मोदी सरकारको आलोचना गर्न किन डराउँछ बलिउड ?
बढ्तै डरायो बलिउड

‘समाजमा असहिष्णुता बढिरहेको छ । मेरी श्रीमती कहिलेकाहीँ सन्तानको भविष्यबारे चिन्तित हुन्छिन् र मुलुक छाड्ने हो कि भनेर कुरा गर्छिन् ।’
पहिलोपल्ट मोदी प्रधानमन्त्री भएको डेढ वर्ष बित्दै गर्दा भारतीय अभिनेता आमिर खानको यो भनाइ सार्वजनिक भएको थियो । त्यसपछि आमिरले लामो समय सामाजिक अपहेलना सामना गर्नुपर्यो । उनलाई ठाडै भनियो, ‘त्यसो भए पाकिस्तान जाऊ ।’
यसो भन्नेमा बलिउडकै दिग्गज अभिनेता अनुपम खेर पनि थिए । उग्रराष्ट्रवाद दीक्षित भाजपा कार्यकर्ताले त उनी र उनका फिल्मलाई निषेध गर्नेसम्मका धम्की दिए । आमिरले कुनै बलिउडकर्मीको साथ पाएनन् । सब मौन ।
आमिरमार्फत बलिउडमा भयको मनोविज्ञान सिर्जना गर्न भाजपा सफल भयो, त्यतिबेला । अहिले नागरिकता कानुनविरुद्ध देशभर आन्दोलन चर्कंदा पनि बलिउडको ठूलो हिस्सा चुप बस्नुले त्यही पुष्टि गर्छ । अरू त अरू, आमिरकै आवाज सुनिएको छैन । बाँकी दुई खान शाहरूख र सलमानको हालत त्यस्तै छ । अमिताभ बच्चनजस्ता अन्य ठूला स्टार पनि नदेखे/नसुनेझैँ गर्दै छन् । लाग्छ, नागरिकमाथि जति अन्याय भइरहेको छ, त्यसले बलिउडलाई छुँदैन ।
सत्ता समर्थक मिडिया र कथित बौद्धिक जगत्ले उक्त कानुन र विद्यार्थीमाथि सरकारी रवैयाको खुलेर समर्थन गरिरहेका छन् । मोदीभक्तहरू विद्यार्थीको आन्दोलन हिंसात्मक छ भनेर भ्रम छर्न फेक न्युज र भिडियो व्यापक प्रसार गरिरहेका छन् । सामाजिक द्वेष फैलाउनेले सत्ताबाट प्रत्यक्ष/अप्रत्यक्ष ढाडस पाएका छन् । यस्तो लाग्छ, मोदीले उद्घोष गरेको ‘अच्छे दिन’ मुस्लिमका लागि होइन रहेछ ।
एकातिर विभेदकारी कानुन, अर्कातिर त्यसको शान्तिपूर्ण विरोधमा उत्रिएका विद्यार्थीमाथि चरम ज्यादती । चेत भएका र आत्मस्वाभिमानमा बाँच्नेहरूका लागि यो रवैया सह्य हुँदै होइन, त्यो पनि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक देशमा । यस्तो बेला आम मान्छेलाई जागरुक बनाउन र पीडितलाई आँट दिन सेलिब्रिटीको भूमिका उल्लेखनीय हुन्छ । त्यसमाथि भारत यस्तो मुलुक हो, जहाँ फिल्मस्टारको स्टारडम र प्रभावकारिता फिल्मभन्दा बाहिर अर्थात् समाजमा पनि उत्तिकै छ । उनीहरूको बोलीले अर्थ राख्छ । त्यसो हुनाले विद्यार्थीको पक्षमा बलिउडकर्मीको समर्थन अपेक्षा राखिनु अस्वाभाविक होइन । सचेत नागरिकका रूपमा सर्जकको दायित्व पनि हो । तर भाजपाले निर्माण गरेको भयको भूमरीमा रुमल्लिरहेका फिल्मकर्मी बोल्न सकिरहेका छैनन् । जामिया मिलिया इस्लामियाका पूर्वविद्यार्थीसमेत रहेका शाहरूख खानले समेत मुख खोलेका छैनन् । जो बोल्दै छन्, उनीहरू निशानामा परिरहेका छन् ।
मुस्लिम कलाकारलाई ‘राष्ट्रवादी’ प्रमाणित गर्नै हम्मेहम्मे पर्छ । मुस्लिम भएकै कारण पटक–पटक तारो बनिसकेका शाहरूखले मुख नखोल्नु त्यही डरको कारण हो । पाकिस्तानी अभिनेत्री माहिरा खानलाई अभिनय गराउँदा उनको फिल्म रइस प्रतिबन्धबाट बल्लबल्ल बचेको थियो । सलमानको दबंग ३ चल्दै छ, त्यसैले उनी विवादमा फस्न चाहँदैनन् । उनले विद्यार्थीको पक्षमा बोल्नासाथ हलमा तोडफोड हुने पक्का छ । बरु उनले हिन्दुवादी संगठनले धम्की दिएपछि साधुहरूलाई डान्सरका रूपमा प्रयोग गरिएको दंबग ३ सिन हतारहतार काटे । असहिष्णुतासम्बन्धी अभिव्यक्तिले निम्त्याएको चपेटापछि आमिरले कुनै सरकारी नीति–नियमको विरोध गरेको पाइँदैन । तर निहित स्वार्थ र डरले ठूला स्टार चुप बसेको कतिपय फिल्मकर्मीलाई पटक्कै चित्त बुझेको छैन । अनुराग कश्यपले त ट्वीटरमा आक्रोश पोखिहाले, ‘जसले बोल्दा अर्थ राख्छ, उनीहरू मौन बसेको देख्दा साँच्चै रिस उठेको छ ।’
अनुरागले मोदी सरकारलाई ‘फासिस्ट’ को संज्ञा दिएका छन् । ‘अति भयो, अब चुप बस्न सकिन्न,’ उनले ट्वीट गरेका छन् । केही समयअगाडि ट्वीटरबाट बिदा भएका अनुराग यही विरोधका लागि फर्किएका हुन् । यहीबीच बलिउडको डरपोक प्रवृत्तिबारे हक्की अभिनेत्री कंगना रनावतको कडा अभिव्यक्ति बाहिरिएको छ । टाइम्स अफ इन्डियासँग भनेकी छन्, ‘ती अभिनेताहरूले आफैँसँग लाज मान्नुपर्छ । मलाई के भ्रम छैन भने बलिउड काँतरहरूले भरिएको छ ।’ पछिल्लो राजनीतिक घटनाक्रममा बलिउड मौन भएपछि ट्वीट्रमा ‘ह्यासट्याग सेम अन बलिउड’ ट्रेन्डिङमा छ । उनले यसको समर्थन गरेकी छन् ।
फरहान अख्तरले ट्वीटमार्फत अपिल गरे, ‘सामाजिक सञ्जालमा विरोध गर्ने समय घर्कियो, अब मैदानमै उत्रिनुपर्छ ।’ तर कश्मीर नभएको भारतको गलत तस्बिर सेयर गरेपछि भाजपा कार्यकर्ताबाट धम्की खेप्नु परेको छ । उनलाई देशद्रोही मात्र होइन, आईएसआईको एजेन्टसमेत भनिएको छ । पछि उनले नक्साप्रति पश्चात्ताप व्यक्त गर्दै सच्चाएका छन् । विरोध प्रदर्शनमा सहभागी भएलगत्तै अभिनेता सुशान्त सिंहलाई ‘सावधान इन्डिया’ नामक टेलिभिजन कार्यक्रमको प्रस्तोताबाट हटाइएको छ ।
मनोज बाजपेयी, आयुष्मान खुराना, राजकुमार राव, श्वारा भास्करलगायत कलाकारले पुलिस ज्यादतीको विरोध गरेका छन् । तर नागरिकता कानुनको आलोचना देखिन्न । यहाँ उही डरले काम गरेको छ । अक्षयकुमार यसका उदाहरण हुन् । जामिया मिलिया इस्मालियाका विद्यार्थीको आन्दोलनको भिडियो ट्वीटरमा अक्षयकुमारले लाइक गरेपछि त्यसको ‘स्क्रिनसट’ छ्याप्छयाप्ती पारियो ।
‘क्यानेडियन नागरिक अक्षयकुमारलाई वहिष्कार गरौँ’ भन्ने अभियान नै चलाइयो । पछिल्लो समय मोदीसँग नजिक रहेका अक्षयकुमार आत्तिइहाले र माफी मागे, झुक्किएर लाइक भएको प्रस्टीकरण दिए । उनको लेखे, ‘मैले डिसलाइक गरिसकेँ र त्यस्ता घटनाको समर्थन गर्दिनँ ।’ यसपछि अक्षयलाई विद्यार्थी समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘डरपोक’ को संज्ञा दिए । यसमा अनुराग कश्यपको प्रतिक्रिया थियो, ‘पक्कै पनि ।’
प्रकाश राज एक यस्ता कलाकार हुन्, जसले मोदी सरकार, भाजपा र हिन्दुत्वको मन्त्र जप्नेहरूको तीखो आलोचना गरे । फिल्ममा प्राय: भिलेन बन्ने यी अभिनेताकी मित्र थिइन्, पत्रकार गौरी लंकेश । हिन्दु अतिवादविरुद्ध कलम चलाइरहेकी गौरीको दुई वर्षअगाडि गोली हानी हत्या गरियो । त्यसपछि प्रकाशको ‘आगो अवतार’ देखियो । हरेक मञ्चमा धर्मका नाममा मोदी सरकारको हर्कतप्रति सवाल उठाइरहे । त्यतिबेलै भन्न थालिएको थियो, ‘अब प्रकाश राजले बलिउडमा काम पाउँदैनन् ।’ नभन्दै भइदियो, त्यस्तै । बलिउडबाट अफर नआएको उनी आफैँले स्वीकारेका छन् । दुई वर्ष बित्यो, उनी हिन्दी फिल्ममा नदेखिएको । ‘अघोषित निषेध’ को सिकार भएका छन् । हिजोआज प्रकाश राजको आवाज त्यति सुनिन्न ।
लाग्छ, बलिउडकर्मीका लागि हिजोसम्म शिवसेना मात्र ‘थ्रेट’ थियो, अहिले भाजपा थपिएको छ । त्यसैले न कश्मीरमाथि सरकारी आतंक मच्चिँदा बोल्छन्, न त विद्यार्थीलाई रगतपच्छे बनाउँदा ।
(एजेन्सीको सहयोगमा)