व्यंग्यका नयाँ बादशाह
विदेशमा लोकप्रिय बनेको स्ट्यान्ड–अप कमेडी नेपालमा बामे सर्दै
कुनै बेला हास्यव्यंग्यमा अरूको नक्कल अपरिहार्य ठानिन्थ्यो । क्यारिकेचरमा पात्रकै हाउभाउ र वेशभूषा । अझ हास्य कलाकार आफ्नो परिचयभन्दा पात्रबाट लोकप्रिय हुन्थे ।
नेपाली हास्यव्यंग्य यसरी नै हुर्की बढ्यो । अघिल्लो पुस्तालाई भैरव अर्यालका हास्यव्यंग्यले गोरेटोमा हिँड्न कुनै न कुनै रुपमा मद्दत मिल्यो । अहिलेका स्थापित प्राय: हास्य कलाकार त्यही ढोका पार गर्दै आएका हुन् । कति सफल भए, कतिले आधा बाटोमै सपना मोडे ।
अहिले अवस्था फेरिएको छ, नौलो प्रविधिमा नयाँ अभ्यास । हास्यव्यंग्यका अनेकन ढोका खुलेका छन् । जस्तो, स्ट्यान्ड–अप कमेडी । पछिल्लो पुस्ताले रुचाएको यो शैली नेपालमा बामे सर्दै छ । स्ट्यान्ड–अप कमेडियनमध्येका एक हुन्, आदर्श मिश्रा । उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा दुई वर्षदेखि स्ट्यान्ड–अप कमेडी गर्दै छन् ।
सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर हास्यव्यंग्य गर्ने उनका पछिल्ला शृंखलामा दाइजो प्रथा, खुला दिसापिसाब, छोराछोरीबीचको भेदभाव समेटिए । जारी कमेडी च्याम्पियनका प्रतियोगी उनका यी शृंखलाले सामाजिक दायित्वबोध गरेको छ । भलै उनी ‘हास्य कलाकारले सामाजिक मुद्दा उठान गरेको नभई फरक शैलीबाट दर्शकलाई हँसाएको’ रुपमा व्याख्या गर्छन् । मिडिया स्टडिज अध्ययन गरिरहेका मिश्रा धाराप्रवाह कमेडी मात्र गर्दैनन्, बीचबीचमा ‘भोजपुरी लवज’ ले झनै मिठास थपिदिन्छन् पनि ।
बीचबीचको व्यंग्यले हाँसोको फोहोरा छुट्छ । उनी भन्छन्, “कति सजिलै हँसायो भन्ने लाग्छ होला तर कक्षामा झैँ बसेर स्क्रिप्ट लेख्नुपर्छ, रट्नुपर्छ । हँसाउन झन् गाह्रो छ ।”
विदेशका टेलिभिजन हेरेर कमेडीको मजा लिने युवायुवतीले अहिले स्वदेशमै हास्यरस पाएका छन् । ०४२ मा नेपाल टेलिभिजनको स्थापना भएपछि यहाँ पनि हास्यव्यंग्य विधाले उचाइ नपाएको होइन । तर टेलिभिजन सेटमा हास्यसिरियलको ग्ल्यामर बिस्तारै ओरालो लाग्यो, अहिले औँलामा गन्न सकिने मात्र छन् । लुट सिनेमाले व्यंग्य क्षेत्रलाई मलजल गर्यो नै । स्थापित कलाकार हास्य सिनेमातिर लागिरहेका बेला अवसरको ढोका खुलेको
छ, हास्यव्यंग्यमा ।
युट्युब च्यानलमा उपलब्ध स्ट्यान्ड–अप कमेडीलाई मलजल गर्ने काम कमेडी च्याम्पियनले गरिदिएको छ । यही शैलीलाई पछ्याउँदै छन्, हिमेश पन्त । उच्च शिक्षाका लागि धादिङबाट काठमाडौँ पुगेका उनी रसायनशास्त्रका विद्यार्थी हुन् । लक्ष्य वैज्ञानिक बन्ने अनि रुचि हास्यव्यंग्य । भन्छन्, “कमेडीमा समय दिन सक्छु भनेरै रसायनशास्त्र रोजेको हुँ । कमेडीलाई दिनको केही घन्टा दिएर अगाडि बढाइरहेको छु ।”
अहिले पछ्याइहेको स्ट्यान्ड–अप शैली नेपाली परिवेशका लागि नौलो भए पनि क्रेज बढेको उनी ठान्छन् । पन्त कमेडी च्याम्पियनका प्रतियोगी मात्र होइनन्, विद्यार्थी हँसाउन स्कुल, कलेजसमेत पुग्छन् ।
हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ हिँडेका विष्णुप्रसाद गौडेल (मेक्साम) सानो छँदै तर्कवितर्क गर्थे । अरुभन्दा फरक लवज र शैलीबाट प्रस्तुत हुन्थे । हरेक विषयलाई रोचक ढंगबाट प्रस्तुत गर्दा साथीभाइ हाँस्थे । उनी हास्य कलाकारको प्रस्तुति सुनेर र हेरेर सिक्न थाले ।
जानीनजानी गाउँघरमै कला प्रस्तुत गरिरहेका उनी कमेडी च्याम्पियन हुने भएपछि यहाँ आए, भाग लिए । गौडेललाई यहाँको अभ्यास नौलो लाग्यो । स्क्रिप्ट लेखेर पहिलो पटक अभ्यास गर्ने मौका पाए । भन्छन्, “मेरो कार्यक्षेत्र हास्यविधा नै हो भनेर अनुभूति भइसकेको छ ।”
हास्य कलाकारलाई लागिरहन्छ– दर्शकले प्रस्तुति मन पराउँछन् कि पराउँदैन्, हँसाउन सकिएन भने ? उनी भन्छन्, “स्टेजमा चढ्दै गर्दा हँसाउन सकिएन भने सफल भइँदैन कि भन्ने पीर त हुन्छ नै ।” हास्य कलाकारमा ह्युमर चाहिन्छ नै । ह्युमर त्यो हो, कमेडी सुनेपछि धेरै समयपछि पनि सम्झिएर हाँसून् । त्यसका लागि पन्चलाइन चाहिन्छ नै । व्यंग्य त्यो हो, जसमाथि गरिएको छ, त्यही मान्छे पनि सुनेर हाँसोस् ।
सुमन कोइरालाको ‘दले दाइ’ प्रस्तुतिको पात्रमध्येका एक थिए, प्रधानमन्त्री केपी ओली । ‘... हुँदैन म बाहिरका दलाली हायर गर्दिनँ । मेरो काम त विष्णु भाइ नै हेर्छ’ समेटिएको व्यंग्य ओलीले सुने सायदै हाँसो थाम्न सक्लान् । सामाजिक र राजनीतिक विषयलाई केन्द्रमा राखेर हँसाउने कोइराला ‘पन्चलाइन’ मा माहिर छन् ।
इटहरीबाट डेढ वर्षअघि काठमाडौँ छिरेका उनी टेलिफिल्ममा आबद्ध थिए । भन्छन्, “सिक्ने क्रममा छु । स्टेज चढ्दा दर्शक हाँसून् भन्ने हुन्छ । नयाँ–नयाँ अभ्यासका क्रममा कहिले राम्रो भइदिन्छ, कहिले बिग्रन्छ नै ।”
काठमाडौँ सपनाको सहर । सपनाको भारी बोकेर आउने कति सफल हुन्छन्, कति सपनाकै भारीमा थिचिन्छन् । सहर अवसरको खोजी पनि हो । मोरङका सुमन कार्की पनि हास्य कलाकारको सपना बोकेरै चार वर्षअघि मोरङबाट काठमाडौँ हिँडेका हुन् । अहिले कमेडी च्याम्पियनमा हँसाइरहेका सुमनलाई हास्यव्यंग्यबाटै जिन्दगीको उडान भर्नु छ । भन्छन्, “हास्यव्यंग्यमै लाग्छु भनेर समय खर्चेको छु । यसबाहेक विकल्प छैन, जति घोटिनुपर्छ, यसैमा कर्म गर्छु ।”
अहिले यी हास्य कलाकारलाई हरेक साता नयाँ–नयाँ अनि अब्बल प्रस्तुति कसरी दिने भन्ने चिन्ता हुन्छ । बाटो, बजार र यात्रामा कमेडीका ‘पन्चलाइन’ भेटिने गरेको कार्की सुनाउँछन् ।
हास्यव्यंग्यमा अरुलाई उडाउँदा दर्शक झन् खुसी हुन्छन्, हाँस्छन् भन्ने भ्रम पनि छ । तर दर्शकले खोज्ने यथार्थपरक हास्यव्यंग्य हो । कतिपय यस्ता कलाकार हुन्छन्, जो आफैँमाथि व्यंग्य गरेर दर्शकलाई हसाउँछन् । तीमध्येका हुन्, रोल्पाली युवक खड्गबहादुर पुन मगर । भन्छन्, “मेरो आफ्नै भोगाइ फन्नी छ । दर्शकले रुचाइदिनुभएको हो ।” दुई वर्षअघि काठमाडौँ पुगेका उनी हास्यव्यंग्यबाहेक नृत्य र कोरियोग्राफी गर्छन् । दोहोरीसाँझका जागिरे पनि ।
स्ट्यान्ड–अप कमेडी क्यारिकेचरभन्दा भन्दा जोखिमपूर्ण हुन्छ नै । मिश्रा भन्छन्, “क्यारिकेचरमा एउटा पात्र हुन्छ, पात्रका कुरा बोलेर निस्कन्छ । आफैँ भएर बोल्दा झन् जोखिम हुन्छ नै । दर्शक रिसाउने
पनि मसितै हो ।”
आ–आफ्नो ठाउँमा दर्शक, श्रोतालाई हँसाइरहेका यी हास्य कलाकारले प्लेटफर्म पाएका छन् । कमेडी च्याम्पियनबाट यिनीहरुको कला लाखौँ दर्शककहाँ पुगेको छ । यससँगै चुनौती पनि बढेको छ । कार्की भन्छन्, “अब प्रस्तुतिका लागि माग आउँछ तर त्यसको यही शैली र अब्बलता कायम गर्न सकिन्छ कि नाइँ भनेर डर हुन्छ नै ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...