क्रिकेटमा नयाँ स्टार
नेपाली क्रिकेटमा आशलाग्दो प्रतिभा दीपेन्द्रसिंह ऐरीको आगमन
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का खेल्ने/नखेल्ने अनिश्चित थियो । निश्चित के थियो भने दीपेन्द्रसिंह ऐरी, १८, ले केन्यासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्ने । पारसको अन्योलबीच टिम व्यवस्थापनले दीपेन्द्रलाई यो खबर दिएको थियो । पारस खेलेमा दीपेन्द्रले छैटौँ नम्बरमा ब्याटिङ गर्ने, नखेलेमा चौथो नम्बरमा । नेपालको रणनीति यही थियो ।
पारस नखेल्ने नै भए । त्यही मौकामा दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्न पाए । २८ फागुनको पहिलो खेलमा उनले परिपक्वता प्रदर्शन गरे । राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दै दीपेन्द्रले त्यस्तो प्रदर्शन गरेको कसैले भन्न सक्दैनथ्यो । केन्याका तीव्र बलरले विशेष गरी पहिलो खेलमा बेजोड बलिङ गरेका थिए । त्यसमा नेपाली ब्याट्सम्यानहरू एकपछि अर्को गरी पवेलियन फर्किरहेका थिए । त्यस्तो बलिङविरुद्ध उनले ढुक्क भएर खेलेका थिए ।
पहिलो खेलमा उनले १९ रन बनाए । दीपेन्द्रभन्दा बढी रन बनाउनेमा ज्ञानेन्द्र मल्ल मात्र थिए । ३० फागुनको दोस्रो खेलमा पनि उनले त्यही प्रदर्शन दोहोर्याए । नेपालको ब्याटिङ धेरैजसो पारसमा भर पर्ने गरेको छ । पारसको अनुपस्थितिमा दीपेन्द्रले कप्तानकै शैलीमा खेल्दै ६२ रन बनाए । नेपाल विजयको नजिक पुगेको अवस्थामा उनी आउट भए । आउट भएकामा निश्चय पनि कोही खुसी हँुदैन । तर, क्रिजमै रहेका उक्त खेलका कप्तान ज्ञानेन्द्रले पवेलियन फर्किरहेका दीपेन्द्रलाई दौडिएर आउँदै अंकमाल गरी उत्कृष्ट इनिङ्सका लागि बधाई दिए ।
दीपेन्द्रले ज्ञानेन्द्रसँग १ सय ११ रनको साझेदारी गरेका थिए, जसले पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथि नेपालको पहिलो विजयलाई सम्भव बनाएको थियो । नेपाललाई ठूला खेल जिताउने क्रममा पारसले राम्रो साझेदारी गर्ने गरेका छन् । दीपेन्द्रको भूमिका ठ्याक्कै त्यस्तै थियो । यसको अर्थ सुदूरपश्चिमका यी खेलाडीको तुलना पारससँग गरिएको होइन तर उनले जुन खेल देखाए, त्यसले नेपाली क्रिकेटमा नयाँ प्रतिभा आगमन भएको स्पष्ट देखाएको थियो ।
तीव्र बलरलाई सीधा छक्का हानेका दीपेन्द्रले स्पिनरलाई सजिलै रन हानिरहेका थिए । उनी हरेक बल स्ट्रोक गर्न खोज्थे, जसले नेपाली ब्याट्सम्यानमा देखिएको डट बलको समस्यालाई धेरै भए पनि हल गरेको थियो । रनिङ विट्विन द विकेटमा उनी पोख्त देखिन्थे । उनको फुर्तिलो स्वभाव नेपाली टिमको जोस बनेको थियो । “स्किलका हिसाबमा दीपेन्द्र निकै प्रतिभावान् छन् । माइन्डसेट राम्रो छ, एट्याकिङ खेल छ । सही ठाउँमा राखेर अगाडि लाने हो भने नेपाली टिममा लामो समयसम्म उनले योगदान दिन सक्छन्,” नेपाली टोलीका सहायक प्रशिक्षक एवं पूर्वकप्तान विनोद दास भन्छन् ।
दीपेन्द्र तीन वर्षअगाडि कुवेतमा भएको एसीसी यू–१९ प्रिमियरदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा देखिएका हुन् । तीन महिनाअघि एसीसी यू–१९ एसिया कपले दीपेन्द्रलाई चर्चामा ल्यायो, जहाँ प्रशिक्षक तिनै दास थिए । दीपेन्द्रले श्रीलंकासँगको खेलमा ९० रन बनाए । त्यसका बाबजुद नेपाल एक रनले पराजित भयो । नेपालले सात पटक यू–१९ विश्वकप र तीन पटक यू–१९ एसिया कप खेलिसकेको छ, त्यसमा दीपेन्द्रले बनाएको ९० रन नेपाली खेलाडीको यू–१९ मा टेस्ट खेल्ने राष्ट्रविरुद्ध उच्च स्कोर हो । हुन त गत वर्ष नामिबियाविरुद्ध घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमै दीपेन्द्र नेपालको वैकल्पिक सूचीमा थिए । तर, कोलम्बोमा श्रीलंकाविरुद्ध खेलेको इनिङ्सले यसपटक नेपाली टोलीमा उनको स्थानलाई औपचारिक बनाइदिएको थियो । त्यसमा उनी पनि विश्वस्त थिए, १८ सदस्यीय दोस्रो अन्तिम सूचीमा पर्नेमा । केन्यासँग मौका पाउँदा उनले चौका हानेका मात्र हुन् ।
घरेलु क्रिकेटमा यसअघि नै दीपेन्द्र स्थापित नाम हुन् । नेपाल पुलिस क्लबलाई गत महिना मात्र रुस्लान कपको उपाधि दिलाउने क्रममा उनी नेपाल आर्मीसँगको फाइनल खेलमा म्यान अफ द म्याच भएका थिए । त्यसअघि उनी एभरेस्ट प्रिमियर लिगको विजेता पञ्चकन्या तेजका प्रमुख सदस्य हुन् । यसै महिनाको अन्त्यमा धनगढीमा हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल)मा विराटनगर किंग्सले उनलाई अधिकतम ८० हजार भाउ लगाएर किनेको थियो । लिलामीमा उनीमाथि सहभागी सबै ६ टोलीले अधिकतम पैसा खर्च गर्न तयार हुँदा विराटनगरले लक्की ड्रमा बाजी मारेको थियो ।
अलराउन्डरको हिसाबमा दीपेन्द्रलाई केन्यासँगको खेलमा नेपाली टिममा राखिएको थियो । केन्यासँग जित हात पार्दा नेपाली दर्शकले मिस गरेको उनको बलिङ र विकेट लिएपछि खुसी मनाउने ‘समरसल्ट’ हो । उनलाई पिठ्यूमा चोट थियो । त्यसैले उनले बलिङ गरेनन् । बलिङ नगरेपछि उनले ‘समरसल्ट’ सेलिब्रेसन गर्न पाएनन् ।
पछिल्लो समय नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो प्रभाव छ, दीपेन्द्रको आगमन त्यही पृष्ठभूमिमा भएको छ । उनको प्रदर्शनमा जुन चमक छ, उनको स्वभाव ठीक त्यसको उल्टो छ । निकै लजालु स्वभावका छन् ।
गृहनगर महेन्द्रनगरमा भएको प्याब्सन कपमा पहिलो पटक खेलेको उनलाई सम्झना छ । तर, त्यो कति वर्षअगाडि हो भनेर प्रश्न गर्दा उनको उत्तर थियो, “खोइ, जाडोको बेलामा थियो क्या हो ।” केन्यासँगको खेल जितेपछि उनलाई सञ्चारमाध्यमसँग बोल्न भनियो । त्यो देखेर बलिङ प्रशिक्षक दास जिस्किँदै भन्दै थिए, “दीपेन्द्रको दोभाषेका रूपमा कोही गएर उसले बोलेको उल्था गरिदियोस् ।” त्यति धेरै दर्शकका अगाडि राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दा दबाब भएन ? दीपेन्द्रको उत्तर थियो, “त्यही दबाब हुन्छ, त्यसलाई कम गर्नुपर्छ भनेर चौका हानेको थिएँ ।”
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...