कलात्मक शैलीको सरुवा
दक्षिण अमेरिकीले हराएको लय युरोपतिर

र
प्रत्येक प्रतियोगितामा बलियो मानिन्छ जर्मन टिम । उसको खेल पनि जबरजस्त हुन्छ । कुनै पनि टिमलाई जर्मनी भारी पर्न सक्छ । दशकअघिसम्म उसले लामो पास खेल्दै गोलपोस्टमा आक्रमण गर्ने ट्याक्टिस अपनाएको थियो । तर, युरो २०१६ को समूह चरणमा उत्तरी आयरल्यान्डविरुद्ध जर्मन टिमको खेल हेर्ने हो भने त्यस्तो लाग्दैन ।
पेरिसमा भएको खेलमा जर्मनीले उत्तरी आयरल्यान्डलाई १–० ले हरायो । उत्तरी आयरल्यान्ड कति भाग्यमानी टिम हो भन्ने त्यस खेलले देखाएको थियो । त्यसमा कम गोल अन्तरले हारेकाले नै उत्तरी आयरल्यान्डले नकआउट चरणमा प्रवेश पाएको हो । खेलमा उसका खेलाडीले आक्रमण गर्ने त के बल छुने अवसर पनि कमै मात्र पाएका थिए । जर्मन टिमका गोलकिपर म्यानुएल नोय गोलपोस्टअगाडि थिए, बाँकी १० खेलाडी आक्रमणका लागि अनुकूलता हेर्दै उत्तरी आयरल्यान्डको क्षेत्रमा एकअर्कालाई बल पास दिइरहेका थिए ।
जर्मन मिडफिल्डर टोनी क्रुज र मेसुट ओजिलले जति पास दिए, उत्तरी आयरल्यान्डको पूरा टिमले पनि त्यतिपल्ट बल पास गर्न सकेको थिएन । भलै एक गोल मात्र गरे पनि जर्मन टिमले दर्जनभन्दा बढी अवसर सिर्जना गरेको थियो । उसले यति लोभलाग्दो खेल पस्किएको थियो कि डिफेन्डिङ च्याम्पियन स्पेनलाई पनि बिर्साउने खालको थियो ।
जसरी भए पनि खेल जित्ने परम्परागत रणनीतिलाई पहिलोपल्ट जोचिम लोले सुन्दर फुटबलमा रूपान्तरण गरेका हुन् । ‘नतिजा हाम्रै पक्षमा हुन्छ भनेर ग्यारेन्टी गर्दैनौँ तर हामी सुन्दर खेल खेल्नेछौँ,’ यसपल्ट सुरुआती दुई खेलमा गतिलो प्रदर्शन गर्न नसक्दा आलोचित जर्मन टिमका आक्रामक मिडफिल्डर थोमस मुलरले भनेका थिए ।
अर्को कुरा, जर्मनीले दुई वर्षअघि भएको विश्वकप फुटबलको सेमिफाइनलमा ब्राजिलमाथि ७–१ को अविश्वसनीय जित निकालेको थियो । सर्वाधिक पाँचपल्ट विश्वकप जितेको टिममाथि यति ठूलो जित कल्पनाबाहिरको नतिजा थियो । ब्राजिलमै भएको त्यस विश्वकप जितेयता जर्मनीलाई उस्तै खेललाई निरन्तरता दिने दबाब छ । तर, उक्त खेल एक जुगमा एकपल्ट हुने किसिमको थियो । त्यस नतिजाले ब्राजिली फुटबललाई भने ध्वस्त बनाइदियो ।
खासमा ब्राजिल उत्कृष्ट फुटबलका लागि चिनिएको देश हो । ‘अरू टिमले फुटबल खेल्छ, ब्राजिलले त्यही खेलभित्र कला देखाउँछ’ भन्ने गरिन्छ । तर, ब्राजिली फुटबलले यही सौन्दर्य गुमाएको छ । सन् १९९४ को विश्वकप विजेता कप्तान डुंगालाई जब प्रशिक्षकको जिम्मेवारी दिइयो, तब ब्राजिलले कलात्मक फुटबलको लय गुमाउन थालेको थियो । डुंगाको रणनीति जसरी भए पनि खेल जित्ने हो । यसका लागि उनले काउन्टर अट्याकको शैली अँगाले । त्यसले ब्राजिल जुन शैलीको फुटबलका लागि चिनिन्थ्यो, त्यो रहेन । सँगसँगै नतिजा झन् खराब बन्दै गयो ।
विश्वकप २०१० को क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग हारेपछि मानो मेनेजेजले ब्राजिली टिम सम्हाले । उनले पनि ब्राजिलको छविलाई फर्काउन सकेनन् । फेरि लुइज फिलिप स्कोलारीलाई जिम्मा दिइयो । उनको नेतृत्वमा रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो, काफु, रोबर्टो कोर्लोससहितको ब्राजिली टिमले उत्कृष्ट खेल पस्कदै विश्वकप २००२ को उपाधि जितेको थियो । जिको, सोक्रेटसको सुन्दर खेलसँग अझै उनीहरूलाई तुलना गर्न मिल्दैन । तर, सेमिफाइनलमा जर्मनीसँगको हार स्कोलारीलाई करिअरको कालो धब्बा बन्यो ।
फेरि डुंगाले मौका पाए । उनको दर्शन त्यही थियो । तर, त्यसले कोपा अमेरिका शतवार्षिकीमा काम गरेन । तीन दशकपछि ब्राजिल समूह चरणबाटै बिदा भयो र सँगै डुंगा पनि । अहिले लियोनार्दो बाछलाई ल्याएको छ । विश्वकप २०१८ मा छनोट र सुन्दर फुटबल फर्काउनु नै उनका मुख्य चुनौती हुन् ।
युरोपेली जित र धनका लागि जबरजस्त फुटबल खेल्छन् भने दक्षिण अमेरिकी सन्तुष्टि र सफलताका लागि मनदेखि खेल्छन् । त्यसैले दक्षिण अमेरिकी फुटबल मन लोभ्याउने खालको हुन्छ । तर, ब्राजिल ओरालो लागेसँगै दक्षिण अमेरिकाले कलात्मक खेल छाड्दै गएको छ ।
उरुग्वे पहिलेजस्तो बलियो रहेन । अर्जेन्टिनाको खेल पनि पहिलेजस्तै आँखामा बस्ने खालको हुन छाडेको छ । तर, चिली, कोलम्बिया, उत्तर अमेरिकी टिम मेक्सिकोका खेलमा भने उत्कृष्ट फुटबल शैली कायमै छ ।
युरोपेली टिमले पछिल्ला पाँचमध्ये चार विश्वकप जितेको छ । विश्वकपको उपाधिमा युरोपले दक्षिण अमेरिकामाथि ११–९ को अग्रता लियो । यससँगै उसले कलात्मक खेललाई पनि युरोप सारेको छ । ब्राजिलमा सन् १९५० का बेला खेलिने टोटल फुटबललाई राइनस मिचेलले सन् १९६५ मा डच क्लब आयक्समा सुरु गरे । यो रणनीतिमा सबै खेलाडी डिफेन्स र आक्रमणमा खट्छन् । यसैमा अभ्यस्त नेदरल्यान्ड्स १९७४ र १९७८ को विश्वकपमा फाइनल पुगेको थियो । त्यसबेलाका मुख्य खेलाडी योहान क्रुफले टोटल फुटबललाई बार्सिलोनामा सारे । १९८८–१९९६ मा क्याम्पनुमा रहँदा उनले बार्सिलोनालाई युरोपकै सफल टिम बनाएका थिए ।
टोटल फुटबललाई नै परिमार्जित गर्दै पेप ग्वार्डिओलाले टिकी–टाका ल्याएका थिए । यसमा बार्सिलोना खुबै सफल भयो । त्यसलाई टपक्क टिपेको स्पेन पनि विश्वकप २०१० र युरोपियन च्याम्पियनसिप (२००८ र २०१२) मा च्याम्पियन भयो । टोटल फुटबल वास्तवमै आँखा नबिझाउने किसिमको हुन्छ । आक्रामक फुटबल र टोटल फुटबललाई एउटै तराजुमा राख्न भने मिल्दैन । डिएगो सिमोनीले एट्लेटिको म्याड्रिडमा भित्र्याएको काउन्टर अट्याकको शैली पनि आकर्षक छ तर टोटल फुटबलजति लोभलाग्दो भने छैन ।
युरोपेली लिग धनाढ्यहरूको खेल हो । यसले दक्षिण अमेरिकीलगायत अरू क्षेत्रका उत्कृष्ट खेलाडीहरूलाई आकर्षित गर्छ । डिएगो म्याराडोना, रोनाल्डो, रोनाल्डिन्हो, लियोनल मेसीदेखि नेयमारको गन्तव्य युरोप हुनुको एउटै कारण त्यही हो ।
सबैतिरका उत्कृष्ट खेलाडी जम्मा गरेपछि युरोपेली फुटबल आकर्षक हुने नै भयो । यी कलात्मक खेलाडीहरू सधैँ युरोपको मैदानमा हुन्छन् । उनीहरूबाट स्थानीय खेलाडीले पनि केही कला सिक्छन् नै । यसले पनि युरोपको फुटबललाई झनै आकर्षक बनाउँदै लगेको छ ।