पशुपतिप्रसाद: पाप र मोक्षको द्वन्द्व
पशुपति क्षेत्रवरिपरि घुमे पनि फिल्मभित्र घृणा, द्वेष, पैसाको अतिरेक मोह, नक्कली र बनावटी धर्मभिरुहरू र फुल्नै नपाई झरीजाने फूलजस्तो प्रेम सबै अटाएको छ ।
प्रसिद्ध धर्मस्थल मात्रै नभएर पशुपतिनाथ मन्दिर र त्यसको सेरोफेरो जीवनका बहुल आयामका संंगम हुन् । जसरी मिसिएको छ वाग्मतीमा ढल, त्यसरी नै त्यहाँ धर्म, मोक्ष र मृत्युको संगमभित्र लोभ र पापको रंग पनि मिसिएको छ । र, यही तथ्यलाई पर्दामा उतारेको छ फिल्म पशुपतिप्रसादले । हिरो/हिरोइनको तिलस्मी प्रेम, कुनै खलनायकको मारधाड र फिल्मको नामजस्तै कुनै धर्मग्रन्थमा आधारित केही कथा छैन यसमा । भूकम्पले घर भत्किएर बुबाआमा मरेपछि र साहूको ऋण तिर्न मीतबाको खोजीमा पशुपति छिरेको तन्नेरी पशुपतिप्रसादको कथा हो । ऋण नतिरी बुबाआमाको अस्तु नसेलाउने कसम खाएर पशुपति क्षेत्र छिरेपछि उसले देख्ने जीवनका आयामकै वरिपरि कथा घुमेको छ ।
पशुपति क्षेत्रवरिपरि घुमे पनि फिल्मभित्र घृणा, द्वेष, पैसाको अतिरेक मोह, नक्कली र बनावटी धर्मभिरुहरू र फुल्नै नपाई झरीजाने फूलजस्तो प्रेम सबै अटाएको छ । दिनभर लास जलाउने र साँझ मदिराको मातमा आफैँलाई भुल्ने मीतबाले पशुपतिप्रसाद अर्थात् खगेन्द्र लामिछानेलाई ओत मात्रै दिँदैनन्, पैसाका निम्ति सहरमा के–के हुन्छ भन्ने पनि बताउँछन् । साथै, पैसा नकमाई जिन्दगी कहिल्यै उज्यालो हुँदैन भनेर सिकाउँछन् । संकल्प बोकेर सहर पसेको पशुपतिलाई जसरी पनि पैसा नकमाइ हुँदैन । त्यसैले उसले मीतबाको भनसुनमा पशुपति घाटमा जलाएर फ्याँकिएका दाउरा जम्मा गर्ने काम पाउँछ ।
पहिल्यैदेखि घाटमा दाउरा टिप्ने र नदीमा फालिएका पैसा र बेलाबखत चितामा राखिएको शवको शरीरबाट निकालेर नदीमा फ्याँकिएका सुनका मुन्द्री, औँठी, फुली टिपेर धनी बन्ने सपना देखेका रैथाने आवाराहरूले पशुपतिलाई देखिसहँदैनन् । फिल्ममा देखिने द्वन्द्व यिनै आवारा र पशुपतिबीचमा सीमित छ । तर, पशुपतिप्रसादको मनभित्र चल्ने अनेकौँ उहापोह भने फिल्मको सुरुदेखि अन्त्यसम्मै देख्न पाइन्छ । मोक्षका लागि संघर्ष गरिरहेकाहरूले पापको घडा पत्तै नपाई कसरी भरिरहेका हुन्छन्, त्यही देखाउन खोज्नु फिल्मको मर्म हो ।
समाजदेखि भाग्न पशुपतिमा हनुमानको मुकुुण्डो पहिरेर बसेका हनुमानजी अर्थात् रवीन्द्रसिंह बानियाँको भूमिका उम्दा छ । करुणा र शोक, विद्रुपता र निरीहतालाई देखाउन फिल्ममा स–साना सन्दर्भको सहायता लिइएको छ । गाउँलेको भूमिकामा खगेन्द्र जसरी खुलेका छन्, आवाराको भूमिकामा विपिन कार्की जमेका छन् । मीतबा प्रकाश घिमिरेको अभिनय वजनदार छ । सुरुआत र अन्त्यका केही दृश्य सुस्त लागे पनि दर्शकलाई फिल्मले बाँधिराख्छ । म्युट न्यारेसनका रूपमा देखाइएको अन्तिम सात–आठ मिनेटले हलबाट निस्कने बेलामा दर्शकको गह साह्रै भरिलो बनाउँछ । यो नै फिल्मको शक्ति हो । रचनात्मक दृश्यको अभाव, समयसँगै बदलिने पशुपतिको दृश्य फिल्ममा खट्किन्छन् । दृश्यले भन्नुपर्ने केही कथामा संवादकै प्रयोग गरिएको छ । यसबाहेक फिल्ममा खोट लगाउने ठाउँ छैन ।
रेटिङ: ४/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...