललाई लागेको थियो, नेपाली खेलकुदको उत्थानका लागि धेरै काम गरौँला । तर, उनी अहिले आफ्नै पार्टीको खेलसँग सम्बन्धित पदाधिकारीको गलत ब्रिफिङ र कर्मचारीतन्त्रको चेपुवामा परेका छन् । ४८ वर्षयता वाम राजनीतिमा सक्रिय मन्त्री मण्डल सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको स्थायी कमिटी सदस्यसमेत हुन् ।
पदबहाली गरेको केही दिनभित्रै कर्मचारीतन्त्रको अव्यवस्थाको सिकार बनेपछि मन्त्री निराश छन् । त्यसैले केही दिनअघि मात्र उनले प्रधानमन्त्री केपी ओलीसमक्ष जसरी आफूलाई मन्त्री पदमा नियुक्त गरिएको थियो, त्यसरी नै पदमुक्त गर्न आग्रह गरेका हुन् ।
मन्त्रीको अपमानका केही घटना यस्ता छन् । ८ मंसिर साढे ११ बजे पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका बेला हलमै कसैले भनेछ, ‘ल तपाईं अझै यहाँ हुनुहुन्छ ? अमेरिकी राजदूत तपाईंलाई भेट्न तपाईंकै मन्त्रालयमा १२ बजे आउँदै हुनुहुन्छ ।’
देशको बेइज्जत हुने डरले हानिँदै मन्त्रालय पुगेका मण्डलले पछि थाहा पाएछन्, अमेरिकी राजदूत मन्त्रालय आउने कुरा २ दिनअगाडि नै तय भइसकेको रहेछ । तर, उनलाई कसैले जानकारी दिएनछ । उनलाई यो कुराले यति अपमानित भएको महसुस भएछ, मन्त्रालयका सचिवहरूलाई राखेर कुरै गरेछन् । तर, फाँटवाला सह–सचिवबाट उत्तर आएछ, ‘हामीले ब्रिफिङ गर्ने हामीभन्दा माथिको सचिवलाई हो । अरू थाहा छैन ।’ सचिव छुट्टीमा रहेछन् । मन्त्री मण्डलले नेपालसँग भने, “कमसे कम कर्मचारीले मन्त्री पदको सम्मान त गर्नुपर्छ । मलाई ताज्जुब लाग्यो, त्यो दिन बैठकमा कसैले मलाई नभनिदिएको भए, देशको इज्जत बढ्थ्यो कि बेइज्जत हुन्थ्यो ?”
उनीसँग भारतको आसाममा आउँदो महिनादेखि सुरु हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग)को बजेट निकासी सम्बन्धमा पनि यस्तै तीतो अनुभव छ । मन्त्री नियुक्त हुनेबित्तिकै उनले आफ्नै पार्टीबाट अर्थमन्त्री नियुक्त विष्णु पौडेलसँग आवश्यक १३ करोड बजेट निकासाका लागि कुरा गरेका रहेछन् ।
पौडेलले पनि सागलाई मर्कामा नपार्ने आश्वासन दिँदै तुरुन्त बजेट निकासा गर्ने आश्वासन दिएका रहेछन् । त्यसैले उनले खेलाडीको छनोट, बन्द प्रशिक्षणलगायत वैदेशिक प्रशिक्षणका लागि तयार हुन राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका रहेछन् । तर, सचिवले दुई महिनापछि योजना आयोगमा लेखेर पठाउनूस् भन्न थालेपछि मन्त्री मण्डल छाँगाबाट झरेजस्तो भए ।
पछि फेरि निर्देशन आएछ, योजना आयोगबाट बजेटको सिफारिस भएर आउँदा खेल नै समाप्त भइसक्छ । त्यसैले सीधै सिफारिस गर्नूस् । “दुई महिनाअगाडि नै हामीलाई भनेको भए यस्तो झमेला हुँदैनथ्यो । अहिले सोधभर्ना हुने गरी हामीले चार करोड मन्त्रालयकै बजेटबाट दिएका छौँ,” सागका लागि समयमा बजेट निकासा नहुँदा तयारीमा परिरहेको असरबाट चिन्तित मण्डल भन्छन्, “प्रधानमन्त्रीले क्याबिनेटमा सागका लागि अविलम्ब रकम निकासा गर्ने भन्नुभएको छ । यो सातासम्म निस्किन्छ कि !”
मन्त्रालयमा रहेको डोपिङ सेलमा चिकित्सक नियुक्त गर्ने विषयमा पार्टीका केन्द्रीय स्तरका एक नेता १० दिनअघि मन्त्री मण्डलको क्वार्टरमै पुगेछन् । सुरुमा उनले चिल्लो घस्दै मन्त्री मण्डलको खुब तारिफ गरेछन् । दुई दिनपछि तिनै नेताले आफ्नै नाताका एक चिकित्सकलाई पुन: मन्त्री क्वार्टरमा पुर्याएर नियुक्ति थप्न अनुरोध गरे । डोपिङको विषयमा जानकार नभएका मन्त्रीले पार्टीको केन्द्रीय नेताले भनेको कुरा कसरी अविश्वास गर्ने ? उनले तत्कालै नियुक्ति पत्रमा हस्ताक्षर धस्काइदिए । पछि पो थाहा भयो, उनलाई गुमराहमा राखिएको रहेछ ।
“यो मात्र होइन, संघभित्रको विवाददेखि सबै विषयमा मलाई गुमराहमा राखिएको छ,” अहिले केही खेलकुद बुझ्ने प्रयास गरिरहेका मण्डलले भने, “खेलकुद व्यक्तिको तजबिजमा पो चलिरहेको रहेछ ।”
छोटो अनुभवमै उनी ठोस नीतिबिना खेलकुदको उद्दार नहुने निष्कर्षमा पुगिसकेका छन् । राजनीतिमा मण्डलको छवि चट्टानझैँ अडिग रहन सक्ने नेताका रूपमा लिने गरिन्छ । तर, खेलकुदमन्त्रीका रूपमा के उनले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन नीति परिवर्तनको पक्षमा राजनीतिमा झैँ अडान लिन सक्लान् ? कि अन्य मन्त्रीजस्तै खेलकुदलाई कार्यकर्ता भर्तीको स्थल बनाउनमै व्यस्त रहनेछन् ? यसको मूल्यांकन उनको कार्यकालमा हुने गतिविधिले अवश्य उदांगो पार्नेछ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...