विपक्षीका पनि विशेष
रोनाल्डिन्हो, जसले हालै फुटबलबाट संन्यासको घोषणा गरे
सन् २००२ को विश्वकप क्वाटरफाइनलमा इङ्ल्यान्डविरुद्धको त्यो फ्रि–किक । रोनाल्डिन्होको नाम लिनेबित्तिकै धेरैले त्यही गोल सम्झन्छन् । मैदानको दायाँतिर र इङ्ल्यान्डको गोलपोस्टभन्दा करिब ४० यार्ड परबाट हानेको फ्रि–किकमा उनले गोल गरेका थिए । विश्वकपका उत्कृष्ट गोलको सूची बनाउने हो भने सायदै कसैले रोनाल्डिन्होको त्यो गोललाई छुटाउलान् । त्यही विश्वकपले रोनाल्डिन्होलाई चर्चाको शिखरमा पुर्यायो । सन् २००२ मा विश्वकप जितेको ब्राजिल निकै बलियो टिम थियो । हरेक पोजिसनमा उत्कृष्ट खेलाडी । रोनाल्डो, रिभाल्डो, काफु, रोबर्टो कार्लोस आदि । यस्ता एकसेएक खेलाडीसँगै त्यसबेला ब्राजिलको टिममा सुरुआती ११ मा अटाउनुले नै रोनाल्डिन्हो कुन दर्जाका खेलाडी थिए भन्ने बुझ्न सकिन्छ । मैदानभित्र उनले जे गर्थे र जसरी खेल्थे, त्यो देख्नेजति सबै उनका फ्यान भइहाल्थे । चाहे त्यो ब्राजिलको समर्थक होस् वा नहोस् ।
ब्राजिलका खेलाडीहरू बलसँगको कौशलताका कारण चिनिन्छन् । यसको श्रेय उनीहरू ब्राजिलमा खेलिने बिच फुटबललाई दिन्छन् । ब्राजिलका लगभग सबै खेलाडी बगरको बालुवामा फुटबल खेल्दै हुर्किन्छन् । यसबाट उनीहरूले बलमाथि नियन्त्रण राख्न र मनै लोभ्याउने खालका कौशल सिकेका हुन्छन् ।
रोनाल्डिन्होको बाल्यकाल पनि लगभग यस्तै थियो । उनी दक्षिण ब्राजिलको पोर्टो अलेग्रो सहरमा जन्मिएका थिए । रोनाल्डिन्हो सानै छँदा ब्राजिलमा रोमारियोको चर्चा थियो । जो उनका आइडल पनि थिए । रोमारियोले जस्तै रोनाल्डिन्होले पनि ब्राजिलको राष्ट्रिय टिमबाट खेल्ने सपना बोकेका थिए । तर, बाल्यकालमा रोनाल्डिन्होका लागि प्रेरणाको स्रोत उनकै दाइ रोबर्टो थिए । फुटबल खेल्न उनले रोबर्टोबाटै सिकेका थिए । हृदयघातका कारण पिताको मृत्युपछि उनको परिवार रोबर्टोकै आशमा थियो । त्यतिबेला रोनाल्डिन्हो मात्रै आठ वर्षका थिए । धन्न रोबर्टोलाई ग्रेमियोले अनुबन्ध गर्यो, जसले ब्राजिलको ए डिभिजन लिग खेल्थ्यो । यही क्लबमा रोनाल्डिन्होले अझै सिक्ने र आफूलाई निखार्ने मौका पाए । १८ वर्ष पुग्दा नपुग्दै उनले ग्रेमियोको सिनियर टिमबाट खेले । त्यसपछि त उनको करिअरले जादुयी गति लियो । १९ वर्षमा ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यु गरे, २० वर्षमा फ्रान्सको पीएसजी पुगे, २२ वर्षमा विश्वकप जिते र २३ वर्षको हुँदा बार्सिलोना पुगे । बार्सिलोनामा हुँदा रोनाल्डिन्हो करिअरको उच्च फर्ममा थिए ।
विपक्षी खेलाडी र समर्थकहरूको पनि सम्मान र माया पाउने कमै खेलाडीमा पर्छन् रोनाल्डिन्हो । सन् २००५ मा रियल म्याड्रिडविरुद्ध उसकै मैदानमा रोनाल्डिन्होले दुई गोल गरे । ती दुवै गोल यति स्तरीय थिए कि रियल म्याड्रिडका समर्थकले पनि उनको सम्मानमा ताली बजाएका थिए । एल क्लासिकोमा (रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल) एउटा क्लबको समर्थकले अर्को क्लबका खेलाडीलाई सम्मान गर्नु निकै दुर्लभ घटना हो । रोनाल्डिन्होभन्दा अघि यस्तो सम्मान म्याराडोनाले बार्सिलोनाका लागि खेल्दा सान्टियागो बर्नबाउ (रियल म्याड्रिडको मैदान)मा पाएका थिए । त्यसयता यस्तो सौभाग्य अन्य कुनै खेलाडीलाई मिलेको छैन ।
बार्सिलोनामै पनि उनलाई राम्रो सम्मान गरिन्थ्यो । उनको कुशल खेलबाट सबै कायल थिए । बार्सिलोनाले त सन् २००३ मा उनलाई भित्र्याएपछि क्लबको इतिहास नै बदलिएको मान्छ । किनभने, उनको आगमनसँग बार्सिलोनाको सुखका दिन फर्किएका थिए । त्यसबेला बार्सिलोना एउटा स्तरीय मिडफिल्डरको खोजीमा थियो । सन् २००३ मा डेभिड बेकह्यामलाई म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिडले खोसेपछि मात्रै बार्सिलोनाको ध्यान उनीमाथि परेको थियो । त्यतिबेला बार्सिलोनामा नयाँ प्रशिक्षक आएका थिए, फ्रन्क रायकार्ड । रायकार्ड र रोनाल्डिन्हो आएपछि बार्सिलोनाले घरेलु फुटबलमा राम्रो नतिजा ल्याउन थाल्यो र १४ वर्षपछि बल्ल च्याम्पियन्स लिग पनि जित्यो । यसका लागि रोनाल्डिन्हो मुख्य हतियार थिए । बार्सिलोनामा हुँदै रोनाल्डिन्हो एकपटक बलुन डियोर र दुईपटक फिफा वर्ष खेलाडी पनि बने ।
बार्सिलोनाका आइकनिक खेलाडी जाभीले पनि रोनाल्डिन्हो आएपछि बार्सिलोनाले प्रगति गर्न थालेको बताएका छन् । रोनाल्डिन्हो पाँच वर्ष बार्सिलोनमा हुँदा जाभीसँगै खेलेका थिए । बार्सिलोनाका अहिलेका कप्तान आन्द्रेस इनियस्टाका अनुसार महत्त्वपूर्ण खेलअघि टिमलाई प्रेरित गर्ने अद्भुत क्षमता पनि रोनाल्डिन्होमा थियो । उनको प्रशंसा गरेर नथाक्ने बार्सिलोनाका अर्का खेलाडी हुन्, लियोनल मेसी । जसलाई रोनाल्डिन्होले भाइजस्तै मान्छन् । मेसी अन्तर्मुखी स्वभावका छन् । तर, रोनाल्डिन्होप्रति उनको ठूलै सम्मान छ । यी दुवैलाई आफ्नो पहिलो भेट राम्रै याद छ । मेसी बार्सिलोनाको सिनियर टिमका लागि छानिएका थिए । सिनियर टिमसँगको पहिलो प्रशिक्षणपछि नै रोनाल्डिन्होलाई लागेको थियो, मेसी नै पछि बार्सिलोनालाई माथि पुर्याउने खेलाडी हुनेछन् । रोनाल्डिन्होकै सहयोगमा मेसीलाई सिनियर टिमसँग घुलमिल हुन सजिलो भयो । यहाँसम्म कि बार्सिलोनाका लागि मेसीको पहिलो गोलमा रोनाल्डिन्होले नै पास मिलाइदिएका थिए ।
सन् २००८ ताका रोनाल्डिन्हो चोटका कारण सताइन थाले । त्यसमाथि पेप ग्वार्डिओला प्रशिक्षक बनेपछि उनले बार्सिलोनाको टिम फरक ढंगले बनाउन थाले । र, रोनाल्डिन्हो इटालीतिर लागे । त्यहाँ एसी मिलानबाट उनले लिग पनि जिते । तर, त्यहाँ पनि चोटका कारण उनी त्यति प्रभावकारी भएनन्, जति पाँच वर्ष बार्सिलोनाका लागि थिए । एसी मिलानपछि उनले केही वर्ष ब्राजिलमै लिग खेले र एकपटक मेक्सिको गएर पनि खेले । र, हालै मात्र उनले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् ।
रोनाल्डिन्होको मैदानबाहिरका किस्सा पनि उत्तिकै रंगीन छन् । भनिन्छ, उनी प्रशिक्षणमा खासै ध्यान दिँदैनथे । कहिलेकाहीँ त उनी ट्रेनिङ किटबिनै प्रशिक्षण थलो पुग्थे । किनभने, अघिल्लो रातभरि नै उनी पार्टीमा हुन्थे । उनको यही स्वभावका कारण पीएसजीले उनलाई बेच्ने निर्णय गरेको पनि भनिन्छ । र, बार्सिलोनामा हुँदा पनि उनको यो बानी सुध्रिएन । उनले बार्सिलोना छोड्नुपछाडि चोटबाहेकको अर्को कारण यो पनि होला ।
बार्सिलोना छोडेपछि पनि त्यहाँको इतिहासमा उनको छुट्टै स्थान छ । क्लब र खेलाडी सबैले उनलाई आदर पनि गर्छन् । यस्तै एउटा मन छुने घटना पनि छ । हरेक सिजनअघि बार्सिलोनाले क्लब स्थापना गर्ने जोआन ग्याम्परको नाममा खेल खेल्छ । सन् २०१० मा ग्याम्पर ट्रफीका लागि एसी मिलानलाई निम्त्याइएको थियो । त्यतिबेला रोनाल्डिन्हो एसी मिलानमै थिए । खेल सुरु हुनुअघि खिचिने टिम फोटोका लागि बार्सिलोनाका कप्तान कार्लेस पुयोलले रोनाल्डिन्होलाई पनि बोलाए । सायद यो एक मात्रै यस्तो घटना होला, जहाँ टिम फोटोमा विपक्षी खेलाडी पनि थिए । त्यो पनि विपक्षीकै जर्सीमा । बार्सिलोनाको जर्सी लगाएका ११ खेलाडीसँगै एसी मिलानको जर्सीमा रोनाल्डिन्हो टिम फोटोमा अटाउनुको एउटै कारण छ । बार्सिलोनाको क्लब, समर्थक र खेलाडी सबैले उनीप्रति दर्शाउने सम्मान र माया । त्यसैले उनी आजसम्म पनि बार्सिलोनाका सद्भावना दूत छन् ।
चोटका कारण उनको खेल जीवन एकाएक ओरालो लाग्यो, जसले फुटबल रुचाउने सबैलाई दु:खी बनायो । किनभने, उनको खेल नै त्यस्तै थियो, सबैको मन लोभ्याउने । आठ–दस वर्ष मात्रै उनी उच्च फर्ममा देखिए । र, यत्तिमै उनले ब्राजिलबाट विश्वकप, कोपा अमेरिका र कन्फेडरेसन्स कप सबै एक–एकपटक जिते । यत्तिमै उनले यस्तो खेल देखाए कि उनलाई अझै पनि सबैभन्दा कुशल खेलाडी नै मानिन्छ ।
ब्राजिलका एक पूर्वफुटबल खेलाडी टोस्टाओ त उनीबारे यसरी व्याख्या गर्छन्, “रोनाल्डिन्होसँग रिभेलिन्होको जस्तो ड्रिबलिङ, गेरसनको जस्तो भिजन, गारिन्चाको जस्तो जोस, जर्जिन्हो र रोनाल्डोको जस्तो पेस र पावर अनि जिकोजस्तै प्राविधिक क्षमता र रोमारियोको जस्तै रचनात्मक क्षमता छ ।” यी सबै नामहरू ब्राजिलका सर्वकालीन राम्रा खेलाडी भनेर चिनिन्छन् । सीधा र सजिलोसँग टोस्टाओको कुरा बुझ्न खोज्ने हो भने रोनाल्डिन्हो उत्कृष्ट, जादुयी र पूर्ण फुटबल खेलाडी हुन् ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...