आवरण कथा» जितको मनोबल
एक वर्षमा नेपाली फुटबल टिमको उत्साहजनक सफलता
एएफसी सोलिडारिटी कप नेपालले यसै वर्ष मात्रै जितेको तेस्रो उपाधि हो । एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत नेपालले जितेको यो पहिलो प्रतियोगिता पनि हो । आफ्नै स्तरका मात्रै सात टिम सहभागी भएपछि नेपालको लक्ष्य स्वाभाविक रूपमै उपाधि जित्नु थियो । र, त्यसमा जापानी नागरिक कोजी ग्योतोकुको प्रशिक्षणमा रहेको टिम सफल भयो ।
एउटै समूहमा रहेका बंगलादेश र पाकिस्तानले प्रतियोगिताबाट हात झिकेपछि नेपालका लागि यो काम झनै सहज भयो । किनभने, समूहमा टिमोर लिस्टे र ब्रुनाई मात्र बाँकी थिए । जो तुलनात्मक रूपमा नेपालभन्दा पनि कमजोर मानिन्छन् ।
सन् २०११ मा विश्वकप र एसिया कपको छनोटको पहिलो चरणमा नेपालले टिमोर लिस्टेलाई हराएको थियो । पहिलो चरणको दोस्रो लेगमा नेपालले ५–० को जित निकालेको थियो । त्यसैले पनि टिमोरविरुद्ध नेपाल हाबी रहने अनुमान थियो । तर, खेलमा वर्षा बाधक बन्यो । लगातारको वर्षाले मैदान पूरै भिजेको थियो । भिजेको मैदानमा खेल्न माहिर भए पनि नेपाल सोलिडारिटी कपमा पहिलो खेलमै गोलरहित बराबरीमा रोकियो । समूहकै अर्को खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले हरायो । त्यसैले सेमिफाइनल पुग्न नेपाललाई ब्रुनाईमाथि जितको विकल्प थिएन, ३–० ले जित्यो पनि । सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुट आउटमा हरायो ।
फाइनलको प्रतिस्पर्धी मकाउ पनि नेपालका लागि त्यति गाह्रो थिएन । मकाउविरुद्ध त्यसअघिका चार खेलमा नेपालको दुई जित, एक बराबर र अर्को हारको रेकर्ड थियो । फिफा वरीयतामा पनि नेपालभन्दा मकाउ १० स्थान तलको टिम हो । सुजल श्रेष्ठको एक मात्र गोल नै नेपाललाई मकाउविरुद्ध सोलिडारिटी कपको उपाधि जिताउन पर्याप्त भयो ।
बंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण जित्दाको लय पछ्याउँदै नेपालले सोलिडारिटी कप जितेको हो । तर, यो कुनै ठूलो प्रतियोगिता भने होइन । किनभने, विश्वकप र एसिया कप छनोटबाट बाहिरिएका कमजोर टिमहरूबीचको प्रतिस्पर्धा हो, सोलिडारिटी कप । यो प्रतियोगिता यसअघि भएको पनि थिएन ।
कमजोर र खासै महत्त्वको प्रतियोगिता नभए पनि यसमा पाएको सफलताले नेपाली फुटबल समर्थकमा उत्साह भने थपेको छ । किनभने, सेप्टेम्बर २०१३ देखि डिसेम्बर २०१५, यो २७ महिनाको अवधि नेपाली फुटबल फ्यानहरूले अझै भुलेका छैनन् । यो दसौँ र एघारौँ साफ च्याम्पियनसिपबीचको समय हो । यही २७ महिनामा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्यो । कुनै खेल जित्न त परै जाओस्, यो अवधिभर राष्ट्रिय फुटबल टिमले एक गोल पनि गर्न सकेन । राम्रो खेल्न नसकेपछि वरीयतामा राम्रो स्थानमा रहने कुरै भएन । परिणामत: फिफा वरीयतामा १७२ बाट १९६ औँ स्थानमा झर्यो, जुन नेपालको अहिलेसम्मकै खराब वरीयता हो । मात्रै एक गोलका लागि नेपालले २७ महिना सम्भवत: पहिलोपटक कुरेको हो ।
खेल मैदानमा मात्रै होइन, मैदानबाहिर पनि केही यस्ता घटना भए, जुन नेपाली फुटबलका शुभचिन्तकहरू सम्झन चाहँदैनन् । किनभने, ती घटना निकै पीडादायी थिए । २१ वर्षसम्म अखिल नेपाल फुटबल संघ (एन्फा)मा एकछत्र राज गरेका गणेश थापा भ्रष्टाचारको अभियोग प्रमाणित भएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे निलम्बनमा परे ।
उनी एन्फाबाट बाहिरिएपछि नेपाली फुटबलले अर्को नमिठो झड्का बेहोर्यो । राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित अन्य चार जना खेल मिलेमतो प्रकरणमा परे । जब कि, नेपाली फुटबलले खासै उपलब्धि हात नपारे पनि सागरको सार्वजनिक छवि भने ‘सेलिब्रिटी’भन्दा कम थिएन । राष्ट्रिय टिमको लगातारको कमजोर प्रदर्शन र खेलाडीहरूले गोल गर्न नसक्दा निराश बनेका समर्थकलाई
यस्ता घटनाक्रमले आक्रोशित बनाउनु स्वाभाविक थियो ।
तर, गणेश थापाको बहिर्गमन र खेल मिलेमतोको प्रकरणपछि नेपाली फुटबल फरक बाटोमा हिँड्यो । २०१५ को डिसेम्बरमा साफ च्याम्पियनसिपमा जाँदा नेपाली टिमको ‘मुड’ बेग्लै भइसकेको थियो । युवा र नयाँ खेलाडी अनि प्रशिक्षक पनि नयाँ । बेल्जियमका प्याट्रिक ओसेम्सले युवा खेलाडीलाई मौका दिएर आत्मविश्वासी भएर खेल्न सिकाए । साफ च्याम्पियनसिपमा ओसेम्सको टिमले कुनै चमत्कार त गरेन तर उनकै पालामा नेपालले साढे दुई वर्षदेखिको गोलको खडेरी भने मेट्यो । समूह चरणमा भारतविरुद्ध विमल घर्तीमगरले गोल गरे । भलै नेपालले खेल ४–१ ले गुमायो र समूह चरणबाटै बाहिरियो । सन् २०१३ मा काठमाडौँमा भएको दसौँ साफको समूह चरणमा भारतविरुद्ध जुमानु राईको गोल नै पहिलो गोल थियो, नेपालको ।
डिसेम्बर २०१५ पछि ओसेम्स प्रशिक्षक रहेनन् । तर, त्यसपछि पनि नेपाललाई गोलको खडेरी परेको छैन, लगातार गोल गरिरहेको छ । पछिल्लो ११ महिनामा नेपालले कुल ११ खेल खेलेको छ । र, त्यसमा मात्र तीनपटक गोल गर्न चुकेको छ । यही ११ महिनामा एक औपचारिक प्रतियोगिताका रूपमा एएफसी सोलिडारिटी कपसहित बंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण जितेको छ । कुनै बेला ११ खेलमा गोल गर्न नसकेको नेपाल अहिले पछिल्ला आठ खेलमा अपराजित छ ।
बदलावको कारण
नेपाली टिमको मुख्य कमजोरी भनेको बल ‘पोसेसन’ पर्याप्त नहुनु थियो । प्रशिक्षक ओसेम्स त्यही कमजोरी सुधार्न केन्द्रित भए । त्यसका लागि उनले सर्वप्रथम राष्ट्रिय टिममा युवाको उपस्थिति बढाए । हुन त नेपालको फुटबल टिममा ग्राहम रोबटर््स हुँदादेखि नै युवा खेलाडी बढी थिए । त्यसबेला भरत खवास, रोहित चन्द र रविन श्रेष्ठ राष्ट्रिय टिमका स्थायी सदस्यजस्तै बने । ग्राहम रोबर्ट्सदेखि प्याट्रिक ओसेम्सको बेलासम्म टिममा अन्य युवा खेलाडीले पनि मौका पाए, जसले उमेर समूहका प्रतियोगितामा राम्रो सम्भावना देखाएका थिए । अहिले नेपाली टिम राम्रो बन्नुमा कुनै विदेशी प्रशिक्षकलाई श्रेय जान्छ भने ती प्रशिक्षक ओसेम्स र ग्राहम रोबट्स नै हुन् । रोबट्सपछि नेपालको टिम ज्याक स्टेफानोस्कीले सम्हालेका थिए । र, त्यही बेला नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पनि पुगेको थियो । तर, उनी रणनीतिक हिसाबमा कमजोर प्रशिक्षक मानिन्थे । उनका पालामा नेपाली खेलाडीका प्रहारले बिरलै मात्र विपक्षीको गोलपोष्टका जाली चुम्न सके ।
यसबीच स्वदेशी प्रशिक्षकद्वय बालगोपाल महर्जन र राजुकाजी शाक्यको योगदान पनि उल्लेख्य रह्यो । हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीलाई उमेर समूहको स्पर्धामा यी दुईले नै प्रशिक्षण दिएका थिए । विमल घर्तीमगर, अन्जन विष्ट र अनन्त तामाङ त बालगोपालका चेलाकै रूपमा चिनिन्छन् । बालगोपालले उनीहरूलाई एन्फा एकेडेमीमा हुँदादेखि हेरिरहेका थिए । यू–१६ साफमा नेपाल फाइनल पुग्दा र यू–१९ साफ जित्दा बालगोपाल नै उनीहरूका प्रशिक्षक थिए । हेमन गुरुङ र आदित्य चौधरी पनि विमलभन्दा अघिल्लो ब्याचका एन्फा एकेडेमीका उत्पादन हुन् । यू–१६ मा हुँदादेखि नै उनीहरू ग्राहम रोबट्स आँखामा परिसकेका थिए ।
काठमाडौँ ओर्लेदेखि नै ग्राहम रोबर्ट्सको ध्यान नेपाली टिममा आक्रामकता बढाउनमा थियो । त्यसै अनुरूप उनले प्रशिक्षणको पहिलो दिनदेखि खेलाडीहरूलाई आक्रामक भएर खेल्न सिकाए । र, प्याट्रिक ओसेम्सले बल आफ्नो नियन्त्रणमा राख्दै आत्मविश्वासी भएर खेल्ने मानसिकता खेलाडीमा जगाए । बालगोपाल र राजुकाजी शाक्यले पनि त्यही ‘सूत्र’लाई अनुसरण गरे । र, अहिले पनि नेपाली टिमले त्यही कौशललाई पछ्याइरहेको छ । फरक यति मात्रै हो कि पहिलाभन्दा अहिले नेपाली खेलाडीका प्रहार विपक्षीका गोलपोस्टमा छिर्न सफल भइरहेका छन् । यही वर्ष मात्रै नेपालले खेलेको आठ औपचारिक खेलमा १२ गोल गरेको छ ।
रणनीतिक हिसाबले पनि नेपाली टिम विपक्षीभन्दा एक कदम अगाडि देखिएको छ । पहिला विपक्षी जोसुकै भए पनि प्रशिक्षकले गोल कसरी गर्ने भनेर सोच्नमै धेरै समय लगाउनुपथ्र्यो । गोल हुन नसक्दा टिमका पूरै खेलाडी दबाबमा हुन्थे । एउटा गल्तीबाट सुरुमै गोल खाए टिमको सन्तुलन पूरै बिग्रिन्थ्यो । गोल नखाँदा पनि पर्याप्त मौका सिर्जना नहुँदा र पाएका मौकामा स्ट्राइकरहरू चुक्दा टिमका अन्य खेलाडी पनि दबाबमा पर्थे । लगातार गोल गर्न नसकेको ती ११ खेलमा नेपालको अकोर् कमजोरी यही नै थियो ।
कुशल खेलाडीको कमी नेपाललाई कहिल्यै पनि भएन । जति पनि विदेशी प्रशिक्षक आए, सबैले नेपाली खेलाडीको क्षमताको प्रशंसा गरेका छन् । यसमा अहिलेका जापानी प्रशिक्षक कोजी ग्योतोकु पनि पछि परेका छैनन् । आठ महिनाअगाडि नेपाली टिम सम्हाल्न आउँदा उनले यही भनेका थिए । खेलाडी जति नै राम्रा भए पनि नेपाली टिममा नभएको कुरा थियो आत्मविश्वास, जुन लामो समय गोल गर्न नसक्दा गुमेको थियो । तर, जब गोल हुन थाल्यो, त्यसपछि खेलाडीहरू पनि खुलेर खेल्न थाले । अहिले नेपालको यस्तो भएको छ कि कुनै खेलमा पहिला गोल खाए पनि टिम सन्तुलन र खेलको लय गुमाउँदैन । धेरैपछि नेपालले कमब्याक गर्न सिकेको छ । सोलिडारिटी कपमा लाओस र साग फाइनलमा भारतविरुद्धको खेल नेपालले कमब्याक गरेको पछिल्ला उत्कृष्ट उदाहरण हुन् ।
धेरै मौका सिर्जना गर्न प्रशिक्षक ग्योतोकुले एउटा फरक रणनीति पनि अवलम्बन गरे । मौका सिर्जना हुने सम्भावित ठाउँमा टिमका क्रियटिभ खेलाडी राख्ने, जस्तै : विमल । उमेर समूहदेखि नै विमललाई कुशल स्ट्राइकर रूपमा हेरियो । उनी सधैँ टिमको अघिल्लो पंक्ति अर्थात् फरवार्ड लाइनमै रहे । तर, प्रशिक्षक ग्योतोकुले उनलाई कहिले आक्रामक मिडफिल्ड त कहिले विङ्सबाट खेलाए । नेपालले अहिले विङ्सबाटै धेरै मौका सिर्जना गरिरहेको छ । सोलिडारिटी कपमा ब्रुनाईविरुद्ध बाहेक अन्य सबै खेलमा गरेको गोलको मौका विङ्सबाट आएका राम्रा क्रसबाटै आएका थिए । विङ्गरका रूपमा भरत खवासको भूमिका पनि यसपटक निकै प्रभावकारी रह्यो । सेमिफाइनल र फाइनलमा उनकै क्रसबाट गोल सम्भव भएको थियो । विङ्गरमा हुनुपर्ने ‘पेस’ र ‘स्टामिना’ भरतमा छ ।
नेपालले पहिलोपटक आयोजना भएको एएफसी सोलिडारिटी कप त जित्यो । तर, प्रशिक्षक कोजी ग्योतोकु नेपालको खेल्ने शैलीबाट अझै सन्तुष्ट छैनन् । फाइनल जितेपछिको उनको पहिलो प्रतिक्रिया नै यही थियो । मौकाहरू पर्याप्त मात्रामा सिर्जना भएको जस्तो उनलाई लागेको छैन । कमजोर र आफ्नै स्तरका टिमसँग खेल्दा यतिले नै पुग्यो । आफूभन्दा माथिल्लो स्तरको टिमसँग खेल्दा यो कमजोरीले सताउन सक्नेमा उनी सजग छन् । त्यसैले उनले नियमित प्रशिक्षण र धेरैभन्दा धेरै खेल खेल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
अहिलेको सफलतालाई एन्फाको नेतृत्व परिवर्तनसँग पनि जोडेर हेर्न सकिन्छ । गणेश थापा अध्यक्ष हुँदा टिममा खेलाडी छनोटदेखि लिएर कहिलेकाहीँ त कसलाई खेलाउने र कसलाई नखेलाउने भन्नेसम्मको निर्णय आफैँ गर्थे । जुन प्रशिक्षकले उनको कुरा मान्यो, उही टिक्थ्यो । यसको उदाहरण पनि ग्राहम रोबर्ट्स र प्याट्रिक ओसेम्स नै हुन् । एएफसी च्यालेन्ज कपमा गणेश थापाको नांगो हस्तक्षेप सहन नसकेर नै रोबर्ट्सले राजीनामा दिएका थिए । ओसेम्सले पनि यसै कारण साफ च्याम्पियनसिपपछि नेपाल छाडे । गणेश थापा हुँदासम्म एन्फा एकेडेमीबाहेकका राम्रा खेलाडीलाई राष्ट्रिय टिममा स्थान बनाउन गाह्रो थियो । एकेडेमीमा खेलाडी छान्दा पनि उनकै हैकम चल्थ्यो ।
फिफाले गशेण थापालाई १० वर्षको प्रतिबन्ध लगाएपछि अहिले राष्ट्रिय टिम स्वतन्त्र छ । प्रशिक्षकले पनि पूरै आफ्नो रणनीति अनुसार खेलाडीलाई प्रयोग गर्न पाएका छन् । नवयुग श्रेष्ठको उदय पनि एन्फामा नेतृत्व परिवर्तनपछि भएको हो । घरेलु प्रतियोगितामा नेपाल आर्मीका लागि उनी सधैँ राम्रै खेल्थे । सागमा बल्ल उनले राष्ट्रिय टिममा मौका पाए । त्यो पनि सब्स्टिच्युट खेलाडीका रूपमा । बंगबन्धु गोल्डकपमा मुख्य स्ट्राइकरको भूमिका पाएपछि उनले कमाल देखाउन थालिहाले । बंगबन्धु गोल्डकप र साग दुवैमा उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले एकपछि अर्को खेलमा गोल गर्न थालेपछि टिमका अन्य स्ट्राइकरमाथिको दबाब पनि कम भएको छ ।
थापा बहिर्गमनपछिको तरंग
सन् १९९५ मा नेपाली फुटबलको आधिकारिक संस्था एन्फाको अध्यक्ष निर्वाचित भएपछि गणेश थापाले घोषणा गरेका थिए– अबको १० वर्षमा नेपाली फुटबलको कायापलट हुन्छ । नेपाली फुटबलले एसियामा छाप छोड्ने छ ।
उनले करिब २१ वर्ष एन्फामा एकलौटी शासन जमाउने क्रममा नेपाली फुटबलले एसियामा छाप जमाउनु त टाढाको कुरा, भ्रष्टाचार र ‘म्याच फिक्सिङ’का कारण नेपाली फुटबल तहसनहस बन्न पुग्यो । यतिबेला भ्रष्टाचारको मुद्दामा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले उनलाई फुटबलको कुनै गतिविधिमा समावेश हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाएको छ । उनकै कार्यकालमा ‘ म्याच फिक्सिङ’का कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको बदनामी भयो । फिक्सिङमा नेपालका पूर्वकप्तान सागर थापा लगायत पाँच खेलाडी आजीवन प्रतिबन्धित छन् ।
यस्तो अवस्थामा नेपालले यस वर्ष लगातार फुटबलका तीनवटा उपाधि जितेर थापाको कार्यकालमा नेपाली फुटबल गलत व्यक्तिको हातमा भएको प्रमाणित भएको छ । आफ्नो कार्यकालमा उनी संघको अध्यक्ष मात्र होइन, छनोटकर्ता र प्रशिक्षक पनि बन्न खोजेको ‘ ओपन–सेक्रेट’ नै छ ।
यसैको सेरोफेरोमा नेपालले जितेको एएफसी सोलिडारिटी कपलाई आमफुटबल विश्लेषकले ठूलो उपलब्धिका रूपमा लिएका छन् । नेपालमा अहिले न राम्रोसँग खेल्ने मैदान छ, न ठूला प्रतियोगिताको आयोजना नै । यस्तो अवस्थामा सोलिडारिटी कपको हालको उपलब्धि मात्र होइन, बंगबन्धु कप र १२औँ दक्षिण एसियाली खेलकुदको जित आफैँमा तारिफयोग्य कुरा हो । यस विषयमा सागमा नेपालका प्रशिक्षक रहेका राजुकाजी शाक्य पनि सहमत छन् । भन्छन्, “लामो समयसम्म नेपालले कुनै उपाधि जितेन । खेल्नका लागि राम्रो मैदान पनि छैन । भएको एउटा रंगशाला पनि खेल्नयोग्य छैन । यस्तो अवस्थामा जुनसुकै प्रतियोगिता जिते पनि त्यो ठूलै कुरो हो ।”
नेपालले यही वर्ष बंगलादेशको राजधानी ढाकामा आयोजना भएको बंगबन्धु कप जितेको थियो । लगत्तै नेपाली यू–२३ टोलीले भारतको आसाम र सिलोङमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुदको उपाधि जित्यो । अहिले ६३ वर्षपछि एसियाली फुटबलको आधिकारिक प्रतियोगिता पहिलोपल्ट जितेर नेपाली फुटबलले इतिहास रचेको छ ।
विगतमा राष्ट्रिय टोलीको छनोट हुँदा त्यसमा थापाको प्रत्यक्ष हस्तक्षेप हुने गरेको सबैलाई थाहा भएको विषय हो । यसै कारण नाम चलेका थुप्रै खेलाडीले सन्न्यासको घोषणा नै नगरी बीचैमा फुटबल परित्याग गरेका थिए । अझ, अभ्यास खेलका नाममा ‘म्याच फिक्सिङ’ हुने गरेको कुरा एसियाली फुटबल महासंघ (एएफसी)ले नै पुष्टि गरिसकेको छ । थापाको कार्यकालमा ‘म्याच फिक्सिङ’ भएको जानकारी एएफसीले उनलाई दिएको थियो । तर, खेलाडीलाई कारबाही गर्नुको साटो उल्टो टिमको नेतृत्व गरेर पठाएपछि एएफसीका पदाधिकारीले उनीसँग वार्ता नगरी महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकारीसँग भेटेर गएको थियो ।
विगतमा नेपाली फुटबल असफल हुनुको कारण यति मात्र थिएन । नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक लिग कहिल्यै व्यवस्थित भएन । कहिले लिगमा १२ टिम समावेश हुन्थे, कहिले १६ । काठमाडौँमा क्लबहरूले अधिकार मागेको खण्डमा निलम्बित अध्यक्ष थापा राष्ट्रिय लिग भनेर जिल्ला समेटेर फुटबल खेलाइदिन्थे । जिल्लाले अधिकार मागेको खण्डमा क्लबहरूलाई च्यापेर लिग गराउँथे ।
यति मात्र होइन, आफूलाई सहयोग गर्ने क्लबलाई ‘म्याच फिक्सिङ’ गर्नेसमेतको सुविधा थियो । राम्रा खेलाडीहरू पैसा नपाए पनि राष्ट्रिय टोलीमा नपर्ने डरले उधारोमै थापा ‘क्याम्प’को क्लबबाट फुटबल खेल्नुपर्ने बाध्यता थियो ।
थापाको बहिर्गमनपछि नेपाली प्रशिक्षकले स्वतन्त्र महसुस गरेका छन् । राम्रा खेलाडीमा पनि एउटा मनोविज्ञानले काम गरेको छ, राम्रो खेल्यो भने टिममा पर्न सकिन्छ भन्ने । थापाको हस्तक्षेपका कारण पहिले विदेशी प्रशिक्षकलाई एक वर्ष टिक्न धौ–धौ पथ्र्यो । अहिले जापानी प्रशिक्षक कोजी ग्योतोकु आफ्नो प्रयोग राष्ट्रिय टिममा निर्धक्क गर्न पाइरहेका छन् । त्यसैले उनी आफू नेपाली टिमसँग अनुबन्धित भएको एक वर्षमा दुईवटा मात्र मैत्रीपूर्ण खेल हुँदासमेत धैर्यताका साथ टिकिरहेका छन् । एएफसी सोलिडारिटी कपमा नेपाली टोलीको सफलता धेरै हदसम्म उनको धैर्यताको प्रतिफल पनि हो ।
पछिल्लो समय नेपालले जितेका तीनवटा उपाधिका कारण यतिबेला एन्फाको नयाँ नेतृत्व दंग छ । तर, यो उपलब्धि नयाँ नेतृत्वका लागि चुनौती पनि हो ।
नेपालमा अहिले एउटा पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान छैन । काठमाडौँमा भएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला गत वर्षको भूकम्पका कारण बन्द अवस्थामा छ । लिग फुटबल अझै व्यवस्थित हुन सकिरहेको छैन । निलम्बित अध्यक्ष गणेश थापाले फुटबलका नाममा विदेशबाट आउने करोडौँ रकमको हिसाब दिन सकेका छैनन् । थापाको भ्रष्टाचार मुद्दाका कारण फिफाले फुटबल विकासका लागि नेपालले पाउने ५४ करोड रुपियाँ अझैसम्म निकासा गरेको छैन । फेरि निर्वाचनका कारण क्लब र जिल्ला फुटबल संघ बाँडिएको अवस्थामा छ । वास्तवमा नेपाली फुटबलको भविष्य यिनै मुद्दामा रुमलिने पक्का छ ।
अब नेपालका अगाडि सन् ’८०–९० को दशकमा दक्षिण एसियाली फुटबलमा रहेको ‘ बाघ’को छाप फर्काउनु नै मुख्य उद्देश्य र लक्ष्य हुनेछ । यसका लागि एन्फाले अहिलेदेखि नै गृहकार्य गर्नु जरुरी छ । राजु शाक्यकै भनाइ अनुसार घरेलु लिग लगातार भइरहनुपर्छ । किनभने, लिगबाटै प्रतिभावान खेलाडीहरू निस्कछन् ।
भारतले १५ वर्षपछि एसियाको उत्कृष्ट टिम बन्नका लागि बलियो संरचनाका रूपमा इन्डियन सुपर लिग सुरु गरिसकेको छ । सन् २०१३ देखि सुरु भएको लिगका लागि रिलायन्स इन्डस्ट्रीले भारतीय फुटबल संघसँग १५ वर्षका लागि सात सय करोड रुपियाँको सम्झौता गरेको छ । अझ, लिगलाई देशव्यापी बनाउन स्टार स्पोटर््सले सम्पूर्ण ब्रोडकास्टको जिम्मा लिएको छ । अहिले लिगमा अन्तर्राष्ट्रिय फुटबलका ठूला हस्तीहरू खेल्ने गर्छन् । यस्तै ब्राजिलका जिको जस्ता प्रशिक्षक भारतीय क्लबलाई प्रशिक्षण दिन आएका छन् ।
भारतले प्रिमियर लिगको सुरुआत गरेको तीन वर्षभित्र नै आफ्नो देशको फुटबल स्तरलाई धेरै माथि उठाइसकेको छ । नेपालमा पनि फुटबल ‘क्रेज’ नभएको होइन । नेपाली फुटबललाई नेपालका उद्योग तथा कलकारखानाले माया नगरेका होइनन् । करोडौँ घोटालाका कारण गणेश थापा निलम्बनमा पर्दा पनि नेपाली फुटबलमा लगानी गर्न उनीहरू हिचकिचाएका छैनन् ।
२१ वर्ष फुटबलका नाममा आफ्नो दुनो सोझ्याउने व्यक्ति नेपाली फुटबलबाट बाहिरिसकेको अवस्थामा अहिलेको नेतृत्वका लागि ठूलो अवसर पनि जुरेको छ । अबको १० वर्ष नि:स्वार्थभावले काम गरेको खण्डमा नेपाली फुटबलको कायापलट कसो नहोला ?
इन्डियन सुपर लिगमा अवसर
स्तर र खेल कौशलका हिसाबमा भारतीय र नेपाली खेलाडीमा खासै फरक छैन । यो भारतको जुनसुकै प्रक्षिक्षकले पनि स्वीकारेको कुरा हो । तर, इन्डियन सुपर लिगमा अहिलेसम्म कुनै नेपाली खेलाडीले मौका पाएका छैनन् । पहिला आई लिगमा नेपालका हरि खड्का, अनिल गुरुङ र रोहित चन्दले अवसर पाउँदा यो कुरा प्रमाणित पनि गरेका छन् ।
आईएसएलमा एक टिममा कुल २५ मध्ये बढीमा ११ विदेशी खेलाडी राख्न मिल्छ । र, अहिले आईएसएलका आठ टिममा ७० भन्दा बढी विदेशी खेलाडी छन् । त्यसमा एउटा पनि नेपाली खेलाडी परेका छैनन् । जुन नेपाली खेलाडीका लागि दुर्भाग्य पनि हो । जब कि, क्रिकेटमा भारतको स्तर नेपालको भन्दा निकै माथि छ । यस्तोमा नेपालका शक्ति गौचनले राजस्थान रोयल्सका लागि ट्रायल दिने मौका पाएका थिए । यहीबाट नै नेपाली फुटबलका जिम्मेवार अधिकारीले सिक्नुपर्ने अर्को कुरा छ ।
राम्रा खेलाडीलाई आईएसएलमा खेल्ने अवसर जुराइदिन पछि पर्नुहुँदैन । विश्वकप जितिसकेका केही खेलाडी अहिले आईएसएलमा छन् । जस्तै : ब्राजिलका रोबर्टो कार्लोस, इटालीका मार्को माटाराजी र अलेसेन्ड्रो डेल पियरो आदि । एक जमानाका अब्बल खेलाडीसँगको हिमचिमले मात्रै पनि नेपाली खेलाडीको मनोबल बढेर प्रदर्शनमा निखार आउने र यसले आखिरमा राष्ट्रिय टिमलाई फाइदा पुग्ने थियो ।
गेम चेन्जर्स
सुजल श्रेष्ठ:: सुजलले २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दी क्लबबाट विङ्गरका रूपमा खेल्ने सुजलले राष्ट्रिय टिमबाट २०११ मै टिमोर लिस्टेविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए । त्यसपछि राष्ट्रिय टिममा खासै जम्न सकेनन् । एएफसी सोलिडारिटी कपमा दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका सुजलले फाइनलमा निर्णायक गोल गरे । उनकै गोलले नेपाललाई पहिलोपटक एएफसीको प्रतियोगितामा च्याम्पियन बनायो ।
विमल घर्तीमगर:: विमललाई नेपाली फुटबलको भविष्य भनेर हेर्ने गरिन्छ । राष्ट्रिय टिमबाट स्ट्राइकरहरूले गोल गर्न नसकिरहेका बेलामा उनले बंगलादेशविरुद्ध दशरथ रंगशालामा डेब्यु गरेका हुन् । त्यतिबेला विमल मात्रै १६ वर्षका थिए । सन् २०१४ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै राष्ट्रिय टिममा आफ्नो गोलको खाता खोलेका थिए । २०१५ को साफ च्याम्पियनसिपमा पनि उनले भारतविरुद्ध गोल गरेका थिए । भारतविरुद्धको उनको गोलबाट नै नेपालले लगातार ११ खेलमा गोल गर्न नसकेको क्रमलाई भंग गरेको थियो । त्यसपछि बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडारिटी कप जित्दा उनको भूमिका निकै महत्त्वपूर्ण रह्यो । एएफसी सोलिडारिटी कपको समूह चरणमा उनले ब्रुनाईविरुद्ध पेनाल्टी र सेमिफाइनलमा लाओसविरुद्ध गोल गरेका थिए ।
नवयुग श्रेष्ठ:: नवयुग एन्फामा गणेश थापाको बहिर्गमनपछि उदाएका स्टार हुन् । सन् २०१५ को साफ च्याम्पियनसिपमा उनले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका थिए । त्यसमा उनले खासै प्रभाव पार्न सकेनन् । तर, त्यसपछि नेपालले जितेका तीनै प्रतियोगिता बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडारिटी कपमा उनको योगदान अतुलनीय छ । नवयुगले साग र बंगबन्धु गोल्डकपको फाइनलमा गोल गरेका थिए । अहिले उनले लगातार गोल गरिरहेका छन् । सन् २०१६ मा मात्रै उनले नेपालका लागि १२ गोल गरे । बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्स र बंगलादेशबाहेक मलेसिया र बहराइनको उमेर समूहको टिमसँग खेलेको थियो । यी दुई खेललाई फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिँदैन । र, सागमा यू–२३ टिमले प्रतिस्पर्धा गर्छन् । त्यसैले सोलिडारिटी कपमा ब्रुनाईविरुद्धको गोलसहित नवयुगले राष्ट्रिय टिमबाट अहिलेसम्म चार अन्तर्राष्ट्रिय गोल
गरेका छन् ।
विराज महर्जन:: सागर थापा प्रतिबन्धमा परेपछि विराज महर्जनले राष्ट्रिय टिमको कप्तानीको जिम्मा पाए । र, त्यसपश्चात् नेपालले जितेका हरेक प्रतियोगितामा विराज नै नेपालको कप्तान थिए । राष्ट्रिय टिममा उनले सन् २००८ देखि मौका पाएका हुन् । डेब्यु खेलबाटै प्रभाव पार्न सफल विराज नेपालको डिफेन्समा निर्विवाद राइट ब्याक हुन् । अहिलेको टिममा उनी सबैभन्दा पाका खेलाडी पनि हुन् । उनले राष्ट्रिय टिमबाट ५० खेल खेलिसकेका छन् । राइट ब्याकबाट ओभरल्यापमा गएर लोभलाग्दो क्रस निकाल्न माहिर विराज डिफेन्समा युवा खेलाडीलाई राम्रो खेल्न हौस्याउने प्रेरणादायी कप्तान पनि हुन् ।
Follow Gyanendra Acharya on Twitter: @AcharyaGyanen
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...