पाँच दशक शून्य पदक
नेपालका लागि ओलम्पिक यात्रा उपलब्धिविहीन
ब्राजिलमा चलिरहेको ३१ओैँ गृष्मकालीन ओलम्पिकमा नेपालका तर्फबाट पाँच खेलमा सात खेलाडी सहभागी छन् । सन् १९६४ को टोकियो ओलम्पिकबाट सहभागिता सुरु गरेको नेपालको यो १४औँ सहभागिता हो । ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको ५२ वर्ष पुगिसक्दा पनि नेपाल अहिलेसम्म पदकविहीन छ । त्यसो त सन् १९८८ को सियोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोमा काँस्य पदक जितेका थिए । तर, त्यतिबेला तक्वान्दोलाई ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा मात्रै राखिएको थियो । यसै कारण आजसम्म आधिकारिक रूपमा ओलम्पिकमा नेपालको नाममा कुनै पदक छैन ।
अहिले समग्र नेपाली खेलकुद नै खस्किँदो अवस्थामा छ । प्रतिभावान् खेलाडी उत्पादन र व्यवस्थापनदेखि घरेलु प्रतियोगिताका सेट अप, सबै क्षेत्रमा समस्या छन् । खेलकुद संघभित्रका आन्तरिक विवादले पनि खेल क्षेत्र माथि उठ्न सकेको छैन । यस्तोमा ओलम्पिकमा नेपालले चुनौती दिनसक्ने खेल अवश्य पनि कुनै छैन । नेपालका लागि ओलम्पिकमा सहभागिता जनाउन पाउनु नै ठूलो कुरा भइसक्यो । छनोट चरण पार गरेर ओलम्पिकसम्म पुग्न नेपालका लागि झन्पछि झन् गाह्रो हुँदै गइरहेको छ । १४औँ पटकको सहभागितासम्म आइपुग्दा सन् २००४ मा संगीना वैद्य र २००८ मा दीपक विष्टबाहेक अरू कसैले छनोट चरण पार गर्न सकेका छैनन् । यी दुवैले तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकका लागि छानिएका थिए । तेक्वान्दोमै पनि नेपाल कमजोर भइरहेको छ । ओलम्पिक त परै जाओस्, दक्षिण एसियाली खेलकुदमै पनि नेपालको साख खस्किँदो छ ।
वाइल्ड कार्डको भर
संगीना वैद्य र दीपक विष्टबाहेक नेपालबाट सबैले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिताका लागि मौका पाएका हुन् । रियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी सातै जनाले वाइल्ड कार्ड इन्ट्री पाएका हुन् । वाइल्ड कार्डमार्फत छानिएकाबाट पदकको आश गर्नु मूर्खता नै हो । ओलम्पिककै इतिहास हेर्ने हो वाइल्ड कार्डबाट सहभागी भएका खेलाडीले पदक जितेको घटना कमै छ । सन् १९९६ मा दक्षिण कोरियाका के सुन ह्वीले जुडोमा स्वर्ण जितेका थिए । वाइल्ड कार्डबाट छानिएर ओलम्पिकमा पदक जितेको घटना सम्भवत: यही मात्रै हो ।
ओलम्पिकमा नेपाली खेलाडीको लक्ष्य भनेकै राष्ट्रिय कीर्तिमान तोड्नु हो । जबकि, छिमेकी राष्ट्र भारत र चीनले ओलम्पिकमा पदककै लागि प्रतिस्पर्धा गर्छन् । चीनलाई त ओलम्पिकको दाबेदारकै रूपमा हेरिन्छ ।
चीनलाई चिनौँ
पदकका दाबेदार रहेका अन्य देशका खेलाडीले ओलम्पिककै लागि भनेर लामो तयारी गरिरहेका हुन्छन्, जुन नेपाली खेलाडीले पाउँदैनन् । विश्व खेलकुदमा चीनको उदय यसैको एउटा राम्रो उदाहरण हो । चीनले सन् २००८ को बेइजिङ ओलम्पिकको तयारी सन् २००१ देखि नै सुरु गरेको थियो । सन् २००१ मै २९औँ ओलम्पिक आयोजनाको अधिकार पाएपछि चीनले विशेष तयारी सुरु गर्यो ।
ओलम्पिकमा चीन कमजोर मानिएको ११९ इभेन्टमा पदक जित्नका लागि चीनले प्रोजेक्ट ११९ ल्यायो । नभन्दै प्रतिफल २००८ मै आयो । र, चीन ५१ स्वर्ण, २१ रजत र २८ काँस्यसहित पदक तालिकाको शीर्ष स्थानमा रह्यो । त्यसबेला चीन एथलेटिक्स र पौडीमा कमजोर मानिन्थ्यो । प्रोजेक्ट ११९ पछि चीन यी विधामा पनि निकै माथि आइसकेको छ । नेपाललाई प्रोजेक्ट ११९ जस्तै दीर्घकालीन योजनाको जरुरी छ । र, यो काम व्यवस्थापन पक्षबाट हुनुपर्ने हो । तर, लामो समय विवादमा अल्झेको नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् को यसतर्फ ध्यान गएको कुनै छनक देखिँदैन । १० वर्षअघि राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२० सम्म नेपालको खेल क्षेत्रलाई उकास्न भिजन २०/२० योजना ल्यायो । तर, त्यो सब योजनामै सीमित छ ।
व्यवस्थापन त परै जाओस्, नेपालमा खेलाडी उत्पादनमै समस्या छ । सानो उमेरमै प्रतिभावान् खेलाडीको पहिचान गरी भविष्यमा ठूला प्रतियोगिताका लागि तयार पार्ने एउटै कार्यक्रम छैन । जबकि, चीनमा पाँच–सात वर्षमै सम्भावना भएका खेलाडीको पहिचान गरिन्छ । त्यस्ता प्रतिभावान् खेलाडीलाई स्पोटर््स स्कुलमा राखेर दैनिक प्रशिक्षण गराई भविष्यमा ओलम्पिकका लागि तयार पारिन्छ । अमेरिकी एक प्राध्यापक सुसन ब्राउनवेल चीनको यस्तो नीतिबाट निकै प्रभावित भएकी थिइन् । बेइजिङ ओलम्पिकका बेला यिनी चीनमा अनुसन्धान गर्दै थिइन् । एक जिम्न्यास्टिक ट्ेरनिङ सेन्टरमा देखेको दृश्य उनले कहिल्यै भुल्न नसक्ने बताएकी थिइन् । त्यहाँ निकै साना बालबालिकाले प्रशिक्षण लिइरहेका थिए । उनका अनुसार डाइपर लगाउने उमेरमा उनीहरूले आफ्नो शरीर सहजै बटार्न सक्थे । चीन यस्तै सशक्त योजनासाथ खेलकुद क्षेत्रमा निकै तीव्र गतिमा अघि बढिरहेको छ ।
सफलताको आधार लगानी
नेपालमा नियमित प्रतियोगिता पनि समयमा हुँदैन । यस्तोमा खेलाडीमा भएको सीप र सम्भावना पनि हराएर जान्छ । अचेल नेपालमा खेलकुद प्रतियोगिता त्यतिबेला मात्रै हुन्छ, जब कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नुपर्छ । अन्तिम समयमा खेलाडी छनोट गरेर मात्रै एक–दुई महिनाको प्रशिक्षणबाटै पदकको आश गर्नु पनि मूर्खता हो । यही परिपाटीका कारण नेपाल दक्षिण एसियामा पनि कमजोर बन्दै गएको छ । नेपाली खेलाडीले अरूले जस्तै प्रतियोगिताअगाडि चाहिने पर्याप्त एक्स्पोजर पनि पाउँदैनन् । जबकि, अन्य देशका खेलाडी वर्षभरि नै अन्य प्रतियोगितामै व्यस्त रहन्छन् ।
नेपाली खेलकुदमा लगानीको पनि कमी छ । नियमित हुनुपर्ने प्रतियोगिता हुन नसक्नुमा पर्याप्त बजेट नहुनु पनि एक कारण हो । निजी क्षेत्रलाई नेपाली खेलकुदले अझै लोभ्याउन सकेको छैन । खेलकुदमा लगानीबिना सफलताको आश गर्न पनि सकिँदैन ।
नेपालमा सरकारले खेलाडीमा लगानी गर्ला भनेर आश गर्ने ठाउँ पनि छैन । र, खेलाडीलाई नेपालमै खेलेर बाँच्न सक्ने अवस्था पनि छैन । त्यसैले सुरक्षित भविष्यको खोजीमा खेलाडी पलायन हुनु पनि ठूलै समस्याका रूपमा देखापरेको छ । ओलम्पिक र एसियाडमा सहभागितामै सीमित हुने नेपाली खेल क्षेत्रलाई पदककै दाबेदार बनाउन चीन र अमेरिकाबाट पाठ सिक्नुपर्छ । दीर्घकालीन योजनासहित लगानी, नियमित घरेलु प्रतियोगिता अनि खेलाडी उत्पादन र व्यवस्थापनलाई चुस्त बनाउनुपर्छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...