सुदूर हाेइन सुगम पश्चिम
नयाँ परिचयमा बदलिँदै सुदूरपश्चिमको भूगोल
‘डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँफे
मान्छे राम्रो मन मिलेको, चरी राम्रो डाँफे ।’
सुदूरपश्चिमका ९ मध्ये ३ जिल्लाको नाम समेटेर गायक भोजराज भट्टले ०४६ सालतिर गाएको यो गीत रेडियो नेपालमा खुब बज्थ्यो । पश्चिमाञ्चल विकास क्षेत्रबाट छुट्याइएर ०३९ सालमा सेती र महाकालीका ९ जिल्ला समेटेर सुदूरपश्चिमाञ्चल विकास क्षेत्र बनाइएको थियो । गीतमा भनेझैँ सुदूरपश्चिमेली मन उहिल्यैदेखि मिलेको छ । सुदूरपश्चिमकमा मुद्दामा उनीहरू दल, जाति र समुदायभन्दा माथि उठेर मन मिलाउने गरेका छन् ।
यसको उदाहरणका रूपमा राज्य पुनर्संरचनाका बेला सुदूरपश्चिमले अखण्ड सुदूरपश्चिमको माग उठायो । त्यसबेला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमको पुरानो संरचनालाई पुनर्विचार गर्ने प्रस्ताव गरिरहेका थिए । तर पार्टी केन्द्रको निर्णय बेवास्ता गर्दै कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टहरू संयुक्त रूपमा अखण्ड सुदूरपश्चिमको मागमा एकाकार भए । र, साविक सुदूरपश्चिमलाई नै अखण्ड सुदूरपश्चिमको रूपमा स्थापित गराएरै छाडे ।
सुदूरपश्चिमेलीका मन राज्य पुनर्संरचनापछि पनि भाँचिएन । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ०७४ मा प्रदेश ७ को अस्थायी राजधानीका रूपमा कैलालीको धनगढी तोकियो । ०७४ सालको चुनावले प्रदेशसभा गठन गरेपछि सुदूरपश्चिमेलीहरूले फेरि मन मिलाए । प्रदेशसभाबाट यस प्रदेशको नाम सुदूरपश्चिम नै जुराउने सर्वसम्मत निर्णय गरे र राजधानीचाहिँ धनगढीबाट दुई खुड्किलो उत्तर सारेर कैलालीकै गोदावरी राख्ने निर्णय पनि एक मतले गरे ।
सुदूरपश्चिमेलीले देश संघीयतामा गइसकेपछि पनि उसैगरी मन मिलाएर यस प्रदेशको विकासलाई तीव्रता दिनेछन् भन्ने सर्वसाधारणको बुझाइ छ । यस प्रदेशमा कैलाली र कञ्चनपुर तराईका जिल्ला हुन् भने डोटी, डडेलधुरा, अछाम, बाजुरा पहाडका । दार्चुला, बझाङ, बैतडी हिमाली जिल्ला हुन् । राजधानीबाट धेरै टाढा र विकट भएकाले त्यतिबेला यसलाई सुदूरपश्चिमको नाम दिइएको थियो । स्थानीय भन्छन्, “अब यो भूगोल सुदूरपश्चिम होइन । अब त यहाँका सबै जिल्लालाई सडक यातायातले राजधानी र देशका अन्य भू–भागसँग नजिक बनाइदिएको छ ।”
यहाँका ९ मध्ये डडेलधुराबाहेक ८ जिल्लामा विमानस्थल छ । बाजुराको कोल्टी र कैलालीको धनगढी विमानस्थल मात्र अहिले चालू अवस्थामा छन् तर निकट भविष्यमै डोटी विमानस्थल सञ्चालन हुने गरी कालोपत्रे हुँदै छ । यसैगरी अन्य जिल्लाका विमानस्थल सञ्चालन गरेर त्यहाँका मानिसलाई संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी कैलालीसँग नजिकको सम्बन्ध स्थापित गराउने गरी स्थानीय, प्रदेश र संघीय सरकार लागिपरेका छन् ।
खासगरी कञ्चनपुर विमानस्थल सञ्चालन गर्ने हो भने काठमाडौँबाट भारतको नैनीताल जाने पर्यटकलाई नजिकको विकल्प हुनेछ । सडक र हवाई मार्गबाट आउजाउ सहज भइसकेकाले यहाँका कतिपय बासिन्दा र नेताले पुरानै पहिचान दिने नाम सुदूरपश्चिम उति मन पराएका रहेनछन् । उनीहरू आफूलाई सुदूर होइन, सुगम पश्चिमका बासिन्दा भनेर चिनाउन चाहन्छन् ।
प्रदेशसभाले यो पहिचान मेटाएर अर्को कुनै नयाँ पहिचान दिलाउला भन्ने लागेको रहेछ, उनीहरूलाई । मंसिर तेस्रो साता कैलालीको धनगढीस्थित आफ्नै निवासमा यस पंक्तिकारसँग कुरा गर्दै जिल्ला समन्वय समितिका संयोजक सूर्य थापाले भने, “हामी अब साविकका सुदूरपश्चिमेली पहिचानभन्दा बाहिर आइसकेका छौँ । यो भूगोलले सुगम पश्चिम वा सुन्दर पश्चिमको परिचयमा आफूलाई बदल्दै छ ।” प्रदेशमा रहेका २६ तुइनमध्ये २२ वटालाई झोलुंगे पुलले विस्थापित गरिसकेको छ । यसले गर्दा खोला तर्दा अकालमा ज्यान जानुपर्ने बाध्यताबाट मानिसले पार पाएका छन् ।
९ जिल्ला, १ उपमहानगर, ३३ नगरपालिका र ५४ वटा गाउँपालिका भएको यस प्रदेशको क्षेत्रफल १९ हजार ५ सय ३९ वर्गकिलोमिटर छ । ०६८ सालको जनगणनाअनुसार यहाँ २५ लाख ५२ हजार ५ सय १७ जना मानिस बस्छन् । सुदूरपश्चिमको कुल क्षेत्रफलमध्ये ७८.६ प्रतिशतमा खेती गरिएको छ । त्यसमध्ये ४५ प्रतिशत जमिनमा सिँचाइ सुविधा छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान सबभन्दा बढी छ । कृषि तथा वनले ३७.९८ प्रतिशत योगदान गरेको छ ।
यस प्रदेशको मानव विकास सूचकांकमा सबैभन्दा तल पर्ने जिल्ला बाजुरा हो । वर्षाैदेखि यही परिचयमा बाँचेका बाजुरेली अब तंग्रिँदै गएका छन् । जिल्लामा मोटर पुगेसँगै त्यहाँका कृषि उत्पादन पैसासँग साटिन थालेका छन् । खासगरी यहाँको जडीबुटी र सुक्खा फलफूल ओखर, कटुस, डोटीका खसी–बोका तराई र राजधानीका बजारमा पाइन थालेका छन् । यसले सुदूर पहाडका जिल्लाबाट बग्रेल्ती कालापहाड जानुपर्ने बाध्यता क्रमश: घटाउँदै छ । त्यति मात्र होइन, स्थानीय तह गठनसँगै गाउँ जाने बजेट ह्वात्तै बढेकाले विकासको लहर छ ।
कामको खोजीमा कालापहाड जाने युवाहरू अब आफ्नै गाउँमा पसिना पोख्दै परिवार धान्न सक्ने अवस्था सिर्जना हुँदै छ । बाजुराको गौमूल गाउँपालिका अध्यक्ष हरि रोकाया आफ्नै गाउँको उदाहरण दिन्छन्, “गाउँपालिका हुनुअघि मेरो गाउँमा विकास बजेट ४८ लाख रुपैयाँ थियो । सालाखाला ८ लाखका दरले गाउँमा वर्षमा ६ वटा योजना सञ्चालन हुन्थे । तर अहिले विकास बजेट वार्षिक १० करोड रुपैयाँ छ । ३६ वटा योजना सञ्चालनमा छन् । यी योजनामा काम गर्ने आफ्नै गाउँले छन् । यसले रोजगारीका लागि कालापहाड जाने वर्षौ पुरानो चलन अन्त्य गर्दै छ ।” रोकायाले भनेजस्तै पानी र जवानीलाई सुदूरपश्चिमले आफैँ सदुपयोग गर्दै छ, अब । सडक यातायात पुगेसँगै युवाहरू गाउँमा भेटिन थालेका छन् । कृषिमा आधुनिक पद्धतिको उपयोग गर्ने, विकास निर्माणका काममा मजदुरीमा लाग्नेहरूको जमात बढ्दै छ ।
तेस्रो देश तथा भारतका पर्यटकलाई यहाँ भित्र्याउने र केही रात बास बसाउन सक्ने पर्यटकीय गन्तव्य यस क्षेत्रमा प्रशस्त छन् । खप्तड यहाँको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो । यहाँ बाघ, बाह्रसिंगा हेर्न मानिस आउँछन् । त्यस्तै, शुक्लाफाँटा, रामारोशन, कर्णाली र्याफ्टिङ यहाँका पर्यटकीय सम्भावनाका खानी हुन् ।
केही महिनाअघि कैलाली जिससले कर्णालीमा र्याफ्टिङ आयोजना गरेर यसको सम्भावनालाई देशैभरि फैलायो । भारतको नैनीताल जाने देशी तथा विदेशी पर्यटक छिर्ने नाका महेन्द्रनगर नै हो । अर्कोतिर भारतको राजधानी नयाँ दिल्ली महेन्द्रनगरबाट करिब सात घन्टाको दूरीमा छ, जसले सुदूरपश्चिमेलीलाई कहिलेकाहीँ काठमाडौँभन्दा दिल्ली नजिक लागिदिन्छ । महेन्द्रनगरका होटल सञ्चालक भन्छन्, “काठमाडौँ जाने यात्रु पूर्वतर्फ र दिल्ली जाने यात्रु पश्चिमतर्फ सँगै गाडी चढ्यौँ भने काठमाडौँका लागि हिँडेका यात्रु बुटवल पुग्दा पश्चिमका यात्रु दिल्ली पुगिसक्छन् ।”
प्राकृतिक स्रोतका हिसाबले पनि सुदूरपश्चिम अगाडि छ । प्रदेश २ मा भएको कुल जंगलको क्षेत्रफलभन्दा कैलालीमा बढी जंगल क्षेत्र छ । कर्णाली र महाकालीलगायत नदी यहाँ छन् । राष्ट्रिय गौरवका आयोजनामध्ये पश्चिम सेती बहुउद्देश्यीय परियोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना आदि यसै प्रदेशमा पर्छन् । यो सिँचाइ आयोजनाले कैलालीको करिब ३२ हजार हेक्टर सिँचाइ गर्ने हुँदा यहाँको खाद्य उत्पादनमा वृद्धि हुनेछ । चमेलिया, रूपाघाट, डडेलधुरा, बडहरजस्ता विद्युत् आयोजनाले सुदूरपश्चिमलाई उज्यालो पारिरहेका छन् । बडीमालिका, उग्रताराजस्ता धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने मन्दिर यसै प्रदेशमा छन् । पर्यटक तान्ने यहाँको अर्को क्षेत्र शुक्लाफाँटा, खप्तड राष्ट्रिय निकुञ्ज, अपीनम्बा संरक्षण क्षेत्र यसै प्रदेशमा पर्छन् ।
यति धेरै सम्भावना भएको सुदूरपश्चिम अब पछाडि पर्न सक्दैन । यहाँका स्थानीय सरकारले उल्लिखित सम्भावनालाई मजबुत पार्ने र तिनलाई यहाँको जनजीवनको समृद्धिसँग जोड्ने गरी काम गरे भने सुदूरपश्चिमको समृद्धि टाढा छैन । यस प्रदेशको योजना तथा अर्थ मन्त्रालयका सचिव सुमनराज अर्याल भन्छन्, “यो ०३९ सालको सुदूरपश्चिम होइन । यसबीच कर्णाली र महाकालीमा धेरै पानी बगिसक्यो । यहाँको मानव विकास सूचकांक पनि माथि पुगिसक्यो । प्राकृतिक स्रोत, पर्यटन, कृषि र जलविद्युत्ले यस क्षेत्रको समृद्धिलाई सघाइरहेका छन् ।”
सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रलाई थप मजबुत बनाउन प्रदेश सरकारले मंसिर २०–२२ मा वित्तीय सम्मेलन आयोजना गर्यो । सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पेस गरिएको वित्तीय अवस्थाले सुदूरपश्चिमले धेरै निराश हुनुपर्ने अवस्था देखिँदैन । नेपालको बेरोजगारी दर ११.४ प्रतिशत हुँदा सुदूरपश्चिमको त्यसकै हाराहारी ११.५ प्रतिशत छ । नेपालमा पुरुषको मासिक आम्दानी सरदर १८ हजार रुपैयाँ हुँदा सुदूरपश्चिमका पुरुषको आम्दानी १५ हजार २ सय ८ रुपैँया छ । महिलाको आय नेपाली महिलाको औसत आम्दानीसरह मासिक १२ हजार रुपैयाँ छ । समग्र नेपालको अर्थतन्त्रको वृद्धिदर ६.८१ प्रतिशत हुँदा सुदूरपश्चिमको वृद्धिदर यसकै हाराहारी ६.२५ प्रतिशत छ ।
सुदूरका सबैमा अहिले उत्साह छ, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राजधानी नजिकै भयो । गाउँका सरकार झन् नजिक भए । संघीय राजधानी विशेष कामबाहेक धाउनु पर्दैन । यहाँका बासिन्दामा पहिलादेखि रहेको हीन भावना सुदूर भाग्दै छ । आत्मविश्वास, जाँगर र एकता बोकेर यहाँका बासिन्दा नयाँ परिचय बनाउन लागेका छन्, यतिबेला ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...