सागका स्टार
उसुकी निमा घर्तीमगर र पौडीकी गौरिका सिंहको सानदार सफलता

निमा घर्तीमगर, १६, निकै तनावमा थिइन् २४ माघसम्म । यी रोल्पाली किशोरीलाई यसपालि ललितपुरको सिद्धिपुरस्थित नेपाल डनबस्को स्कुलबाट एसएलसी दिनु छ । त्यसैले स्कुलले १२औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि छाड्न मानेको थिएन ।
उनको प्रतिभा बुझेर उसु प्रशिक्षकहरूले डेढ महिनाअगावै अनुरोध गर्दा पनि स्कुल प्रशासनले सहयोगी व्यवहार देखाएन । सागका लागि १५ दिनअघि स्वीकृति लिन स्कुल पुग्दा निमाको परिवारलाई त छोरीलाई फर्काएर ल्याउन उर्दी लगाएको थियो ।
आफ्नो छोरीको इच्छा र देशका लागि केही गर्ने भावनासँग परिचित निमाको परिवारले सागमा सहभागी गराउने अठोट गर्यो । नतिजा, भारतको आसाम र सिलोङको संयुक्त आयोजनामा भइरहेको सागमा उनले देशलाई पहिलो स्वर्ण दिलाइन् ।
निमाले उसुको थाउलो स्पर्धामा १६ दशमलव ९१ अंक बटुलिन् । यो १२औँ सागमा नेपालले जितेको पदक तालिकामा कोसेढुंगा हो । उसुमा नेपाल १६ स्वर्णका लागि स्पर्धा गर्दै थियो । त्यसमा दस नेपाली खेलाडीले रजत र एक जनाले काँस्य जितेको अवस्थामा निमाको जितमा लोभ लाग्नु अचम्म होइन । भारतले सर्वाधिक १२ वटा स्वर्ण जितेर इतिहास रचेको अवस्थामा सोही देशकी स्वेच्छा जादवलाई पछि पारेर स्वर्ण जित्नु पनि सानो सफलता थिएन, निमाका लागि ।
निमा यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट उत्रिँदै थिइन् । उनी रोल्पामा जन्मिँदा पिता मन्सुर घर्तीमगर साउदी अरेबियामा मजदुरी गर्दै थिए । १० वर्षअघि मन्सुर नेपाल फर्किएपछि उनको बसाइ काठमाडौँमा भयो । यतिबेलासम्म उनी यो खेलसँग बेखबर थिइन् ।
टीकाथलीमा भाडामा बस्दा नजिकै खुला चौरमा केही गाउँले ठिटाहरूले उसु खेलेको देख्थिन् । उनलाई यो खेलले कति लोभ्याएछ भने गाउँमा कुनै खेल नसिकेकी निमा केही महिनाभित्रै उसु खेल्ने अभियानमा भिडिन् ।
“मलाई परिवारबाट पनि रोकटोक भएन । बुबा सहयोगी हुनुहुन्थ्यो । जे खेल्न मन लाग्छ खेल भन्नु हुन्थ्यो,” सिलोङको असाम राइफलस्थित कभर्ड हलमा मुलुकका लागि पहिलो स्वर्ण जितेपछि नेपालसँग निमाले भनिन् ।
उनलाई उसु ‘पोडियम’मा छिर्नुअघि एसएलसीको कुनै चिन्ता थिएन । बरू सोचे अनुरूप प्रदर्शन राम्रो नहोला भन्ने डर थियो मनमा । भन्छिन्, “मेरो स्वर्ण निश्चित बन्दा एकछिन त अक्क न बक्क भएँ ।”
काठमाडौँमा ट्याक्सी चलाएर जीविकोपार्जन गर्ने निमाको परिवारलाई छोरीले सागमा स्वर्ण जितेको खबर अरूमार्फत थाहा भयो । देशलाई स्वर्ण जिताएपछि उत्साही बनेकी निमा भन्छिन्, “मेरा बाबा/ममी निकै खुसी हुनुभएको छ ।”
रमाइलो कुरा, उनले सागमा स्वर्ण जितेको खबर पाएपछि स्कुलले पनि छिट्टै प्रतिक्रिया जनायो । र, निमाको परिवारलाई भेट्न स्कुल प्रशासनका पदाधिकारी घर नै पुगेछन् । निमाको अबको लक्ष्य छ, उसुमै आफूलाई समर्पित गर्ने । उनले यसका लागि कडा मिहिनेत गर्ने बताएकी छन् । हेरौँ, उनको सफलतामा राज्यको सहयोग कस्तो रहला !
निमाजस्तै यसपालिको सागमा गौरिका सिंह, १३, ले अविस्मरणीय प्रदर्शन गरिन् । गौरिकाले आफूले भाग लिएको पौडीका पाँचवटा स्पर्धामध्ये चारवटामा पदक जितिन् । उनको सफलता देखेर नेपाली मात्र होइन, भारतीय र श्रीलंकाली खेलाडी पनि लोभिएका छन् ।
गौरिकालाई पौडी पोखरीमा देख्दा पहिले कसैले पत्याएका थिएनन् । तर, जब उनले दुई सय मिटर ब्याक स्ट्रोकमा उत्कृष्ट समयका साथ काँस्य जितिन्, त्यसपछि सबैको नजर उनीमाथि परेको थियो । गौरिका श्रीलंका र भारतपछि तेस्रो भइन् । यो स्पर्धामा श्रीलंकाली खेलाडी बंगलादेशमा चार वर्ष अगाडि बनेको कीर्तिमानलाई तोड्दै सागको नयाँ कीर्तिमान बनाउन सफल भइन् ।
रोचक कुरा, गौरिकाले पनि गत सागको त्यो कीर्तिमानी समयभन्दा राम्रो समय निकाल्दै उक्त दूरी पूरा गर्न सफल भइन् । कलिलो उमेरमा उनले देखाएको क्षमताको विषयमा अहिले सागमा ठूलो चर्चा भइरहेको छ । उनले पनि सागमा भाग लिन आउनुपूर्व यस्तो प्रदर्शनको अपेक्षा गरेकी थिइनन् । “राम्रो गर्छु भन्ने गौरिकालाई लागेको थियो । तर, मेडल नै जित्छु भन्ने अपेक्षा गरेकी थिइनन्,” बेलायतमा चिकित्सक पेसा अँगालेका पिता पारस सिंहले गुवाहाटीबाट दिल्ली हुँदै बेलायत उड्नुअघि नेपालसँग भने ।
गौरिका आफ्नो पितासँगै २० माघमा लन्डनबाट सीधै गुवाहाटी पुगेकी थिइन् । उनले एक सय र दुई सय मिटर ब्याक स्ट्रोक तथा चार सय मिटर फ्रिस्टाइलतर्फ तीनवटा काँस्य पदक जितेकी थिइन् । अझ, खुसीको खबर दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा रजत जितेर सबैलाई अचम्मित तुल्याइन् । उनले उक्त दूरी २ मिनेट ३३ दशमलव २६ सेकेन्डमा पूरा गरेकी थिइन् ।
गौरिकाले एक सय मिटर ब्याक स्ट्रोक १ मिनेट ०७ दशमलव ३१ सेकेन्डमा पूरा गरेकी थिइन् । यस्तै, चार सय मिटर फ्रिस्टाइल ४ मिनेट ४० दशमलव ९३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
नेपाल सन् १९८४ मा सुरु भएको सागमा पौडीतर्फ सधैँ सहभागी भइरहेको छ । तर, ३२ वर्षको अन्तरालमा पौडीको एकल स्पर्धामा कहिल्यै मेडल जितेको थिएन । गौरिका यसपालिको सागमा यस्तो खेलाडीका रूपमा देखा परिन्, जसबाट नेपाली पौडीले आफ्नो भविष्य देखेको छ । उनी यही सागमार्फत पौडीको एकल स्पर्धामा पदक जित्ने मात्र होइन, एउटै प्रतियोगितामा चारवटा मेडल जित्ने पहिलो नेपाली खेलाडीसमेत बन्न पुगेकी छन् । ५० मिटर ब्रेस्ट स्ट्रोक उनको मुख्य स्पर्धा होइन । तर, उनले यसमा मेडल जित्न नसके पनि राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
०५० सालको एसएलसीमा बोर्ड फस्र्ट ल्याएर चर्चामा आएकी गरिमा राणाकी छोरी हुन्, गौरिका । १५ वर्षअघि चिकित्सक पारससँग विवाह भएपछि पूरै परिवार बेलायतको लन्डनस्थित मिलहिलमा बस्दै आइरहेको छ ।
स्कुलमा पढ्दै गर्दा गौरिका पौडीतर्फ आकर्षित भएकी हुन् । “बेलायतमा प्राइमरी स्तरको पढाइ गर्दा पौडी पोखरीको एक लेन्थ पूरा गर्ने भइसक्नु पर्छ,” कुनै बेला टेबलटेनिसका सोखिन खेलाडी पारस भन्छन् । उनी दुई दशकअघि काठमाडौँमा टेबलटेनिसको भ्याली च्याम्पियनसिप हुँदा पुरुषतर्फ दोस्रो भएका थिए । अध्ययनका कारण खेलाडी बन्ने आफ्नो सोख पूरा नभए पनि उनी अहिले छोरीले इच्छ्याएको खेलमा अभिभावकत्व ग्रहण गर्दैछन् ।
अत्यधिक नेपाली बस्दै आएको लन्डनको मिलहिलस्थित बर्नेट कोप्टहल पौडी क्लबमा गौरिका प्रशिक्षकद्वय रायस कोर्मेले र क्रिस्टिन ग्रीनसँग अभ्यास गर्छिन् । यी प्रशिक्षकको कडा प्रशिक्षणमा उनले सातामा ४० किलोमिटर दूरी पौडी पोखरीमा पूरा गर्नुपर्छ । यसका लागि उनी बिहान ४ बजे नै उठ्ने गर्थिन् ।
“उसले पाँच वर्षयता लगनका साथ सिक्न थालेकी हो । देशका लागि मेडल जिती, म एकदमै खुसी छु,” छोरीको सफलतामा दंग परेका पिता पारस भन्छन् । गौरिका आफ्नो उमेर समूहमा बेलायतमा पाँचौँ स्थानमा पर्छिन् । उनी हब्स गर्ल लन्डनमा कक्षा ७ मा पढ्दै छिन् । उनको इच्छा छ, नेपालका लागि इतिहास रच्ने । सुरुआत यसपालि सागमा भइसकेको छ ।
तस्बिरहरू : कौशल अधिकारी