पर्यटनमन्त्रीलाई भ्रमण वर्ष सचिवालयकै असहयोग
भट्टराईको प्रयासमा भ्रमण वर्ष सचिवालयकै अघोषित असहयोग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे । भ्रमण वर्ष–२०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि । सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ मंसिरमा ३१ देशका राजदूतसँग पनि गरे ।
दुई दिनका यी घटनाले प्रस्ट पार्छ– भ्रमण वर्ष प्रवद्र्धनको गतिबाट मन्त्री हतास छन् । भ्रमण वर्ष सुरु हुन जम्माजम्मी ३ साता बाँकी हुँदासम्म भ्रमण वर्ष सचिवालयको कछुवा गतिले मन्त्री भट्टराईलाई तनाव त दिएकै छ, त्योभन्दा बढी कार्यक्रम असफलताको निकट पुगेको छ । संयोजक सुरज वैद्यको आनीबानीले नै सचिवालय स्वयं अभियानप्रति गम्भीर छैन भन्ने देखाउन काफी छ ।
संयोजक वैद्य भेटमा मन्त्री र मन्त्रालयका असहयोगको गुनासो सुनाइहाल्छन् अनि सदस्यसचिवमा बच्चुनारायण श्रेष्ठको नियुक्तिप्रति आलोचक देखिन्छन् । तर वैद्य स्वयं मन्त्रीले आयोजना गरेको कार्यक्रममै जाँदैनन् । १९ मंसिरको कार्यक्रममा वैद्यले भारत गएको भनी सहभागी भएनन् ।
विभिन्न दलका नेता तथा भ्रातृसंगठनका नेताहरूसँग छलफल गर्ने त्यस दिनको कार्यक्रममा वैद्य आउने कुरा थियो । अघिल्लो दिनसम्म आउने जानकारी पाएको मन्त्रालयले भोलिपल्ट कार्यक्रम सुरु भएपछि मात्र थाहा पायो, वैद्य नयाँदिल्ली गए । कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि मन्त्रालयमा खबर पठाएका थिए तर केही घन्टामै पोल खुल्यो, वैद्य दिल्ली गएका छैनन् ।
२० मंसिरको बिहानै वैद्यको सचिवालयकी कर्मचारीलाई नेपालले फोन गर्दा दिल्ली नगएको प्रस्टीकरण आयो । १९ मंसिर बिहानैको उडान भए पनि भ्रमण स्थगित भएको सचिवालयकी कर्मचारीले जानकारी दिइन् । वैद्यसँग थप प्रतिक्रिया लिन खोज्दा ती कर्मचारीले ‘वैद्य सरले मान्नुभएन’ भन्ने जवाफ दिइन् । उसो भए दिउँसोको कार्यक्रममा वैद्यको अनुपस्थित किन त ? मन्त्रालयमा वैद्यको असहयोगबारे प्रशस्तै गाइँगुइँ चल्यो । यही उदाहरणले प्रस्ट पार्छ कि संयोजक वैद्यको भ्रमण वर्ष अभियानप्रतिको गैरजिम्मेवारी मात्र होइन, भ्रमण वर्ष– २०२० को प्रभावकारी कार्यान्वयनका लागि मन्त्री भट्टराईको प्रयासमा अघोषित असहयोग पनि देखिन्छ ।
मन्त्री भट्टराई र संयोजक वैद्यबीच सुरुआती दिनबाटै मिल्ती भएन । भ्रमण वर्षको बजेट निर्माणदेखि कार्यक्रम छनोटमा समेत वैद्यले ध्यान नदिएको मन्त्री भट्टराईको गुनासो थियो । भट्टराईले वैद्यलाई भ्रमण वर्षको कामभन्दा विदेश भ्रमण बढी देखेर हुनुपर्छ, अनावश्यक विदेश भ्रमणमा रोक लगाइदिए । वैद्यले आफू निकट मात्र होइन, भेटघाट हुने पत्रकारलाई पनि विदेश जान रोकेको गुनासो सुनाइहाल्थे ।
संयोजक वैद्य कतिसम्म हुस्सु भइदिएका छन् भने भ्रमण वर्ष सुरु हुन २१ दिन बाँकी हुँदासम्म उद्घाटन कार्यक्रमको मोडालिटी तय भएको छैन । मन्त्रालय १ जनवरी २०२० मा भ्रमण वर्ष सुरु भएको उद्घोष गर्न दशरथ रंगशालामा भव्य कार्यक्रम गर्ने तयारीमा छ । तर वैद्य रंगशालामा केही हजार मानिस निम्त्याएर सकाउने सुरमा छन् । उद्घाटनकै ढाँचामा मन्त्री र वैद्यबीच ट्युनिङ नमिल्दा अहिलेसम्म निम्तालुका लागि आवश्यक निमन्त्रणापत्रको ढाँचासमेत तयार भएको छैन । त्यसबारे कार्यक्रम कार्यान्वयन उपसमितिको बैठकमा छलफलसमेत चलाएका छैनन् । सदस्य नवराज दाहाल वैद्यको एकलौटीबाट आजित भएको बताइरहेका छन् । दाहालको भनाइमा वैद्यले एकातिर बैठक बोलाउँदैनन्, अर्कोतिर केही सदस्य कहिल्यै पनि बैठकमा आउँदैनन्, जसलाई वैद्यले नै ल्याएका थिए ।
संयोजक वैद्यलाई देखाउनकै लागि मन्त्री भट्टराईले पार्टीकै कार्यकर्ता बच्चुनारायण श्रेष्ठलाई कार्यविधि नै परिवर्तन गरेर भ्रमण वर्षको सदस्यसचिव बनाए । अनि परामर्शदाता भनेर आफन्त विश्वम्भर घिमिरे र पत्रकार पीताम्बर सिग्देललाई पठाए । श्रेष्ठ स्वयं पर्यटन व्यवसायीभन्दा बढी नेकपाका कार्यकर्ता हुन् अनि घिमिरे क्यानडा बसेर फर्केका हुन् । क्यानडा जानुअघि ०६०/६१ मा बागबजारमा भ्याली इन्स्टिच्युट चलाउने घिमिरे र पत्रकार सिग्देल दुवै पर्यटन क्षेत्रका जानकार होइनन् । पर्यटन क्षेत्र नबुझेको भनेर पर्यटन व्यवसायीले वैद्यको आगमनलाई अस्वीकार गरेका बेला मन्त्रीका ती नियुक्ति पनि खुसी पार्ने भएनन्, जसले भ्रमण वर्ष झन् भद्रगोल भइरहेको छ ।
अहिले मन्त्री भट्टराई संयोजक वैद्यको विकल्प खोज्नुपर्ने मनोविज्ञानमा छन् । मन्त्रालय स्रोतका अनुसार भ्रमण वर्ष उद्घाटनपछि वैद्यलाई हटाउने मनसाय उनको छ । त्यतिबेला अर्को संयोजक ल्याउने वा पर्यटन दशकको रूपमा घोषणा गरेर नेपाल पर्यटन बोर्डले संयोजन गर्ने गरी अगाडि बढ्ने भन्नेमा पनि छलफल जारी छ ।
हुन त मन्त्री आएलगत्तै गत भदौमा वैद्यको विकल्पमा योगेन्द्र शाक्य, प्रचण्डमान श्रेष्ठहरूको नाम चर्चामा नआएको होइन । मन्त्रीले केही पर्यटनविज्ञसँगको छलफलमा एउटा सहमति भएको थियो– संयोजक वैद्यसहित अन्य ६–७ पर्यटनविज्ञ रहने समिति बनाउने र प्रवर्द्धनको संयोजन बोर्डले गर्ने । त्यसमा सहमति जुटेको भोलिपल्ट सचिव केदारबहादुर अधिकारीले ‘मिल्दैन मन्त्रीज्यू’ भनेपछि प्रक्रिया रोकियो ।
मन्त्री भट्टराईको ध्यान नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको नियुक्तिमा पनि परेको थियो । विवादास्पद गतिविधिमा संलग्न भएको र निगमलाई गति नदिएको आरोपमा मन्त्री भट्टराईले १५ साउनमा मन्त्रालय टेकेको साता दिनमै निगममाथि छानबिन गर्न पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा समिति बनाए । समितिले प्रतिवेदन त बुझायो तर मन्त्री भट्टराईले खरेललाई हटाउन सकेनन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री भट्टराईले खरेललाई सहयोग गरिदिन आग्रह गरिसकेका छन् । खरेलले प्रधानमन्त्रीलाई सोधेर निर्णय लिन्छु भनेका थिए तर अहिलेसम्म उनको आधिकारिक धारणा आइसकेको छैन । खरेलले नेवानिलाई अन्तर्राष्ट्रिय उडानमा गति दिने प्रयास गरेका छैनन् । यात्रु कम हुने जापानको ओसाका–काठमाडौँ उडान त गराए तर प्रशस्त यात्रु हुने जापानकै टोकियो–काठमाडौँ र चीनको गोन्जाओ–काठमाडौँ उडानलाई प्राथमिकतामा राखेका छैनन् । जबकि निगमभन्दा पछि बेइजिङ–काठमाडौँ उडानका लागि प्रयास गरेको निजी एयरलाइन्स हिमालय एयरले बेइजिङ–काठमाडौँ उडान सुरु गरिसकेको छ । भ्रमण वर्ष अवसरमा राष्ट्रिय ध्वजावाहक विमानको सीधा अन्तर्राष्ट्रिय उडानका लागि पहल नगर्ने खरेल झापालीको फुर्को जोड्दै प्रधानमन्त्रीलाई रिझाएर पद टिकाउने ध्याउन्नमै छन् ।
सीईओमा अर्कै सुर
परिस्थिति पनि मन्त्री योगेश भट्टराईको प्रतिकूल कसरी बन्दै छ भन्नलाई नेपाल पर्यटन बोर्डको सीईओ प्रकरणले पनि पुष्टि गर्छ । एकातिर भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यको सुस्त गति र सहज पहुँच अभावले भ्रमण वर्षको लक्ष्य बुझ्न र प्रवर्द्धनमा जटिलता थपिएको छ । अर्कातिर, भ्रमण वर्ष घोषणा गर्दाताकाका तीनमध्ये बोर्डका सीईओ दीपकराज जोशी उद्घाटन अवधिसम्म बाँकी रहेका एक मात्र हस्ती हुन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिटकप्टर दुर्घटनामा निधन र सचिव कृष्णप्रसाद देवकोटाको अवकाश भइसकेको छ । संयोग नै मान्नुपर्छ, जोशीको कार्यकाल भ्रमण वर्ष उद्घाटनको सम्मुख ७ पुसमा सकिँदै छ ।
भ्रमण वर्ष उद्घाटनको खड्गो टार्न सीईओ जोशीलाई चैत मसान्तसम्म कार्यकाल थप्ने निर्णय भएको छ । बोर्ड ऐनमा सीईओका कार्यकाल बढीमा चार वर्ष थप्न सकिने व्यवस्थामा टेकेर जोशीलाई ३ महिना कार्यकाल थपिएलगत्तै सीईओका लागि खुला विज्ञापन आह्वान गरियो, जसले सीईओ जोशीको काम गर्ने मनोविज्ञान फितलो हुनु स्वाभाविक छ । जोशीले निकटसँग उद्घाटनका लागि मात्रै थपिएको अवधिमा काम गर्ने कि नगर्ने भन्ने द्विविधा साटिरहेका छन् । सुरुमा कम्तीमा भ्रमण वर्षको एक वर्षे अवधिभर जोशीको कार्यकाल थप्नेबारे छलफल भइरहेको थियो । तर परिस्थिति त्यस्तो बनेन ।
जोशीप्रति सचिव तथा बोर्ड अध्यक्ष केदारबहादुर अधिकारी सकारात्मक छैनन् र मन्त्री अहिलेसम्म तटस्थ छन् । खुला विज्ञापनमा गतिलो उम्मेदवार नआए जोशीलाई सीईओमा दोहोर्याउन सकिनेमा मन्त्री सकारात्मक छन् । परिस्थिति उस्तै परे संयोजक वैद्यको स्थानमा पनि जोशीलाई लैजान सकिनेबारे मन्त्रालयमा गाइँगुइँ चलेको छ ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...