सुरक्षा घेरामा साग
बहुप्रतिष्ठित खेल प्रतियोगितामा सुरक्षा चुनौती
पहिले नयाँ दिल्ली, त्यसपछि केरला भनिए पनि दक्षिण एसियाको बहुप्रतिष्ठित खेल प्रतियोगिता सागको १२औँ संस्करण भारतको पूर्वोत्तर राज्य गुवाहाटी र सिलोङमा सुरु भएको छ ।
दक्षिण एसियाका आठ राष्ट्रका ३ हजार ३ सय ३३ खेलाडी, प्रशिक्षक तथा पदाधिकारी सम्मिलित यस खेल मेलाको विधिवत् उद्घाटन २२ माघमा गुवाहाटीको सरुसजाइस्थित इन्दिरा गान्धी एथलेटिक्स रंगशालामा कडा सुरक्षा व्यवस्थाका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे ।
प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि मोरान टाइगर फोर्स नामको एउटा संस्थाले आसामको तिनसुकिया, दुमदुमा र डिगबोईमा अप्रत्यासित बम विस्फोट गराएपछि भारतीय सेनाले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको हो ।
उद्घाटन सत्रमा मात्र रंगशाला र सहर वरिपरि १० हजार सुरक्षाकर्मी तैनाथ भएका स्थानीय पत्रपत्रिकाले जनाएका छन् । यस्तै, रंगशाला वरिपरि दुई हजार सीसी टीभी क्यामरा जडान गरिएको थियो । सुुरक्षाको जिम्मा एनएसए (नेसनल सेक्युरिटी एजेन्सी)ले लिएको थियो ।
उद्घाटनको एक दिनअघि ६ घन्टा रंगशालाभित्र बम डिस्पोजल स्क्वाड, विशेष सुरक्षा दस्ता तथा तालिम प्राप्त कुकुरबाट सुरक्षाको पूरा जानकारी लिइएको थियो । प्रतियोगिता सम्पन्न नहुँदासम्म अर्धसैनिक बलका ५० कम्पनी तैनाथ रहने छन् । मिडियालगायत सम्पूर्ण पदाधिकारीलाई कडा जाँचपछि रंगशालामा प्रवेश गर्न दिइएको थियो ।
भारतले यसअघि सन् १९८७ मा तेस्रो साग कोलकातामा र १९९५ मा चेन्नईमा सातौँ साग गरेको थियो । प्रतियोगिता आयोजनाका लागि मात्र भारत सरकारले १ अर्ब ५० करोड भारतीय रुपियाँ बजेट छुट्याएको छ । त्यसमा सुरक्षाका लागि बेग्लै ६७ करोड रुपियाँ खर्च गरिरहेको छ । सरकारले असमका लागि ६० करोड र मेघालयका लागि सात करोड सुरक्षा बजेट उपलब्ध गराएको छ ।
प्रतियोगितामा १ हजार ३ सय ७७ पुरुष र १ हजार १ सय ४५ महिला खेलाडीले भाग लिँदैछन् । त्यसैले यसपालिको सागलाई ‘लैंगिक समानता’को नारा दिइएको छ । प्रतियोगिता अन्तर्गत गुवाहाटीमा १६ र सिलोङमा सात खेलको स्पर्धा हुनेछ । सिलोङले पनि दोस्रो दिन छुट्टै उद्घाटन गरेको थियो ।
प्रतियोगितामा २३ खेल समावेश छन्, जसमा २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ काँस्य पदकका लागि स्पर्धा हुँदैछ । नेपालले २३ वटै खेलमा खेलाडी उतारेको छ ।
हकीमा महिला टोलीले मात्र भाग लिएको छ । सागमा खो–खो पहिलोपल्ट समावेश गरिएको हो । यसबाट नेपालले रजत पदकको आशा गरेको छ । “समग्र खेलमा मैले १२ वटा स्वर्ण पदकको आशा गरेको छु,” राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव तथा १२औँ सागका ‘सेभ दी मिसन’ केशवकुमार विष्ट भन्छन् ।
तर, बजेट निकासमा भएको ढिलाइका कारण प्रभावित बनेको तयारीका बीच पनि नेपालले आठदेखि दसवटासम्म स्वर्ण जित्ने सम्भावना छ । नेपालले सबैभन्दा बढी उसुबाट पाँचदेखि सातसम्म स्वर्णको आशा गरेको छ । यस्तै, जुडोबाट र ट्रायथोलनबाट एक/एक तथा पुरुष फुटबलबाट स्वर्णको आशा गरेको छ ।
“पहिलोपल्ट १६ स्पर्धाका लागि खेल हुँदैछ । त्यसैले हामीले पाँचदेखि सातसम्म स्वर्णको आशा राखेका छौँ,” दक्षिण एसियाली उसुका टेक्निकल डाइरेक्टरसमेत रहेका नेपाल उसु संघका मुख्य प्रशिक्षक प्रनिलध्वज कार्की बताउँछन् । गत सागका आठवटा स्पर्धामा नेपालले उसुतर्फ तीन स्वर्ण जितेको थियो ।
महिला जुडो खेलाडी फुपु ल्हामु खत्रीबाट पनि नेपालले स्वर्णको आशा गरेको छ । यस्तै, ट्रायाथोलनको महिला स्पर्धाबाट पनि । अफगानिस्तानले फुटबलबाट आफ्नो नाम फिर्ता गरिसकेको र भारतले पनि आगामी वर्ष आफ्नै देशमा आयोजना हुने युथ–१७ विश्वकप फुटबललाई ध्यानमा राख्दै युवा खेलाडी पठाउने नीति बनाएपछि फर्ममा रहेको नेपाली पुरुष फुटबल टोलीले स्वर्ण जित्ने आशा गरिएको छ ।
सन् १९९३ मा ढाकामा आयोजना भएको छैठौँ सागमा नेपाली फुटबल टोलीले अन्तिमपल्ट स्वर्ण जितेको थियो । यसपालि जितेमा नेपालले २३ वर्षपछि सागमा स्वर्ण जितेको इतिहासलाई दोहोर्याउने छ ।
तस्बिर : कौशल अधिकारी
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...