'एयरलिफ्ट'मा खाडी युद्धको एक पाटो
फिल्ममा हिरोइक भूमिकाबिनै पनि अक्षय कुमारले आफूलाई हिरोका रूपमा प्रमाणित गरेका छन् ।

विश्व राजनीतिमा कुवेतमाथिको इराकी हमलालाई धेरैले बिर्सेका छैनन् । सन् १९९० अगस्टमा इराकले रातारात छिमेकी कुवेतमाथि हमला गरेर एउटा सार्वभौम राष्ट्रलाई आफ्नो १९औँ प्रान्त घोषणा गरेको थियो । कुवेतसँग लिएको ठूलो ऋण रकम चुक्ता गर्न गाह्रो परिरहेको इराकले हमलाको केही महिनादेखि उसैलाई तेल चोरीको आरोप लगाएको मात्र थिएन, तेल उत्पादन कम गर्न दबाबसमेत दिइरहेको थियो ।
त्यस्तो परिवेशमा मध्यपूर्वका यी दुई पेट्रोलियम शक्तिबीचको तनाव अस्वाभाविक त थिएन तर देशै कब्जा होला भन्ने तहको पनि थिएन । इराकको कब्जाबाट हटाउन अमेरिका एक्लैले सात लाख सैनिक मरुभूमिमा उतारेपछि खाडी युद्ध सुरु भएर सात महिनापछि इराक पछाडि हट्न विवश भएको थियो ।
राजकृष्ण मेनन निर्देशित एयरलिफ्ट यही पृष्ठभूमिमा बनेको बलिउड चलचित्र हो । तर, फिल्मको केन्द्रीय कथामा भने भारत छ, जहाँ युद्धग्रस्त कुवेतमा त्यसबेला रहेका १ लाख ७० हजार भारतीयको उद्धार कसरी गरियो भन्ने देखाइएको छ ।
एक भारतीय व्यापारी रञ्जित कटियाल (अक्षयकुमार) कुवेतमा जमेर बसिरहेका हुन्छन् । उनको ‘डिल’ कुवेती अमिर तहसम्म हुन्छ । त्यही दम्भले गर्दा उनी आफूलाई कुवेती भन्नमा गर्व गर्छन् । आफ्नै कम्पनीमा काम गर्ने भारतीयप्रति समेत उनको व्यवहार फरक हुन्छ । जब रातारात कुवेती भूमिमा इराकी सैनिकहरू छिरेर बमबारी र हत्या गर्न थाल्छन्, रञ्जित भारतीय दूतावासतर्फ लाग्छन् । बाटोमा आलाकाँचा इराकी सेनाले अरबीमा बोल्ने उनका ड्राइभर लाई कुवेती सोचेर हत्या गर्छन् । रञ्जित भने भारतीय भनेकै कारण बाँच्छन् । दूतावाससमेत केही गर्न नसक्ने अवस्थामा हुन्छ ।
केही दिनमा इराकी सरकारले एकै देशमा दुईवटा मिसन नचाहिने भन्दै कुवेतमा रहेको भारतीय दूतावाससमेत बन्द गरिदिन्छ । त्यहाँ रहेका भारतीयहरू शरणार्थी बन्छन् । अनि, रञ्जितमा एकाएक पलाउने भारतीय भावना र त्यसकै भरमा १ लाख ७० हजारको एयरलिफ्टसम्मको कथा फिल्ममा छ ।
त्यतिखेरको कमजोर भारत, अहिलेजस्तो व्यावसायिक नभइसकेको भारतीय विदेश मन्त्रालयको परिवेशले त्यो किन भन्ने देखाउँछ । रञ्जितको आफ्नै बचेखुचेको साख, उसको लगाव र भारतीय विदेश मन्त्रालयमा रहेका एक सामान्य कर्मचारीको समन्वयले गैरसैन्य हवाईजहाजले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो उद्दार कार्य सफल भएको हुन्छ । सुरुमा युद्धग्रस्त क्षेत्रमा उड्न नमानिरहेका एयर इन्डिया र इन्डियन एयरलाइन्स पछि कसरी राजी भए भन्ने बलियो कारण दर्शकले भेट्दैनन् ।
भारतीय स्वतन्त्रता दिवसका अवसरमा रिलिज गरेर फिल्मले भारतीय राष्ट्रियतामा एउटा जुनुन थप्न सफल भएको छ । प्राय: एक्सन र कमेडीका लागि गनिने अक्षय कुमारले एयरलिफ्टमार्फत आफूलाई नयाँ धारमा अब्बल साबित गरेका छन् । हिरोइक भूमिकाबिनै पनि उनले आफूलाई हिरोका रूपमा प्रमाणित गरेका छन् । युद्धको परिवेश रहेतापनि फिल्ममा आङ जिरिङ्ग पार्ने हिंसाभन्दा मन अमिलो पार्ने ‘आफ्टरम्याथ’ दृश्य हुनु सबल पक्ष हो ।
बलिउडे शैलीका गीत छैनन् यसमा । लन्चबक्समा एउटा मध्यमवर्गीय गृहिणीमा आफूलाई अब्बल देखाएकी निम्रत कौर (रञ्जितकी श्रीमती) व्यापारी पत्नीमा समेत उत्तिकै स्वाभाविक लाग्छिन् । इराक–कुवेत सम्बन्ध र खाडी युद्धबारे बढी नै अपेक्षा गर्नेका लागि भने फिल्मको दायरा साँघुरो हुन सक्छ । कला निर्देशन अब्बल भएकै कारण भारतकै गुजरात र राजस्थानमा दोस्रो भाग र यूएईमा तयार पारिएको पहिलो भागको सेटले कुवेत राम्रैसँग झल्काउन सफल छ । समग्रमा एयरलिफ्ट
हेरेर निस्किँदा सायदै कोही दर्शक पछुताउनुपर्नेछ ।
—-
रेटिङ: ४/५