इँटाभट्टा नयाँ प्रविधिमा गए पनि घटेन प्रदूषण
इँटाभट्टाले निकाल्ने धुवाँधुलोले बस्तीहरूमा कसरी प्रदूषण बढाइरहेको छ ?
हिउँद सकिए पनि पाँचखालमा तुवाँलो अझै हटेको छैन । कारण हो, पाँचखाल उपत्यकामा रहेका इँटाभट्टाको धुवाँधुलो । त्यसबाहेक वायुमण्डलमा रहेको प्रदूषण त छँदै छ ।
“दिउँसो घाम लागेपछि मात्र तुवाँलो फाट्छ, नत्र पानी पर्नुपर्छ,” पाँचखाल–७ श्रीरामपाटीका भोलानाथ ढकाल भन्छन्, “हिउँदलगत्तै वैशाख–जेठसम्म इँटाभट्टा चल्ने हुँदा धुलोधुवाँ रहिरहन्छ ।” पाँचखालको सौन्दर्य कालो धुवाँ–तुवाँलोले छेकेको छ ।
स्थानीयका अनुसार दशकअघि पाँचखाल उपत्यकाका तत्कालीन ७ वटा गाविसमा दिउँसो तुवाँलो लाग्दैनथ्यो, हिउँदबाहेक । कृषक टेकनारायण पराजुली सम्झन्छन्, “दशकअघि नवदुर्गा इँटाभट्टा खुल्यो । त्यसपछिको समय थुप्रै प्रदूषणजन्य उद्योग खुले । सोही कारण धुवाँको सास्ती सुरु भयो ।” स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरपालिकाले प्रदूषणजन्य नयाँ उद्योग खोल्न अनुमति दिएको त छैन तर यसअघिका इँटाभट्टाको व्यवस्थापन भने गर्न सकेको छैन ।
तरकारी खेतीमा प्रख्यात पाँचखालका काउलीसहितका तरकारी इँटाभट्टाकै धुवाँका कारण कालो हुँदा कालीमाटी तरकारी तथा फलफूल बजारबाट बेलाबेला फिर्ता हुने गरेको पराजुली सुनाउँछन् । नगरपालिकाले पाँचखाललाई कृषि सहर घोषणा गरेको छ तर इँटाभट्टाबाट निस्केको धुवाँधुलोले तरकारीमा क्षति पुगेको भन्दै किसानले ०७५ माघमा काउली फालेर विरोध गरे ।
जय भीमसेन इँटाभट्टा र भुवनेश्वरी आधारभूत विद्यालयको दूरी ४०–५० मिटर मात्र छ । जबकि उद्योग मन्त्रालयको इँटा उद्योगसम्बन्धी कार्यविधि, ०७२ अनुसार बस्तीबाट १ किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्छ । स्थानीय शिक्षक बलबहादुर कुँवर भन्छन्, “धुवाँ स्कुलसम्मै आइपुग्छ, पटक–पटक प्रशासनसँग अनुरोध गर्दा पनि समाधान भएन ।” त्यसबाहेक रातभरि ठूला गाडी चलिरहेका हुन्छन् । चर्को ध्वनि र धुलोधुवाँको समस्या छ ।
वायु प्रदूषणको अनुसन्धानमा कार्यरत संस्था लिडर्सले गरेको अध्ययनमा हिउँदको समय पाँचखालमा प्रदूषण उच्च रहेको पाइएको छ । पीएम–२.५ भनिने पार्टिकुलेट्स म्याटर २४ घन्टामा ५ सय ७३ सम्म पुगेको पाइएको छ । जबकि राष्ट्रिय मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पीएम–२.५ को मात्रा ४० माइक्रोग्राम हुनुपर्छ । यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । लिडर्सका महासचिव धीरज पोखरेल भन्छन्, “कतिपय इँटाभट्टाले इँटा पकाउन पुराना टायर, प्लास्टिक, डढेको मोबिलसमेत प्रयोग गर्छन्, जसले धुवाँ झनै कालो हुन्छ ।”
प्रदूषणजन्य उद्योगबाट निस्कने धुलोधुवाँका कारण पाँचखाल प्रदूषित बन्दै गएपछि यहाँका बासिन्दाले वातावरण संरक्षणका लागि अभियान नै थालेका छन् । ‘पाँचखाल उपत्यका वातावरण जोगाऔँ अभियान’ का संयोजक सूर्यबहादुर भेटवाल स्वच्छ हावामा बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि अभियान थालिएको बताउँछन् । संविधानको धारा ३० (१) मा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने’ उल्लेख छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै पाँचखालमा इँटाभट्टाको विषय चर्काे रूपमा उठेपछि उद्योगीले आफूहरूको लगानी डुब्ने भन्दै ६ महिनासम्मका लागि उद्योग सञ्चालन अनुमति मागे । त्यसपछि स्थानीयको आन्दोलनकै कारण गत वर्ष पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बन्यो । तर कार्यदल बनेको एक वर्ष बित्दासमेत समस्या ज्यूँका त्यूँ छ ।
अहिले आएर पाँचखाल नगरसभाले चालू आर्थिक वर्षभित्र इँटाभट्टा वातावरणमैत्री बनाएर मात्र उत्पादन थाल्नुपर्ने प्रस्ताव पारित गरेको छ । यद्यपि नगरपालिकाले गत असोजमै उद्योग वातावरणमैत्री बनाएर मात्रै सञ्चालन गर्न सञ्चालकलाई पत्राचार गरेको थियो । तर कार्यान्वयन नभएपछि अहिले फेरि प्रक्रिया अगाडि बढाइएको हो । उपमेयर लक्ष्मी दनुवार भन्छिन्, “व्यवसायीले उद्योग वातावरणमैत्री बनाउनुपर्यो, होइन भने बन्द गर्नुपर्छ ।”
स्थानीय सरकारले आश्वासन मात्र दिने तर वातावरण संरक्षणका लागि पहल नगरेको ठानेपछि स्थानीय अदालत पुगेका छन् । श्रीकृष्ण धिमालसहितले पुस १४ मा सर्वाेच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आगामी वैशाखमा तय भएको छ । पलाञ्चोक इँटाभट्टाका सञ्चालक राजकुमार श्रेष्ठ भने खुला आँखाले हेरेर इँटाकै कारण प्रदूषण बढेको भन्न नहुने बताउँछन् । भन्छन्, “हाम्रै कारणले प्रदूषण बढेको हो भने सरकारी निकायबाट जाँच होस् । सोहीअनुसार सुधार्न तयार छौँ ।”
>>> ग्यास च्याम्बर बन्दैछ काठमाडौँ
अन्यत्र पनि उस्तै समस्या : ‘स्वच्छ, सफा र प्रदूषणमुक्त नगर बनाऔँ, क्यान्सरको धुवाँ फ्याँक्ने इँटाभट्टा हटाऔँ ।’ यी र यस्तै प्लेकार्ड बोकेका कीर्तिपुर र चन्द्रागिरिका स्थानीय १ पुसमा माइतीघर पुगे । उनीहरूको एउटै माग थियो– बस्तीमा रहेका इँटाभट्टाको धुवाँधुलोका कारण स्थानीयको स्वास्थ्यमा असर परिरहेको छ । हटाउनुपर्छ ।
उनीहरूको यो माग पहिलो पटक थिएन । ०७२ देखि आन्दोलनमा छन् । ३ पुसमा त उनीहरूले चन्द्रागिरि नगरपालिका घेराउ नै गरे । इँटाभट्टापीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्दप्रसाद घिमिरे भन्छन्, “०७२ मै सर्वदलीय बैठकबाट इँटाभट्टा हटाउने निर्णय भएको थियो तर आवश्वासन मात्र भयो । चन्द्रागिरि क्षेत्रमा १४ वटा इँटाभट्टा छन् । चन्द्रागिरिका इँटाभट्टाले आफूहरूलाई असर गरिरहेको भन्दै कीर्तिपुरका बासिन्दा पनि आन्दोलनमा साथ दिन पुग्छन् ।
सर्वोच्च अदालतले स्कुल, घनाबस्ती वरपरका इँटाभट्टा हटाउन २४ मंसिर ०६२ मा आदेश जारी गरेको थियो । सर्वाेच्चको आदेशविपरीत घनाबस्ती, शैक्षिक संस्था वरिपरि चलिरहेका छन्, इँटाभट्टा । त्यसबाहेक भक्तपुर, ललितपुरको महालक्ष्मी, काभ्रेको नमोबुद्ध, नुवाकोट, धादिङ मात्र होइन, मुलुकभर इँटाभट्टा व्यवसायी र स्थानीयबीच अन्तरद्वन्द्व देखिन्छ । नमोबुद्धमा त नगरपालिकाले ८ भदौमा वडा–२ र ३ मा रहेका ८ वटा इँटाभट्टाका चिम्नी भत्काइदियो । तर क्षतिपूर्ति भराइपाऊँ भनी व्यवसायी सर्वाेच्च अदालत पुगेका छन् । मेयर टीपी शर्मा भन्छन्, “इँटाभट्टाको धुवाँका कारण गाउँमा बस्नै नसक्ने स्थिति भएपछि उहाँहरू (उद्योगी) कै सहमतिमा हटाएका हौँ । तर फेरि सर्वाेच्च जानुभएको छ ।”
सुधारिँदो प्रविधि : चिम्नीबाट कालो बाक्लो र घातक धुवाँ निस्कने गर्छ । काठमाडौँ उपत्यकामा सञ्चालित १ सय १० इँटाभट्टा ०७२ को भूकम्पमा क्षतिग्रस्त बने । अहिले आएर तीमध्ये धेरैजसोले नयाँ प्रविधि अपनाएका छन् ।
परम्परागत रूपमा चल्दै आएका इँटाभट्टालाई कम प्रदूषणयुक्त बनाउन र ऊर्जा खपत कम गर्न नयाँ मोडल बनाइएको हो । यसलाई ‘जिकज्याक’ प्रविधि भनिन्छ । भट्टाको डिजाइनमा सुधारका साथै वैकल्पिक ऊर्जा र प्वाल भएको (होलो ब्रिक्स) इँटाको प्रयोगबाट प्रदूषणलाई अझै न्यून बनाउन सकिन्छ । यो प्रविधिबाट पकाउँदा काँचो इँटाको बीचमा खाली ठाउँ छाडेमा त्यसले हावा छिर्न मद्दत गर्छ । इँटाले पर्याप्त अक्सिजन पाएपछि राम्रोसँग आगो सल्किन्छ ।
नेपालमा जिकज्याक प्रविधि एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र अन्य संस्थाको संयुक्त प्रयासमा तयार गरिएको थियो । सुरुमा ९ वटा इँटाभट्टाबाट सुरु गरेको यो प्रविधि अहिले विस्तारको क्रममा छ ।
वातावरण विज्ञानका प्राध्यापक सञ्जयनाथ खनाल भन्छन्, “इँटाभट्टा उपत्यकामा प्रदूषणको मुख्य स्रोतमध्ये एउटा हो । तर जिकज्याक, फिक्स चिम्नीलगायत प्रविधिमा गएपछि केही हदसम्म घटेको छ ।” ०७२ को भूकम्पअघि उपत्यकामा प्रदूषण बढाउन इँटाभट्टाको २३ प्रतिशत हात रहेको अध्ययनले देखाएको थियो । अहिले नयाँ अध्ययन त भएको छैन तर १२–१३ प्रतिशतमा घटेको मानिन्छ ।
इँटा उद्योगबाट निस्कने धुवाँसम्बन्धी मापदण्ड, ०७४ अनुसार टनेल क्लिन फोर्स ड्राफ्ट (फिक्स चिम्नी) बाट निस्कने धुवाँ साढे ३ सय र टर्नेल क्लिन नेचुरल ड्राफ्ट (फिक्स चिम्नी) बाट निस्कने धुवाँ ५ सय मिलिग्राम पर न्यूटलभन्दा माथि हुनु हुँदैन ।
इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार उपत्यकाका सबै इँटाभट्टा जिकज्याकमा गइसकेको र मुलुकका अन्य क्षेत्रमा पनि प्रविधि विस्तार भइरहेको बताउँछन् । इँटाभट्टा भएका क्षेत्रमा पछि गएर बस्ती विस्तार भएका वा बस्तीमा इँटाभट्टा भएका सवालमा भने सरकारले उचित निर्णय लिनुपर्ने उनको भनाइ छ ।
इसिमोडकी वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधान नयाँ प्रविधिअनुसार चिम्नी बनाउँदा वातावरण प्रदूषण कम, कोइलाको खपत कम र गुणस्तरीय इँटा उत्पादन हुनुका साथै मजदुरलाई सुरक्षित वातावरण महसुस हुने गरेको बताउँछिन् । उनको भनाइमा यो प्रविधिअनुसार चिम्नीभित्र जलेको कोइलाको कालो धुवाँ सीधै बाहिर निस्किँदैन । कालो धुवाँलाई फिल्टर गर्ने, कोइला राम्रोसँग जल्ने र बाहिर निस्किँदा नदेखिने सेतो धुवाँ मात्र निस्कने गरी चिम्नी निर्माण गरिएको हुन्छ ।
वातावरण विज्ञको भनाइमा सामान्य सेतो बाफ मात्रै निस्कने भएकाले यसले वरपरको वातावरण कम प्रदूषित गर्छ । नेपालमा करिब १ हजार इँटाभट्टा सञ्चालनमा छन् । तीमध्ये अधिकांश इँटाभट्टा काठमाडौँ उपत्यका र तराई भेगमा रहेको महासंघले जनाएको छ । प्रधान भन्छिन्, “तराई क्षेत्रमा अझै पनि कालो धुवाँ नआई इँटा राम्रोसँग पाक्दैन, बलियो हुँदैन भन्ने गलत मान्यता रहेछ, जुन सत्य होइन ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...