शाकाहारी संसार
अंग्रेजी वर्ष २०१४ को अन्तिम साँझ । दरबारमार्गस्थित रेस्टुराँ मोती महल डिलक्समा खुट्टो टेक्ने ठाउँ थिएन ।
सोही दिन महाराजगन्जस्थित शुद्ध शाकाहारी रेस्टुराँ बोधी गार्डेन पुग्दा भरिभराउ ग्राहक देखिन्थे । कोही साथीसँग त कोही परिवारसँग शाकाहारी भोजनको स्वाद लिँदै नयाँ वर्षको स्वागत गरिरहेका थिए । मोती महलनजिकैको अर्को शुद्ध शाकाहारी रेस्टुराँ लिटिल इटली र बत्तीसपुतलीको होटल मिराज लड्र्समा रहेको ब्लु कोरियान्डर रेस्टुराँ पनि शाकाहारी खान्कीका पारखीले भरिएको थियो । उसो त नयाँ वर्ष आगमनको उत्सव भएर मात्र होइन, अन्य सामान्य दिनमा पनि शाकाहारी रेस्टुराँमा ग्राहकको भीड हुन्छ, जो आफूलाई मन परेको शाकाहारी परिकारका लागि महँगो मूल्य तिर्न आनाकानी गर्दैनन् ।
काठमाडौँ उपत्यकामा ठूला लगानीका शुद्ध शाकाहारी होटल तथा रेस्टुराँ बढ्नु र त्यहाँ ग्राहकको भीड लाग्नुले मीठो भनेकै मासु भन्ने सोचमा आएको परिवर्तनलाई प्रतिविम्बित गर्छ । खास गरी हाम्रै गाउँघरतिर पाइने अन्न र सागपातबाट भिन्न-भिन्न स्वादका परिकार तयार हुन थालेपछि शाकाहारी परिकार मासुको खरो विकल्पका रूपमा देखिएको हो । स्वास्थ्यलाई फाइदा पुर्याउने, उत्तिकै स्वादिष्ट र तुलनात्मक रूपमा सस्तो पनि भएपछि शाकाहारी परिकारको 'क्रेज' बढेको शाकाहारी परिकारका सेफ सुबोध पाण्डेको अनुभव छ ।
बत्तीसपुतलीको पाँचतारे होटल द्वारिकाज र मांसाहारी परिकारको ब्रान्डका रूपमा स्थापित बाजेको सेकुवाको आडैमा रहेको होटल मिराज लड्र्समा शुद्ध शाकाहारी रेस्टुराँ सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण थियो । मासुका परिकारबिना रेस्टुराँ चल्दैनन् भन्ने सोच भएकाले ब्लु कोरियान्डरलाई पनि घाटाको डर नदेखाइएको होइन । तर, यथार्थ त्यस्तो छैन । स्थापनादेखि नै व्यापार उकालो लागिरहेको यसका बिक्री तथा बजार प्रमुख विजेन्द्रभक्त भुजु सुनाउँछन् । मोती महल गत साउनदेखि शाकाहारी रेस्टुराँमा परिणत भएको हो । विदेशी र सहरिया मध्यम तथा उच्च वर्गको अखडा मानिने दरबारमार्गमा शाकाहारी रेस्टुराँको कमी थियो । यद्यपि, अझ पनि रेस्टुराँ छिरेपछि अधिकांशको रोजाइमा मासुकै परिकार पर्ने भएकाले धेरैले डुब्ने चिन्ता व्यक्त गरेको प्रबन्धक सुवेदी सम्झन्छन् । तर, छोटै अवधिमा मोती महल दरबारमार्गकै व्यस्त रेस्टुराँमा गनिन थालेको छ ।
बोधी गार्डेनको कथा अझ रोचक छ । हजारौँ नेपाली कामको खोजीमा मलेसिया पुगेका छन् तर जुईं गों भने मलेसियाबाट नेपालमा आई यो शुद्ध शाकाहारी रेस्टुराँ सञ्चालन गरेर मनग्ये आर्जन गरिरहेकी छन् । भाइ गों बुनिङसँग मिलेर करिब एक दशकअघि उनले यो रेस्टुराँ सञ्चालनमा ल्याएकी थिइन् । स्थापनाको केही वर्ष रेस्टुराँ टिकाउनै धौधौ पर्यो । 'भेज' भन्नासाथ मान्छेहरू तर्किएर हिँड्थे, मुन्टो बटार्थे । तर, बिस्तारै उनले ग्राहकको ध्यान तान्दै गइन् । "नेपालमा शाकाहारी भनेको सागपात मात्र हो भन्ने सोच रहेछ," गों भन्छिन्, "त्यो बिस्तारै हटाउँदै लग्यौँ । अहिले त हामीलाई ग्राहकको कमी छैन ।"
शाकाहारी खाना मात्र 'सर्भ' गर्ने क्याटरिङ खोलिसकेकी उनी छिट्टै रेस्टुराँको शाखा खोल्ने तयारीमा छन् । उनको रेस्टुराँमा नेपालमै पाइने भटमास, फापर, मकै, गहुँजस्ता अन्न र काउली, बन्दा, आलुलगायतका तरकारीलाई भिन्न-भिन्न स्वादमा ढालेर बनाइएका परिकारले ग्राहकलाई तानिरहेका छन् । जसमा लक्की रोल, ब्ल्याक ब्युटी प|mाइड जिन्जर, गोल्डेन क्रिस्पी लक्की स्लाइस, हाम्रोनी डिलाइटलगायत परिकार निकै लोकपि्रय छन् । शाकाहारी खाद्यान्नबाट नयाँ र स्वादिलो परिकार बनाई ग्राहकलाई लत लगाउने आवश्यकता रहेको उनको धारणा छ ।
नियमित मासु खानेहरू वाक्क भइसकेका छन् । एकातिर हिंसालाई प्रोत्साहन गरेको चिन्ता छ भने अर्कोतिर स्वास्थ्यमा उत्तिकै समस्या । वर्ड फ्लु, स्वाइन फ्लुजस्ता रोगले मासुप्रतिको वितृष्णा अझ बढाएको छ । ननभेजकै 'फ्लेभर'मा पाइने शाकाहारी परिकारले मासुको स्वादलाई बिर्साउँदै लगेको छ । मोती महलमा दर्जनभन्दा ज्यादा लोकपि्रय मांसाहारी मुगल परिकारलाई शाकाहारी स्वरूपमा ढालिएको छ, जसले ग्राहकको मन जितिरहेको छ । जस्तो ः चिकन वटर मसलालाई वटर पनिर मसला, मटन बिरयानीलाई हैदरवादी बिरयानी, चिकेन टिक्कालाई अचारी पनिर टिक्का, कबाब मसलालाई भेज कबाब अनि चिकेन तन्दुरीलाई तन्दुरी आलु । हेर्दा यी शाकाहारी परिकार मांसाहारीजस्ता लाग्छन् । र, मांसाहारीको स्वाद भुलाउँछन् पनि । मसला कम प्रयोग गरेर पनि शाकाहारी परिकारलाई स्वादिलो बनाउन सकिन्छ ।
रमाइलो त के भने शाकाहारी रेस्टुराँमा झुम्मिने ग्राहक शाकाहारी मात्र हुँदैनन् । सञ्चालकहरूका अनुभवमा उनीहरूका अधिकांश ग्राहक मांसाहारी हुन्छन् । त्यसैमध्ये एक हुन्, ब्लु कोरियान्डरमा भेटिएका अनिल ज्ञवाली । केहीअघिसम्म उनी मासुका पारखी थिए । खाना होस् वा खाजा, मासु छुट्दैन्थ्यो । मांसाहारीकै स्तर र स्वादमा शाकाहारी परिकार पाइने सुनेपछि एक दिन ब्लु कोरियान्डर छिरे । स्वाद पनि मीठो र शरीरलाई पनि फाइदा हुने भएपछि अचेल आफ्नो ध्यान शाकाहारी परिकारतिर बढी जान थालेको उनी बताउँछन् । "पहिले शाकाहारीभन्दा नाक खुम्च्याउनेहरू नै हाम्रो रेस्टुराँमा नियमित आउँछन्," ब्लु कोरियान्डरका बिक्री तथा बजार प्रमुख भुजु भन्छन्, "सोचसँगै स्वादमा आएको परिवर्तनको परिणाम हो यो ।"
आलु उसिनेर, पोलेर, साँधेर, तारेर तथा झोल हालेर खाँदा एक-अर्काको स्वाद मिल्दैन । मासुको सेकुवा वा तन्दुरी जे भए पनि अलग स्वाद हुँदैन । "पहिले भेज मःम वा चाउमिनबाहेक अरू शाकाहारी परिकार हुँदैन भन्ने सोचाइ थियो," सेफ पाण्डे भन्छन्, "तर, अचेल मासुकै हाराहारीमा शाकाहारी परिकार पाइन्छ ।" उनी मकै, गहुँ, चामल, कोदो, फापर, जौजस्ता अन्नको प्रयोग गरेर शाकाहारी परिकारको दायरा बढाउनुपर्ने बताउँछन् । सायद शाकाहारी रेस्टुराँमा देखिने भीड यही विविधता र नयाँपनका पारखीको हो । गुह्येश्वरीको होटल महादेव, ठमेलको रेस्टुराँ ओआरटुके, एकान्त कुनाको एकओके टेक, आँगन, संगम, अनमोल, रामेश्वरमजस्ता शाकाहारी फास्ट फुड चेनमा पनि शाकाहारी पारखीको भीड धेरै हुन्छ ।
परम्परागत रूपमा नेपाल धार्मिक आधारमा शाकाहारी जनसंख्या ठूलै भएको देश हो । शाकाहारी खाना दाल, भात, तरकारी र अचारमा सीमित थिए । स्वास्थ्य चेतना बढेकै कारण शाकाहारी हुनेको संख्या उल्लेख्य रूपमा बढिरहेको छ अचेल । र, मांसाहारीजस्तै शाकाहारी परिकार पनि धेरैका जिब्रोमा झुन्डिन थालेका छन् । किनभने, आलु, काउली, बन्दाजस्ता सामान्य लाग्ने तरकारीबाट फरक परिकारको प्रयोग नेपाली भान्छा, होटल वा रेस्टुराँमा भइरहेको छ । आहारशैली विज्ञ राजु अधिकारी भन्छन्, "मासुको विकल्प खोजिरहेका बेला नयाँ र स्वादिलो शाकाहारी परिकार पाउन थालेपछि हाम्रो जिब्रोको स्वाद फेरिएको हो । यसले खाना र स्वादको परम्परागत मानक भत्किएको संकेत गर्छ ।"
खाद्य पदार्थमा पाइने तत्त्वको मात्रा
खाद्यको नाम कार्बोहाइड्रेट प्रोटिन चिल्लो
सेतो चामल ७७.२ ८.५ ०.२
गहुँ १२.८ ११.८ १.५
मकै ६६.२ ११.१ ३.६
फापर ६०.६ १०.३ २.४
चना ६१.८ १७.१ ५.३
कालो भटमास २३ ३३.३ १५
रायोको साग ५.१ ५.१ ०.४
काउली ७.६ ५.९ १.३
प्याज सुकेको ११.६ १.२ ०.१
स्याउ १३.४ ०.२ ०.५
अदुवा १२.२ २.३ ०.९
खसीको मासु ० १८.५ १३.३
कुखुराको मासु ० २५.९ ०.६
नयाँ शाकाहारी परिकार
गोल्डन क्रिस्पी लक्की स्लाइस
कुखुराको सपेटाजस्तो देखिए पनि यो मैदा र भटमासबाट बनाइएको हुन्छ । खाँदा कुरूम-कुरूम हुन्छ ।
हार्मोनी डिलाइट
च्याउ, मस्यौरा र गााजरलाई अदुवाको झोलमा राखेर यो परिकार तयार पारिएको हुन्छ ।
तन्दुरी स्टफ आलु
आलु उसिनेपछि गोलो बनाएर काटिन्छ र भित्र मसला राखेर तन्दुरी गरिन्छ ।
ब्ल्याक ब्युटी प|mाइड जिन्जर
झट्ट हेर्दा माछाको स्लाइसजस्तो लाग्ने यो परिकार कालो र सेतो च्याउबाट बनाइएको हुन्छ । अदुवाको मसलामा डुबाएपछि अझ स्वादिलो हुन्छ ।
कराही पनिर स्पाइसी
प्याज, गोलभेँडा, काजु, खर्बुजाका दाना, अदुवा र खुर्सानीको धूलोलाई कराहीमा हालेर केही बेर चलाइन्छ । ग्रेभी भएपछि त्यसमा पनिरका टुक्रा राखेर फेरि चलाइन्छ ।
लक्की रोल
मैदामा तोफु हालेर मोलिन्छ । त्यसको बीचमा तील राखेर गााजर र सिमीको टुक्रा राखेपछि यो विछट्टै स्वादिलो परिकार बन्छ ।
सुस्वास्थ्यका लागि शाकाहारी भोजन
- डा अरुणा उप्रेती
एक डाक्टरले ७७ वषर्ीया महिलालाई भने, 'तपाइर्ं माछामासु खानुहँुदो रहेनछ । शरीरमा लौहतत्त्व, क्याल्सियम आदिको कमी हुन सक्छ ।' तुरुन्तै उनले रगत जचाइन् । रिपोर्ट आएपछि डाक्टर नै आश्चर्यचकित भए । उनको शरीरमा कुनै पनि सूक्ष्म तत्त्वको अभाव देखिएन ।
प्रोटिनको कमीले शाकाहारी मानिस अस्वस्थ हुन्छ भन्ने विचार नै गलत छ । हाम्रो भान्सामा भएका चामल, कोदो, फापर, जौ आदिमा पनि प्रोटिन हुन्छ । चामल र दाल मिसाएर खाँदा शरीरलाई कार्बाेहाइड्रेट, प्रोटिनका साथै अन्य पोषकतत्त्व प्राप्त हुन्छ । चना, भटमास, सिमीलगायत दलहन प्रोटिनका राम्रा स्रोत हुन् । एक सय ग्राम भटमासमा ४२-४३ ग्राम प्रोटिन पाइन्छ ।
शरीरको वृद्धि र विकासका लागि अत्यावश्यक पोषक तत्त्व हो प्रोटिन । प्रोटिनले इन्जाइम र हर्मोनको समेत काम गर्छ । एक स्वस्थ व्यक्तिलाई उसको तौल जति हुन्छ, त्यति ग्राम प्रोटिन भोजनबाट प्राप्त हुनुपर्छ । जस्तो ः ६० किलोको एक व्यक्तिलाई एक दिनमा ६० ग्राम प्रोटिन चाहिन्छ तर खेलाडी, गर्भवती, सुत्केरी, बच्चा आदिलाई केही बढी प्रोटिन चाहिन्छ ।
प्रत्येक ठाउँमा आफ्नो भूगोल, संस्कृति, हावापानी र वनस्पति अनुसारको भोजन हुन्छ । तिब्बतमा गएर सबै जना शाकाहारी हुनुपर्छ भनेर भन्यो भने अव्यावहारिक हुन सक्छ । नेपालका पनि कतिपय भागमा वनस्पति कम उब्जने र भेडा पालेर जीवन धान्ने मानिसलाई मासु नखाऊ भन्नु व्यावहारिक नहोला । तर, जो शाकाहारी छन्, तिनीहरूलाई मासुुमै जोड देऊ भन्न मिल्दैन । तर, शाकाहारीका नाममा पत्रु खाना खाइयो भने पनि स्वास्थ्य राम्रो हुन्न ।
कतिपय व्यक्ति मासु खाँदैनन् तर मिठाई, चटपटे, गुँदपाक, लड्डु आदि बढी खाएर मुटुको रोग, मधुमेहका बिरामी भएका छन् । शाकाहारीका नाममा दूध, दही, चिजसमेत नखाँदा पनि शरीरमा भिटामिन बीको कमी हुन सक्छ । दक्षिण भारतमा वैष्णव धर्म मान्ने समुदायमा यस्तो समस्या देखिएको छ ।
शाकाहारी भोजनमा पर्याप्त मात्रामा रेसादार पदार्थ पाइन्छ । त्यसैले कब्जियतको समस्या हँुदैन । मासु बढी खाने मानिसमा कब्जियतको समस्या हुन्छ र यसबाट उम्किन औषधी खानैपर्छ । माछामा पाइने ओमेगा-३ आलसमा पर्याप्त पाइन्छ । मांसाहारीले प्राप्त गर्ने तिनै लौहतत्त्व शाकाहारीले पालुंगाको साग, दाल, तरकारी र फलामको भाँडामा पकाएर खाँदा पाउँछन् ।
दाल खाँदा शाकाहारीको पेटमा गड्याङगुडुङ हुन या ग्यास पैदा हुन सक्छ । त्यसलाई कम गर्न दाललाई एक राती भिजाएर या टुसा उमारेर पकाउने र दाल पाकेपछि हिङ र जिराले झानेर खानु राम्रो हो । टुसा उमारेका खानामा भिटामिन र खनिज पाइने भएकाले पौष्टिक दृष्टिले निकै उपयोगी छ । यो सामान्य मानिसका लागि वरदान नै हो । यसले सस्तोमा सन्तुलित खुराक प्रदान गर्छ ।
चिनियाँले चाउमिन, सुपजस्ता खानामा भटमास वा मुगीको टुसा हजारौँ वर्षदेखि प्रयोग गर्दै आएका छन् । यस किसिमको खानाको शैली संसारभर लोकपि्रय छ । यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । वरिपरि भएका भोजनलाई सदुपयोग गर्न जानियो भने कुपोषणको सिकार हुनु पर्दैन । भन्नुको तात्पर्य के हो भने मासु वा माछाबाट प्राप्त हुने सबै पोषण शाकाहारी भोजनमै छ ।
म आफैँ पनि २० वर्षयता शाकाहारी छु । ५५ वर्ष पुग्दा पनि कुनै शारीरिक समस्या छैन । कहिलेकाहीँ विदेश जाँदा शाकाहारी भोजन खोज्न एक-दुई ठाउँ बढी घम्नुपरेको भने छ । दुवैथरी भोजन गर्नेले के बिर्सनु हँुदैन भने बरू १५-२० मिनेट सूर्यको किरण नपर्दा शरीरमा भिटामिन डीको कमी हुन सक्छ ।
शाकाहारी मानिस जीवनको अन्तिम समयसम्म पनि स्वस्थ भएर बाँचेका उदाहरण छन् । मेरी बज्यै ९९ वर्षको उमेरमा बित्नुभयो । उहाँ खेतीकिसानी गर्नुहुन्थ्यो । अन्तिम समयसम्म पनि मानसिक रूपमा स्वस्थ हुनुहुन्थ्यो । के खाने, कस्तो खाने भन्ने कुरा हरेक व्यक्तिको परिवेशमा भर पर्छ । त्यसैले मांसाहारी व्यक्ति ठीक होइन भन्न मिल्दैन । शाकाहारी व्यक्ति स्वस्थ रहन सक्दैनन् भने तर्क पनि विज्ञानसम्मत छैन ।
शाकाहारीका अभियन्ताहरु
नेवार समुदायमा अन्डा, माछा र रक्सीलाई सगुन मानिन्छ । विवाह, भोजभतेर तथा अन्य धार्मिक कार्यमा मासु अनिवार्य हुन्छ । तर, त्यही समुदायका विकेश श्रेष्ठ, ५१, भने प्रमुख शाकाहारी अभियन्तामध्ये गनिन्छन् । ३१ वर्ष मासु खाएका विकेश शाकाहारी बनेको दुई दशक नाघिसकेको छ । युरिक एसिड र माइग्रेनले सताएपछि उनले मासु छोड्नुपरेको थियो । शाकाहारी बनेपछि दुवै रोग निको हुनुका साथै शरीरमा स्फूर्ति बढेको उनको अनुभव छ । त्यसयता उनी सक्रिय ढंगले शाकाहारी अभियन्ताका रूपमा अघि बढेका छन् ।
शारीरिक रूपमा तन्दुरुस्त हुनुका साथै आध्यात्मिक शान्ति पनि मिलेपछि आफू 'शाकाहारी बनौँ' अभियानमा लागेको उनको भनाइ छ । कुनै समय उनी मांसाहारी खानेकुराले मानव जीवनमा पुर्याउने हानिबारे पर्चा निकालेर बाँड्थे भने अचेल फेसबुकमा सक्रिय छन् । उनले फेसबुकमा चलाएको 'लेट्स बी भेजिटेरियन' -शाकाहारी बनौँ) गु्रपमा २६ हजारभन्दा बढी सदस्य छन् । उनी भन्छन्, "शाकाहारी हुनु धार्मिक, आध्यामिक र शारीरिक सबै हिसाबले फाइदाजनक छ । बिस्तारै सबैले यो कुरा बुझ्छन् ।"
पछिल्लो समय नेपालमा शाकाहारी हुने लहर चलेको छ । प्रकृतिप्रेमी समूहमा मात्र १० हजारभन्दा बढी सदस्य छन् । स्वास्थ्य, पशु अधिकार, पर्यावरण, धार्मिक र आध्यात्मिकलगायत कारणले शाकाहारी हुने क्रम बढेको पशुपति क्ष्ाेत्र विकास कोषका सदस्य-सचिव गोविन्द टण्डनको अनुभव छ । ०४८ देखि उनी औ पचारिक रूपमा पशुबलि निषेध चेतना अभियानमा लागेका छन् । जसले प्रत्यक्ष रूपमा शाकाहारी हुन प्रेरित गरिरहेको छ । हिजो धर्मका नाममा पशुबलि चढाउनेहरू पनि हच्किएका छन् । टन्डन भछन्, "कारण जेसुकै भए पनि शाकाहारी हुने लहर बढेको छ । चेतना अभिवृद्धि गर्दै जाने हो भने मांसाहारीप्रति सबैको वितृष्णा उत्पन्न हुन्छ ।"
१५-२० वर्षअगाडि पनि मानिस धार्मिक कारणले मात्र शाकाहारी हुन्थे । तर, अहिले स्वास्थ्य र अहिंसावादी सोचले मानिसलाई शाकाहारी संसारमा डोर्याइरहेको उनको अनुभव छ । उनकै नेतृत्वमा ०६६ सालमा अर्घाखाँचीका ४२ वटै गाविसमा नौ महिनासम्म शाकाहारी अभियान चलाइएको थियो ।
शाकाहारीको पक्षमा वकालत गर्ने उद्देश्यले करिब ६ वर्षअगाडि नेपाल शाकाहारी संघ स्थापना भएको थियो । सुरुको केही समय सक्रिय भए पनि बिस्तारै निष्त्रिmय हुँदै गयो । संघ फेरि जुर्मुराउने तयारीमा रहेको विकेश बताउँछन्् । त्यस्तै, शाकाहारी समाज, नेपाल अहिंसावादी संगठन आदिले पनि शाकाहारी अभियानमा धेरथोर योगदान पुर्याइरहेका छन् ।
शाकाहारीको जनसंख्या कति छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । नेपालमा संस्थागत रूपमा शाकाहारी अभियान अगाडि बढ्न नसके पनि विश्वभर यस खालका अभियानले तीव्रता पाइरहेका छन् । जसमध्ये भेजिटेरियन क्लब, गो भेगन, गो गि्रन, जस्टिस फर एनिमल, भेज ह्याप्पिनेस आदि प्रमुख हुन् । "यस्ता अभियानको प्रभाव धेरेथोर नेपालमा पनि परिरहेका छन्," अभियन्ता विकेश भन्छन्, "युवा वर्ग पनि यसप्रति चनाखो हुनु थप खुसीको कुरा हो ।"
नेपाल मात्र होइन, विकसित देशमा पनि भेजप्रति युवा पुस्ताको क्रेज बढ्दो छ । पशु अधिकारकर्मी जोनाथन फोयरको अनुमान अनुसार अमेरिकामा कलेज अध्ययनरत १८ प्रतिशत विद्यार्थी शाकाहारी जीवन बाँच्छन् ।
आहारशैली विज्ञ राजु अधिकारीले पछिल्लो ६ वर्षमा ४० हजार भन्दा बढी व्यक्तिलाई खानपानका बारेमा तालिम दिइसकेका छन् । जसमध्ये अधिकांश मांसाहार थिए तर निकै चिन्तित । स्वास्थ्यमा असर पुर्याइरहेको छ भन्ने जान्दाजान्दै पनि मासु छोड्न सक्दैनथे । किनभने, जिब्रोमा स्वाद बसिसकेको थियो । अधिकारीको निष्कर्ष छ, "मांसाहारीका असरबारे उचित परामर्श र शाकाहारी खानामा विविधता पाउने हो भने मासुप्रतिको मोह भंग हुँदै जान्छ ।"
फाइदै-फाइदा
"हामीले मासु खानु भनेको पेट्रोलबाट चल्ने गाडीमा मट्टीतेल हाल्नुजस्तै हो । जसले हानि मात्र गर्छ," मानव चेतना र योगविज्ञानमा देव संस्कृति विश्वविद्यालय, भारतबाट विद्यावारिधि गरेका राजु अधिकारीको यही भनाइले मांसाहारी खाद्यान्न मानव शरीरमा कति हानिकारक छ भन्ने अनुमान लगाउन सकिन्छ । चिकित्सा क्षेत्रमा भएका अध्ययन-अनुसन्धानले पनि मानव स्वास्थ्यका लागि माछा, मासु र अन्डा घातक हुने निचोड निकालेका छन् । हृदय रोग, मधुमेह, असन्तुलित रक्तचाप, खराब कोलेस्ट्रोल, प्रोस्टेट, क्यान्सर तथा अनियन्त्रित मोटोपनजस्ता प्राणघातक समस्या मांसाहारीको तुलनामा शाकाहारीमा अत्यन्त न्यून रहने अमेरिकी डाइटेटिक एसोसिएसनको निष्कर्ष छ ।
नेपालमा भने अझ पनि मासु खाएन भने कमजोर भइन्छ भन्ने भ्रम हटेको छैन । प्रोटिनका लागि त मासु अनिवार्य खानुपर्छ भन्ने भ्रम छ । तर, चिकित्सकहरू एउटा वयस्क मान्छेलाई चाहिने पर्याप्त प्रोटिन खैरो चामलबाटै पाइने बताउँछन् । गाउँघरतिर पाइने भटमास, चना, मुगीको दाल, भटमास, मस्याङजस्ता द्विदलीय अन्नमा पनि पर्याप्त प्रोटिन पाइन्छ -हेर्नूस्, चार्ट) । "मासुको प्रोटिनलाई मृतप्रायः मानिन्छ । यसले हाम्रो स्वास्थ्यमा विकार भरिरहेको हुन्छ," आहारशैली विज्ञ अधिकारी भन्छन्, "काँचो गेडागुडी र वनस्पतिबाट पाइने जीवन्त प्रोटिन हाम्रा लागि अनिवार्य र पर्याप्त छ ।"
नरम मासु पच्न कम्तीमा ९६ घन्टा लाग्छ । जबकि, फलफूल ३० मिनेटमा पच्छ र अन्न तीन घन्टामा पचिसक्छ । छिट्टै पच्ने भएकाले स्फूर्ति पैदा हुन्छ । तर, अघिल्लो दिन पेटभर मासु खाएको मान्छेले भोलिपल्ट पनि आलस्य महसुस गर्छ । किनभने, मासु पचिसकेको हुँदैन । कति मासुका झुत्रा त जीवनभर आन्द्रामा टाँसिरहेका हुन्छन् । प्राकृतिक चिकित्साशास्त्रमा डाक्टरी गरेका उमेश श्रेष्ठ मासुको अपचलाई नै कब्जियतको प्रमुख कारण मान्छन् । कब्जियतले अरू शारीरिक समस्या जन्माउँछ । लामो समय कब्जियत भएपछि युरिक एसिड बढ्छ, श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ, रक्तनलीमा बोसो बढ्छ र मस्तिष्कघात र मुटुको रोग हुने खतरा बढी हुन्छ । प्रकृतिप्रेमी समूहका संस्थापकसमेत रहेका डा श्रेष्ठ भन्छन्, "वाथ, मुटु, दम, रक्तचाप, मधुमेहजस्ता जीर्ण रोग र मोटोपन पनि कब्जियतकै परिणाम हुन् ।"
शाकाहारी भोजनबाट प्राप्त हुने कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फ्याट र भिटामिन मानव स्वास्थ्यका लागि निकै हितकर मानिन्छ । बि्रटिस मेडिकल एसोसिएसनद्वारा प्रकाशित एक प्रतिवेदन अनुसार मांसाहारीको तुलनामा शाकाहारीको आयु बढी हुन्छ । मुटुजन्य रोगको खतरा पनि २० वर्ष पछि सर्छ । व्यक्तित्व निर्माणमा पनि शाकाहारी भोजनको प्रभाव पर्ने देखिएको छ । अधिकारीका अनुसार शाकाहारीमा ढिला थाक्ने, स्मरण शक्ति तीक्ष्ण हुने, आत्मविश्वास र सहनशीलता बढी हुनेलगायतका गुण तुलनात्मक रूपमा बढी हुन्छन् । भारतमा केही वर्षअघि लोकसेवा परीक्षा -आईएस) उत्तीर्णमाझ गरिएको अध्ययनमा ८० प्रतिशत युवकयुवती शाकाहारी पाइएबाट पनि अधिकारीको भनाइ पुष्टि हुन्छ ।
केराको स्वादिलो मःम
फलका रूपमा केरा धेरैले खाएको हुनुपर्छ । तर, त्यही केराको मःमको स्वाद भने कमैले लिएका हुन सक्छन् । अरू चीजको मःम खाने चलन उहिलेदेखि भए पनि केराको मःम खाने चलन भने थिएन ।
कैलाली, टीकापुरका कालु हमालले केही वर्षयता यहाँ आउने पर्यटकलाई केराको मःमको स्वाद चखाउँदै आएका छन् । केराको झाडीमुनि बसेर त्यसबाटै बनेको मःमको स्वादले नौलो अनुभव दिने गरेको छ पर्यटकलाई । चिकेन, बफ वा मटन आदिको स्वाद लिइरहेका मःम पारखीका लागि यो परिकार कौतूहलयुक्त हुने गरेको हमालको अनुभव छ ।
उसो त यहाँ स्थानीय जातका केराबाट वाइन, ब्रान्डी, अचार, निम्की, चिप्स, पकौडा, जाम, सर्बत, रोटी, परौठा, बनाना मिल्क सेक, जुस आदि पनि बनाइन्छ । तर, केराको मःम यहाँ आउने पर्यटकले खास गरी दिउँसोको खाजाका रूपमा खान रुचाउने गरेको हमालको अनुभव छ । बनाना किङ हमाल भन्छन्, "केराको मःम स्वास्थ्यकर पनि छ ।"
- गणेश चौधरी/टीकापुर
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...