आरोग्यशैली
हाम्रो ६०/७० ग्रामको जिब्राले ६०/७० किलोको शरीरमाथि शासन गरिरहेकामा लेखक उदेक मान्छन् ।
‘स्वास्थ्य नै धन हो ।’ ‘रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने उपाय अपनाउनु बुद्धिमानी ।’ यस्ता सूत्र कण्ठै छ हामीलाई, फरर भनिदिन सक्छौँ । सुन्दर निबन्ध मात्र होइन, पुस्तक नै लेखिदिन सक्छौँ । यस्ता ‘कोटेसन’ कण्ठ पारियो, भित्तामा टाँसियो तर जीवनमा कहिल्यै लागू गरिएन । समस्यै यहीँनेर छ ।
योग विज्ञानमा विद्यावारिधि राजु अधिकारीको पुस्तक यस्तो होस् जीवनशैलीले पनि राती अबेरसम्म नबस, सूर्योदयअघि नै उठ र योग/व्यायाम/ध्यान/वाक् गर भन्छ । यो पंक्तिकारलाई यी सब कुरा थाहा भएको–मन परेको बच्चैदेखि हो तर यो समीक्षा नै पनि म नसुती राती १ बजे लेखिरहेछु ।
पंक्तिकारजस्ता अल्छी, अस्तव्यस्त, लापरबाह, सर्वआहारी, कम्प्युटर–कामकाजी— चाँडै रोगी हुने त निश्चितै छ— लाई बेलैमा बिउँझाउने झापडशैलीमा लेखिएको छ यो पुस्तक ।
खाने कसरी पिउने कसरी, योग पनि गरौँ भोग पनि गरौँ, तपाईंका लागि योग पुस्तक लेखिसकेका अधिकारी यस पुस्तकमा स्वस्थ र सुन्दर जीवनशैलीका यावत् पक्षबारे सजिलरी चर्चा गर्छन् । उनी पुस्तकमा योग/व्यायाम/ध्यानशैलीदेखि निद्राशैली, सम्भोगशैली, हास्यशैली, रोदनशैली, मनोरञ्जनशैली, सरसफाइशैली, विचारशैली, अध्ययनशैली, कामकाजीशैली, भ्रमणशैली, मोबाइल/कम्प्युटरशैली हुँदै मृत्युशैलीसम्मका परिच्छेदमा कामलाग्दा ‘ टिप्स’ दिन्छन् । उनी हामीलाई बिउँझाउन संसारभरका उदाहरण र उद्धरणको चाङ पनि लगाउँछन् ।
यो समीक्षकलाई ३० वर्षमै बूढेसकालले छोए, रोगले च्यापे, तनावले झकाएजस्तो लाग्छ । उता ९० वर्षे हजुरआमा यो उमेरसम्म एक दिन नबिराई चिसै पानीले नुहाउने, केही औषधि त के तातैपानीसमेत नखाई, अस्पताल नै नटेकी आफ्नो सब काम आफैँ गरिरहेकी हुनुहुन्छ । प्रस्ट छ, हाम्रो गाँसदेखि साससम्ममा विष छ, आराम–कामको सन्तुलन फिटिक्कै छैन । आफूले सक्ने र भ्याउने पनि शारीरिक परिश्रम गर्नु छैन । वातावरण र सेरोफेरो यति प्रदूषित छ कि सर्ने–नसर्ने रोगका सूचीले नै पाँच पाना भरिने अवस्था छ । प्रकृतिमाथिको दोहन र प्रदूषणको विकृति यतिसम्म छ कि पृथ्वी जीवजन्तुका लागि अयोग्य हुँदै छ । यी सबको कारक त हामी नै हौँ ।
हरेक मानिसको अन्तिम साध्य भनेको प्रसन्नता, खुसी र सुख नै हो । तर, ‘हामीले देखेकै कुरा हो, आज विद्वान्, वैज्ञानिक, प्राध्यापक, विशेषज्ञ, धर्मगुरु, प्रशासक, पत्रकार, राजनेता कति बेचैन र व्याकुल छन् ! भ्रमित र व्याकुल अग्रपंक्तिबाट कस्तो समाज तयार होला ?’ लेखक चिन्तित छन्, अस्तव्यस्त जीवनशैली, अस्वस्थ आनीबानी र असन्तुलित आहारविहारमा सुधार नगरी अब धरै छैन । हामी प्रत्येकको आहारविहार ठीकठाक भए तन र आचारविचार ठीकठाक भए मन, यी दुवै ठीकठाक भए समग्र जीवन ठीकठाक ।
अहिले समय ठीक उल्टो भएको छ । हामी निर्जीव वस्तु/प्रविधिलाई औधि प्रेम गर्छाैं तर मानिस/आफूलाई चाहिँ उपभोग/प्रयोग । हामी हाम्रा सय, हजार, लाख, करोडका मेसिनरी सामानमा केही मिसावट तत्त्व छिर्ला र बिग्रेला भनेर सचेत हुने तर अमूल्य शरीर–यन्त्र बिग्रेला कि भनेर केही चिन्ता नलिने । खान मिल्ने–नमिल्ने, बासीतासी, फोहोर–प्रदूषित, सबै खाइदिएपछि शरीर त जरुर बिग्रने नै तर्क छ लेखकको ।
लेखकका विचारमा सही आहार, सही रीतिले, सही समयमा, सही मात्रामा खानु नै शक्तिशाली औषधि हो । प्रकृतिको भान्सामा पाकेका जसलाई फेरि पकाउनु पर्दैन नै सबैभन्दा सर्वाेत्तम आहार हो । घरको भान्सामा पाकेको खानकी उत्तम आहार । पेटभित्रको भान्सा अर्थात् आफैँले सकीनसकी पचाइदिनुपर्ने विषादी–रसायनजन्य खानेकुरा खाँदै नखाने सल्लाह छ लेखकको । अहिले जंकफुड यति चलेको छ कि लेखकले यसबाट हुने नकारात्मक असर असरल्ल पोखेका छन् । सेवाका नाममा वृद्धाश्रममा गएर, भूकम्पपीडित सोझा गाउँलेकहाँ गएर चाउचाउ–कुुरमुरे बाँड्नु अपराध हो ।
लेखक भन्छन्, ‘मैलो कपडालाई पानीमा भिजाउने, साबुन लाएर मिच्ने, त्यसपछि पानीमा पखाल्ने र अन्तमा निचोरेर घाममा सुकाएपछि त्यो सफा र आकर्षक हुन्छ । ठीक यसै गरी शरीरभित्रको फोहोरमैला निकाल्न व्यायामको सर्वश्रेष्ठ भूमिका हुन्छ । सबैले बुझ्ने भाषामा भन्ने हो भने व्यायाम–कसरतले शरीरलाई निचोर्ने, मिच्ने र धुने काम गर्छ ।’ व्यस्त हुनुहुन्छ ? २० मिनेट ध्यान गर्नुहोस् । भ्याउनुहुन्न, अति व्यस्त हुनुहुन्छ ? उसो भए त झन् धेरै एक घन्टा ध्यान गर्नुहोस् ।
तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र लेखक अधिकारीबाट सुरु भएको वाग्मती सफाइ अभियान अहिले चर्चामा छ । सफाइ अभियन्ता अधिकारी भन्छन्, ‘ प्रकृति, धर्ती र नदीलाई सफा, शुद्ध, पवित्र, निर्मल बनाउनेजस्ता कुरा शासन र कानुनभन्दा पनि संस्कार र स्वभावका कुरा हुन् ।’ मानिस धर्म गर्न तीर्थ गर्न जान्छु भन्छन् तर तिनै ‘धर्मी’बाट धेरैजसो तीर्थ क्षेत्र फोहोर, विकृत र अस्वस्थकर बनेका छन् ।
हाम्रो ६०/७० ग्रामको जिब्राले ६०/७० किलोको शरीरमाथि शासन गरिरहेकामा लेखक उदेक मान्छन् । जिब्रोको स्वाद मात्र नखोज्न सल्लाह छ उनको । चिन्तन, चरित्र र व्यवहार मात्र होइन, मन पनि शुद्ध हुनुपर्छ । मनभित्रको दृश्य कसैले देख्ने होइन क्यारे भनेर अर्थहीन र अश्लील विचारलाई स्थान दिनु रोगलाई स्वागत गर्नु हो ।
पूर्व र पश्चिमको दुवै ज्ञानलाई जोडेर छरितो र रसिलो शैलीमा लेखिएको यस पुस्तकका टिप्स नयाँ होइनन् तर कहिल्यै नबिउँझिनेहरूका लागि ‘अलार्म’ अवश्य हुन् ।
***
यस्तो होस् जीवनशैली
लेखक : राजु अधिकारी
प्रकाशक : मानव उत्कर्ष नेपाल, काठमाडौँ
पृष्ठ : ३६८
मूल्य : ३९९ रुपियाँ
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...