उपभोक्ताको काम, छलछाम
“उद्देश्य अनुरूप काम हुन सकेन,” स्थानीय विकास अधिकारी (एलडीओ) चन्द्रकान्त न्यौपाने नै स्वीकार्छन् ।
- कपिलवस्तु, कृष्णनगरदेखि गणेशपुर सडक खण्डको कालोपत्रे भत्किएर तलको माटो देखिन्छ । आधा मिटरभन्दा बढी भागमा कालोपत्रे भत्केर बाढीले बगाएजस्तो देखिन्छ । निर्वाचन पूर्वाधार क्षेत्र विकास कोषको तीन करोड रुपियाँ लागतमा यस सडकको पाँच किलोमिटर कालोपत्रे गरेको एक वर्ष पनि पुगेको छैन । तर, सडकको ठाउँठाउँमा खाल्डा छन् ।
- जेठमा बुद्धभूमि नगरपालिकाको नयाँबस्तीस्थित घोराही नालामा जसवरिया बाँधको पक्की नाली बनाउन सुरू भयो । तर, यो नाली बनिनसक्दै असारमा भत्कियो । यसलाई बनाउन पनि निर्वाचन पूर्वाधार क्षेत्र विकास कोषको ३० लाख रूपियाँ र चार लाख रूपियाँबराबरको जनश्रमदान खर्च भएको थियो ।
- वरहा–वरही सडक निर्माण उपभोक्ता समितिले बाटो ग्राभेल गरी ६ लाख २५ हजार रूपियाँ भुक्तानी माग्यो । जिल्ला प्राविधिक कार्यालयले मूल्यांकन गर्दा भने मुस्किलले पाँच लाख रूपियाँको मात्र काम भएको भेटियो ।
उल्लिखित सबै निर्माण स्थानीय स्तरमा गठित उपभोक्ता समितिले गरेका हुन् । काममा स्थानीय जनताको अपनत्व र जिम्मेवारी भएपछि काम बलिया हुन्छन् भन्ने अवधारणाका साथ सरकारले उपभोक्ता समितिको अग्रसरतामा विकास निर्माण कार्य गर्ने नीति ल्याएको हो, ०६९ देखि । तर, माथिका उदाहरणले त्यस्तो देखाउँदैन । “उद्देश्य अनुरूप काम हुन सकेन,” स्थानीय विकास अधिकारी (एलडीओ) चन्द्रकान्त न्यौपाने नै स्वीकार्छन् ।
यद्यपि, उपभोक्ता समितिहरू भने यो कुरा स्वीकार्दैनन् । घोरही नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष अब्दुल कयुम प्राविधिकको प्रत्यक्ष रेखदेखमा नाला बनाइएको भए पनि निर्माणलगत्तै आएको बाढीले बगाउँदा समस्या आएको बताउँछन् । भन्छन्, “यसमा हाम्रो गल्ती छैन । प्रयास गरेका थियौँ, सफल भइएन ।” वरहा–वरही सडक निर्माण उपभोक्ता समितिका सदस्य रमेश चौधरी पनि आफूहरूले सक्दो राम्रो काम गर्न खोजेको दाबी गर्छन् ।
उपभोक्ता समितिमार्फत हुने निर्माण कमसल प्रकृतिको हुने गरे पनि सरकारले भने जिल्लाको ठूलो विकास हिस्सा यस्तै मोडलबाट फस्र्योट गर्दै आएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा कपिलवस्तु जिल्ला विकास समितिका ९८ प्रतिशत काम उपभोक्ता समितिमार्फत सम्पन्न भए । तर, जिल्ला प्राविधिक कार्यालयले मूल्यांकन/निरीक्षण गर्दा त्यसमध्ये ८० प्रतिशत काममा निर्धारित मापदण्ड पूरा नगरिएको भेटियो । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजेश सैनी भन्छन्, “उपभोक्ता समितिहरू बजेट अनुसार काम सम्पन्न गरेको भन्दै भुक्तानी माग्न आउँछन् । तर, हामीले मूल्यांकन गर्दा कम काम गरेको वा गुणस्तरहीन काम गरेको भेटिन्छ ।” यस्तो भएपछि धेरै ठाउँमा विवाद हुने गरेको छ । तीनपटकसम्म प्राविधिक पठाए पनि मूल्यांकनको नतिजा एउटै आउने गरेको छ ।
स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ ले उपभोक्ता समितिबाट काम गराउने नीतिको व्यवस्था गरे पनि त्यसको तरिकाबारे केही उल्लेख छैन । त्यही भएर उपभोक्ता समितिले थोरै काम गरेर धेरै रकम भुक्तानी खोज्ने गरेको सैनीको अनुभव छ । काम राम्रो हुन्छ भनेर ल्याइएको उपभोक्ता समितिको अवधारणाका कारण स्थानीय निकायले अनावश्यक झन्झट बेहोर्नुपरेको छ । एलडीओ न्यौपाने भन्छन्, “परिणाममुखी काम नहुँदा धेरै समय यस्तै विवादमा अल्झनु परिरहेको छ । कार्यालयका नियिमित कामलाई छाडेर उजुरी तथा गुनासो सुन्न, झँैझगडा मिलाउनतिर लाग्नुपरेको छ ।”
पहुँचवालाको पल्ला भारी
यो मोडलमा गरिने विकासका काममा उपभोक्ता समितिबीच नै झैझगडा हुने गरेको छ । विडम्बना † यस्तो झगडामा राजनीतिक व्यक्तित्वहरू नै जोडिएका हुन्छन् । यसको ताजा उदाहरण हो, थुन्हियाको चिसापानी कल्भर्ट निर्माण । यस कामका लागि दुईवटा उपभोक्ता समिति बने, तत्कालीन सभासद्द्वय अभिषेकप्रताप शाह र नरसिंह चौधरी पक्षधर । उपभोक्ता समितिको विवाद सुल्झाउन एक महिनाभन्दा बढी लाग्यो । शाह पक्षधर उपभोक्ता समितिले आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ को काम अनुगमन गर्दा गुणस्तरहीन भनेर चौधरीले जिल्ला समन्वय समितिमा उजुरी दिए । तर, त्यो उजुरी दराजमै थन्कियो । पूर्वसभासद् चौधरी भन्छन्, “सभासद्को उजुरी त सुनुवाइ भएन भने अरूको उजुरी सुनिएला भनी कसरी आश गर्ने ?”
उपभोक्ता समितिमार्फत काम गराउने चलनले निर्माणका काममा पहुँचवालाहरूको एकभन्दा बढी उपभोक्ता समिति बन्ने गरेका छन् । गत दुई आर्थिक वर्षमा जयनगरा–पकडी पुरानो हुलाकी सडकदेखि सन्तघाटसम्मको सडक कालोपत्रे गर्न दुईवटा समिति बने । उपभोक्ता पृतम पाण्डेले आफ् ना मानिस समितिमा नराखे काम गर्न नदिने अड्डी लिएपछि कामै सुरु भएन । पाण्डेले आफ्ना छोरालाई समितिमा राख्न चाहेका थिए । नभन्दै पाण्डेका छोरा समितिमा नराखी समस्याको गाँठो फुकेन । अन्तत: निवर्तमान सभासद् अतहर कमालले पाण्डेका छोरालाई समितिको सचिव बनाएर विवाद मिलाइदिए ।
समितिमा बस्न यसरी मरिहत्ते गर्नुको कारण आफ्नो क्षेत्रको राम्रो विकास गर्नु भने पक्कै होइन । समितिमा बस्दा प्राप्त हुने आर्थिक लाभले यस्तो खिचातानी जन्माएको हो । सांसदलाई पनि कार्यकर्ता पाल्नुपर्छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका सबै काम गर्न गठित समितिमा सभासद्ले आफ्ना कार्यकर्ता राख्ने गरेका छन् ।
आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा सभासद्ले खर्च गर्न पाउने ५० करोड रुपियाँका सबै योजना उपभोक्ता समितिमार्फत सम्पन्न भए । त्यस्तै गाविस र जिविसका इलाका स्तरीय सडक, कृषि सडक, साना सिँचाइ, पुलपुलेसा, विद्यालय भवन बनाउने काम पनि उपभोक्ता समितिबाटै गरिए । ३० करोड रुपियाँभन्दा बढी लागतमा सञ्चालित ग्रामीण खानेपानीका कार्य सम्पन्न गर्न पनि उपभोक्ता समिति नै सक्रिय रहे । यी दुई वर्षमा सानाठूला गरी दुई हजारवटा काम उपभोक्ता समितिमार्फत भए ।
सरकारले उपभोक्तालाई ६० लाख रुपियाँसम्मको काम गर्ने अधिकार दिएको छ । तर, सांसदका योजना र जिविसका योजना ६०/६० लाख रुपियाँको प्याकेज बनाई बढी रकमको काम पनि उपभोक्तालाई दिने गरिएको छ ।
बेलगाम उपभोक्ता समिति
उपभोक्ताले गरेका काममा कुल लागतको १० देखि २० प्रतिशत बराबर जनश्रमदान गर्नुपर्छ । तर, व्यवहारमा यसो गरिँदैन । जिल्ला प्राविधिक कार्यालयका एक इन्जिनियरका भनाइमा जनश्रमदान गर्ने भनेर काम लैजान्छन् । तर, सबै उपभोक्ताको सहभागितामा समिति नबन्दा स्थानीयबीच विवाद हुन्छ । जनश्रमदान गर्न कोही तयार हुँदैनन् । अनि, श्रमदान गर्ने रकम पनि सरकारले दिने रकमबाटै मिलाउन खोज्छन् । त्यही भएर काम कमसल हुन्छ ।
विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको खण्डमा सरकारले कारबाही प्रक्रिया अघि बढाउँछ । त्यसकारण ठेकेदारहरू बढी जिम्मेवार बन्ने सम्भावना रहन्छ । तर, उपभोक्ता समितिले फत्ते गरेका काम गुणस्तरहीन भएमा कारबाही गनेर् प्रस्ट कानुनी प्रावधान नै छैन, जसले गर्दा उपभोक्ता समितिहरूले मनलाग्दी गर्न छुट पाएका छन् । एलडीओ न्यौपाने भन्छन्, “उपभोक्ता समितिहरूलाई लगाम लगाउने कानुनी व्यवस्था ल्याउन आवश्यक छ ।” उपभोक्ता समितिले गरेका काम ६ महिनाभित्र बिग्रे–भत्केमा उनीहरूले मर्मत गर्नुपर्ने प्रावधान छ । यत्ति हो, उनीहरूलाई हुने कारबाही । तर, कपिलवस्तुमा यो पनि लागू भएको छैन ।
समन्वय समिति योजना शाखाका नायब सुब्बा नारायण रेग्मीका अनुसार उपभोक्ता समितिहरू कानुनी रूपमा बाँधिएका हुँदैनन् । त्यही भएर सम्झौता गर्न प्राय: ढिलो आउँछन् । उनीहरूसँग प्राविधिक ज्ञान पनि हँुदैन । रे ग्मी भन्छन्, “लगत अनुमान अंग्रेजी भाषामा लेखिएको हुन्छ । सबै उपभोक्ताले बुझ्न सक्दैनन् । यसको मार योजनामा पर्छ ।”
उपभोक्ता समितिलाई जिम्मेवार बनाउने कुरामा जिल्ला समन्वय समिति पनि मौन छ । समन्वय समितिका प्रतिनिधिको उपस्थितिमा उपभोक्ता समिति गठन गर्ने प्रावधान भए पनि प्राय: यस्ता काम टाठाबाठाको अगुवाइमा गुपचुप हुने गरेका छन्, जसलाई समन्वय समितिले सजिलै मान्यता दिन्छ । विवाद आए मात्र सोधखोज हुन्छ ।
जवाफदेही नबनाई विकास निर्माणका काम धमाधम बाँड्ने प्रवृत्तिले उपभोक्ता समितिवाला विकासको मोडल नै असफल बन्ने खतरा बढेको छ । कपिलवस्तु निर्माण व्यवसायी संघका अध्यक्ष चन्द्रशेखर श्रेष्ठ भन्छन्, “नराम्रो काम गर्ने उपभोक्ता समितिलाई कानुनी कारबाही गर्ने व्यवस्था हुनुपर्छ । अनि, मात्रै उनीहरू पनि कामप्रति जवाफदेही बन्छन् ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...