नासिँदै पदमार्ग
बस्ती क्षेत्र समेटिएको परम्परागत सहज पदमार्ग मोटरबाटोले विस्थापित गरेपछि पर्यटन व्यवसायमै संकट मडारिने अवस्था
उत्तरी गोरखालाई जोड्ने गरी थोंचे—लार्केपास ६० किलोमिटर सडक धमाधम चल्दैछ । सडक खण्डको बेनीघाट, आरुघाट हुँदै सोती खोला भएर माछी खोलासम्म सडक खुलिसकेको छ, मनास्लु पदमार्ग मास्ने गरी । नेपाली सेनाले माछी खोलादेखि उत्तर जगतसम्म पहरा भत्काएर सडक खोलिरहेको छ ।
मनास्लु पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रोजाइको केन्द्रबिन्दुमा छ । तर सदियौँ पुराना पदमार्गका ट्रेल (खुड्किला) र त्यस छेउछाउका कुवा, धारा र पाटीपौवा मास्ने गरी सडक खोलिँदैछ, आवश्यकतालाई ख्यालै नगरी । मनास्लु पदयात्रा गरेर फर्किएका वातावरण इन्जिनियर नवराज खतिवडा भन्छन्, “बाटो चाहिँदैन भन्ने त होइन, तर पदमार्गलाई यथास्थितिमा राखेर वैकल्पिक मार्गबाट बाटो खोल्नुपर्छ । सही ढंगले विकास गरेको देखिँदैन ।”
अहिले आरुघाटदेखि माछी खोलासम्म सडक खुले पनि पदयात्रीलाई आरुघाटबाटै हिँडाएर जगत, धाप हुँदै सामागाउँ पुर्याइन्छ । पूरै सडक खुलेपछि यो मार्गमा पदयात्रा समाप्त हुने जोखिम छ । सामागाउँबाट लार्केपास (५ हजार १ सय ६० मिटर) भएर भीमफेदी हुँदै तल झर्न सकिन्छ । बेंसीसहरबाट भीमफेदी हुँदै अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि जान्छन्, पर्यटक ।
८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि जानेहरू प्रायः हेलिकोप्टर चढेर सानागाउँ झर्छन् । र, त्यतैबाट आरोहणमा निस्कन्छन् । नाइकबाट धादिङमा रहेको गणेश हिमाल आरोहणमा पनि जान्छन् । यद्यपि यहाँको सबैभन्दा लामो रुट आरुघाटबाट लार्केपास पुगेर बेंसीसहर झर्ने हो, जुन पदमार्ग संकटमा परेको छ ।
मनास्लु पदमार्गअन्तर्गत बूढीगण्डकी किनारबाट सडक खोल्ने काम धमाधम भइरहेको छ, पदयात्री पनि थुप्रै भेटिन्छन् ।
सडक खोल्ने काम भइरहेकाले धूलो, फोहोर पनि उत्तिकै बढेको छ । व्यवसायमा असर त पर्ने नै भयो । यसरी पहरो फोडेर सडक खोल्ने काम भइरहेकाले जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता रहेको खतिवडा सुनाउँछन् ।
बूढीगण्डकी नदी छेउछेउ आरुघाट, सोती खोला, सिर्दिबास पुग्दा हिमालचुली समानान्तर भइन्छ । बस्ती क्षेत्र समेटिएको परम्परागत सहज पदमार्ग मोटरबाटोले विस्थापित गरेपछि पर्यटकले उपल्लो क्षेत्रको वैकल्पिक पदमार्ग रोज्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।
पर्यटन व्यवसायीको भनाइमा बाह्य पर्यटक विशेषगरी आरोहण र पदयात्राका लागि आउँछन् । उनीहरूको चाहना प्रकृतिको सुन्दरतासँग रमाउने, हिमशृंखला, मनोरम दृश्य, वन्यजन्तु, सम्पदा र संस्कृतिको अवलोकन गर्ने हुन्छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल भन्छन्, “सडक बन्दा आन्तरिक पर्यटक त बढ्लान्, तर बाह्य पर्यटक घट्छन् । पदमार्गलाई पदमार्गकै रूपमा रहन दिनुपर्छ ।”
अन्नपूर्ण पदमार्गको हालत
पदयात्राका लागि सबैभन्दा चल्तीको क्षेत्र हो, अन्नपूर्ण । त्यहाँ मुख्यतः अन्नपूर्ण सर्किट अर्थात् चक्रीय पदमार्ग र अन्नपूर्ण आधारशिविर गरी दुइटा क्षेत्र छन्, यात्राका लागि । कुनै बेला अन्नपूर्ण पदयात्रा पूरा गर्न कम्तीमा तीन साता लाग्थ्यो । तर पदमार्गलाई नै पछ्याएर मोटरबाटो बनाइएपछि यात्रा ६ दिनमै झरेको छ । ट्रेकिङ गाइड सर्की शेर्पा भन्छन्, “बस्ती नभएका ठाउँमा पनि मोटरबाटो पुर्याउन थालिएको छ । यसले ट्रेकिङको के अर्थ रह्यो ?”
कुनै बेला अन्नपूर्ण चक्रीय पदमार्गको रुट लमजुङको बेंसीसहरबाट सुरु हुन्थ्यो । उक्त रुटमा मात्र पदयात्रा गर्न चार–पाँच दिन लाग्थ्यो । अहिले काठमाडौँ वा पोखराबाट हिँडेकै दिन पर्यटक चामे पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु हुन्छ । अचेल बेंसीसहरदेखि चामे हुँदै मनाङसम्मका होटल चल्न छाडेका छन् । पदमार्ग पछ्याएर सडक बनेपछि मोटर गुड्न थालेका छन् । बनेका मोटरबाटो पनि हिउँद र गर्मीयाममा धुलाम्य र बर्खामा हिलाम्य हुन्छन् । दाहाल भन्छन्, “हामी सडक विस्तारका विरोधी होइनौँ, तर स्थापित पदमार्गलाई विस्थापित गर्नुहुँदैन । वैकल्पिक रुटबाट सडक विस्तार गर्न सकिन्छ ।”
चक्रीय अन्नपूर्ण पदमार्ग बेंसीसहरदेखि मनाङ, मुस्ताङ, म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ । बेंसीसहरदेखि चामे तथा चामेदेखि माथिल्लो मनाङ र खाङसारससम्म माक्र होइन, म्याग्दीबाट मुस्ताङको मुत्तिनाथसम्म मोटरबाटो बनिसकेको छ । अन्नपूर्ण आधारशिविरको झिनु र घोरेपानी दुवै क्षेत्रमा सडक बनिसकेको छ ।
अन्नपूर्ण हिमालको उत्तरमा गंगपूर्ण हिमाल, तिलिचो ताल र थोराङ्–ला छन् । यही पदमार्ग नजिकैबाट अन्नपूर्ण आधारशिविर वा माछापुच्छ्रे आधारशिविरको पनि पदयात्रा गर्न सकिन्छ । अन्नपूर्ण पदमार्ग विश्वको १० उत्कृष्ट सूचीमा रहेकामा पदमार्गमै सडक निर्माण भएपछि सूचीबाट हटिसकेको छ । पर्यटन विभागका महानिर्देशक डुण्डुराम घिमिरे भन्छन्, “पदयात्री गाडी चढ्न होइन, हिँड्न आउँछन्, तर सडक विभागले मनोगत ढंगबाट अन्नपूर्ण क्षेत्रमा सडक बनाइदियो ।”
मोटरबाटो बनेपछि सगरमाथा पदमार्ग पनि छोट्टिएको छ । दोलखाको जिरीबाट सगरमाथा आधारशिविरको पदयात्रा तय हुने गरेकामा अहिले रामेछापको शिवालयबाट सुरु हुन्छ । तर पदयात्राका लागि निस्कनेहरू पनि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पदयात्रा गर्छन् । सगरमाथा आरोहणमा जानेहरू प्रायः आधार शिविरसम्मै हेलिकोप्टरमार्फत पुग्छन् ।
रामेछाप सल्लेरीदेखि लुक्लातर्फको सडक विस्तार भइरहेको छ । सोलुखुम्बु खुम्बुपासाङल्हामु गाउँपालिकाको खरी खोलासम्म यसै आर्थिक वर्षमा सडक पुर्याउने लक्ष्य छ । गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाका अनुसार माप्यदूधकोसी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरी खोला पुग्न करिब तीन किलोमिटर बाँकी छ ।
माप्यदूधकोसी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ भने चौंरीखर्कदेखि सुर्केसम्म सडक विस्तार योजना छ । लुक्लासम्मको बाँकी करिब ३० किलोमिटर सडक पनि आगामी आवमा निर्माण गर्ने गाउँपालिकाको योजना रहेकामा पर्यटन व्यवसायीले भने त्योभन्दा अगाडि सडक नबनाउन आग्रह गर्दै आएका छन् । टानका महासचिव आङपेम्बा शेर्पा भन्छन्, “विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमै मोटरबाटो निर्माण गरेर पर्यटन व्यवसायलाई धराशयी बनाउनुहुँदैन । लुक्लाभन्दा माथि सडक बनाए खुम्बुको पर्यटनलाई यथावतराख्न सकिँदैन ।”
१२ वैशाख ०७२ को भूकम्पका कारण क्षतिग्रस्त स्याफ्रुबेंसी–लाङटाङ ४३ किलोमिटर पदमार्ग पुनर्निर्माण भइसकेको छ । अब लाङटाङमा पनि पदमार्ग मास्ने काम सुरु भइसकेको दाहाल सुनाउँछन् । लाङटाङ शृंखला मौसम खुलेका बेला काठमाडौँबाट देख्न सकिन्छ । लाङटाङको दक्षिणतिर गोसाइँकुण्ड ताल छ भने उत्तरतिर केन्जिन गुम्बा ।
उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने समस्या हुन्छ । शेर्पाको भनाइमा पाँच दिन लाग्ने ठाउँमा एक दिनमै पुगेपछि लेक लाग्ने समस्या हुन्छ । त्यसले एकै पटक उचाइमा नभई क्रमशः जानुपर्ने हुन्छ । टान अध्यक्ष दाहाल पदमार्ग मासेर बनाइएका सडकलाई कालोपत्रे गरिनुपर्ने र अबउपरान्त पदमार्ग मास्न नहुने बताउँछन् । भन्छन्, “बिग्रेका ठाउँमा नयाँ पदमार्ग खोल्न सकिन्छ, स्थापित पदमार्गलाई रहन दिनुपर्छ ।”
अहिले लमजुङको बेंसीसहर–खुदी वैकल्पिक पदमार्ग निर्माण गरिएको छ । बेंसीसहरदेखि चामेसम्म नयाँ पदमार्ग निर्माण गरेर पहिलेझैँ पदमार्गको पहिचान गरी चामेसम्म पाँच दिने वैकल्पिक पदमार्ग निर्माणको सामान्य खाका तयार भएको छ । मनाङको स्वर्गद्वारीदेखि पिसाङसम्म वैकल्पिक पदमार्ग निर्माण गरिँदै छ । पर्यटन विभागले मानसरोवर, डोल्पा हुँदै मुगुको रारा ताल जाने वैकल्पिक पदमार्ग पनि बनाउने योजना सार्वजनिक गरेको छ ।
टिम्सको औचित्य कति ?
पदयात्रामा जाने पर्यटकसँग पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) शीर्षकमा शुल्क लिन सुरु गरियो, ०६६ बाट । टिम्स शुल्कको उद्देश्य पर्यटकको सूचना व्यवस्थित गर्ने, पर्यटन मजदुर हितमा खर्चिने र गन्तव्य प्रवर्द्धन गर्ने रहे पनि पर्यटन बोर्ड र टानले ठीक उल्टो गरिदिए । पदयात्रामा समूहमा जानेले प्रतिव्यक्ति एक हजार र व्यत्तिगत रूपमा दुई हजार रुपैयाँ तिरेर टिम्स कार्ड लिनुपर्छ ।
टिम्स शीर्षकमा टानमा बेरुजु छ भने बोर्डले पनि रकम सदुपयोग गर्न सकेको छैन । हाल टिम्स शीर्षकमा ८० करोडभन्दा बढी रकम भए पनि यथार्थ हिसाब सार्वजनिक भएको छैन । टिम्सबाट संकलित रकमको ३०/३० प्रतिशत टान र बोर्डले तथा ३० प्रतिशत दुवैले संयुक्त रूपमा खर्चिने समझदारी छ । बाँकी १० प्रतिशत पदयात्रा मजदुर हितमा खर्चनुपर्छ ।
संकलित रकममध्ये टानले पाउने ३० प्रतिशतको लेखापरीक्षण नभएपछि बोर्डले आव ०७२/०७३ देखि रकम निकासा गरेको छैन । त्यतिखेर महालेखा परीक्षकको प्रतिवेदनमा १४ करोड रुपैयाँ बेरुजु औँल्याइए पनि अझै असुल भएको छैन । टान अध्यक्ष दाहाल भन्छन्, “कोही कसैले बदमासी गर्यो भन्दैमा अनिर्णयको बन्दी बनाउन पाइँदैन । बेरुजु असुल गर्नु ठूलो कुरा होइन ।” बरु त्यसपछि बोर्डको खातामा रहेको रकमको बाँडफाँट गरेर नियमानुसार खर्चिन पाउनुपर्ने उनको माग छ ।
टिम्सका नाममा संकलित रकम दुरुपयोग भएको र पदयात्रा पर्यटनमा केही व्यक्तिले मनोमानी गरेको सरकारी अधिकारीको दाबी छ । लामो समयदेखिको विवादको गाँठो नफुकेपछि सरकारले टिम्स समस्या समाधानका लागि पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेको संयोजकत्वमा हालै मात्र समिति गठन गरेको छ ।
एक महिना समयसीमा पाएको समितिमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल, बोर्ड सञ्चालक समिति सदस्य विप्लव पौडेल र लेखा अधिकृत सन्तोष पन्त सदस्य छन् ।
समितिलाई टिम्सको सान्दर्भिकता, करको अवस्था र सुधारलगायतका विषयमा सुझाव दिने कार्यादेश छ । स्रोतका अनुसार समितिले टिम्सलार्ई खारेजी वा परिमार्जन गर्न सुझाव दिने सम्भावना छ । “टिम्स असजिलो छ । लापरवाही पनि देखिन्छ । पदयात्राका लागि टिम्स लिएर मात्र हिँड्दा सुरक्षा जोखिम पनि देखियो,’ पर्यटन विभाग सूत्रले भन्यो, “बरु टिम्सको सट्टा परमिट लागू गर्न सकिन्छ ।”
कतिपय जानकार यसरी परमिट जारी गरे राज्यलाई राजस्व पनि प्राप्त हुने र त्यसमार्फत पदयात्रामा जाने पदयात्रीलाई बिमा अनिवार्यको सर्त राख्न सकिने बताउँछन् । विभागका महानिर्देशक घिमिरे टिम्स लागू भएदेखिकै रेकर्डको अध्ययन भइरहेको र चाँडै प्रतिवेदन तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरिने बताउँछन् । समितिको सुझावलाई मन्त्रालयले अगाडि बढाए मन्त्रिपरिषद्बाट निर्णय हुनेछ ।
प्रवर्द्धनमा स्थानीय
घनश्याम खड्का/म्याग्दी, – अन्नपूर्ण क्षेत्रमा पदमार्ग नासिने क्रम बढेपछि यहाँका बासिन्दा प्रवर्द्धनमा लागिपरेका छन् । उदाहरण हो, अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पदमार्ग । सरकारले भ्रमण वर्ष– २०२० को पूर्वसन्ध्यामा एक सय गन्तव्यमा अन्नपूर्ण—धौलागिरि पदमार्गलाई पनि समावेश गरेपछि स्थानीयले १८ घरमा होमस्टे सञ्चालनमा ल्याएका छन् । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा भन्छन्, “पुराना पदमार्ग मर्मत र नयाँ पदमार्ग खोजी गर्न लागिपरेका छौँ ।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ, ५ शिख/पाउद्वार, ६ खिवाङ, ७ हिस्तान–८ राम्चे/नागी र पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका समुदाय मिलेर सात वर्षदेखि अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पदमार्ग सञ्चालनमा ल्याएका हुन् । १४, ८ र ६ दिने छुट्टाछुट्टै प्याकेजमा पदयात्रा गर्न सकिन्छ ।
बेनीबाट सुरु पदमार्गबाट नागी, महरे, फूलबारी, हिस्तान, स्वाँता, खोप्रा र खयरबराह तालसम्म पुग्न सकिन्छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पदमार्ग अन्नपूर्ण सर्किटका घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ । “सूचना, प्रविधियुक्त तर सस्तो, सजिलो पदयात्राका लागि यो गन्तव्य उपयुक्त छ,” सामुदायिक पदमार्गका कार्यक्रम संयोजक चित्रबहादुर तिलिजा भन्छन् ।
मगर समुदाय बाहुल्य रहेको पदमार्गभित्रका बाँसखर्क, नागी, टिकोट, खिवाङ, स्वाता, नारच्याङलगायतका गाउँमा पर्यटकलाई बस्न ‘टी–हाउस, क्याम्पेनिङ र होमस्टे सुविधा छ । बस्तीविहीन क्षेत्रमा सामुदायिक गेस्टहाउस खुलेका छन् । पदमार्ग क्षेक्रमा ६ सामुदायिक लज, चार वटा सामुदायिक डाइनिङ हल छन् । बाँकी व्यत्तिगत होटल तथा टी–हाउस हुन् ।
हिमाञ्चल आमा समूह नागीकी अध्यक्ष राममाया पुन पदयात्राका लागि पर्यटक आउँदा आरुबखडाको जाम बनाएर बेच्ने गरेको सुनाउँछिन् । “गाईको दूधबाट चीज बनाएका छौँ । धेरै दिदीबहिनीले च्याउ खेती र ऊनी धागोबाट हातबुना हस्तकला सामग्री बनाएर गाउँघरमै पर्यटकलाई बेच्न पाएका छन्,” उनी भन्छिन् ।
सामुदायिक पदमार्ग व्यवस्थापन समिति र बस्तीअनुसार गठित उपसमितिले व्यवस्थापन र नियमन गर्दै आएका छन् । पदमार्गका सामुदायिक होटल, लज तथा डाइनिङ हलबाट हुने आम्दानीको निश्चित रकम विद्यालय, सडक तथा अन्य सामुदायिक क्षेत्रमा खर्चिने गरिएको छ ।
अन्नपूर्ण र धौलागिरि हिमशृंखलामा सूर्योदय र सूर्यास्तको दृश्य, याक फार्मिङ, जंगल यात्रा, हिमाली ताल र हिमाली वन्यजन्तु एवं पक्षी हेर्न सकिन्छ ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...