किडन्यापर दरबारमार्गमा प्यारासाइट फिल्मको डिभिडी बाँडिरहेको थियो
साँझपख, म बुलडोजरमा घर फर्किरहेकी थिएँ । त्यो किडन्यापरलाई मैले दरबारमार्गको जेब्रा क्रसिङमा देखेँ । ऊ बाटो काटिरहेका मानिसलाई डिभिडी बाँडिरहेको थियो ।
सधैँजसो आलोचना हुन्थ्यो- ओस्कार अमेरिकी र पश्चिमा फिल्मका लागि हो । तर यसपटक एसियाली फिल्मले यो अवार्ड जितेको छ ।
२७ जुनको घमाइलो र ताजा बिहानी । चिट्ठा थुत्ने दिन । गाउँले एकै ठाउँ भेला भए । गर्मीको छुट्टी भएकाले विद्यालय बन्द थियो । त्यसैले सबैभन्दा पहिले बालबालिका पुगे अनि अभिभावक ।
नाचगानपछि जसै चिट्ठा खुल्छ । गाउँलेमध्ये एक जनाको नाम ब्ल्याक बक्समा हुन्छ । जसको नाम आउँछ, ऊ अगाडि आउँछ । वर्षौँदेखिको परम्परा पछ्याउँदै मिस्टर समरले सबैलाई एकपछि अर्को चिट लिन बोलाउँछन् । चिट लिँदै खाली भएको देखाउँदै एकपछि अर्को गाउँले फर्किन्छन् ।
त्यहाँ हट्चिनसनको परिवार पनि हुन्छ । पत्नी टेसी हट्चिनसन ढिलो गरी पुग्छिन् । टेसी आउँछिन्, चिट लिन्छिन्, त्यहाँ कालो थोप्लो हुन्छ । त्यो थोप्लो हिजो राती मात्रै मिस्टर समरले लगाएका थिए । टेसी कराउँछिन्, याचना गर्छिन्, उनको आर्तनाद न त गाउँलेले सुन्छन्, न त उनका पति र छोराछोरीले ।
गाउँलेले थुप्रै परम्परा बिर्से पनि ढुङ्गा हान्न भने बिर्सेका छैनन् । बालबालिकाले अगाडि नै थुपारेका ढुङ्गाहरु सबैले हातहातमा लिन्छन् । मिस्टर समरले सुरु गरौँ भनेपछि टेसीमाथि ढुङ्गा हान्न थाल्छन् । यो भयानक कथा हो सर्ले ज्याक्सनको । भर्खरै ओस्कार विजेता चलचित्र प्यारासाइट हेर्दा त्यस्तै भयानक अनुभव हुन्छ । प्यारासाइट अर्थात् परजीवी । अरुका भरमा जीवन बाँच्ने ।
दक्षिण कोरियाली चलचित्र प्यारासाइटको कथा परजीवीको यसै गुण भन्नुस् या अवगुण वरिपरि घुमेको छ । राजधानी सोलमा दुईवटा परिवार बस्छन् । पार्कको परिवार धनी छ भने किमको परिवार गरिब । कथा सुरु हुन्छ किमको परिवारबाट ।
चलचित्रको पहिलो दृश्य नै किमको परिवारले घरबाट बाहिर हेर्दा सडक देखिन्छ । झ्यालनजिकै जँड्याहाले पिसाब फेरेको दृश्यले किमको परिवार तल्लो स्तरको जीवन बाँच्न कति विवश छ भन्ने देखाउँछ । उनीहरु बस्ने घर सडकमुनि पर्छ ।
एउटा परजीवीले जसरी पृथ्वी र अन्य प्राणीलाई भीमकाय देख्छ, किमको परिवारले त्यस्तै देख्छ बाहिरी संसार । किम परिवारमा पिता कि टिक, आमा चुङ सुक, छोरी कि जोङ (जेसिका) र छोरा कि ऊ (केविन) छन् । उनीहरु पिज्जा राख्ने बक्स बनाउने काम गर्छन् ।
एक दिन छोरा केविनको धनी साथी मिन ह्युक घर आउँछन् । मिनले हजुरबुबाको महँगो ढुङ्गा र केविनका लागि आफ्नी प्रेमिकालाई अंग्रेजी पढाउन अफर दिन्छ । केविनले अंग्रेजी जाने पनि ऊसँग त्यसको प्रमाणपत्र हुँदैन । अन्तत: मिन र बहिनी जेसिकाको सहयोगमा उसले नक्कली प्रमाणपत्र बनाउँछ ।
प्रख्यात आर्किटेक्ट नामगुङ ह्युनजाले डिजाइन गरेको पार्क परिवारको घर भव्य छ । घरअगाडि ठूलो हरियो चउर, फराकिलो बैठक कोठा, आरामदायी फर्निचरले केविनलाई लोभ जगाउँछ । केविनले पार्क परिवारका सानो छोरा दा सङका लागि अमेरिकाबाट पढेर आएको कला शिक्षक र थेरापिस्ट भन्दै बहिनी जेसिकाको नाम सिफारिस गर्छ । यस्तै, जेसिका पार्क परिवारको पहिलेको गाडी चालकलाई षड्यन्त्रपूर्वक निकाली पितालाई चालकमा राख्छिन् । पार्क परिवारको हाउसकिपर मुन क्वाङलाई आरुको एलर्जी हुन्छ । तर टीबी लागेको भनेर किम परिवारले षड्यन्त्र बुन्छ र अन्तत: आमा चुङ सुकले सो ठाउँ लिन्छिन् । यसरी पूरै परिवार पार्क परिवारका लागि काम गर्न थाल्छन् । आनन्दमयी जीवन बितिरहेको थियो । केविन पार्ककी छोरीसँग रोमान्स गरिरहेका थिए । जेसिका र आमाबुबा पनि मस्त थिए ।
एक दिन पार्क परिवार बाहिर बस्ने गरी जान्छन् । किम परिवारका सबै जना रक्सी खाँदै, रमाउँदै हुन्छन् । केविन पार्क परिवारकी छोरीसँगको प्रेमप्रसंग परिवारलाई सुनाउँछन् । आमाबुबा हुनेवाला बुहारीका लागि पो काम गरिरहेको भन्दै खुसी हुन्छन् । त्यही हाँसो र खुसीका बीच नसोचिएको पाहुना आइपुग्छ घरमा । त्यसपछि जे हुन्छ, त्यसले दर्शकको मथिंगल नै खल्बल्याइदिन्छ ।
यही चलचित्र प्यारासाइटले ओस्कार अवार्डको ९२ औँ संस्करणमा ४ वटा अवार्ड जितेको छ । ६ वटा विधामा मनोनीत भए पनि उसले ४ वटा अवार्ड हात परेको हो । कोरियन भाषामै बोलेर पनि ओस्कार जित्ने प्यारासाइट पहिलो चलचित्र बनेको छ । यसले सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र, निर्देशन र पटकथामा जित्दै इतिहास रचेको छ ।
बोङ जुङ होको लेखन तथा निर्देशनमा बनेको फिल्म हेर्दा कहिले किताब पढेको अनुभव हुन्छ त कहिले नाटक हेरेजस्तो । नबोलाइएका पाहुना एक्कासि टप्किँदा र घटनाक्रम जसरी अघि बढ्छन्, त्यो हेर्दा थ्रिलर पढेको भन्दा कम छैन । किमको परिवारले गलत गरेको थाहा पाए पनि यथार्थ खुल्न लाग्दा दर्शकको आङ सिरिङ्ग हुन्छ ।
यी ‘ग्रे’ पात्रहरुमाथि माया र दया एकसाथ आउँछ दर्शकमा । मुटु हत्केलामा हाल्नुपर्ने दृश्य थुप्रै छन्, प्यारासाइटमा । चाहे पार्क पतिपत्नीले बैठक कोठामा सम्भोग गर्दा टेबलमुनि लुक्न विवश किमका पिता, छोरा र छोरी हुन् या आधा रातमा किम भाग्न खोज्दा पार्कले समात्लान् कि भन्ने डर ।
यो पनि पढ्नुस
साँझपख, म बुलडोजरमा घर फर्किरहेकी थिएँ । त्यो किडन्यापरलाई मैले दरबारमार्गको जेब्रा क्रसिङमा देखेँ । ऊ बाटो काटिरहेका मानिसलाई डिभिडी बाँडिरहेको थियो ।
प्यारासाइटको सिनेम्याटोग्राफी अद्भुत छ । कथाकारले कथा बताउँदा केवल पात्रलाई मात्र ध्यान दिएका छैनन्, तिनको प्रस्तुतीकरण पनि उत्कृष्ट छ । जस्तो : सुरुमै किम परिवार, उनीहरुको बैठक कोठा र त्यो कोठाको झ्यालसँग सीधा जोडिएको सडक देखाउँदा दर्शकले बुझ्न सक्छन्, पात्रको साँघुरो दृष्टिकोण । आफै काम गरेर सुखी जीवन जिउने लालसाभन्दा पनि अरुकै सम्पत्ति हत्याएर रमाउने लालसा जीवनको बुझाइ साँघुरो लाग्छ ।
यस्तै, मिस्टर पार्कले किम परिवारबारे गरेको एउटै प्रतिक्रिया धनी र गरिबबीचको खाडल दर्साउन काफी छ । एक दृश्यमा पार्कले चालक (पिता किम) बाट एक किसिमको दुर्गन्ध आउने पत्नी लाई सुनाउँछन् । धनीका लागि गरिब काम गर्ने मान्छे मात्र हो । त्यसले पुँजीवादी समाजलाई पार्कको दृष्टिकोणबाट गतिलो झापड हानेको छ । दर्शकले क्लाइमेक्स अनुमान गरे पनि छायांकनले सेक्सपियरका नाटकको झझल्को दिन्छ । साथमा प्रत्येक पात्र आफ्नो चरित्रमा फिट छन् । सब–टाइटल पढ्नुपर्ने बाध्यता भए पनि चलचित्र हेर्दै जाँदा दृश्यमै भुलिन्छ ।
थ्रिलर र ब्ल्याक कमेडी विधामा बनेको प्यारासाइटले ओस्कारमा मनोनीत भएदेखि नै तहल्का मच्चाएको थियो । आईएमडीबीमा १० पूर्णांकमा ८.६ पाएको प्यारासाइटले मार्टिन स्कोर्सिसको द आइरिसम्यान र क्वेनटिन ट्यारान्टिनोको वन्स अपन अ टाइम इन हलिउडलाई पछि पारेको थियो । पुरस्कार लिँदै बोङ जुङ होले मार्टिनको भनाइ द मोस्ट पर्सनल इज द मोस्ट क्रियटिभ (सबभन्दा व्यक्तिगत नै सबैभन्दा रचनात्मक हुन्छ) उद्धृत गर्दै धन्यवाद दिँदा मार्टिनका आँखा रसाएका थिए ।
यसपालि ओस्कारमा पनि गोराहरुलाई बढी मनोनीत गरेको भन्दै आलोचना भएको थियो ।
उत्कृष्ट अभिनेताको पुरस्कार फिल्म जोकरका लागि वाकिन फिनिक्सले जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म जुडीका लागि रिनी जेलवेगरको पोल्टामा परेको छ । उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको प्रोडक्सनमा बनेको अमेरिकन फ्याक्ट्रीले जितेको छ ।
यस्तै, उत्कृष्ट सहअभिनेताको पुरस्कार वन्स अपन अ टाइम इन हलिउडका लागि अभिनेता ब्राड पिटलाई दिइएको छ । यस्तै, यही विधा अन्तर्गत उत्कृष्ट सहअभिनेत्रीको अवार्ड म्यारिज स्टोरीका लागि लारा डर्नले जितेकी छन् ।
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...