मैदानबाहिर महारथी
इटाली, चिली, नेदरल्यान्ड्सजस्ता धुरन्धर टिम विश्वकप फुटबल प्रतियोगिताबाट बाहिर
विश्वकप कसले जित्छ भनेर पत्ता लगाउने कुनै गणितीय सूत्र हुन्थ्यो भने यसपटक इटाली फाइनलमा पुग्नुपथ्र्यो । सन् १९७० को विश्वकपपछिका नतिजाले यस्तै देखाउँछ । आठौँ विश्वकपदेखि इटाली प्रत्येक १२ वर्षमा फाइनल पुगेको छ । २४ वर्षमा विश्वकप जितेको छ । यस अनुसार २००६ मा विश्वकप जितेपछि इटाली २०१८ मा फाइनल पुग्नुपर्ने हो । इतिहास जस्तोसुकै होस्, यसपटक इटाली फाइनल पुग्छ भन्ने भविष्यवाणी विश्वकप सुरु हुनुभन्दा अघि नै गलत भएको छ । किनभने, इटाली यसपटक छनोट हुनै सकेन ।
चारपटकको विश्वविजेता हो, इटाली । त्यसैले विश्वकपमा उसको छुट्टै प्रभाव छ । यसकारण इटालीका समर्थकलाई आउँदो विश्वकप केही नरमाइलो लाग्न सक्छ । इटालीको समर्थक नभए पनि फुटबल मन पराउने धेरैका लागि इटाली छनोट हुन नसक्नुभन्दा बढी दु:ख जियानलुइजी बुफन यसपटक विश्वकपमा नहुनुमा लागेको हुन सक्छ । ३९ वर्षको उमेरमा पनि अब्बल प्रदर्शन गरिरहेका बुफन यस्ता भलादमी खेलाडी हुन्, जसलाई विपक्षी टिमका खेलाडीले पनि सम्मान गर्छन् । यसै विश्वकपपछि फुटबलबाट सन्न्यास लिने मनसाय बनाएका थिए बुफनले । इटाली छनोट नभएपछि बुफनको अन्तर्राष्ट्रिय खेल जीवन विश्वकप सुरु हुनुभन्दा करिब सात महिनाअघि नै समाप्त भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा इटालीलाई निकै रणनीतिक टिमका रूपमा चिनिन्छ । निकै अनुशासित डिफेन्स, त्यसमाथि गोलपोस्टमा बुफन भएपछि जस्तोसुकै बलियो टिमलाई पनि इटालीसँग जित निकाल्न गाह्रो हुन्थ्यो । सधैँ अब्बल रणनीतिका लागि चिनिने इटाली यसपटक फितलो रणनीतिकै कारण चुक्यो ।
२००६ मा विश्वकप जितेपछि २०१० मा समूह चरणबाटै बाहिरिएको थियो । त्यतिबेलै विश्लेषकहरूले इटालीको खेदो खन्न सुरु गरिसकेका थिए । तर, २०१२ को युरोकपमा फाइनल पुगेर इटालीले ऊ अझै पनि फुटबलमा शक्तिशाली रहेको साबित गरेको थियो । २०१६ को युरोकपमा पनि इटाली राम्रै थियो । ६० वर्षयता पहिलोपटक विश्वकपमा छनोट हुन नसकेको इटालीको दुर्दशा २०१६ को युरोकपपछि सुरु भयो । युरोकपपछि प्रशिक्षक एन्टोनियो कोन्टेले छाडे । र, त्यहाँको फुटबल संघले जियान भेन्टुरालाई राष्ट्रिय टिमको जिम्मा लगाउने अनौठो निर्णय गर्यो । त्यतिबेलै भेन्टुरालाई राम्रो प्रशिक्षक मान्ने विश्लेषक कमै थिए । इटालियन लिगमा पनि उनले पुछारका क्लब मात्रै सम्हालेका थिए । अरू टिमहरूले आक्रामक शैली अपनाउँदा भेन्टुरा पुरानै रक्षात्मक शैलीमा रहे ।
भेन्टुरा कतिसम्म रक्षात्मक मानसिकताका प्रशिक्षक हुन् भन्ने प्ले अफमा स्वीडेनसँगको अन्तिम खेलबाट थाहा हुन्छ । इटालीलाई गोल गर्नैपर्ने बाध्यता थियो । आक्रामक रणनीति अपनाउनुको विकल्प थिएन । त्यसमाथि अन्तिम र निर्णायक खेल घरेलु मैदानमा खेल्न पाउनुको फाइदा आक्रामक खेलेरै उठाउनु पथ्र्यो । तर, भेन्टुरा उनले जानेको रक्षात्मक शैलीमा अडिए । र, त्यसैको नतिजा हो– इटाली छनोट नहुनु ।
लोरेन्जो इन्सिनीय अहिलेको पुस्ताका सबैभन्दा क्रिएटिभ इटालियन खेलाडी हुन् । भेन्टुराको रक्षात्मक रणनीतिमा इन्सिनीयले खासै मौका पाएनन् । गोल आवश्यक रहेको स्वीडेनसँगको अन्तिम खेलमा पनि भेन्टुराले इन्सिनीयजस्ता चतुर र आक्रामक खेलाडीलाई खेलाएनन् । बरू डिफेन्सिभ मिडफिल्डलाई बलियो बनाउन डिरोसीलाई मैदानमा उत्रन तयार रहन इसारा गरेका थिए ।
छनोटमा इटाली स्पेनजस्तो सशक्त टिमको समूहमा पर्नुले उसलाई गाह्रो परेको भन्नेहरू पनि छन् । तर, इटालीको स्तर निकै खस्किएको छनक स्पेनसँग ३–० ले हार्दा नै देखिएको थियो । दुई वर्षअघि युरोकपमा इटालीले स्पेनलाई २–० ले हराउँदा स्पेनले अब्बल टिमको दर्जामा रहिरहन आफ्नो रणनीति परिवर्तन गर्नु आवश्यक देखिएको थियो । उक्त युरोकप सकिएपछि स्पेनले आफ्नो कमजोरीमा व्यापक सुधार ल्यायो । तर, इटाली उल्टै कमजोर बन्दै गयो । छनोट हुन नसकेपछि भेन्टुरा बर्खास्त भइसकेका छन् र इटालियन फुटबल फेडरेसनका अध्यक्षले पनि कमजोरी स्वीकार्दै राजीनामा दिए । तर, ६० वर्षमा पहिलोपटक विश्वकपमा छनोट नहुँदाको चोट इटालीले त्यसबेला सही तरिकाले महसुस गर्नेछ, जब विश्वकप सुरु हुन्छ ।
इटालीजस्तै रणनीतिका लागि नेदरल्यान्ड्स पनि चर्चित छ । तर, नेदरल्यान्ड्स जुन रणनीतिका लागि चर्चित छ, त्यो इटालीको भन्दा बिलकुल फरक छ । टोटल फुटबल ’७० को दशकमा नेदरल्यान्ड्सबाटै प्रतिपादित फुटबल फिलोसफी हो । जस अनुसार विपक्षीमाथि मैदानको हरेक कुनाबाट लगातार आक्रमण गरेर उनीहरूलाई कमजोर बनाइन्छ । ’७० को दशकका उत्कृष्ट खेलाडी थिए योहान क्रुयफ । पछि प्रशिक्षक बनेर क्रुयफले टोटल फुटबलको फिलोसफीमा हल्का परिमार्जन गरे । बार्सिलोनाको प्रशिक्षक रहँदा उनले छोटो पासमा आधारित टोटल फुटबलको विकास गरे, जसलाई पछि टिकीटाका भनियो । उनकै चेला पेप ग्वार्डिओलाले यही शैली अपनाएर बार्सिलोनालाई सम्भव भएजतिका सबै उपाधि दिलाए । र, अहिले इंग्ल्यान्डमा यस्तै शैलीबाट म्यानचेस्टर सिटीलाई सशक्त बनाइरहेका छन् ।
आधुनिक फुटबलमा अहिले जुन शैलीले जरा गाडिरहेको छ, त्यही शैली सुरु गर्ने देश नेदरल्यान्ड्स भने कमजोर भएको छ । दुई वर्षअघिको युरोकप र अहिले विश्वकपमा पनि छनोट हुन नसक्नु यसैको प्रमाण हो । पछिल्ला दुई विश्वकपमा सेमिफाइनल पुगेको देश अहिले लगातार असफल बनिरहेको छ ।
नेदरल्यान्ड्स कमजोर हुनुमा मुख्य दुई कुरा कारक मानिन्छन् । पहिलो, खेलाडीबीच आपसमै तालमेल नहुनु र अर्को ढल्किँदो उमेरका खेलाडी हुनु । मैदानबाहिर नेदरल्यान्ड्सका खेलाडीबीच एकता नभएका घटना थुप्रैपटक सार्वजनिक भए । ड्ेरसिङ रुममा एकता ल्याउने चक्करमा राष्ट्रिय टिमका प्रशिक्षकहरू पनि परिवर्तन भए । तर, नेदरल्यान्ड्सको समस्या ड्रेसिङ रुमका झगडाभन्दा पनि गहिरो छ । त्यहाँको सिस्टमले काम गरिरहेको छैन । रोबेन, स्नाइडर, भान पर्सीजस्ता महत्त्वपूर्ण खेलाडीले ३३ वर्ष काटिसके । र, सही समयमा यिनलाई स्थानान्तरण गर्ने नयाँ खेलाडीलाई तयार पार्ने काममा डच फुटबल चुकेको छ । अहिले उनीहरूसँग प्रतिभावान् युवा खेलाडी त छन् तर राष्ट्रिय टिमको बागडोर सम्हाल्न अझै तयार भइसकेका छैनन् । यसको नियति भोग्दैछ अहिलेको डच फुटबलले । त्यसमाथि आफँैले सुरु गरेको टोटल फुटबल नेदरल्यान्ड्स आफँैले पछ्याउन छाडेको छ । २०१० मा विश्वकपको फाइनलमा स्पेनसँग शारीरिक खेल खेलेको थियो, जसलाई गैरडच फुटबल फिलोसफी पनि भनिएको थियो ।
छनोटमा बुल्गेरियाजस्तो कमजोर टिमसँगको पराजय नेदरल्यान्ड्सलाई भारी पर्यो । अन्तिम खेलमा लग्जेमवर्गलाई आठ गोलले त हरायो । तर, त्यसबेलासम्म उसको समूहबाट विजेताको हैसियतमा फ्रान्स विश्वकप पुगिसकेको थियो भने उपविजेता बन्दै प्ले अफ खेल्ने मौका स्वीडेनले खोसिसकेको थियो ।
इटाली र नेदरल्यान्ड्सपछि विश्वकपमा छनोट हुन नसक्ने अर्को अब्बल टिम हो, चिली । जसले पछिल्ला दुई कोपा अमेरिका जितेको थियो अर्जेन्टिनालाई हराएर । चिलीलाई जुझारु टिमका रूपमा परिचित गराउने प्रशिक्षक थिए– जोर्ज साम्पावली, जो अहिले अर्जेन्टिनामा छन् । २०१५ मा कोपा अमेरिका जितेपछि उनले छोडे र उनको ठाउँमा आए एन्टोनियो पिज्जी । साम्पावलीले छोडेपछि नै चिली हल्का कमजोर भएको भन्नेहरू धेरै छन् । तर, दोस्रोपटक पनि अर्जेन्टिनालाई हराएर कोपा अमेरिका जित्दासम्म पनि चिलीको जुझारूपन बाँकी थियो ।
विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनोटलाई सबैभन्दा गाह्रो मानिन्छ । किनभने, यहाँ एकसे एक अब्बल टिम छन् । तापनि, चिलीका लागि त्यति गाह्रो नहुनुपर्ने हो । किनभने, आर्थुरो भिडाल, एलेक्सिस सान्चेजजस्ता उच्च दर्जाका खेलाडी चिलीका मुख्य हतियार हुन् । छनोट चरणमा चार खेल बाँकी हुँदासम्म चिली राम्रै अवस्थामा थियो । ती चार खेलमध्ये चिली तीनमा पराजित भयो । अन्तिम खेलमा ब्राजिलसँग हारेपछि चिलीले विश्वकप गुमाउने पक्का भएको थियो, जुन उनीहरूका लागि निकै पीडादायी थियो । किनभने, चिली मात्रै एक अंकले छनोट हुन सकेन । अन्तिम चार खेलमा चार अंक मात्रै जोडेको भए पनि चिली छनोट हुन्थ्यो । तर, ऊ तीन अंकमै रोकियो । केही वर्षयता चिलीका जुनियर टिम र घरेलु फुटबलको हालत पनि सन्तोषजनक छैन । यसले चिलीको फुटबल फेरि पुरानै अँध्यारा दिनतिर फर्कने पो हो कि भन्ने डर फैलिएको छ ।
यसपटक विश्वकपमा इटाली, चिली, नेदरल्यान्ड्स र अमेरिकाजस्ता राम्रा टिम छनोट नहुँदा आइसल्यान्ड, पनामा, पेरुजस्ता साना टिमले मौका पाएका छन् । यी साना टिमले छनोट भएका शक्तिशाली टिमलाई रामै्र टक्कर दिए यसपटकको विश्वकप रोचक नै हुनेछ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...