रेकर्ड ब्रेकर रोनाल्डो
पोर्चुगलका महान् खेलाडीलाई चौथो पटक बलुन डि'योर
यदि कसैले क्रिस्टियानो रोनाल्डोलाई ‘रेकर्ड ब्रेकर’ भन्छ भने त्यो शतप्रतिशत सत्य हुन्छ । रोनाल्डोका नाममा केही यस्ता रेकर्ड छन्, जो कसैले तोड्लान् भनेर सोच्न पनि गाह्रै पर्छ । यिनै रोनाल्डोले २७ मंसिरमा चौथो पटक ‘बलुन डि’योर’ जिते । चारै पटक बलुन डि’योर जित्दा रोनाल्डोले अर्का महान् खेलाडी मेसीलाई पछि पारेका छन् ।
क्रिस्टियानो रोनाल्डो पोर्चुगलका सर्वकालिक महान् खेलाडी हुन् । पोर्चुगलबाट प्रत्येक युगमा यस्ता खेलाडी निस्केका छन्, जो एक समय संसारकै उत्कृष्ट खेलाडी कहलिएका छन् । जस्तै : युसेयिबो, फिगो आदि । तर, रोनाल्डोलाई यी खेलाडीभन्दा पनि माथिल्लो दर्जामा राखिन्छ । किनभने, उनले पाएका सफलता र रेकर्डको नजिक पनि कोही पुगेका छैनन् । चौथो पटक बलुन डि’योर जितेपछि रोनाल्डोलाई युरोपको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भन्न थालिएको छ । र, यो प्रशंसाका लागि उनी योग्य पनि छन् ।
सन् २०१६ रोनाल्डोका लागि उपलब्धिपूर्ण रह्यो । उनको टिम रियल म्याड्रिडले कीर्तिमानी एघारौँ पटक च्याम्पियन्स लिग जित्यो । च्याम्पियन्स लिगको उपाधि आफँैमा ठूलो उपलब्धि हो । अझ यसभन्दा महत्त्वपूर्ण प्रतियोगिता त उनले राष्ट्रिय टिमबाट जिते । उनकै कप्तानीमा पोर्चुगलले पहिलो पटक युरोकप जित्यो । यी दुवै प्रतियोगिता जित्दा रोनाल्डोको योगदान महत्त्वपूर्ण थियो । भलै, युरोकपको फाइनलमा चोटका कारण उनले छिट्टै मैदान छाड्नु पर्यो ।
रोनाल्डो स्वभावैले आक्रामक छन् । उनी प्रत्येक खेल जित्न चाहन्छन् । र, प्रत्येक खेलमा आफैँ गोल गर्न चाहन्छन् । यही स्वभावका कारण उनी विपक्षीका लागि सधैँ खतरा बनेका छन् । चाहे त्यो पहिला म्यान्चेस्टर युनाइटेडका लागि खेल्दा होस् या अहिले रियल म्याड्रिडका लागि । एउटा च्याम्पियन्स लिग र बलुन डि’योर त उनी म्यान्चेस्टर युनाइटेडमा हुँदै जितेका थिए ।
२००९ मा म्यान्चेस्टर युनाइटेडबाट रोनाल्डोलाई किन्न रियल म्याड्रिडले आठ करोड पाउन्ड खर्च गरेको थियो । जुन त्यति बेलाको कीर्तिमानी रकम थियो । उनले एक सिजन म्यान्चेस्टर युनाइटेडबाट प्रिमियर लिगमा ३१ गोल गरेर गोल्डेन बुट जितेका थिए । प्रिमियर लिगमा एकै सिजनमा त्यति धेरै गोल गर्नेमा एलेन सियरर र लुइस स्वारेजसँगै उनको नाम पनि पहिलो नम्बरमा पर्छ । रियल म्याड्रिड आएपछि रोनाल्डो झनै कीर्तिमानी भएका छन् । उनले निकै तीव्र गतिमा गोल गरिरहेका छन् । रियल म्याड्रिडका लागि ३ सय ६५ खेलमा उनले ३ सय ७६ गोल गरिसकेका छन् । मात्रै सात वर्षमै उनी रियल म्याड्रिडका लागि सर्वाधिक गोलकर्ता बनेका छन् ।
अहिलेसम्म च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने पनि रोनाल्डो नै हुन् । त्यहाँ उनले ९५ गोल गरेका छन् । यसमा रियल म्याड्रिडबाट मात्रै उनले ८० गोल गरे । एकै सिजन च्याम्पियन्स लिगको समूह चरणमा सबैभन्दा बढी गोल गर्ने पनि रोनाल्डो मात्रै हुन् ।
रोनाल्डो एक्ला यस्ता खेलाडी हुन्, जसका नाममा फुटबल खेलको हरेक मिनेटमा गोल गरेको रेकर्ड छ । उनले मात्रै लगातार ६ सिजनसम्म ५० भन्दा बढी गोल गर्न सकेका छन् । पोर्चुगलका लागि पनि उनले हासिल गरेको उपलब्धि भेट्टाउन कसैलाई सजिलो छैन । पोर्चुगलका लागि सबैभन्दा बढी खेल खेल्ने र गोल गर्नेमा पनि रोनाल्डो एक नम्बरमा छन् ।
चौथो पटक बलुन डि’योर जितेपछि रोनाल्डो निकै खुसी थिए । उनले आफ्नो सपना पूरा भएको बताए । मेसीको पनि उनले प्रशंसा गरे । मेसीसँगै एउटै टिमबाट खेल्न पाए, त्यो सबैका लागि रोचक हुने बताए । उनले ठट्टा गर्दै भनेका छन्, ‘एकै टिममा रहेको भए मेसीले भन्दा बढी बलुन डि’योर मैले जित्ने थिएँ । तर, उनी मभन्दा धेरै पछि पक्कै हुने थिएनन् ।’
Follow Gyanendra Acharya on Twitter: @AcharyaGyanen
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...